Comments Add Comment

ललितपुरमा चुनावी चर्चाः महानगरको मेयरका यी हुन् दाबेदार

त्रिपपक्षीय प्रतिस्पर्धाको सम्भावना, सबै दलका उम्मेदवार नेवार समुदायकै !

१५ चैत, ललितपुर । स्थानीय तहको घोषित निर्वाचन मिति नजिकिदै गर्दा ललितपुर महानगरपालिकामा मेयरका प्रत्याशीहरुले आ-आफ्नो पार्टीभित्र लबिङ थोका छन् । ललितपुर महानगरपालिकाको मेयरका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट करीव डेढ दर्जन दावेदार देखिएका छन् ।

नेपालको कलात्मक शहर मानिने पाटनमा उम्मेदवारहरुको चर्चा हुन थालेको छ । राजनीतिक दलहरुले आधिकारिक रुपमा उम्मेदवारको नाम सिफारिस गर्ने बैठक राखेका छैनन् । तर आकांक्षीहरुले आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेका छन् ।

मतदाताले पनि चियापसल देखि विभिन्न सार्वजनिक थलोहरुमा सम्भावित उम्मेदवारका बारेमा चर्चा गर्न थालेका हुन् । उम्मेदवारका दावेदारहरुले पनि आफ्नै तरिकाले मतदाता र कार्यकर्तासँग भेटघाट बढाएका छन् ।

ललितपुर महानगरपालिकामा करिब १ लाख ४५ हजार मतदाता रहेका छन् । अन्तिम नामावली भने निर्वाचन आयोगले अद्यावधीक भएको विवरण सार्वजनिक गरेपछि मात्र जानकारी हुनेछ । २०७० को निर्वाचन परिणामका आधारमा ललितपुर महानगरपालिकामा कांग्रेस बलियो शक्ति हो । यस महानगरपालिकामा निर्वाचन क्षेत्र नम्बर २ र ३ पर्छ । र दुवै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०१५ सालदेखि कम्युनिस्ट पार्टीले जितेको ललितपुरमा कांग्रेसले पहिलो पटक २०७० सालको निर्वाचन जितेको हो ।

कांग्रेसका आधा दर्जन दावेदार

ललितपुरमा कांग्रेसका तर्फबाट मेयरका लागि ४ जनाले दावी गरेका छन् । तर उपमेयरका बारेमा भने अझै मौन छन् । कांग्रेसका तर्फबाट मेयरका लागि दावेदारका रुपमा प्रेमकृष्ण महर्जनले प्रचार अघि बढाएका छन् । ललितपुरस्थित ग्वार्को घर भएका महर्जन स्थानीयवीच परिचित कार्यकर्ता हुन् ।

त्यस्तै प्रेमलाल महर्जन पनि दावेदार हुन् । प्रेमकृष्ण  २०५४ सालको स्थानीय निर्वाचनमा एमालेका रमेश चित्रकारसँग उपमेयरमा पराजित भएका थिए । महर्जन शाही शासनकालमा मनोनित उपमेयर भएका थिए ।

ललितपुर पुल्चोक घर भएका चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरका लागि अर्का बलिया दावेदार हुन् । चिरिबाबुको पारिवारिक पेशा मूर्ति व्यवसाय हो । उनको  परिवारका अधिकांश सदस्य मूर्तिकलामा छन् । उनलाई जिल्ला सभापति मदनबहादुर अमात्यको साथ रहेको छ ।

कांग्रेसबाट मेयरका अर्का दावेदार भरतलाल न्याछ्युँले पनि चुनावी प्रचारप्रसारलाई तिव्र पारिसकेका छन् । उनी ललितपुर कांग्रेसका नगर सभापति पनि भएकाले मेयरको दावी गरेका हुन् । यद्यपी उनी ललितपुरको राजनीतिमा त्यति परिचित अनुहार भने होइनन् ।

२०४९ सालका मेयर बेखारत्न शाक्य यसपटक पनि दावेदारका रुपमा देखिएका छन् । तेह्रथुममा जन्मिएर ललितपुरलाई कर्मथलो बनाएकी उर्मिला केसीले समेत मेयरको दावी गरेको कांग्रेस स्रोतले जनाएको छ । उनले पनि मेयरको दावी गरेर कार्यकर्ता भेटघाट बढाएकी छन् ।

मेयरका धेरै दाबेदारहरुबीचको प्रतिस्पर्धा बढिरहदा पूर्व सभासद समेत रहेका कांग्रेसका युवा नेता रामकृष्ण चित्रकार पनि मेयरको दावेदारका रुपमा कार्यकर्ताबीच पुगेका छन् ।

एमालेका दावेदारहरु

ललितपुरमा यसअघि एमालेले जितेको थियो । २०५४ सालमा मेयर जितेका बुद्धिराज बज्राचार्य अहिले एमालेमा छैनन् । उपमेयर चित्रकार पनि चर्चामा छैनन् । यसपटक जो उठे पनि नयाँ अनुहार आउने एमाले स्रोतले जनाएको छ ।

एमालेभित्र भावी उम्मेदवारका रुपमा बिभिन्न नेताहरुको चर्चा भए पनि पार्टीमा आधिकारिक छलफल नभएको नेताहरुले बताए । भित्रभित्रै तीन दावेदारले आफ्नो पक्षमा लविङ्ग थालिसकेका छन् ।

एमालेको ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यन्जनकार मेयरका प्रमुख दाबेदार हुन् । उनी सामान्य जीवन शैली जिउने र सामाजिक छवी उच्च भएको मान्छेमा चिनिन्छन् । पार्टीभित्र लोकप्रिय भए पनि अहिलेसम्म उनको लोकप्रियता आम जनताबीच जाँचिएको छैन । जिल्ला अध्यक्ष भएका कारण उनी मेयरका सशक्त दावेदार हुन् ।

एमालेबाट मेयरका अर्का सशक्त दावेदार प्रेम महर्जन देखिएका छन् । उनी ज्यापू समाज ललितपुरका जिल्ला अध्यक्ष समेत भएकाले मेयरका बलियो उम्मेदवार हुन सक्छन् । ललितपुर महानगरपालिकामा महर्जन ज्यापू समुदायको सघन बसोबास रहेका कारण ज्यापू समाजको अध्यक्ष हुनेको फाइदा लिन सकिने एमालेको आँकलन छ । महर्जन एमाले २ नम्बर क्षेत्रका पूर्व अध्यक्ष हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका सालो नाता पर्ने ज्ञानेन्द्र शाक्यले पनि ललितपुर महानगरपालिकाको मेयरका लागि दावी गरेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका शाक्यले मेयरका लागि आफ्नो प्रचार प्रसार अगाडि बढाइसकेका छन् ।

उनी पार्टी संगठनका नेता कार्यकर्ताको भेटघाटमा व्यस्त हुन थालेका छन् । उनी यसअघिको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित समेत भइसकेका व्यक्ति हुन् ।

माओवादी केन्द्रका दावेदारहरु

माओवादी केन्द्रबाट पनि मेयरका लागि तीनजना नेताको नाम चर्चामा छ । पूर्व सभासद राजकाजी महर्जन मेयरका सम्भावित उम्मेदवार हुन् । त्यस्तै २०७० सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सरोज डंगोल पनि माओवादी केन्द्रबाट मेयरका दावेदार हुन् ।

त्यस्तै कुललाल डंगोलले पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । उनी ईंटाभट्टा व्यवसायी हुन् । ललितपुरमा राम्रो सामाजिक छवी बनाएका कुललाल जनमोर्चा हुँदै राजनीतिमा आएका हुन् ।

यसैगरी नयाँशक्ति नेपालले अर्का ईंटाभट्टा व्यवसायी मदन महर्जनलाई ललितपुरको मेयर उठाउने तयारी गरेको छ ।

त्रिपक्षीय प्रतिस्पर्धा

ललितपुर महानगरपालिमा नेवार समुदाय त्यसमा पनि ज्यापुहरु बढी मतदाता रहेका छन् । २०४९ मा ललितपुरमा कांग्रेसले जितेको थियो भने २०५४ मा एमालेले जितेको थियो । त्यसयता नगरको चुनाव नभएकाले उम्मेदवारहरु जाँचिन पाएका छैनन् ।

यसबीचमा भएका दुई संविधानसभा निर्वाचनको परिणाम हेर्दा २०६४ मा तीनै क्षेत्र माओवादीले जितेको थियो भने २०७० मा तीनैओटै क्षेत्र कांग्रेसले जित्यो । यस महानगरपालिका अन्तर्गत जिल्लाको २ नम्बर र ३ नम्बर निर्वाचन क्षेत्र पर्छ ।

२०७० को निर्वाचनमा यो दुवै निर्वाचन क्षेत्रबाट कांग्रेसले जित्दा २ नम्बर क्षेत्रमा माओवादी दोस्रो र एमाले तेस्रो भएका थिए । ३ नम्बर क्षेत्रमा एमाले दोस्रो र माओवादी तेस्रो भएका थिए ।

संविधानसभा निर्वाचनको परिणाम हेर्दा ललितपुर कांग्रेसका लागि बलियो महानगरपालिका हो । तर संसदीय निर्वाचनमा गाउँको समेत मत जोडिएको छ । महानगरपालिकाको मात्र मत अन्दाज गर्न कठिन छ ।

त्यसमा पनि यो बीचमा नयाँ मतदाता थपिएका र स्थानीय तहमा उम्मेदवार हेरेर जनताले मतदान गर्ने भएकाले त्रिपक्षीय प्रतिस्पर्धा नै हुने आँकलन गर्न सकिन्छ । ललितपुरमा राप्रपा पनि चौथो शक्ति हो ।

यो पनि पढ्नुहोस् 

को बन्ला काठमाडौंको मेयर ? यस्ता छन् प्रमुख दलका दावेदारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment