Comments Add Comment

पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार

अखिल क्रान्तिकारीद्वारा मतदान बिथोल्न मतदानस्थलमा ढुंगामुढा

१५ चैत, काठमाडौं । राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने अराजक समूहले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका छन् ।

फोटो पत्रकार क्लबका महासचिवसमेत रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेल, कान्तिपुरका केशव थापा लगायतका पत्रकारहरु बसेको ठाउँमा चुनाव बिथोल्ने समूहले पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम खुट्टानेर पड्किएपछि प्रहरीले आक्रमणकारीलाई पद्मोदय मोडसम्म लखेटेको छ ।

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान बिथोल्नका लागि विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए ।

घटनामा डीएसपी सन्तोष तामाङसहित चार प्रहरी घाइते भएका छन् । तामाङको औलामा चोट लागेको छ । यस्तै सशस्त्र प्रहरीको सञ्चार सेट हराएको थियो । यो पद्मोदय मोडमा नेपाल प्रहरीको टोलीले भेट्टाएर बुझाएको छ ।

ढुंगा प्रहारको फोटो अनलाइनखबरमा प्रकाशित भएपछि उनीहरुले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन् । अखिल क्रान्तिकारीका ३ नम्बर प्रदेश संयोजक बिजय गौतमले भने एकलौटी गरिएकाले मतदान विरुद्ध प्रदर्शन गरिएको स्वीकारे पनि पेट्रोल बम आफूहरुले नहानेको बताए ।

प्रहरीले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम हानिएपछि पत्रकारहरुलाई सुरक्षित स्थानमा गइदिन आग्रह गरेको छ । करीव ५०/६० जनाको संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले बाल्मिकी क्याम्पस अगाडि रोकेर राखेको छ ।

उनीहरुले केपी ओली र एमालेविरुद्ध नाराबाजी गरिरहेका छन् । ९ विद्यार्थी संगठनको बिरोध भनिए पनि प्रदर्शनकारीले अखिल क्रान्तिकारीको चिन्ह अंकित कपडा बेरेका छन् ।

क्यम्पसका नियमित बिद्यार्थीलाई प्रहरीले परिचयपत्रका आधारमा मतदान स्थलमा प्रवेश गराइरहेको छ भने अन्यलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोकिएको छ ।

मतदानस्थल बाहिर एमाले सम्बद्ध अनेरास्ववियु र कांग्रेस सम्बद्ध नेविसंघका उम्मेदवारहरुले लाइनमा उभिएर मतदातासँग मत मागिरहेका छन् । अखिल क्रान्तिकारीले चुनाव हार्ने भएकाले मतदान बिथोल्न खोजेको आरोप नेविसंघ र अखिलका उम्मेदवारहरुले लगाएका छन् ।

मानविकी संकायको सबैभन्दा ठूलो यस क्याम्पसमा पटक पटक विवादका कारण निर्वाचन हुन सकेको थिएन । सर्बोच्च अदालतको आदेशपछि क्याम्पस प्रशासनले मंगलवार निर्वाचन गराएको हो ।

निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाही सभापति रहेको प्यानल खडा भएको छ भने नेविसंघबाट उत्तमबहादुर साउदको प्यानल प्रतिस्पर्धामा छ । अखिल क्रान्तिकारीले ध्रुवराज वाग्लेको प्यानल खडा गरेको छ । क्रान्तिकारीले भने मतदानमा भाग नलिन विद्यार्थीलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment