Comments Add Comment

आदित्यनाथको उदयः के भारत अर्को पाकिस्तान बन्दैछ ?

बहसः आदित्यनाथ मोदीको चुनौति बन्न सक्लान् ?

उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथको नियुक्ति एउटा कुनै अद्भुत घटना थिएन । आखिर निर्वाचन जितेको पार्टीले मुख्यमन्त्री नियुक्त गर्नु एउटा औपचारिक प्रक्रिया हो । भारतीय जनता पार्टी (भाजपा) राज्यमा ३ सय २५ सिट जितेर यो नियुक्तीको हकदार बनेको थियो ।

तर, आदित्यनाथको सत्तारोहणमाथि चौतर्फीरुपमा प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । केहीले यसलाई भारतमा धर्म निरपेक्षताको अवसानका रुपमा व्याख्या गरे । अरु केहीले आदित्यनाथलाई भविष्यका प्रधानमन्त्रीका रुपमा चित्रित गर्दै नरेन्द्र मोदी अब हिन्दूत्वको ‘पोष्टर व्वाइ’ बाट विस्थापित बनेको घोषणा गर्न भ्याए । अनि कतिपयले कट्टरपन्थि हिन्दु संगठन राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) ले अन्ततः मोदीको उत्तराधिकारी पाएको भनेर टिप्पणी गरे ।

के आदित्यनाथ मोदीका लागि चुनौति हुन् ?

म यो दृष्टिकोणमा सहमत छु कि आदित्यनाथले मोदी ब्रान्डलाई गम्भीर चुनौति दिएका छन् । प्रधानमन्त्री मोदीको तुलनामा उनी निश्चय नै आफ्नो दर्शनप्रति बढि आक्रामक र कठोर छन् ।

संविधान, धर्मनिरपेक्षता र साम्प्रदायिकतामाथिको बहसका बीचमा हामीले यो तथ्यप्रति आँखा चिम्लिरहेका छौं कि आदित्यनाथको उदय आजको भारतीय राजनीतिमा खतरनाक प्रवृत्तिको सुचक हो । यदि हामीले विद्यमान परिस्थितिको झट्टै आँकलन गर्न सकेनौं भने हामी अर्को पाकिस्तान बन्नेतर्फ उन्मुख हुनेछौं ।

पाकिस्तानमा धार्मिक शासन

यो नयाँ पुस्ताका लागि अपत्यारिलो हुन सक्छ तर, पाकिस्तान स्थापनाका हस्तिहरु धर्ममा आधारित राजनीतिका खतरा र यसले राष्ट्रलाई पार्न सक्ने क्षतिका बारेमा पूर्णरुपमा सचेत थिए । पाकिस्तान निर्माणका प्रमुख पात्र मोहम्मद अली जिन्नाहले पाकिस्तानलाई यस्तो राष्ट्रका रुपमा कल्पना गरेका थिए, जहाँ धर्म व्यक्तिको निजी छनोट मात्र हुनेछ, कुनै राजनीतिक औजार हुने छैन । र, जहाँ राज्यको आँखामा हिन्दु र मुस्लिम बराबरी हुनेछन् ।

तर, आज पाकिस्तानमा जीवनका सबै आयामहरुलाई धर्मले निर्धारण गर्छ । राजनीतिक शक्ति असीमित रुपमा मुस्लिम अतिवादमा जकडिएको छ । पाकिस्तानमा पञ्जाबका उदारबादी गभर्नर आफ्नै बडिगार्डबाट गोली हानी मारिए जसलाई आज अदालतका शिक्षित वकिलहरुले ‘नायक’ का रुपमा सम्भिmन्छन् । देशको यो हालत देखेर चिहानमा रहेका जिन्नाह पक्कै पनि उदेक मानिरहेका होलान् ।

कट्टरपन्थी इस्लामको उदय

जिन्नाहको मृत्युपछि उनका उत्तराधिकारी लियाकत अली खानले उनको लिगेसीलाई अघि बढाए र धर्मनिरपेक्ष पाकिस्तानको वकालत गरे । उनले पनि राजनीति र धर्मलाई अलग राख्नुपर्छ भन्ने तर्कमै जोड दिए । तर उनको मृत्यूपछि भने धर्म र राजनीतिलाई अलग राख्ने कोही पनि भएन ।

प्रारम्भदेखि नै पाकिस्तान सरकारमाथि इस्लामिक कानूनअनुसार चल्नुपर्ने भयानक दवाव थियो । पुरातनवादी शक्तिहरुले धर्मनिरपेक्ष राजनीतिलाई निन्दा गर्दै इस्लामिक राज्यको वकालत गरे । राष्ट्रपति इस्कन्दर मिर्जाले प्रधानमन्त्री नाजिमुद्दिन र पञ्जाबका मुख्यमन्त्रीलाई बर्खार्स्त गरे किनकी उनीहरु १९५३ मा भएको लाहोर दंगकाका क्रममा अतिवादी पार्टीहरुप्रति पर्याप्त कठोर थिएनन् । यही देशमा आज इस्लामका नाममा हत्याका घटनाहरु दिन-प्रतिदिन भइरहेका छन् ।

धेरै समयदेखि पाकिस्तानका राजनीतिक हस्तिहरुले चुनाव जित्नका लागि अतिवादी सोचहरुलाई यतिसम्म प्रवर्द्धन गरिरहेका छन् कि अतिवाद ले आतंकवादको रुप ग्रहण गरेको छ ।

आतंकवाद प्रायोजित राज्यको आधारशीला

यदि पाकिस्तान आतंकवाद प्रायोजित राज्यका रुपमा आज चिनिन्छ भने त्यसको कारकतत्व यही हो । सन् १९५६ मा पाकिस्तानलाई संविधानमै इस्लामिक गणतन्त्र घोषणा गरियो । जनरल अयुवले १९६२ मा यो शब्दावलीलाई संविधानबाट हटाउने प्रयत्न गरे तर, उनीपछि आएका याहया खानले त्यो प्रयासलाई अलपत्र बनाइदिए जो जुल्फिकर अली भुट्टोसँगको द्वन्द्वमा पुरातनवादी शक्तिहरुलाई फकाएर आफ्नो पक्षमा तान्न चाहन्थे ।

भुट्टो सबै प्रकारले एक आधुनिक व्यक्ति थिए । तर, शक्तिमा बहाल रहनका लागि उनी पुरातन इस्लामिक शक्तिहरुसँग गठजोड गर्न वाध्य भए । भुट्टोेले इस्लामलाई राज्यको धर्मका रुपमा परिणत गरे, अहमादियासलाई गैरमुस्लिमक घोषणा गरे र अल्पसंख्यक समुदायलाई दोस्रो दर्जाका नागरिक बनाइदिए । त्यसपश्चात पाकिस्तान कहिल्यै पछाडि फर्केन । अनि, इस्लामिक सैनिकिकरण आयो आतंकवाद प्रायोजित राज्यको आधारशीला तयार भयो ।

भारतको धर्मनिरपेक्षता

आफूले दशकौं अगाडि स्थापना गरेको पाकिस्तान यही हो भनेर पत्याउन जिन्नाहलाई गाह्रो पर्नेछ । यता भारतका संविधान निर्माताले एउटा धर्मनिरपेक्ष राज्यको कल्पना गरे र राजनीतिलाई धर्मबाट अलग राखे । यतिसम्म कि राष्ट्रपति राजेन्द्र प्रसादले सोमनाथ मन्दिरको उद्घाटन समारोहमा उपस्थित हुने इच्छा व्यक्त गर्दा राष्ट्रप्रमुखले सार्वजनिक प्रकृतिको धार्मिक कार्यक्रममा भाग लिनु हुन्छ कि हुँदैन भनेर बहस चलेको थियो ।

पाकिस्तानबाट सिक्नुपर्ने पाठ

मोदीले २०१४ मा हिन्दु राष्ट्रको नारा दिएर होइन, विकासको प्रतिवद्धताका आधारमा जनमत हासिल गरेका थिए । अहिले पनि सार्वजनिक भाषणहरुमा उनी विकासकै मुद्दामा बढी केन्दि्रत हुन्छन् । तर, उनको कार्यकालमा हिन्दु अतिवाद निकै मौलाएको छ र धेरैलाई यसले पीडित तुल्याएको छ । राजनीतिको लाई धार्मिक विचारधाराका आधारमा हस्तान्तरण गर्न सकिँदैन जसरी आदित्यनाथलाई गरिएको छ ।

कट्टरपन्थि चरित्रका बाबजुद उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिनुले हाम्रो प्रजातन्त्रको आधारभूत सिद्दान्तमा धक्का लागेको छ । पाकिस्तानले १९५६ मा गरेको गल्तिको मूल्य अझै चुकाइरहेको छ । हाम्रो कदमले पनि आगामी वर्षहरुमा यस्तै नतिजा निकाल्नेछ । पाकिस्तानको यथार्थबाट पाठ सिक्नुको साटो हामी उसैको नक्कल गर्ने प्रयासमा त छैनौं ? यो बाटो आत्मघाती र खतरनाक छ ।

(द क्वीन्ट डट कमबाट अनुवादित । लेखक आपका प्रवक्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment