Comments Add Comment

२३ बैंक तथा बिमा कम्पनीको बजारमा ५ अर्ब ९० करोड सेयर लगानी


१५ चैत, काठमाडौं । सेयर बजारमा बैंक, बीमा कम्पनीले लगानी गर्न थाले भन्ने हल्ला मात्र चल्दा पनि बजार बढ्ने गरेको छ । संस्थागत लगानीकर्ताको रुपमा चिनिने यिनीहरुले सेयर खरिद बढाएको भन्ने खबरले पनि बजारमा तरङ ल्याउँने गर्छ । तर, यस्ता सबै संस्थाले सेयर लगानीलाई भने उच्च प्राथमिकतामा नराखेको देखिन्छ ।

गत २०७३ असारसम्मको वित्तीय विवरण प्रकाशित गरेका २३ बैंक तथा बीमा कम्पनीको हालको मूल्य अनुसार बजारमा यीनिहरुको सेयर लगानी करिब ६ अर्ब (५ अर्ब ९० करोड) रुपैयाँको मात्रै रहेको देखिन्छ । यसमा पनि अधिकांश कम्पनीहरुको सेयर लगानी २०७२ को असारमाभन्दा बढेको देखिन्थ्यो ।

यिनमा कतिपय संस्थाले भने भएको सबै सेयर समेत बेचेका छन् । यसरी सेयर बिक्री गर्ने संस्थाले पनि १ करोडभन्दा बढि लगानी गरेको देखिदैन् ।

‘यी संस्था नियमित कारोबारी होइनन्, तरपनि यस्था संस्थाको प्रवेशले बजारमा राम्रै माहौल बनाउँछ,’ अन्जनराज पौड्यालले भने । हुनतः बजारमा ‘ख’ वर्गका बिकास बैंक र ‘ग’ बर्गमा वित्त कम्पनीहरुले पनि लगानी गर्छन् । यिनको अलगै अध्ययन भने आवश्यक पर्ने पौड्याल बताउछन् ।

राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध गत असारको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थाको सेयर र अन्य लगानी शीर्षकमा १ खर्ब ३१ अर्ब रुपैयाँ लगानी भएको उल्लेख छ । तर यो शीर्षकमा अन्तर बैंकिङ कर्जा, नन रेसिडेन्ट्स र अन्य शीर्षक उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तयि संस्थाले सेयर, डिवेञ्चर वा सामूहिक लगानी कोषमा लगानी गर्दा कुल लगानी प्राथमिक पुँजीको ३० प्रतिशतभन्दा बढि हुन नहुने व्यवस्था छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी कोषमा चुक्ता पुँजी मात्रै हिस्सा धेरै छ । राष्ट्र बैंकले सार्वजनिक गरेको २०७३ असारसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पुँजी १ खर्ब ६३ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत लगानी सीमालाई हेर्दा यी संस्थासँग करिब करिब ४९ अर्ब १ करोड रुपैयाँ मात्र लगानी गर्न सक्ने अवस्था रहेको देखिन्छ ।

यता, बजारमा मार्केट मेकरको रुपमा काम गर्न भनेर वर्षौदेखि कुरा चल्दै आएका नागरिक लगानी कोष, बीमा समिति, कर्मचारी सञ्चय कोषको लगानी बढ्न नसकेको भनेर उनीहरु आलोचित हुँदै पनि आएका छन् । अर्कोतर्फ, हाल लगभग ८ अर्ब रुपैयाँ बराबरको कोष बोकेर रहेका सामूहिक लगानी कोष समेत रहेका छन् ।

तर यस्ता सबै क्षेत्र कम्पनीको लगानी गर्दा पनि करिब १ खर्ब हाराहारी मात्र हुने बजार स्रोतहरु बताउँछन् ।
हाल बजारमा सजिलै किनबेच हुने सेयरहरुको कुल मूल्य ६ खर्ब बराबर रहेको छ । यस्ता संस्थाहरुको लगानी १ खर्ब हाराहारी रहेको मान्ने हो भनेपनि यो मात्रै १६ प्रतिशत हुन आउँछ । त्यस्तै, कुल बजार पूँजीकरणको आधारमा भने यो मात्रै ५ प्रतिशत लगानी हो ।

नीतिगत अंकुश

बैंक तथा वित्तीय संस्था अर्काको पुँजी (निक्षेप) बाट चल्ने संस्था भएकोले पनि राष्ट्र बैंकले यी संस्थाबाट हुने प्रत्यक्ष सेयर लगानीका कडाई गर्दै आएको छ । राष्ट्र बैंकले २०६५ सालयता वाणिज्य बैंक, बिकास बैंक र वित्त कम्पनीको सेयर एक अर्काले खरिद गर्न नपाउँने व्यवस्था गरेको छ । बजारमा लगभग ६० प्रतिशत यही वर्गको सेयर सूचीकृत रहेकोले पनि यी संस्थाहरुले बीमा, जलविद्युत्, होटल, लघुवित्त, उत्पादनमुलक, नेपाल टेलिकम जस्ता केही कम्पनीको सेयरमा मात्र लगानी गर्न पाउँछन् । यी वर्गमा पनि उत्पादनमुलक लगायतका केही समूहमा सूचीकृत कम्पनीहरुको नियमित कारोबार नै हुदैन् भने कतिपयलाई पत्याउन सकिने अवस्था पनि छैन् ।

राष्ट्र बैंकको एकिकृत निर्देशीका २०७३ अनुसार कुनै एक संस्थाको सेयर, डिवेञ्चर वा सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पुँजीको १० प्रतिशत र सबै कम्पनीको यी उपकरणमा लगानी गर्दा कुल लगानी सीमा प्राथमिक पुँजीको ३० प्रतिशतभन्दा बढि हुन नहुने व्यवस्था छ ।

त्यसैगरी, राष्ट्र बैंकले अल्पकालमा मूल्यमा हुने परिवर्तनबाट नाफा उदेश्य राखेर गरिने ट्रेडिङ कारोबारलाई हेज फर ट्रेडिङ मानेर प्राथमिक पुँजीको १ प्रतिशतमात्र लगानी गर्न पाउँने गरि नीतिगत कडाई पनि गरेको छ । संस्थाहरुले बजारमा गर्ने सेयर कारोबार यसअन्तरगत पर्ने देखिन्छ ।

बीमा कम्पनीहरुलाई पनि बीमा समितिले २०६६ मा जीवन बीमा कम्पनी भए जीवन बीमा कम्पनीमा र निर्जीवन बीमा कम्पनी भए निर्जीवन बीमा कम्पनीमा लगानी गर्न बन्देज लगाएको थियो । तरपनि, यी संस्थालाई भने लगानीको लागि सेयर बजारमा पर्याप्त विकल्प रहेको छ । बीमा समितिको तथ्यांक अनुसार सबै जीवन तथा निजीर्वन बीमा कम्पनीले २०७२ असारसम्ममा सबै किसिमका वित्तय उपकरण (ऋणपत्र, बचत पत्र, सेयर, मुद्धती निक्षेप, बीमा लेखको धितोमा कर्जा) मा १ खर्ब १० अर्ब लगानी गरेका थिए । यी संस्थाहरुले लगानीको लागि सबैभन्दा बढि मुद्दती निक्षेपलाई प्राथमिकतामा राख्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment