Comments Add Comment

मेलम्चीको पाइप बिछ्याउनासाथ सडक पीच गर्न मिल्दैन ?

'विकासको धुलो' हट्न अर्को चैतसम्म लाग्ने

१५ चैत, काठमाडौं । मेलम्चीको पाइप बिछ्याउँदा खनिएको सडक बेलैमा कालोपत्रे नगरिँदा र पेटी त्यतिकै छाड्दा काठमाडौं धुलाम्य छ । पानी पर्नासाथ धुलोले हिलोको रुप लिन्छ ।

यसैकारण स्वास्थ्यसहित विभिन्न समस्या भोगिरहेका सर्वसाधारण पाइप बिछ्याउनासाथ सडक कालोपत्रे (पीच) गरिहाल्न माग गरिरहेका छन् । तर, सरकारले यसलाई गम्भीरताका साथ सम्बोधन गरेको छैन र सडकमा पानी छर्किन निर्देशन दिएर बसेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय भने पाइप बिछ्याउनासाथ कालोपत्रे गर्न नमिल्ने बताउँछ । मेलम्चीका कारण उत्पन्न प्रदुषणलाई ‘विकासको धुलो’ भन्दै सरकारले नियन्त्रणका लागि विभिन्न विकल्पहरु प्रयोग भइरहेको दावी गरेको छ ।

केले पार्‍यो समस्या ?

निर्देशनालयका आयोजना निर्देशक तिरेसप्रसाद खत्री भत्किएको सडकलाई बनाइहाल्न सम्भव नभएको बताउँछन् । उनले काम सक्नासाथै अलकत्रा छर्किएर अस्थायी कालोपत्रे गर्न पनि धेरै प्राविधिक जटिलताहरु रहेको सुनाए ।

खत्रीकाअनुसार अहिले रातिमात्रै पाइप बिछ्याउने काम भइरहेको छ । विभिन्न ठाउँमा पाइप बिछ्याउनका लागि राति कामदार र प्राविधिकको टोली खटिन्छन् । मुस्किलले एक रातमा १ ठाउँमा १५ मिटरसम्म मात्रै पाइप बिछ्याउन सकिन्छ ।

‘१५ मिटर सडक खन्नासाथ त्यसमा कालोपत्रे गरिहाल्नुपर्छ भन्ने माग धुलो उडेको हिसावले नाजायज हैन । तर, त्यो प्राविधिक रुपमा सम्भव छैन । किनभने अलकत्रा छर्किन सडकको खनिएको भाग कसिलो र स्थिर हुनुपर्छ’, निर्देशक खत्री भन्छन् ।

उनले थप प्रष्ट्याउँदै भने, ‘काम सक्नासाथ अस्थायी कालोपत्रे गर्न माटोको मोस्चर अर्थात ओसिलोपनले पनि दिँदैन । माटो सुख्खा नभइ पीच हाल्नुको अर्थ हुँदैन । माटो खोल्दा प्रायः ओसिलो माटो बाहिरी भागमा आउँदा छिटो पीच गरिहाल्न समस्या पर्छ ।’

खनिएको सडक स्थिर नभएसम्म पानी छर्किएर धुलो नियन्त्रणको प्रयास गरिएको दावी निर्देशनालयको छ ।

‘छोटो दूरीको पीचमा आर्थिक बोझ’

प्रायः एक स्थानमा १५ मिटरमात्रै खनिने भएकाले दैनिक कालोपत्रे गर्न निर्माण कम्पनीले पनि कामदार र खर्च ब्यवस्थापन गर्न नसक्ने आयोजनाको तर्क छ । यसले निर्माण कम्पनीलाई ठूलो आर्थिक बोझ पर्ने भएकाले छिटो-छिटो पिचका लागि दबाव दिन सकेको छैन ।

कम्तिमा ५०० मिटर सडकमा पाइप बिछ्याएपछि बल्ल सडक कालोपत्रेका लागि योग्य हुने र निर्माण कम्पनीलाई पनि बिटुमिन तथा कामदार ब्यवस्थापनमा सहज हुने खत्रीले बताए ।

‘खनिएको सडक कम्तिमा एकहप्ता नराखी त कालोपत्रे गर्नै मिल्दैन,’ खत्रीले भने, ‘सबैभन्दा कम समयमा पिच गरेको भनेको थापाथलीको हो, त्यहाँ पनि माटोको अवस्था परीक्षण गरेर मात्रै कालोपत्रे गरिएको हो ।’

सडक कालोपत्रे गर्नुअघि केही दिन सडक सुख्खा बनाउन पानी पनि छर्किन नमिल्ने कारण धुलो बढी भएको गुनासो आएको दावी निर्देशनालयको छ ।

भीआईपी गुड्ने सडक प्राथमिकतामा

अहिले आयोजनाले तुलनात्मक रुपमा पाइप बिछ्याएपछि भीआईपीहरु बढी आवत-जावत हुने सडकमा चाँडो कालोपत्रे गर्ने गरेको देखिएको छ । भित्री सडकहरुमा छिटो कालोपत्रे गर्न खासै चासो नदेखाएको आयोजनाले भीआईपीका गाडी गुड्न सडकलाई प्राथमिकतामा राखेको छ ।

धेरै भीआईपीको गाडी आवतजावत हुने आगमन हुने लाजिम्पाट-राष्ट्रपति निवास, तिलगंगा-एयरपोर्ट, माइतीघर-थापाथली, मिनभवन-कोटेश्वर, जमल-केशरमहलसहित विदेशी पर्यटक र पाहुना आउने अन्य केही खण्डमा अस्थायी कालोपत्रे छिटो-छिटो गरियो ।

तर, आयोजनाका निर्देशक खत्री भने भीआईपी सडक नभएर मुख्य सडकलाई प्राथमिकता दिइएको बताउँछन् । ‘भीआईपी धेरै हिँड्ने सडक भन्नुभन्दा मुख्य र ब्यस्त सडक भनौं’ खत्रीले भने, ‘हो, हाम्रो प्राथमिकता मुख्य सडकको धुलो मेटाउनेमा बढी केन्दि्रत छ ।’

असोजसम्म काम सकिने

अब चैत मसान्तसम्म भत्काइएका मुख्य सडकहरु सबैमा अलकत्रा हालिसक्ने निर्देशनालयले जनाएको छ । उनले अब बाँकी रहेको जाउलाखेल-पुल्चोक सडक पनि मौसमले साथ दिए आज-भोलिमै पिच हुने बताए ।

अब मुख्य सडकमध्ये कुपण्डोल-एकान्तकुना, टिचिङ अस्पताल-नारायणगोपाल चोक र चाबहिल क्षेत्रमा मात्रै पाइप बिछ्याउन बाँकी छ । यो सकेपछि मुख्य सडकलाई खन्ने काम लगभग सकिनेछ ।

नारायण गोपालचोकदेखि बाँसबारीसम्म ३६ घण्टासम्म लगातार एकतर्फी रुपमा गाडी चलाएर पाइप बिछ्याइएको छ । त्यसभन्दा अघि पनि ट्राफिकको सहयोग लिएर त्यसैगरी काम गर्ने योजना बनाइएको छ ।

स्थायी पीच अर्को चैतसम्म

सबैले थाहा पाउनुपर्ने कुरा के छ भने अहिले सडकमा बिछ्याइएको कालोपत्रे स्थायी होइन । काठमाडौंमा मेलम्ची आएपछि प्राविधिक रुपमा पाइपको परीक्षण गरेर भत्किएका सबै सडकमा नयाँ कालोपत्रे गरिनेछ ।

‘अहिलेको कालोपत्रे अस्थायी मात्रै हो । सडकमा धुलो छोप्न मात्रै यसलाई हालेका हौं,’ खत्रीले भने, ‘मेलम्चीका कारण भत्काइएका सडकमा स्थायी रुपमा बलियो कालोपत्रे गर्न सरकारले सडक विभागलाई जिम्मा दिइसकेको छ ।’

भत्किएका सडक स्थायी रुपमा कालोपत्रे गरिसक्न अर्को चैतसम्म लाग्ने अनुमान छ । त्यतिबेलासम्म अस्थायी रुपमा भएका कालोपत्रे उप्किनेछ र धुलो कायमै रहनेछ । अहिले अस्थायी कालोपत्रे भएकै सडकमा पनि धुलो हटेको छैन ।

कति सकियो काम ?

पाइप बिछ्याउने काम अहिलेसम्म लगभग ८५ प्रतिशत सकिएको निर्देशनालयले जनाएको छ । ६० किलोमिटरको मुख्य लाइनमध्ये ४२ किलोमिटरमा पाइप राखिसकिएको छ ।

त्यसैगरी ६ सय ७० किलोमिटरको वितरण लाइनमध्ये ५५० किलोमिटरमा पाइप बिछ्याइसकिएको खत्रीले बताए ।

‘असोजमा मेलम्ची आउँदासम्म सबै पाइप बिछ्याएर सकिसक्छौं,’ खत्रीले भने, ‘कामको गतिले लक्ष्य भेट्न हामीलाई धेरै मुस्किल छैन ।’

अहिले ७ वटा निर्माण कम्पनीले पाइप बिछ्याउने कामको ठेक्का लिएर काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment