Comments Add Comment

टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’

१५ चैत, काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन गर्न ऋण (लोन) उपलव्ध गराउने भएको छ।यस सम्बन्धमा नेपाल टेलिकम र हङकङ्गस्थित टिएक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टरबीच सम्झौता भएको छ ।

जसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन उपलव्ध हुनेछ । कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरे ।यो सुविधा प्रयोग गरे वापत थप कुनै शुल्क वा ब्याज नलिई उपभोक्तालाई लोन दिइने टेलिकमले जनाएको छ ।  रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट ऋण कट्टा हुनेछ ।

उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने टेलिकमको विश्वास छ । यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा पनि आफन्तजनसँग कुराकानी गर्न सहज हुनेछ ।

सम्झौता अनुसार यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment