Comments Add Comment

ट्राफिकका सीतारामः ससुराली जाँदा पनि युनिफर्म !

'४२ जोर युनिफर्म छन्, दिनदिनै फेर्छु'


ट्राफिक कार्यालय दरबारमार्गमा ज्याकेट लगाएका एक अधबैंशे मोटरसाइकलमा सरासर गेटभित्र छिर्न खोजे । गेटमा प्रहरीले रोकेर सोधे, ‘कसलाई भेट्न आएको ?’

अधबैंशेले जवाफ दिए, ‘म सीताराम हाछेंथु…।’

प्रश्नकर्ता प्रहरी जिल्ल परे । अनि, अप्ठेरो मान्दै भने, ‘सरलाई त चिन्नै नसकेको । युनिफर्म बिना देखेकै थिइनँ ।’

यो घटना धेरै पुरानो होइन ।

हरबखत युनिफर्ममा

जब इन्स्पेक्टर सीताराम हाछेंथुको प्रसंग आउँछ, स्मृतिमा ट्राफिक प्रहरीको पहिरनमा ठाँटिएको सग्लो रुप ठिंग उभिन्छ । न उनी दौरा सुरुवालमा प्रकट हुन्छन्, न जिन्स र टिसर्टमा । न पाइन्ट सुटमा देखा पर्छन्, न ट्राउजर र ज्याकेटमा ।

उनी हरबखत प्रहरी युनिफर्ममै देखिन्छन्, बिहान ६ बजेदेखि राति ९ बजेसम्म ।

त्यो बाहेक ?

त्यो बाहेक उनी क्याजुअल वेयरमै हुन्छन् तर, घरभित्रै । युनिर्फम नलगाई सीताराम हम्मेसी बाहिर निस्किँदैनन् । ‘जबसम्म म प्रहरीको युनिफर्म लगाउदिनँ । स्वयंलाई सीताराम हुँ जस्तो लाग्दैन’ सीताराम सुनाउँछन् ।

उनी युनिफर्म छाड्दैनन्, चाहे सातामा एकपटक भक्तपुरको सूर्यविनायकस्थित घरमा पुग्दा होस्, चाहे ससुराली । दशैंको टीका थाप्नदेखि पारिवारिक घुमघाममा समेत उनी ट्राफिक प्रहरीकै गेटअपमा हुन्छन् ।

४२ जोर युनिफर्म, ९ जोर बुट

आकाशे रंगको फेरो भएको सेतो क्याप, नीलो सर्ट, गाढा नीलो पाइन्ट, टाई, सेतो बेल्ट, कालो बुट । ट्राफिक प्रहरीको यस्तो युनिफर्म मात्र ४२ जोर छ, सीतारामसँग । आज लगाएको युनिफर्म उनी भोलिपल्ट दोहोर्‍याएर लगाउँदैनन् । हरेक बिहान उनको शरीरमा नयाँ युनिफर्म हुन्छ ।

धोएर, आइरन गरेर ह्याङगरमा चिटिक्क सजाइएको युनिफर्म हरेक दिन लगाउँदै जाँदा ४२ दिनसम्म उनले दोहोर्‍याउनु पर्दैन । ‘बिहान लगाएको युनिफर्म बेलुकी फुकालिन्छ’ सीताराम भन्छन्, ‘एक सातामा सबै जम्मा गरेर धुन दिन्छु ।’ पहिरन धुनका लागि आफ्नै खर्चमा सहयोगी राखेका छन् ।

राम्ररी धोएको युनिफर्मलाई आइरन गर्ने र ह्याङगरमा सजाउने काम आफै गर्छन् । बुटमा पोलिस गर्न पनि उनलाई सहयोग चाहिँदैन । उनीसँग ९ जोर त ट्राफिक प्रहरीले लगाउने बुट नै छन ।

‘ट्राफिक भएपछि दिनदिनै सडकमा खटिनुपर्छ, धूँवा-धूलो, पसिनाले लुगा फोहोर हुन्छ’ सीताराम भन्छन्, ‘त्यसैले हरेक दिन युनिफर्म फेर्ने गर्छु ।’

प्रहरीको युनिफर्मप्रति उनको एक किसिमको आशक्ति छ । सम्मान र आत्मगौरव पनि ।

‘यो युनिफर्मले नै हो मलाई सीताराम हाछेंथु बनाएको’ उनको बुझाई छ, ‘नभए म तासको खालमा जमिरहेको हुन्थे होला, रक्सीको भट्टीमा साहुनीसँग छिल्लिइरहेको हुन्थे होला, सुटुक्कै क्लबमा छिरेर मसाज गराइरहेको हुन्थे होला ।’

उनलाई रेष्टुराँ छिरेर चिसो बियर घुड्क्याउन मन नलाग्ने हो र ? डान्स क्लबमा षोडसीसँग कम्मर मर्काउने इच्छा नभएको हो र ? तर, प्रहरी युनिफर्म पहिरिएर त्यस्ता हर्कत गर्न के मिल्थ्यो ।

पाँच वर्षदेखि लुगा नकिनेको दावी

युनिफर्म पहिरिएपछि सीतारामको फूर्ति एकाएक बढ्छ । उनको शरीर सबै अवयव, इन्द्रिययहरु सर्तक हुन्छन् । जोस र जाँगर थपिन्छ ।

‘ममाथि राज्यको जिम्मेवारी छ भन्ने कुरा बोध हुन्छ’ सीताराम भन्छन्, ‘युनिफर्मले जनताप्रति उत्तरदायि हुन प्रेरित गरिरहन्छ ।’ यस्तै आत्मबोधले उनलाई ट्राफिक प्रहरीको युनिफर्ममाथि प्रेमभाव पैदा गराएको हुनसक्छ ।

हाछेथुको पुरानो तस्वीर

माथिल्ला दर्जाका प्रहरीहरुले समेत कौतुहलता पोख्छन् रे, ‘सीताराम, तिमीलाई अरु ड्रेसमा कस्तो देखिदो हो ?’ एकपटक दशैंको टीका थाप्न समेत युनिफर्ममै उपस्थित भएपछि तत्कालीन प्रहरी महानिरीक्षकले सहयोगीलाई अह्राएछन्, ‘सीतारामलाई दुई जोर लुगा किनिदिनु ।’

तर, उनलाई अन्य लुगाको खाँचो नै पर्दैन । भन्छन्, ‘मैले पाँच बर्ष यता लुगा किनेकै छैन ।’

दिनमै ३ पटक लुगा फेर्ने झिल्के

प्रहरीमा प्रवेश गर्नुअघि उनी कम्ता झिल्के थिएनन् । सर्लक्क लर्काएको कपाल, आँखामा चस्मा, जिन्स र टिसर्टमा कम्बिनेसन मिल्ने ज्याकेट ।

‘दिनमा तीन पटकसम्म लुगा फेर्थे’ सीताराम फ्ल्यासब्याकमा पुगे, ‘खुब स्टाइल पार्नुपर्थ्यो मलाई ।’

भक्तपुरका रैथाने ठिटो । खेतीपातीले खान लाउन पुग्थ्यो । सुकिलो मुकिलो हुनलाई कुनै बाधा अड्चन थिएन । उनी दिनहुँ लुगा बदल्दै लगाउँथे । ‘म सुकुलगुण्डो थिएँ’ सीताराम सम्झन्छन्, ‘कपाल पालेको, त्यस्तै लुगा लगाउने । मेरो न हुलिया भलाद्मी थियो, न स्वभाव नै ।’

यि ‘सुकुलगुण्डा’ प्रहरीमा भर्ती नभएका भए फिल्मतिर चान्स मार्ने थिए कि ?

‘कहाँ फिल्म सिल्मको कुरा’ उनी ठट्यौली भावमा भन्छन्, ‘म पूर्णकालिन गुण्डा हुन्थें । सायद यतिबेला मलाई प्रहरीले खोरमा थुनिरहेको हुन्थ्यो ।’ प्रहरी सेवामा लागेपछि नै हो, उनले अनुशासनको पाठ सिकेको । जब प्रहरीमा लागे, उनी १ सय ८० डिग्रीमा बदलिए । सुकुलगुण्डोबाट जिम्मेवार प्रहरीमा रुपान्तरण भए ।

अवकास लगत्तै १० जोर सुट सिलाउने

‘मेरो रिटायर्ड लाइफ एकदम शानदार हुनेछ’ सीतारामको ठोकुवा गर्दै भने, ‘अवकास लगत्तै १० जोर सुट सिलाउँछु । अनि टक्क टाई-सुटमा ठाँटिएर बस्छु ।’ अब सीतारामलाई यस्तो आवरणमा देख्न तीन बर्ष कुनुपर्नेछ ।

अवकासपछि उनी गजबको जीवनशैली व्यतित गर्ने योजनामा छन् । प्रहरी सेवाभर नलगाएको पहिरन उनी लगाउन थाल्नेछन् । खासगरी उनी टाई सुटमा ठाँटिनेछन् । अनि भक्तपुरका सबैजसो बिद्यालयमा पुगेर सडक अनुशासनको ज्ञान बाड्नेछन् ।

‘हामी जस्तो पहिरन लगाउँछौ, त्यस्तै हुन्छौ’ सीतारामलाई लाग्छ, ‘भलाद्मी देखिने पहिरन लगाएपछि उट्याङपट्याङ गरिदैन ।’ टाई-सुटले सधैं भलाद्मी देखिने उनको बुझाई छ । यस्तो पहिरनमा ठाँटिएपछि आत्म अनुशासन कायम गरिन्छ भन्ने लाग्छ, उनलाई ।

‘टाई सुट लगाएपछि मातेर हिँड्नु भएन, जुवाको खालमा बस्न भएन’ उनी भन्छन्, ‘आफैं अनुशासित भइन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment