Comments Add Comment

बेलायत इयूबाट अलग्गिने प्रक्रिया सुरु, प्रधानमन्त्रीले गरिन् हस्ताक्षर

बेलायतले २९ मार्चदेखि यूरोपेली संघबाट अलग्गिने औपचारिक प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्री थेरेसा मेले यससम्वन्धी एउटा पत्रमा हस्ताक्षर गरेकी छन् ।

हस्ताक्षरित पत्र संघको ब्रसेल्सस्थित मुख्यालयलाई पठाइनेछ जसबाट लिस्बन सन्धीको धारा ५० लागू हुने छ ।

बेलायतमा गत २३ जूनमा जनमतसंग्रह गरिएको थियो जसको परिणाम यूरोपेली संघबाट अलग हुने पक्षमा आएको थियो । ५१.९ प्रतिशत मतदाताहरुले संघबाट अलग हुने पक्षमा मतदान गरेका थिए भने ४८.१ प्रतिशतले विपक्षमा मतदान गरेका थिए । यसपश्चात बेलायतमा प्रधानमन्त्री फेरिएका छन् । डेभिड क्यामरुनले जनमत संग्रहको फैसलापछि पद छोड्ने घोषणा गरे र पूर्व गृहमन्त्री थेरेसा मे नयाँ प्रधानमन्त्री बनिन् ।

के हो यूरोपेली संघ ?

छोटकरीमा इयू भनिने यूरोपेली संघ २८ यूरोपेली देशहरुको एउटा संगठन हो । यसको निर्माण दोस्रो विश्वयुद्धपछि आर्थिक सहायता बढाउन गरिएको थियो ।

संघको आफ्नै मुद्रा छ यूरो, जुन १९ सदस्य राष्ट्रले प्रयोग गर्छन् । यसका आफ्नै संसद पनि छन् । तर बेलायतको मुद्रा भने पाउन्ड नै छ ।

कहिले अलग हुन्छ बेलायत ?

यसका लागि बेलायतले लिस्बन सन्धिको धारा ५० लागू गर्नुपर्छ । त्यसपछि दुवै पक्षले दुई वर्षभित्र अलग हुने शर्तमा सहमति जनाउनुपर्छ ।

यदि बेलायती प्रधानमन्त्रीले २९ मार्चमा यो प्रक्रिया लागू गरिन् भने बेलायत २०१९ को ग्रीष्मसम्ममा इयूबाट बाहिर निस्कन सक्छ ।

यद्यपि, बेलायतका पूर्व विदेशमन्त्री र वर्तमान सरकारका अर्थमन्त्री फिल हेमन्डको भनाईमा बेलायतले इयूबाट बाहिर निस्कने सबै वार्ताहरु पूरा गर्न ६ वर्षसम्म समय लाग्न सक्छ । उनका अनुसार सदस्यता छोड्ने शर्तमा २७ सदस्य राष्ट्रका संसदहरुको सहमति लिनु जरुरी हुन्छ, जसका लागि थुप्रै वर्ष लाग्न सक्छ ।

के हो धारा ५० ?

धारा ५० यूरोपेली संघ छाड्न इच्छुक देशलाई ध्यानमा राखेर बनाइएको योजना हो । यो लिस्बन सन्धिको अंग हो जसमार्फत यूरोपेली संघलाई संवैधानिक मान्यता प्राप्त छ । यो सन्धी १ डिसेम्बर २००९ मा लागू भएको थियो । यसभन्दा अगाडि कुनै देश यूरोपेली संघबाट अलग हुने औपचारिक प्रक्रिया निर्धारण गरिएको थिएन ।

धारा ५० निकै सानो दस्तावेज हो । यसमा केवल ५ अनुच्छेद छन् । आजसम्म यसको प्रयोग भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment