Comments Add Comment

त्यो दार्जिलिङः ‘तेस्रो आयाम’ सुरु गर्दा धूवाँदार विरोध

समाजको विद्यमान अवस्थासँग कोही पनि सन्तुष्ट हुँदैन । साहित्य र कलाको क्षेत्रमा पनि यो कुरा लागू हुन्छ । साहित्यलाई नयाँ धारतिर लैजान केही प्रयत्न हुनुपर्छ भन्ने सबैतिरका लेखकमा चाहना हुन्छ ।

सधैं एउटै परिपाटी र तौरतरिका रहिरह्यो भने एकरसताले मान्छेलाई त्यसप्रतिको रुचि कम गराउने अवस्था आउँछ । त्यस्तो अवस्थामा हामीले पनि अब नयाँ किसिमले लेखौं भनेर इन्द्रबहादुर राई, म र ईश्वरवल्लभ मिलेर ‘तेस्रो आयाम’ को अवधारणा ल्याएका थियौं ।

भइरहेको परिपाटी राम्रो भए पनि आफ्नै तरिकाले शैली र पद्धतिहरुको निर्माण गरौं भन्ने लाग्यो । लेख्ने तौरतरिकामा हामीले प्रयत्न गर्‍यौं भने त्यसले साहित्यलाई बुझ्ने कुरामा पनि केही नयाँ थोक दिएर भिन्नता देखाउला जस्तो पनि सोच आयो ।

हामीले के लेख्ने र कसको लागि लेख्ने भन्दा पनि कसरी लेख्ने भन्ने कुरालाई मूल बाटो बनायौं । कसरी लेख्दा रचनाकारले लेख्छु भनेर अनुभूति गरेका कुरा पाठकसम्म सग्लै र दुरुस्तै पुग्न सक्छन् भन्ने हाम्रो प्रयत्न थियो । किनभने हामीलाई के लाग्यो भने, लेखेको कुराले व्यक्त गरेका भावहरु लेखकलाई जत्तिकै सबै पाठकका लागि महत्वको लागेन भने त त्यो सार्थक हुँदैन ।

यो सोचको जन्म भएको थियो आजभन्दा पाँच दशक अगाडिको दार्जिलिङमा ।

दार्जिलिङले जुराएको जोडी

म पाँचथरबाट सन् १९५४ (२०११ साल) मा स्कूल पढ्न दार्जिलिङ गएको थिएँ । उतिबेला पूर्वी नेपालका मान्छेलाई देश बाहिर पढ्न जान सजिलो भनेको दार्जिलिङ नै थियो । नेपालीहरु बहुल र नेपाली नै बस्ती भएकाले त्यहाँ सबै हिसाबले सहज हुन्थ्यो ।

पछि स्कूल सकेर १९५७ देखि त्यहाँको गभर्मेन्ट कलेजमा पढेँ । साहित्यिक गतिविधिकै क्रममा ईश्वरवल्लभसँग मेरो भेट भयो । नेपालबाट आएका अरुहरुसँग पनि भेट हुन्थ्यो ।

त्यतिबेला नेपाली साहित्यको उत्थानको लागि दार्जिलिङमा बहुत राम्रो वातावरण थियो । नेपाली जातिमा आफ्नो नेपाली संस्कृति, भाषा, साहित्य र पोशाकबारे गर्व थियो । साहित्य गोष्ठी पनि चाड र उत्सवकै रुपमा वर्षको एक-दुई पटकसम्म भइरहन्थे ।

त्यसरी अरुहरु साहित्य सिर्जनामा लागेको देख्दा सिर्जनात्मक क्रियाकलाप त समाजमा एकदम प्रतिष्ठित क्रियाकलाप मानिँदो रै’छ भनेर हामीले प्रत्यक्ष अनुभव गर्‍यौं । त्यसमा हात हाल्दा राम्रै हुन्छ कि भन्ने लागेर हामीले पनि साहित्यिक सक्रियता बढायौं ।

यही क्रममा इन्द्रबहादुर राई र ईश्वरवल्लभसँग मेरो चिनजान भयो । इन्द्रबहादुर उमेरले निकै सिनियर हुनुहुन्थ्यो । र पनि पछि साहित्यिक क्रियाकलापमा सबै जना जुट्यौं ।

म त त्यहाँ पढ्न गएको थिएँ । इन्द्रबहादुर दार्जिलिङकै बासिन्दा हुनुहुन्थ्यो । उहाँ टर्नबुल नामको हाइस्कूलमा पढाउनुहुन्थ्यो । ईश्वरवल्लभ चाहिँ कहाँबाट कसरी दार्जिलिङ आइपुग्नुभयो, त्यो थाहा भएन । उहाँ कामको खोजीमा आउनुभएको थियो । पछि इन्द्रबहादुरले पढाउने स्कूलमा संस्कृत शिक्षक भएर काम गर्न थाल्नुभयो ।

बायाँबाट ईश्वरवल्लभ, इन्द्रबहादुर राई र वैरागी काइँला

 

‘फूल पात पत्कर’ देखि ‘तेस्रो आयाम’ सम्म

तीन जनाको भेट हुनुअघि ईश्वरवल्लभ र मेरो चिनजान भयो । उहाँले स्कूलमा पढाउन थालेपछि भेट भयो । भेट भएपछि साहित्यिक क्रियाकलापको कुरा हुँदै जाँदा उहाँसँग घनिष्टता बढ्यो ।

हामीले सन् १९६१ मा ‘फूल पात पत्कर’ भन्ने सानो पत्रिका निकाल्यौं । म प्रकाशक भएर ईश्वरवल्लभ सम्पादक हुनुभयो । दुई अंक निस्किएर त्यो बन्द भयो । पत्रिका निकाल्दा पनि अरुभन्दा केही फरक गरौं भन्ने हामी दुईको प्रयत्न थियो । तत्कालीन दार्जिलिङका स्रष्टाहरुभन्दा हाम्रो शैली, भाषा र विषयमा केही भिन्नता त हुन्छ भन्ने लागेर हामीले पत्रिका निकाल्यौं ।

त्यसबेला इन्द्रबहादुर राई आफ्नै तरिकाले लेखिरहनुभएको थियो । उहाँले ‘आज रमिता छ’ उपन्यास लेखिसक्नुभएको रै’छ । त्यो उपन्यास त्यहाँको ‘अञ्जली’ (?) नामको पत्रिकामा धारावाहिक रुपमा प्रकाशन भइरहेको थियो ।

त्यसपछि हाम्रो छलफलको क्रम जारी रह्यो । अब हामी तीन भाइले प्रयत्न गर्ने भयौं । १९६३ (०२० को असार) देखि मासिक रुपमा हामीले ‘तेस्रो आयाम’ पत्रिका निकाल्यौं । जम्मा ६ अंकसम्म निस्कियो । पत्रिकाको सम्पादक म थिएँ ।

खासमा जुनसुकै लेखकले समाजमा घटित हुने कुराबारे नै लेख्ने हो । हामीले भने समाजका घटनालाई हेर्ने आफ्नो चश्मा हुनुपर्‍यो, अरुभन्दा फरक किसिमले हेर्नुपर्‍यो भन्ने सोचेका थियौं । भाषा, शिल्प विधान र पारा अरुभन्दा छुट्टै किसिमको भए सबैले याद गर्छन् भनेर हाम्रो छलफलमा कुरा भइरहन्थ्यो ।

यी छलफलको क्रम बढेर हामीले ‘तेस्रो आयाम’ पत्रिका निकालेका थियौं । यही पत्रिकाको नामबाट हामीले लेखेको कुरालाई आयामिक लेखन भनेर चर्चा हुन थाल्यो ।

विरोध उर्लियो- तिमीहरुले लेखेको मात्रै राम्रो ?

पत्रिका निकालेर लेख-रचनाबाट हाम्रो विचार दिन थालेपछि त्यसको प्रभाव तत्कालै पर्‍यो । त्यसबेला यसको ठूलो विरोध भयो । ‘तेस्रो आयाम’ अहिलेसम्म चर्चामा रहनुको कारण के हो भने अत्यन्तै ठूलो विरोध भयो । दार्जिलिङमा त भयो नै, नेपालभित्र पनि विरोधको स्वर उर्लियो ।

अनेक वादको नाम किन चाहियोे, लेखिरहँदा भैगो नि भन्नेहरु धेरै निस्किए । त्यस्तो भन्नेहरु चाहिँ यथास्थिति वा परम्परागत रुपमा चलिबस्छ भन्नेहरु थिए । आफ्नो छुट्टै स्वर हुनेले हाम्रो त बोली बेगल छ भनेर एकतिर बस्नु खासमा नराम्रो होइन । तर, मान्छेहरुलाई पचेन ।

हामीले लेखाइको परम्परागत तौरतरिका र शैलीभन्दा भिन्न लेख्न थाल्यौं । अलिकति भिन्न हो, साह्रै भिन्न पनि भन्दिनँ म । त्यसमा कतिपयले तिमीहरुले गरेको चाहिँ नयाँ र राम्रो अनि हामीले गरेको चाहिँ नराम्रो भो भनेर कड्किँदै घोर विरोध गरे ।

अर्कोतिर, हामीले एउटा वैचारिक तहमा भनेको कुराको पनि विरोध भयो । हामीले एउटा लेखकको व्यक्तिगत विचार मात्रै त साहित्य हुँदैन नि भन्ने कुरा गर्‍यौं । अर्थात्, कुनै एउटा व्यक्तिको विचार वहन गरिदिने माध्यम साहित्य हुनुहुँदैन । तर, साहित्यले लेखकको विचार वहन गर्नुपर्छ भन्नेहरुको अर्को भनाइ थियो ।

कुनै विचार वहन गरिदिने हो भने त्यो साहित्य त स्वायत्त र स्वतन्त्र रहँदैन । त्यो त एउटा ‘प्रपोगान्डिस्ट लिटरेचर’ मात्रै पो हुने भयो त भन्ने हाम्रो भनाइ भयो । त्यही कुरालाई समाएर मान्छेलेहरुले विरोध गरे पनि वास्तवमा हामीले सोझै त्यसो भनिहालेको पनि थिएन । यति मात्र भनेका थियौं, साहित्यलाई अभिव्यक्तिको माध्यम बनाउनुपर्छ, तर लेखकको विचारको सम्वाहक बनाउनु हुँदैन ।

तेस्रो आयामले के दियो ?

त्यसबेला साहित्य भनेको सोलोडोलो हुनुपर्छ भन्ने हाम्रोमा धारणा आयो । सोलोडोलो भन्नासाथै एउटा पूर्णताको कुरा आउँछ । पूर्णता भनेको चाहिँ जहिले पनि डल्लो हुन्छ भन्ने कुरा हाम्रो दिमागमा छ । जस्तो एउटा फुटबल वा फर्सीको गट्टा । त्यो पूर्ण हुँदा डल्लै रहन्छ । यस कारण हामीले सोचेको कुरा र हामीले बाँचिराखेको जीवन पनि यस्तै डल्लै त होला नि जस्तो लाग्छ मलाई ।

जीवनको यो सोलोडोलोपन जुन छ, त्यसलाई कुनै एउटा वा अर्को मान्छेले बाँचेको, भोगेको र अनुसरण गरेको विचारको पाटोबाट मात्रै नहेरी समग्रमा बुझ्ने प्रयत्न हामीले गर्नुपर्छ भन्ने हाम्रो भनाइ रह्यो । त्यसरी बुझिएको चिज साहित्यमा व्यक्त हुन सक्यो भने त्यस्तो साहित्य तुलनात्मक हिसाबले पूर्णतातिर उन्मुख हुन्छ ।

त्यसो त ईश्वर आफैं आफ्नो सृष्टिदेखि सन्तुष्ट त कहिल्यै भएको छैन । तर पनि हामीले पूर्णताको परिकल्पना गरेर लेख्ने प्रयत्न गर्नु दुस्साहस भए पनि एउटा असल कामकै खातिर बढाएको कदम थियो भन्ने लाग्छ ।

हाम्रो अभियानले पछि एउटा कुरा थप्यो, वास्तवमा हामीले बाँचेको यो जगत् म एउटाले देखेको र अनुभूति गरेको जस्तो मात्रै हो कि वा अर्को मान्छेले गरेको जस्तो पनि हो ? मैले गरेको मात्रै सम्पूर्ण भएदेखि अर्कोले गरेको चाहिँ कस्तो खालको सम्पूर्णता हो त ? पूर्णता त एउटै मात्र हुनुपर्ने । त्यस कारण साहित्यले जीवनको समग्रता वा अनुभूतिको सम्पूर्णतालाई वहन गर्न सक्नुपर्छ भनेर हामीले लेखनमा पाइला उचाल्यौं ।

यसरी अघि बढ्दा हामीले भौतिक वस्तुका तीन वटै आयामलाई समेट्न खोज्यौं । भौतिक वस्तुका तीन वटा आयाम हुन्छ भनिन्छ- त्यो लामो हुन्छ, चौडा हुन्छ र मोटो हुन्छ । हामीले लामो र चौडा मात्रै हेर्‍यौं वा लामो र मोटो मात्र हेर्‍यौं भने केही चिज छुट्छ । कुनै आयाम नछुटोस् भनेर प्रयत्न गर्दै हामीले पत्रिकाको नाम पनि ‘तेस्रो आयाम’ राख्यौं ।

बोलीचालीमा हामी लम्बाइ, चौडाइ र गहिराइ (वा उँचाइ) भन्छौं । माथि हेर्‍यो भने उँचाइ र तल हेर्‍यो भने गहिराइ भो, एउटै कुराको दुइटा पाटा हुन्छ । हामीले सिर्जित रचनाहरु अत्यन्त गहिरो हुनुपर्छ भने जोड दियौं । कुरो गहिरो गर्‍यो भने मात्र त्यसको भाउ हुन्छ भन्ने हाम्रो जनमानसमा पनि छ । तोलाको वचन खोलाले बगाउँछ ।

खोलाले बगाउने तोला जस्तो हल्का वचन नभई हामीले भनेका कुरा गहकिलो हुन सक्यो भने त्यसले साहित्यलाई सार्थक र सर्वकालिक बनाउँछ भन्ने लागेको हो । हामीभन्दा अगाडिका अग्रज साहित्यकारले लेखेको कुरामा यी सबै चिज छ । लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम र तिनका अन्य समकालीन साहित्यकारहरुका रचनाहरुमा अत्यन्तै गहिराइ छन् ।

पहिले सबै चिज छ भने किन खोज्यौ त अर्को कुरा, तिमीहरुले गफ गर्‍यौ भन्ने कुरा पनि आउँछ ।

हामीले गरेको गफ चाहिँ के हो भने, अग्रजहरुले प्रयोग गरेको भाषा र शैलीमा केही भिन्नता ल्याउन सक्छौं भनेर हामीले प्रयत्न गर्‍यौं । भिन्नता ल्याउन सक्यौं भने त्यो भिन्नता चाहिँ हाम्रो मौलिकता भयो । आफूले अनुभूति गरेको कुरा तस्ताको तस्तै दिन सकिन्छ होला नि त भनेर कुन किसिमको भाषा, विम्ब, प्रतीकले सबै कुरा ल्याइदिन्छ भनेर लेख्यौं ।

जस्तो चित्रकलालाई उदाहरणका रुपमा लिऔं । चित्रकलामा रङकै कुरा आउँछ । रङको अर्थ एकाध सांस्कृतिक अर्थमा आउने भिन्नता बाहेक संसारभरि नै एउटै अर्थ हुन्छ, रातो, कालो, सेतो आदि । साहित्यले पनि त्यसैगरी सबैलाई उही अर्थ दिन सक्छ कि सक्दैन ? दिने किसिमले लेख्न सक्यौ भने राम्रो हुनेथ्यो भन्ने धारणाले हामीले लेख्ने प्रयत्न गर्‍यौं ।

त्यस क्रममा ‘तेस्रो आयाम’ पत्रिका निकालेको हुनाले सबैले हाम्रो लेखनलाई आयामिक लेखन भनेर न्वारान गरिदिए । वास्तवमा हामी आफैंले गरेको न्वारान थिएन त्यो ।

त्यही नाम बिर्सिंदै-सम्झिँदै गरेर ५० वर्षको दौरानमा अहिलेसम्म पनि सम्झनामा छ ।

प्रस्तुतिः जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment