Comments Add Comment

सडक र रेलमा चिनियाँ राष्ट्रपतिको चासो, काठमाडौंहुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न प्रधानमन्त्रीको प्रस्ताव

१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने बताएका छन् ।

भेटवार्तालगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताएका छन् । पत्रकार हान पेङलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भने, ‘राष्ट्रपतिसँग मेरो मुख्य रूपमा कनेक्टिभिटीका विषयमा कुराकानी भयो । रेल, सडक, हिमालयपार सम्पर्क विस्तार, हवाई सम्पर्क विस्तारमा छलफल भयो । राष्ट्रपतिले रेल र सडक विस्तारमा उत्साहजनक रेस्पोन्स गर्नुभएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रचण्डले टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति सीले व्यक्तिगत रूपमा पनि नेपालसँग रोड र रेल सम्पर्क विस्तारमा रुचि राखेको बताएका छन् । प्रचण्डका अनुसार राष्ट्रपति सीले भने, ‘व्यक्तिगत रूपमा नै मैले नेपालसँग रेल र रोड विस्तारमा रुचि राखेको छु । सीमापार विशेष आर्थिक क्षेत्र र सीमापार विद्युत् प्रसारण लाइनमार्फत पनि दुई देशबीच आर्थिक साझेदारी वृद्धि हुन्छ भन्ने मलाई लाग्छ ।’

प्रचण्डले केरुङसम्म आउने रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोड्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । ग्रेट हल अफ द पिपुलमा सोमबार अपराह्न भएको प्रचण्ड र सीको भेटमा चीनले नेपालको स्थानीय निर्वाचनका लागि ९० लाख युयान (१३ करोड ५० लाख नेपाली रुपैयाँ) दिने घोषणासमेत गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणाको स्मरण गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र कूटनीतिक च्यानलमार्फत समय तय गरिने जवाफ दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक अवस्थितिले विगतमा समस्या रहे पनि अब चीन र भारतजस्ता विशाल छिमेकीका कारण अवसर रहेको बताए । उनले एसियाका भीमकाय देश भारत र चीनको बीचमा नेपालले पुलको काम गर्ने पनि बताएका थिए ।

राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति सीले यसबारे छलफल गर्दै टुंगोमा पुग्न सकिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment