Comments Add Comment

फेदीको पानी डाँडामा, ५० घर लाभान्वित

फाइल फोटो

१७ चैत, बाबियाचौर (म्याग्दी)। म्याग्दीको बेनी नगरपालिका–५ डम्मरामा फेदीबाट तानेर डाँडाको बस्तीमा खानेपानी सुविधा पुर्याइएको छ । विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएपछि डम्मरावासीको दैनिकी सहज भएको छ ।

टाढासम्म पुगेर गाग्री, ग्यालिन, बाल्टी र बोतलमा पानी ओसार्न बाध्य डम्मरावासीको दैनिकी फेरिएको स्थानीय बासिन्दा कविता बानियाँले बताए । “घरकै धारामा पर्याप्त मात्रामा नियमित पानी आपूर्ति हुन थालेपछि सुविधा, समयको बचत, घरायसी सरसफाइ र करेसाबारीको सिँचाइमा सहयोग पुगेको छ”, बानियाँले भने ।

डम्मराका बासिन्दाले खानेपानी आपूर्ति गर्दै आएको जरबुटाको मुहानमा २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पपछि पानीको स्रोत घटेपछि उनीहरु नदी किनारबाट पानी ओसार्न बाध्य भएका थिए । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयमार्फत बस्तीदेखि तलको म्याग्दी नदी किनारमा रहेको नीलढुङ्गाको मुहानबाट ९० मिटर माथि पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष विदुर कार्कीले बताए ।

४५ लाख ७५ हजारमा निर्माण भएको आयोजनाबाट ५० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटरसहितको निजी धारा जडान गरिएको छ । खानेपानीका साथै सिँचाइमा समेत यो आयोजनाको पानीलाई उपयोग गरिएको अध्यक्ष कार्कीले बताए ।

जमिनको सतहदेखि २० मिटरभित्र खनिएको इनारबाट प्रतिसेकेन्ड एक लिटर पानी आपूर्ति भएको छ । दुईसय मिटर पाइपलाइनबाट आपूर्ति गरिएको पानी २०२० घनमिटर क्षमताको दुईवटा रिजर्भ ट्याङ्कीमा सङ्कलन र शुद्धीकरण गरी वितरण गरिएको छ । पानी तान्नका लागि विद्युत्को सहायताले दुई हर्सपावर क्षमताको समसिवल पम्प जडान गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ ।

आयोजनाको पाइपलाइन, ट्याङ्की, इनार, विद्युतीय सामग्री, गृह निर्माणका लागि एक महिनाका दरले श्रमदान गरेका उपभोक्ताले प्रतिघर तीनहजार पाँचसयका दरले नगद सङ्कलन गरेका थिए ।

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयमार्फत  १६ लाख ९० हजार भुक्तानी भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण कोषमार्फत उपलब्ध हुनुपर्ने १८ लाख निकासा हुन ढिलाइ हुँदा समस्या परेको उपभोक्ता समितिका पदाधिकारीले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment