Comments Add Comment

७ नम्बर प्रदेशको सम्भावित राजधानी धनगढीः यी हुन् मेयरका दाबेदार

कांग्रेस-एमालेको कडा टक्करः माओवादी र राप्रपा निर्णायक


१७ चैत, धनगढी । ७ नम्बर प्रदेशको एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढाइसकेको छ । उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागेका छन् भने अर्कोतिर सम्भावित अन्तरघातको त्रासमा छन् ।

टिकटका आकांक्षीहरुले पार्टीभित्र आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेका छन् । टिकट खोस्न पार्टीभित्रैबाट षड्यन्त्र हुनसक्ने भन्दै खुलेर उम्मेदवार भएको घोषणा समेत गर्न सकिरहेका छैनन । यो समस्या नेपाली कांग्रेस र नेकपा एमालेभित्र बढी छ ।

७ नम्बर प्रदेशको राजनीतिलाई प्रभावित पार्ने धनगढीको नगरप्रमुख र उपप्रमुख बन्न दलभित्रै नेताहरुबीच चर्को दौडधुप र लविङ सुरु भएको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा वर्चस्व कायम गर्न मरिमेटेर लागेका दलहरु निर्वाचनमा हुनसक्ने आफ्नै पार्टीका नेताहरुको आन्तरिक मतभेद र अन्तर्घातबाट सशंकित छन् ।

कांग्रेस र एमाले एक-अर्काका प्रतिस्पर्धी भए पनि ती दलका उम्मेदवार भने आफ्नैभित्र अस्वस्थ प्रतिस्पर्धाको शिकार हुने खतरा पनि त्यत्तिकै छ । धनगढी ७ नम्बर प्रदेशको अघोषित  राजधानी हो । यसको मेयर हुने व्यक्ति यस प्रदेशकै प्रभावशाली व्यक्ति हुनेछ । यस कारण पनि सबै पार्टीको ध्यान र ध्येय एउटै छ, जसरी पनि धनगढी कब्जा गर्ने ।

दोस्रो संविधानसभाको चुनावको बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जितेको यो उपमहानगरपालिका रहेको क्षेत्रबाट उपनिर्वाचनमा पनि कांग्रेसकै पुष्करनाथ ओझाले जितेका थिए । त्यसैले कांग्रेसले यसलाई आफ्नो पकडमा राख्न खोज्ने नै भयो ।

०५४ सालको नगर निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका कारण एमाले पनि कमजोर भने छैन । उपमहानगरपालिका बन्ने क्रममा एमालेको प्रभाव रहेको फूलबारी गाविस समेत थपिएका कारण आन्तरिक अस्वस्थ प्रतिस्पर्धाबाट आक्रान्त कांग्रेसका लागि चुनाव जित्न पहिले जस्तो सजिलो अवस्था भने छैन ।

करिब १ लाख ४७ हजार ७ सय ४१ जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा पछिल्लो पटक अत्तरिया नगरपालकाको ९ र ११ नम्बर वडा गाभिएपछि कुल १९ वडा बनाइएको छ । यस क्षेत्रमा माओवादीको पनि प्रभाव छ ।

कांग्रेसमा चार जनाबीच टक्कर

धनगढीमा मेयरका लागि कांग्रेसबाट नगर सभापति नृप वड र महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा प्रमुख प्रत्याशी हुन् । वड जिल्ला सभापति नरनारायण शाह मनु तथा महरा सांसद पुष्करनाथ ओझा निकट मानिन्छन् । दुवैजना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट भए पनि स्थानीयस्तरमा भने फरक-फरक गुटमा छन् ।

पार्टी सभापतिसँग अरुभन्दा नजिक रहेको र विगतमा पनि पार्टी र जनताका पक्षमा राम्रो काम गरेकोले मेयरको टिकट पाउनेमा महरा विश्वस्त छन् । यद्यपि वड पनि आफूलाई पार्टी सभापति देउवाले टिकट दिनेमा ढुक्क छन् ।

मेयरको सम्भावित उम्मेदवारका रुपमा धनगढीका पूर्व मेयर स्वर्गीय किशोर बमकी पत्नी रिता भण्डारी बम र हरिश खड्काको नाम पनि चर्चामा छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सभापति खड्का यसअघि वडा नम्बर १३ बाट निर्वाचत अध्यक्ष थिए ।

उपमेयरमा सम्भावित उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट जीवन राना र सुशीला मिश्र भट्टको नाम बढी चर्चामा छ । यद्यपि जागृति बोगटी, पुष्पा भट्ट पनि आकांक्षी छन् ।

एमालेबाट पूर्व सांसदकै चर्चा


एमालेबाट मेयरका लागि पूर्व सभासद एवम् वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना दाबेदारका रुपमा देखिएका छन् । उनी यसअघि यही नगरपालिकाको उपमेयर समेत रहिसकेका छन् ।

धनगढी उपमहानगरपालिकामा राना थारु समुदायको बाहुल्य रहेकाले पनि उनको दाबेदारी हो ।

त्यस्तै, एमाले पार्टीका जिल्ला सचिव रणबहादुर चन्द, प्रचार प्रसार विभाग सदस्य दुर्गाप्रसाद जोशी, केन्द्रीय सल्लाहकार दीपक देवकोटाको नाम पनि मेयरका रुपमा चर्चामा छ । यसका साथै एमालेका युवा नेता जीवन बमसँगै पुराना नेता नन्दलाल जोशीको नाम पनि चर्चामा छ ।

उपमेयरमा एमालेका तर्फबाट रुक्मणि देवकोटा, कलावती जोशी, मिना विक, सुशीला बुढाथोकी र छाया थापाको नाम चर्चामा छ ।

माओवादीका पाँच दाबेदार

माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरु पाँच जना देखिएका छन् । केन्द्रीय सदस्य एवम् दुई पटक समानुपातिक उम्मेदवार रहिसकेका रामसमझ राना दाबेदारका रुपमा देखिएका छन् । अन्य उम्मेदवारहरुमा पार्टीको नगर अध्यक्ष निर्मल शाह, केन्द्रीय सदस्य राधाकृष्ण अधिकारी, केन्द्रीय सदस्य तिलकबहादुर सिंह, केन्द्रीय सल्लाहकार डिल्लीराज खड्काको नाम चर्चामा रहेको छ ।

माओवादीबाट उपमेयरको सम्भावित उम्मेदवारका रुपमा सीता पन्त, प्रेमकला सुनार, राधा मिश्र, खगेश्वरी जोशीको नाम बाहिर आएको छ ।

राप्रपामा पनि तीन दाबेदार

राप्रपाबाट मेयरका आकांक्षी तीन जनाको नाम चर्चामा रहेको छ । गत संविधानसभाको चुनावमा उम्मेदवार बनेका राजेश भण्डारी आफूलाई दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् भने नगर अध्यक्ष रोम स्वाँरको नाम पनि चर्चामा छ । त्यस्तै, पूर्व केन्द्रीय सदस्य पुष्कर भट्ट पनि दाबेदारका रुपमा देखिएका छन् ।

राप्रपा नेपालबाट उपमेयरमा जनक कुँवरको दाबेदारी रहेको बताइएको छ । राप्रपा नेपाल कैलालीकी पूर्व अध्यक्ष कुँवर शाही शासनकालमा भएको स्थानीय निकायको निर्वाचनबाट धनगढीको मेयर भएकी थिइन् ।

कुन दलको अवस्था कस्तो ?

धनगढी नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएका गाविसमध्ये फूलबारीमा एमालेको प्रभाव छ भने अन्यमा कांग्रेस बलियो छ । यद्यपि धनगढीमा अन्य दलको तुलनामा कमजोर रहेको राप्रपा नेपालको उर्मामा बलियो उपस्थिति छ ।

धनगढी उपमहानगरपालिकाको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर, माओवादी केन्द्र र राप्रपाले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ । यी दलको मत निर्णायक हुन सक्छ ।

स्वतन्त्र उम्मेदवारका रुपमा हमालको चर्चा

धनगढी उपमहानगरपालिकाको मेयरको सम्भावित उम्मेदवारका रुपमा सुदूरपश्चिमका अभियन्ता र कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल पनि यतिबेला चर्चामा छन् ।

निडर र कुशल व्यवस्थापक मानिने हमालले जितेमा धनगढीको मुहार फेरिनेमा युवा र खासगरी विकास प्रेमी ठूलो तप्का विश्वास गर्छ ।

उनलाई आफ्नो पार्टीका तर्फबाट चुनाव लड्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राप्रपा नेपालका केन्द्रीय सदस्य राजेश भण्डारीले समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment