Comments Add Comment

चीनको सिञ्जियाङमा १२ पृथकतावादी पक्राउ

अनलाइनमार्फत आतंकवाद र पृथकतावाद फैलाएको आरोप

१६ चैत, काठमाडौं । नेपालमा सिके राउतले पृथकतावादी गतिविधि गरेजस्तै चीनमा समेत पृथकतावादको समस्या देखिएको छ । फ्री तिब्बतको पृथकतावादी गतिविधिको सामना गरिरहेको चीनमा मुस्लिम बाहुल्य उत्तरपश्चिमी प्रान्त सिञ्जियाङमा पनि यस्तो गतिविधि देखिएको छ ।

उत्तरपश्चिमी चीनको सिन्जियाङ युघुर स्वायत्त क्षेत्रका अधिकारीहरुले अनलाइनमा अतिवादी, पृथकतावादी र अन्य गैरकानूनी विषयवस्तु प्रसार गरिएका ११ नयाँ घटना सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ ।

सिञ्जियाङमा २०१६ मा पारित भएको आतंकवादविरोधि कानूनअनुसार सेलफोन, इन्टरनेट, मोबाइल तथा अन्य सञ्चारमाध्यममार्फत आतंकवाद तथा अतिवादी सोचहरुलाई प्रवर्द्धन गर्ने व्यक्तिहरुलाई समेत अभियोग लगाउन सकिन्छ ।

क्षेत्रीय जनसुरक्षा ब्यूरोले यस वर्षको जनवरी र मार्चबीचमा १२ जना संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरेको सिन्जियाङ साइबरस्पेस प्रशासन कार्यालयलाई उधृत गर्दै टाइम्सले जनाएको छ । ती संदिग्ध व्यक्तिहरुले आतंकवाद, हिंसा, धार्मिक अतिवाद र पृथकतावादसँग सम्वन्धित सूचनाहरुका साथै झूट समाचार र अपमानजनक अभिव्यक्तिहरु फैलाएको चिनियाँ सरकारी अधिकारीहरुको भनाइ छ ।

समाचारमा जनााइए अनुसार ११ घटनामध्ये चारवटामा आतंकवादलाई प्रोत्साहित गर्ने विषयवस्तु रहेका छन् भने दुईवटा धार्मिक अतिवादलाई प्रचार प्रसार गरेको, दुईवटा आतंकवादका झूठा समाचार फैलाएको र एउटा सरकारविरुद्ध अभियान चलाएको घटनाहरु छन् ।

सिञ्जियाङका स्थानीय अधिकारीहरुले फेबु्रअरीमा पनि यस्तै खालका घटनाहरु सार्वजनिक गरेका थिए । फेबु्रअरी र अहिलेको घटनामा यस क्षेत्रमा संदिग्ध व्यक्तिहरुले आमरुपमा आतंकवाद र धार्मिक अतिवादलाई प्रोत्साहित गर्ने विषयवस्तु बढी फैलाएको पाइएको छ ।

ग्लोबल टाइम्सका अनुसार सिन्जियाङ पिपुल्स कंग्रेसका स्थाई समिति उपनिर्देशक डोङ सिनगुआङले यस महिनाको अन्त्यसम्ममा सिन्जियाङले क्षेत्रीय साइबर सुरक्षा कानून पारित गरिसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment