Comments Add Comment

एडीबीको संशोधित प्रक्षेपणः आर्थिक क्षेत्रमा ५ सुधार, कहाँ चुक्यो सरकार ?

प्रचण्ड सरकारका पालामा आर्थिक सूचकांकमा सुधार आएको रिपोर्ट


१५ चैत, काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.८ प्रतिशतभन्दा माथि जान नसक्ने प्रक्षेपण गगरेको थियो । तर, यो आर्थिक वर्षको पहिलो ६ महिनालाई आधार मान्दा एडीबीले गत वर्ष गरेको प्रक्षेपण सच्याउन कर लागेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै एडीबीले वर्तमान सरकारको कार्यशैली एवं मौसमको अनुकुलतालाई समेत कारण देखाउँदै आर्थिक वृद्धिदर ६.२ सम्म पुग्ने तर्क गरेको छ ।

आर्थिक क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार देखिएको भन्दै एडीबीले आफ्नो प्रक्षेपण संशोधन गरेको हो । प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशको समग्र आर्थिक परिदृश्यमा केही परिवर्तन आएको एडीबीले बताएको छ ।

एडीबीले आर्थिक परिदृश्य सुधारिनुमा केही आधारहरु प्रस्तुत गरेको छ । आर्थिक क्षेत्रमा अनुभूत हुने गरी ठूलो सुधार नदेखिए पनि आर्थिक सूचकांकहरु सकारात्मक दिशामा अघि बढेको एडीबीको विश्लेषण छ । उसले यो वर्ष आर्थिक क्षेत्रमा सुधार देखिनुका ५ कारणहरु अघि सारेको छः

१. लोडसेडिङ घट्नु

आर्थिक क्षेत्रको सवलीकरणमा ऊर्जा क्षेत्रको महत्वपूर्ण हिस्सा हुन्छ । नेपालले वर्षौंदेखि ऊर्जाको चरम संकट व्यहोरिरहेको थियो ।

तर, यो वर्ष ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले ऊर्जा संकट निवारणमा महत्वपूर्ण काम गरे । ऊर्जा संकट कहिले हट्ने भन्ने अन्यौलले आर्थिक क्षेत्र रुमल्लिएको समयमा उर्जा मन्त्रालयमा जनार्दन शर्मा र प्राधिकरणमा कुलमान घिसिङको नेतृत्व आउनासाथ काठमाडौं, पोखरा, चितवनबाट लोडसेडिङ हट्यो ।

पहुँचवाला उद्योगहरुलाई डेडिकेटेड फिडरबाट लाइन दिने ब्यवस्था हटाएर कुलमानले सबैका लागि समानुपातिक तवरले बिजुली बाँडे । यसैका आधारमा डिजेलको खर्च धान्न नसकेर धरासायी भएका उद्योगले प्राण पाएर उत्पादन बढाए । कुलमानले लोडसेडिङ घटाएपछि आर्थिक क्षेत्रमा ‘भाइब्रेसन’ आयो ।

विद्युत आपूर्तिको सहजताका कारण औद्योगिक उत्पादनमा वृद्धि भएको छ भने उत्पादनको लागतमा समेत कमी आएको छ । एडीबीले लोडसेडिङ घट्दा आर्थिक वृद्धिदर बढ्ने अवस्था आएको बताएको छ ।

२. रासायनिक मलको सहज उपलब्धता

गत वर्षहरुमा बालीमा मल हाल्ने समयमा गाउँ-गाउँमा रासायनिक मलको हाहाकार हुन्थ्यो । यो वर्ष सरकारले रासायनिक मल बेलैमा किसानको पहुँचमा पुर्‍याएको छ । एडीबीले यसैका कारण पनि कृषि उत्पादनमा वृद्धि आउने बताएको छ ।

सरकारले रासायनिक मल सहज रुपमा बेलैमा उपलब्ध गराएपछि देशको कृषि क्षेत्रमा पनि सुधार देखिएको उसको तर्क छ । यस वर्ष कृषि बालीलाई मौसमले पनि साथ दिएको छ ।

सँगै रासायनिक मलको सहज उपलब्धताका कारण देशको समग्र आर्थिक स्थितिमा नै सुधार देखिने एडीबीका अधिकारी बताउँछन् । जसले पनि देशको आर्थिक वृद्धिको ‘रेसियो’ बढाउन मद्दत गर्नेछ ।

नेपालका लागि एडीबीका प्रमुख अर्थविद शरद भण्डारी भन्छन्, ‘यो वर्ष किसानले रासायनिक मल पाउन ठूलो कष्ट बेहोर्नुपरेन । मनसुनी वर्षा पनि औषतभन्दा बढी भयो, जसले आर्थिक परिदृश्य आशालाग्दो बनायो ।’

३. पुनर्निर्माणमा बढेको गति

भूकम्पपछिको पुनर्निर्माणको गति अहिले पनि सन्तोषजनक छैन । तर, पहिलेभन्दा पुनर्निर्माणको काममा केही गति आएको छ । गत वर्षकोभन्दा पुनर्निर्माणको गतिमा सुधार आएको ठहर एडीबीको छ ।

पछिल्लो समय घर बनाउन पहिलो किस्ता बापतको ५० हजार अनुदान रकम धेरै पीडितकोमा पुगेको छ । केही पीडितहरु अन्योलमै रहे पनि धेरैजसोले पहिलो किस्ताको रकम लिएर घरको पुनर्निर्माण सुरु गरिसकेका छन् ।

पुनर्निर्माणको काम सुरु भएपछि देशको आर्थिक क्षेत्र थप चलायमान भएको छ । जसले आर्थिक वृद्धिको दरलाई बढाउने देखिएको एडीबीका अधिकारीको तर्क छ ।

४. व्यापारमा सामान्य अवस्था

गत वर्ष भूकम्प र नाकाबन्दी लगायतका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यापार चौपट भएको थियो । भारतको अघोषित नाकाबन्दीका कारण लामो समय ब्यापार अवरुद्ध भएको थियो ।

मधेसवादी दल संविधान संशोधनको माग राख्दै आन्दोलित हुँदा देशमा आयात-निर्यात प्रभावित भएको थियो । यसैका कारण देशबाट बाहिरिने निर्यातजन्य उत्पादनले बजार पाउन सकेको थिएन ।

एडीबीका अनुसार अहिले ब्यापारको स्थिति सहज अवस्थामा फर्केको छ । ब्यापार घाटा बढ्दो दरमा भए पनि निकासी बढाउन नेपाली उत्पादक उत्साहित छन् ।

सहजरुपमा सामानको आयात तथा निर्यातले ब्यापार, बजार र आपूर्तिलाई समान्य अवस्थामा राखेको छ । यसैका कारण आर्थिक वृद्धिदर गत वर्ष अनुमान गरेभन्दा बढ्ने देखिएको एडीबीको दाबी छ ।

५. घट्दो मूल्यवृद्धिदर

यो वर्ष मुद्रास्फिती घटेको देखिएको छ । जसले मूल्यवृद्धि घर पनि घटाएको छ । गतवर्ष माग बमोजिम भारतबाट सामान आयात हुन सकेको थिएन । यसका कारण मुद्रास्फिती ह्वात्तै बढेेको थियो ।

मागबमोजिम बस्तु तथा सेवा उपलब्ध हुन नसकेसँगै बजारमा बस्तुको मूल्य बढ्छ । यसरी वृद्धि गराउने मुद्रास्पिmती अहिले भने सहज उपलब्धताका कारण केही घटेको छ ।

सहज विद्युत आपूर्तिका कारण स्वदेशी वस्तुको उत्पादन लागत घटेको छ । यसले कम मूल्यमै बजारमा सामान उपलब्ध भएको छ ।

भारतको न्यून मुद्रास्फितीका कारण पनि देशमा मुद्रास्फिती नबढ्ने एडीबीको आँकलन छ । एडीबीका अनुसार यो वर्ष मुद्रास्पिmति ६ देखि ६.५ को बीचमा रहन सक्छ । तर, बजेट खर्च कार्यसम्पादन भने उत्साहजनक हुन नसकेको एडीबी बताउँछ ।

कहाँ चुक्यो सरकार ?

यो वर्ष आर्थिक सुधारका लागि भएका केही काम उल्लेख्य रहेको एडीबीको भनाइ छ । तर, पुँजीगत खर्च वृद्धि अपेक्षाअनुरुप नहुनुले समस्या सिर्जना गरेको छ ।

तर, अर्थ मन्त्रालयले श्रृंखलावद्ध उपायहरुको खाका तयार पारेको कारण अब खर्च बढ्नेमा एडीबी आशावादी देखिएको छ । अर्थ मन्त्रालयले अवलम्वन गर्न लागेको खर्च बढाउने लगायतका उपायहरु सकारात्मक रहेको एडीबीको भनाइ छ ।

अहिले सरकारले स्थानीय निकायको चुनावको घोषणा गरेको छ । चुनावसँग सम्बन्धित विभिन्न खर्चहरु हुन्छन् । यसरी हुने खर्चका कारण पनि देशको समग्र आर्थिक क्षेत्र चलायमान हुने र गतवर्ष अनुमान गरेभन्दा बढी अर्थात ५.२ देखि ६ं२ को बीचमा आर्थिक बृद्धि हुने एडीबीले प्रक्षेपण गरेको छ ।

अहिले वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको छ । रेमिट्यान्समा बृद्धिको क्रम जारी नै छ । कामदारको संख्यामा कमी आएका कारण रेमिट्यान्स वृद्धिदरमा भने संकुचन आएको छ । तर, पनि आर्थिक वृद्धिदर बढ्दो दरमा रहनु सकारात्मक भएको एडीबीका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment