Comments Add Comment

देशकै ठूलो महानगर पोखराः यस्ता छन् मेयरका आकांक्षी

कांग्रेस र एमालेवीच कडा टक्कर, माओवादीले शक्ति सुदृढ गर्दै

१६ चैत, पोखरा । क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका बनेको छ पोखरा । लेखनाथ नगरपालिका समेत गाभिएपछि यसको नाममै विवाद भयो । पोखरा लेखनाथ महानगरपालिका नै देशभरिको यस्तो स्थानीय तह हो, जसभित्र जिल्लाका सबै निर्वाचन क्षेत्र अटाएका छन् ।

कास्की जिल्लाको ८० प्रतिशत भूभाग समेटिएको पोखरा लेखनाथ महानगरपालिकाको मेयर बन्नका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीभित्रका आकांक्षीहरुले लबिङ तीब्र पारेका छन् ।

देशको पयर्टकीय शहर पोखरा महानगरको प्रमुख बन्न जिल्लाका प्रभावशाली नेताहरु नै अग्रसर भएका छन् । पोखरा उपमहानगरपालिकामा लेखनाथ नगरपालिकासहित एक दर्जन गाविस थपिएर महानगर बनेको हो ।

पोखरा महानगरमा राङकोट, पुरुनचौर, लामाचौर,भदौरे, चापाकोट,कास्कीकोट, अर्मला, मौजा, काहुँ, भारतपोखरी, निर्मलपोखरी र भलाम गाविस गाभिएका हुन् ।

टिकटका दाबेदार देखिन थाले

एमाले पकड रहेका गाविसहरु समेत थपेर महानगरपालिका एमालेका लागि अनुकुल बनाइएको भन्दै कास्कीका कांग्रेस कार्यकर्ताहरुले अशन्तुष्टि व्यक्त गरिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी चर्चा पनि चुलिएको छ ।

कतिपयले पोखराको मेयरमा एमालेका सांसद तथा युवा नेता रविन्द्र अधिकारी र कांग्रेस सांसद यज्ञबहादुर थापा नै आउने चर्चा पनि चलाएका छन् । तर, सांसदहरु मेयरको उम्मेदवार बन्ने सम्भावना छैन ।

उम्मेदवारका आकांक्षीहरुले कार्यकर्ता भेटघाट बढाउन थालेका छन् । कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्र महानगरपालिका भित्र पर्ने भएकाले महानगरको मेयर सांसदभन्दा शक्तिसाली हुने निश्चित छ । त्यसैले बहालवाला सांसददेखि सांसदको चुनावमा प्रत्याशीहरुनै मेयरका आकांक्षी देखिएका छन् ।

कतिपयले पोखराको मेयरमा एमालेका सांसद तथा युवा नेता रविन्द्र अधिकारी र कांग्रेस सांसद यज्ञबहादुर थापा नै आउने चर्चा पनि चलाएका छन् । तर, सांसदहरु मेयरको उम्मेदवार बन्ने सम्भावना छैन । अन्य नेताहरुलाई नै व्यवस्थापन गर्न समस्या परेका बेला पार्टीहरुले बहालावाला सांसदलाई मेयरको उम्मेदवार बनाउने सम्भाव नै नरहेको दलका नेताहरु बताउँछन् ।

कांग्रेसमा धेरै आकांक्षी

पोखराको मेयरका लागि कांग्रेसभित्र आधा दर्जन आकांक्षी देखिएका छन् । ती मध्ये पूर्व सांसद महादेव गुरुङ र उद्योग वाणिज्य संघ पोखराका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा सशक्त दावेदार हुन् ।

त्यस्तै कांग्रेसका जिल्ला सभापति कृष्ण केसी, अशोक पालिखे र पोखरा उपमहानगरका पूर्व वडाध्यक्ष बिजेन्द्रनारायण बिजुक्छे पनि मेयरका आकांक्षी हुन् ।

त्यस्तै पूर्वसचिव बाबुराम आचार्यले पनि मेयरका लागि आकांक्षा देखाउँदै कांग्रेस कार्यकर्तालाई आफ्नो पक्षमा परिचालन गरिसकेका छन् ।

पोखरा गुरुङ समुदायको सघन बसोबासको महानगरपालिका भएकाले महादेव गुरुङले टिकट पाउने सम्भावना बढी रहेको चर्चा कांग्रेस वृत्तमा छ । तर, उनी जिल्लामा भन्दा केन्द्रमै रहने गरेकाले जिल्लामा उनको पक्षमा माहौल बन्न सकेको छैन । विन्दुकुमार थापा पनि चर्चित अनुहार हुन् । त्यसो त देवराज चालिसेले पनि मेयरका लागि आफ्नो आकांक्षा देखाएका छन् ।

एमालेबाट को-को ?

एमालेबाट मेयरका लागि पोखराका पूर्व मेयर कृष्ण थापा प्रबल दाबेदारका रुपमा देखिएका छन् । त्यस्तै एमालेका पूर्व जिल्ला अध्यक्ष मानवहादुर जिसी र युवा संघका अध्यक्ष राजिव पहारी पनि मेयरका आकांक्षी हुन् । कृष्ण थापा ०५४ मा पनि पोखराको मेयर जितेका व्यक्ति हुन् । उनी गत संविधानसभा निर्वाचनमा कास्की २ बाट कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए ।

त्यस्तै अर्का दाबेदार मानवहादुर जिसी एमालेका दाबेदार हुन् । उनी लेखनाथ नगरपालिका महानगरमा गाभिएपछि महानगरको मेयरका दाबेदार बनेका छन् ।

पोखराको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर माओवादी केन्द्रले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ ।

उनी पनि गत संविधान निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए । एमालेबाट मेयरका अर्का दाबेदार राजिव पहारी युवा संघका अध्यक्ष र पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वस्ववियु सभापति हुन् ।

पोखराको मेयरमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका पूर्व डीन डा.भरत पहारीको पनि नाम चर्चामा आएको छ ।

माओवादीका दाबेदार

माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरु चार जना देखिएका छन् । पोखरा नगर विसका समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, क्रिकेट एशोसियसनका पूर्व अध्यक्ष दीपक कोइराला, तमु मुक्ति मोर्चाका अध्यक्ष बखान सिंह गुरुङ र पार्टीका पोलिटब्यूरो सदस्य झलकपाणि तिवारी मुख्य दाबेदारका रुपमा देखिएका छन् ।

पोखरा महानगरपालिकामा राप्रपा र संघीय समाजवादी फोरमको पनि अस्थित्व छ । तर, ती पार्टीबाट मेयरका आकांक्षीहरु सार्वजनिक भइसकेका छैनन् । राप्रपाका नेता सूर्यबहादुर केसी पार्टी छाडेर बसेका छन् । राप्रपाबाट अरु आकांक्षीहरु देखिइसकेका छैनन् ।

कसको अवस्था कस्तो ?

पोखरा नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएको लेखनाथ नगरपालिकामा एमालेले जितेको थियो । थपिएका गाविसहरुमध्ये धेरैजसो एमालेको पकड क्षेत्र मानिएका गाउँ हुन् ।

पोखरा महानगरपालिकामा कास्कीका चारवटै क्षेत्रका ८० प्रतिशत भूभाग समेटिएको छ । चार क्षेत्रमध्ये ०७० को चुनावमा २ सीट कांग्रेस र २ एमालेले जितेका थिए । त्यसअघि ०६४ मा तीनवटा क्षेत्र माओवादीले जित्दा एउटा क्षेत्र एमालेका रविन्द्र अधिकारीले जितेका थिए ।

पोखराको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर माओवादी केन्द्रले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ ।

यो पनि पढ्नुहोस् 

ललितपुरमा चुनावी चर्चाः महानगरको मेयरका यी हुन् दाबेदार

को बन्ला काठमाडौंको मेयर ? यस्ता छन् प्रमुख दलका दावेदारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment