Comments Add Comment

३१ अर्ब खर्चेर मेलम्चीमा अर्को सुरुङ, काठमाडौं आउने पानी तेब्बर हुने


१७ चैत, काठमाडौं । सरकारले मेलम्ची आयोजनामार्फत आउने पानीलाई अहिलेको भन्दा तेब्बर क्षमतामा विस्तार गने भएको छ । त्यसका लागि मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसिने भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाले लक्ष्यअनुरुप काम गरे अबको दशैं अघिसम्म काठमाडौंमा पानी झरिसक्छ । ढिलै भए पनि ०७४ सालभित्र मेलम्चीको पानी काठमाडौंका धेरै घरमा पुग्नेमा आशंका छैन । त्यसपछि पनि मेलम्चीको पानी आयोजना रोकिने छैन, किनभने पहिलो चरणमा आउनेभन्दा तेब्बर पानी यही आयोजनामार्फत ल्याउन तत्काल काम सुरु हुनेछ ।

दैनिक ५१ करोड लिटर पानी आउने

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको अर्को प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्‍याउने आयोजना प्रमुख घनश्याम भट्टराई बताउँछन् ।

यो योजनाअनुरुप मेलम्ची आयोजनामा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।

यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३१ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । एडीबीले पनि मेलम्चीको नयाँ प्रोजेक्टमा लगानी गर्न तयार रहेको सार्वजनिक रुपमै बताइसकेको छ ।

सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेटमार्फत नै गरिसकेको छ । र, डीपीआरको काम तीव्र गतिमा अघि बढेको छ ।

अब पहिलो चरणमा १७ करोड लिटर पानी आएपछि दोस्रो चरणमा ३४ करोड लिटर पानी थपिनेछ । काठमाडौंमा दीर्घकालीन रुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो ।

मेलम्चीसँगै यी दुई खोलाको पानी आएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा सहज हुनेछ ।

डिजाइनिङ हुँदै

मेलम्ची खानेपानीको क्षमता विस्तारका लागि अहिले डिजाइनिङको काम द्रुत गतिमा भइरहेको भट्टराईले बताए । ‘एक वर्षभित्र हामी डिजाइनिङको काम सकाउनेछौं । त्यसपछि यसका लागि बजेट जुटाउने प्रक्रिया पनि सुरु हुन्छ’ भट्टराईले भने, ‘यो प्रोजेक्टमा लगानी गर्न एडीबीले इच्छा देखाएको छ । तर, छलफल भए टुंगिन बाँकी नै छ ।’

मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाउन १० किलोमिटरको सुरु खन्नुपर्नेछ झण्ड १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसिएपछि मेलम्ची आयोजना थप समृद्ध हुनेछ ।

यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको भट्टराईले बताए । मेलम्ची आयोजनामार्फत आएको पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्चीको पानी काठमाडौं आएपछि काठमाडौंमा पानीको माग व्यवस्थापन सहज हुनेछ ।

झन् योजनाअनुरुप थप ३४ करोड लिटर पानी काठमाडौं आएपछि यहाँ पानीको अभाव पूर्ण रुपमा हट्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment