Comments Add Comment

सार्क साहित्य उत्सव: बाबियोको डोरी, युवाको रोटेपिङ

गत फेब्रुअरी २४ देखि २६ सम्म भारतको नयाँ दिल्लीमा भएको सार्क साहित्य उत्सवको अन्तिम दिन बिहान होटलबाट कार्यक्रम स्थल जाँदै गर्दा बङ्गलादेशी कवि शाफिनुर शाफिनले भनिन्- ‘तिमीहरुका कविता मलाई धेरै मन पर्‍यो । नेपाली कविताको स्तर निकै माथि रहेछ । तिमीहरुको मौलिक लेखनशैलीले मलाई ज्यादै प्रभाव पार्‍यो ।’

कविताले सम्बोधन

आफ्नो नामभन्दा पनि कविताले चिनिनु र सम्बोधन हुनु कविका लागि असाध्यै सुन्दर कुरा हो ! कविता वाचनको सेसन सकिएपछि कविताको नाम लिएर कविलाई खोज्दै आउनु र कविताको चर्चा हुनु जत्ति आनन्ददायी अर्को के हुन सक्ला र कविको लागि !

यस पटकको सार्क साहित्य उत्सवमा ‘बेम्बो’ (मुकुन्द प्रयास), ‘क्रुस’ (सुरज सुवेदी), ‘रिक्सापुलर’ (अर्जुन ढुङ्गाना), ‘ग्रामर अफ लभ’ (विराट अनुपम) ले त्यो सफलता प्राप्त गर्न सके ।

दीपक शम्चुको प्रेम कविताले धेरैको मन छोएको प्रतिक्रिया पायो । डा. तारा गान्धी भट्टाचार्जीले मेरो ‘एबाउट मदर’ को प्रसङ्गबाट आफ्नो सम्भाषण सुरु गर्दा मलाई पनि भरपूर आनन्द मिल्यो ।

हाम्रै अभिभावकहरु अभि सुवेदी, सुमन पोखरेल, एलबी क्षेत्री, केशव सिग्देल, हरि अधिकारी, राजेन्द्र पराजुली, रमेश क्षितिज, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्सालको प्रशंसा, प्रेरणा र मायाले हामी युवा पुस्ता गदगद नहुने कुरै भएन । सुवेदी, पोखरेल र क्षेत्रीले हामीप्रति देखाएको सौहार्दताले त अरु देशका युवाले डाहा गरेको समेत थाहा पाइयो ।

केही नयाँ, केही पुराना

यस पटकको उत्सवमा नेपालबाट हरि अधिकारी, एल.बी. छेत्री, रमेश क्षितिज, राजेन्द्र पराजुली, मुकुन्द प्रयास, शुभलक्ष्मी लम्साल, अनुपम रोशी, सुरज सुवेदी, विराट अनुपम, केजी सुब्बा, श्रीधर गौतम, एकप्रसाद दुवाडीहरूको यो नै पहिलो पटकको सहभागिता थियो । पहिले पनि सहभागी भएकाहरूमा अभि सुवेदी, सुमन पोखरेल, केशव सिग्देल, सविता गौतम दाहाल, याक्दुहाङ धिरज (राई), दीपक शम्चु, अर्जुन ढुङ्गाना लगायत थिए ।

अन्य देशहरूको सहभागितामा पनि नयाँ र पुरानाहरुको संगम देखिन्थ्यो । यो देख्दा उत्सवमा सहभागिताको रूप बाबियोको डोरी बाटेको जस्तो हुने रहेछ भन्ने लाग्यो ।

नेपालीको वर्चश्व

शाफिनुरले हाम्रा कविताबारे आफ्नो धारणा राखुन्जेल नेपालका चार कवि बाहेक सबैले आफ्नो कविता वाचन गरिसकेका थिए । नेपाली कविताप्रतिको यस्तो प्रतिक्रियाले कार्यक्रममा रहेको आफ्नो सहभागिता महत्वपूर्ण भएको महसुस गरायो । ग्रिस र बङ्गलादेशबाट संयुक्त रुपमा प्रकाशित हुने प्रतिष्ठित वेबजिनको कविता विधाकी सम्पादक रहेकी शाफिनको प्रतिक्रियाको खास अर्थ रहेको अनुभूति भयो ।

शाफिन मात्रै हैन, यसरी नेपाली कवितालाई खुलेर प्रशंसा गर्नेमा कार्यक्रममा श्रोताका रुपमा सहभागी भएका मैत्रेयी हान्डिक र किलिनी काकोटीदेखि विदुषी डा. तारा गान्धी भट्टाचार्जी (जो महात्मा गान्धीकी नातिनी समेत हुन्) तथा फोसवालकी अध्यक्ष वरिष्ठ भारतीय लेखिका अजीत कौरसम्म थिए ।

कार्यक्रममा सहभागी अधिकांश कवि तथा विद्वानको सकारात्मक प्रतिक्रियाले यस पटकको उत्सव नेपाली युवा कविका लागि विशेष रह्यो ।

कविताको अनुवादको कुरामा मूल भाषाबाट अनुवाद हुँदा कविताले बोक्ने भाव गयो कि गएन, त्यो प्रमुख रहन्छ । आखिर अनुवाद भनेको शब्दको मात्रै अनुवाद हैन, भाषान्तर हैन । मातृभाषामा लेखिने दक्षिण एसियाली कविताहरु विश्वसामु पुर्‍याउन अनुवाद नै मुख्य चुनौती रहेको भन्ने सुनिँदै आइएको छ । राम्रो कविता पनि राम्रोगरी अनुवाद नभइदिँदा प्रभावहीन हुन जान्छन् भन्ने सबैले महसुस गरेकै कुरा हो । भाषा जान्दैमा मात्र पनि अनुवाद गर्न सकिन्छ भन्ने हुँदैन नै ।

अमेरिकाबाट उच्च शिक्षा सकेर फर्केका र सो कार्यक्रममा अङ्ग्रेजीमा सशक्त कार्यपत्र प्रस्तुत गरेका अफगानिस्तानका युवा कवि तथा विद्वान् प्रो. नाजीबुल्लाह आजादले मञ्चबाटै आफूले कविता अनुवाद गर्न नसक्ने भन्दै फारसी र उर्दूमा वाचन गरे । कविताप्रतिको उनको त्यो हदको संवेदनशीलतालाई मैले मनमनै सलाम गरेँ ।

हामी भने अनुवादका दृष्टिले पनि भाग्यमानी रह्यौं । नेपाली सहभागीमध्ये १३ कविका कविताहरू अभि सुवेदी वा सुमन पोखरेलका अनुवादमा थिए, जसले धेरैको प्रशंसा पाए ।

नेपाली कविहरु सुरज सुवेदी र अर्जुन ढुङ्गानाको कविता वाचनपछि सो सेसनकी अध्यक्ष कवि डा. तरन्नुम रियाजले राम्रा कविताको अनुवाद गरेकामा सुमन पोखरेललाई धन्यवाद दिनु पनि हाम्रा लागि खुसीको क्षण रह्यो । साथै, पोखरेलद्वारा अनुदित नेपाली कविताहरुमाथि आलेख लेख्न भारतीय कवि तथा लेखक क्षिरोद परिदाले कविताहरु माग्नु तथा पोखरेलकै कविताको हरफबाट सुरु गरेर टाइम्स अफ इण्डियाको साहित्यिक परिशिष्ट स्पिकिङ ट्रीमा लेख समेत आउनु नेपाली कविताका लागि गर्वको विषय थियो ।

तीनदिने कार्यक्रमका जम्मा ११ वटा सेसनमध्ये नेपाली प्रतिनिधिहरूका अध्यक्षतामा भएका तीन वटै सेसन सहभागीहरूका दृष्टिमा उत्कृष्ट सेसनमध्येमा पर्नु नेपालीका लागि अर्को गर्वको विषय रह्यो । अभि सुवेदी, सुमन पोखरेल र केशव सिग्देलले सेसन सञ्चालनका साथसाथै आ-आफ्ना प्रस्तुतिमा पनि नेपाली वर्चश्व कायम राखे ।

भुटानका छादोर वाङ्मो र भारतकी नन्दिनी साहु कार्यपत्रको प्रति माग्नु छ भन्दै सुवेदी र सिग्देललाई खोज्दै थिए । आफ्ना कवितामार्फत दक्षिण एसियामा गतिलो प्रभाव जमाउन सफल पोखरेलको प्रस्तुतिपश्चात् उनका कविता पढिरहेका तर कहिल्यै भेट नभएका भन्ने भुटानका मोनु तामाङ, बाङ्गलादेशका असरफ जेवल, भारतकी पद्मजा ऐयेग्नर लगायत कविलाई प्रत्यक्ष सुन्न पाएकोमा खुसी व्यक्त गर्दै थिए ।

युवाको प्रभाव

म पहिलो पटक सहभागी भएको सन् २०१५ को सार्क साहित्य उत्सवको तुलनामा यस पटक अरु देशबाट पनि युवा सहभागिता बाक्लै थियो । र, सबैजसो युवाको प्रस्तुति दमदार थियो । कार्यक्रममा युवाको प्रभाव छर्लङ्ग देख्न सकिन्थ्यो । अफगानिस्तानका कविहरु जोहरा जहीर र सोमाइया रामीशका शान्तिका लागि प्रार्थना गरिएका कविता र दमदार प्रस्तुतिले वाहवाही पायो । नाजी करीम र नाजीबुल्लाह आजादका कविताले पनि राम्रो प्रभाव देखाए ।

बङ्गलादेशका कवि शाफिनुर शाफिनको नारावादी कविता र तुसार कबीर, रविकिरण सङ्घ, जब्बर अल नईम तथा रसेल रैहानका कविताले पनि भरपूर ताली पाउन सफल भए । भुटानकी छादोर वाङ्ग्मोको सर्रियलिस्टक कविताले पनि हललाई ताली बजाउन बाध्य पार्‍यो ।

धेरैजसो माथिल्लो पुस्ता सहभागी भारतीय टोलीमध्येका रामाकृष्ण पेरेगू, बब डिकोस्टा, तुलिका चेतिया येन, सिग्मा सतिश जस्ता कविहरुले अग्रजहरुलाई चुनौती दिनेगरी कविता सुनाए । श्रीलङ्काबाट प्रतिनिधित्व गर्ने अदिता दासनायकेको कार्यपत्र प्रस्तुति पनि सन्तोषजनक रह्यो ।

समग्रमा यस पटकको सार्क साहित्य उत्सवले कवितामा नेपाल र युवाहरूको विशेष दखल भएको अनुभव गरायो । र, म एउटा नेपाली र युवाका लागि यो उत्सव आनन्दानुभूति गराउने महोत्सवको रूपमा अविस्मरणीय रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment