Comments Add Comment

आचारसंहिता मिचियो भन्दै सरकारविरुद्ध एमालेको उजुरी

सुवास नेम्वाङको नेतृत्वमा संयन्त्र गठन

सुवास नेम्वाङ

१५ चैत, काठमाडौं । मन्त्रीहरुले निर्वाचन आचार संहिता उल्लंघन गरिरहेको भन्दै प्रतिपक्षी दल एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । साथै यसबारेमा निगरानी गर्न एमालेले सुवास नेम्वाङको नेतृत्वमा संयन्त्रसमेत गठन गरेको छ ।

एमालेले सरकारका तर्फबाट आचारसंहिता उल्लंघनका आपत्तिजनक क्रियाकलाप भइरहेको भन्दै मंगलवार आयोगमै पुगेर ध्यानाकर्षण गराएको संसदीय दलका उपनेता सुवास नेम्वाङले अनलाइनखबरलाई बताए ।

हालैमात्र सप्तरीमा सभा गरेर मधेसी मोर्चाका शीर्ष नेताहरुले एमालेलाई जहाँ भेट्यो त्यहीँ कुट्न, कालोमोसो दल्न र लखेट्न उक्साहटपूर्ण भाषण गरेकोमा समेत एमाले नेता नेम्वाङले यसमा आयोगको ध्यान जानुपर्ने बताएका थिए ।

एमालेले आयोगलाई बुझाएको लिखित ध्यानाकर्षणमा मन्त्रीहरुले आचारसंहिता विपरीत हेलिकोप्टर लिएर हिँडेको तथा गृहमन्त्रीले कांग्रेसको तर्फबाट पैसा बाँडेको विषयलाई आयोगले गम्भीरतापूर्वक लिनुपर्ने माग गरेको छ ।

त्यस्तै बजेटका कतिपय शीर्षकहरुबाट बजेटमै नभएको, संसदले पास नै नगरेका योजनामा अर्बौं रुपैयाँ रकमान्तर भइरहेकोमा आयोगको ध्यानाकर्षण गराइएको नेम्वाङले बताए ।

पुरानो मिति राखेर जिल्ला जिल्लामा चुनाव प्रभावित पार्ने गरी कर्मचारीको सरुवा र प्रहरी अधिकृतहरुको हेरफेर गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्त र सचिव समेत एमालेको प्रतिनिधिमण्डलसँग छलफलमा सहभागी थिए । आचारसंहिता उल्लंघन सरकारबाटै भइरहेको सन्दर्भमा आयोगले कडाइका साथ कारवाही अघि बढाउन लागेको प्रमुख आयुक्त यादवले बताएका थिए ।

नेम्वाङको नेतृत्वमा संयन्त्र

एमालेले निर्वाचन आचारसंहिता उल्लंघन लगायत स्थानीय तहको निर्वाचन सम्बन्धी सबै विषयमा आयोगसँग छलफल गर्न उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

स्थायी कमिटीले गठन गरेको सो समितिमा अग्नि खरेल, भानुभक्त ढकाल र राजेन्द्र पाण्डे सदस्य छन् । मंगलवार आयोगमा जाने टोलीमा सांसद राजन भट्टराई समेत सहभागी थिए ।

एमालेले स्वतन्त्र, निष्पक्ष निर्वाचनको वातावरण तयार गर्नका लागि निर्वाचन आयोगले अहिले गरिरहेका काम कारवाहीको समर्थन गरेको र पार्टीको सहयोग निरन्तर रहने जानकारी नेताहरुले आयोगलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment