Comments Add Comment

एमालेपछि नयाँ शक्तिको मधेस यात्रा

नयाँ शक्ति पार्टीले भर्खरै सञ्चालन गरेको हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियानको सन्दर्भमा मधेस यात्रा गर्दा केही रोचक परिदृश्यहरु देखिए । केही प्रतिनिधि दृश्यहरु यस्ता छन्ः

दृश्य १ लाहानः सप्तरीका क्रियाशील पत्रकार मित्रले तर्क गरे, ‘मधेस फेरि आन्दोलनको मानसिकतामा छ, उनीहरुको बुझाइमा संविधानमा आफ्ना अधिकार कटौती गरिएको भन्ने छ, हामी राज्यबाट विभेदमा र उत्पीडनमा परेका छौं भन्ने मनोविज्ञान स्थानीय तहसम्म बलियो गरी गडेको छ । यो मनोविज्ञानलाई नभत्काउँदासम्म मधेस शान्त हुँदैन ।’

दृष्य २ महोत्तरीः मधेसका एक राजनीतिककर्मीले विचार पोखे, ‘पूर्वपश्चिम (महेन्द्र) राजमार्गको निर्माण हुनुभन्दा धेरै अगाडि ट्रयाक खुलेको तराई मधेसको दक्षिणी सीमावर्ती क्षेत्रको हुलाकी सडकलाई बेलैमा स्तरोन्नति गरिएको हुन्थ्यो भने तराई मधेसका दक्षिणी सहरहरु अहिले देशकै आर्थिक केन्द्र बनिसक्थे । तर, महेन्द्रले मधेसलाई वेवास्ता गर्दै वनजंगल सखाप पार्न र नयाँ वस्ती बसाउन महेन्द्र राजमार्ग बनाए ।’

दृष्य ३ कोहलपुरः सफेद पोशाक अनि टाउकोमा टिमिक्क ढाकाटोपी लगाएका एकजना आर्य समुदायका व्यक्तिले ‘इन्द्रेणी राष्ट्रवाद’को व्याख्या सुन्नेबित्तिकै अनायासै प्रश्न गरे – ‘तपाईं यो भन्नुस् कि हामी नेपाली हौं कि भारतीय ?’ उनी निकै आक्रोशित देखिए ।’

एमालेको मेचीकाली अभियान भन्दा फरक दृश्य

त्यसो त केही समयअघि देशकै दोस्रो ठूलो दल नेकपा एमालेले चुनावकेन्दि्रत मेची महाकाली अभियान सञ्चालन गरेको थियो । जब एमालेको अभियान सप्तरीमा पुग्यो, एकाएक परिस्थिति बदलिन गयो र अनाहकमा ५ जना नागरिकको ज्यान गयो ।

परिणामतः एमालेले आयोजना गरेको अभियानका क्रममा मधेसविरोधी जस्तो बन्न पुग्यो । संविधान जारी गर्दादेखि नै असन्तुष्ट रहेको तराई-मधेसमा त्यसयता झन् बढी असन्तुष्टि बढेको महशुस देखियो ।

हिमालदेखि तराई मधेससम्म फैलिएको देशको भौगोलिकदेखि जातीय, भाषीक र सांस्कृतिक विविधतालाई एउटै मालामा उनेर इन्द्रेणी राष्ट्रवादको माला बनाउनुपर्छ भन्दै नयाँ शक्तिका नेताहरुले अभियानका क्रममा भाषण गरे । उनीहरुले त्यही इन्द्रेणी राष्ट्रियताले देशको आन्तरिक राष्ट्रियता मजबुद बनाउने र त्यो नै मुलुकको समृद्धि र प्रगतिको आधार हुने बताउँदै गर्दा मधेसमा जनताको उपस्थिति उत्साहपूर्ण देखिन्थ्यो ।

लेखक कार्की

नयाँ शक्तिले आयोजना गरेका आमसभाहरुमा महिला तथा अल्पसंख्यक समुदायहरुको उपस्थिति उल्लेखनीय देखिन्थ्यो । यसबाट कम्तीमा मानिसहरुमा आफ्ना हक, अधिकारका विषयमा एक खालको जागरण पैदा भएको निश्कर्ष निकाल्न सकिन्थ्यो ।

अभियानकै क्रममा सिराहाको लाहानदेखि कैलालीको धनगढीसम्म पुग्दा अनुभव गरिएको कुरा के हो भने नयाँ शक्तिको कार्यक्रमलाई लक्षित गरेर जुलुस र आमसभामा सहभागिता जनाउन आउनेदेखि बाहेक दुई थरी मान्छेहरु भेटिए । जसमा एकथरी मान्छेहरुले असाध्यै राजनीतिक पूर्वाग्रह साँधेको देखियो । नयाँ शक्तिको कुनै हैसियत नै नदेख्ने अनि संयोजक डा. बाबुराम भट्टराईप्रति असाध्यै पूर्वाग्रही टिप्पणी गर्ने ।

यात्राकै दौरान यो पार्टीले कुनै पनि अवस्थामा गरी खाँदैन भनेर ठोकुवा गर्ने विलकुल अराजनीतिक चरित्रका राजनीतिक प्राणीहरु पनि भेटिए । उनीहरुको आसय पछिल्लो समयका राजनीतिक संघर्षहरु देशका लागि अहितकर छ । उनीहरुले समाजको तल्लो तप्काले राज्यसँग अधिकार मागेको कुरालाई सामाजिक सद्भाव बिथोलिएको रुपमा व्याख्या गरिरहेका छन् ।

बाँकेको कोहलपुरमै एकजना भलाद्मी भन्दै थिए – ‘हिजो हामी मिलेर बसेका थियौं, तर, अहिले शंका छ ।’ ती आफ्नो कहानी सुनाउँदै भन्दैथिए -‘पर्वतबाट बाउबाजे चितवन बसाइँं सरे, चितवनबाट बर्दिया र अहिले कोहलपुरमा बसेका छौं ।’

उनको बुझाइमा पछिल्लो समयमा तराई मधेसमा चलेको अधिकारको आन्दोलनका कारण मधेसमा पहाडी समुदायका मानिसहरुलाई बस्न गाह्रो भएको छ । उनको अभिव्यक्तिप्रति पंक्तिकारको प्रतिप्रश्न थियो – ‘तपाईंले कहिल्यै प्रश्न गर्नुभएको छ, हामी पहाडिया समुदायका मानिसहरु एक दुई पुस्तामै तीन चारपटक बसाईं सरेका छौं तर, ती साँच्चिकै मधेसमा बस्ने मधेसी र थारुहरु कतिपटक बसाइँं सरेका छन् ?’ उनीबाट कुनै उत्तर आउने सम्भावना नै थिएन ।

मधेसका केही गाउँहरु डुल्दा थाहा पाइएको अर्को तथ्य के हो भने मधेसका जनतामा एक खालको चेतना पैदा भएको छ, उनीहरु राज्यले अन्याय गरेकोमा एकमत छन् । तर, त्यो अन्याय कस्तो हो अनि कसरी न्याय मिल्छ ? त्यसमा भने स्पष्टता छैनन् । संघर्षका लागि मधेसी समुदाय सधैं तयार नै देखिन्छन् । तर, पटक-पटकको संघर्षबाट पनि उनीहरुले आफ्नो अधिकार संविधानमा सुनिश्चित गर्न नसक्दा मधेसको अन्योलता कतै विखण्डनकारी सोच हावी हुने त होइन भन्ने आशंका पनि बढ्दै गएको छ ।

अहिले जसरी तराई मधेशमा समस्या देखिँदैछ, यसको मूल कारण हिजो त्यहाँ कोही बोल्दैन थिए, हिजो उत्पीडनसँगै अभिव्यक्ति पनि बञ्चित थियो । हिजो शान्ति थियो, किनकि तिनीहरुले कुनै प्रश्न गर्दैनथे । समाजका ठूला सामन्त र महन्तहरुले गरेको शोषण अनि राज्यको उत्पीडनलाई सहज रुपमा स्वीकार गर्दथे तर, आज तिनीहरु अधिकार माग्न थालेका छन् । आफूहरुलाई राज्यले गरेको व्यवहार बुझ्न थालेका छन् । यो देशको निर्माण र माटोको रक्षार्थ आफ्ना पितापूर्खाले बगाएको रगत र पसीनाको मूल्य खोज्न थालेका छन् । शताब्दीऔंदेखि यो देशको रक्षार्थ तैनाथ भइरहँदा पनि अनागरिक भएको सम्झेर साँच्चिकै पूर्ण नागरिक हुन पाउँ भनेर विद्रोहको आवाज बोलिरहेका छन् ।

अनि अर्कोपक्ष त्यो विद्रोहको आवाजलाई सम्बोधन गर्नुको साटो प्रतिकारको मानसिकता बनाउँदैछ, त्यसैले समाज अशान्त झैं देखिएको छ ।

अर्कोतिर एकथरी मानिसहरु छन् जो अहिलेका समकालीन राजनीतिक दल र तिनका नेताहरुप्रति रत्तिभर विश्वास गर्न सक्दैनन् । उनीहरु समाजको रुपान्तरण हुनुपर्ने तर्क गर्दछन् । यो समाजमा व्याप्त सबै प्रकारका व्यभिचारहरुको अन्त्य भएर समाज सदाचार र सुशासनयुक्त होस् भन्ने चाहना पालेका छन् ।

सबैले आफ्नो गच्छे र हैसियत अनुसारको प्रतिभा प्रस्फुटन गर्न पाउन् र राज्यले सबैप्रति समान व्यहार गरोस् भन्ने चाहना राख्दछन् । तर, त्यसका लागि व्यक्ति, समाज, राजनीतिक दल र राज्यले के गर्नुपर्छ भनेर खुट्याउन सकिरहेका छैनन् । नयाँ शक्ति निर्माणको अभियानप्रति थोरै शंकामिश्रति विश्वास व्यक्त गर्दछन् । आखिर यो देशमा विकल्प त चाहिन्छ नै भन्नेमा विश्वास गर्दछन् तर, आफैं चाहिं त्यसरी विकल्प बनेर अघि बढ्ने साहस प्रदर्शन गर्न हिचकिचाइरहेका छन् ।

यस्ता प्रकारका मानिसहरुले आफ्नै स्वविवेक प्रयोग गरेर कुनै धारणा बनाउन सकेका छैनन् । मूलतः ती मान्छेहरु समाजमा पूर्वाग्रही धारणा बोकेर एकल, पाखण्डपूर्ण, आडम्बरी र नक्कली राष्ट्रयताको ध्वाँस दिनेहरुको विचारबाट सशंकित देखिन्छन् । यो किन पनि स्वभाविक छ भने विकल्प निर्माणको प्रश्न अलिकति जटिल र श्रम खर्च गर्नुपर्ने कुरा हो । तर, त्यसको विरुद्ध विषवमनमा धेरै मेहनत गर्नुपर्दैन । जे सुनिँदै आएको छ अथवा सुनाइएको छ, त्यसैका आधारमा धारणा बनाइदियो, बस् खत्तम । यसर्थ ती मानिसहरु प्रायोजित मानसिकता बोकेका मान्छेहरुको विचारबाट प्रभावित भइरहेका छन् ।

काठमाण्डु जहिल्यै मधेसलाई उपेक्षाको दृष्टिले हेरिरहेको छ, यता मधेसका जनतामा भने विस्तारै सत्ता र राज्यप्रति निरपेक्ष भावना पैदा भइरहेको देखिन्छ ।

अझ गम्भीर कुरा त के छ भने मधेसमै त्यहीँको वैधानिक राजनीतिक पार्टीले कुनै कार्यक्रम आयोजना गर्दा केही सयको संख्यामा मानिसहरुको उपस्थिति देखिन्छ भने विखण्डनकारीले सभा गर्दा हजारौंको संख्यामा मानिसहरुको उपस्थिति हुन्छ, किन ? मधेसका जनतामा किन विखण्डनकारी शक्तिप्रतिको मोह बढेको हो ? किन उनीहरु त्यहींको वैधानिक राजनीतिक दलमा भन्दा विद्रोही शक्तिमा आकर्षण देखिरहेका छन् ? काठमाण्डुमा बसेर राष्ट्रियता संकटमा परेको कथा हाल्नेहरुले मधेसमा गएर मधेसी समुदायको मनोभावना किन बुझ्न सकेका छैनन् ? मधेसको समस्या समाधान गर्ने हो भने सबैभन्दा पहिले यिनै प्रश्नहरुको हल खोज्नुपर्छ भन्ने महसुस गरियो ।

जसले जे भने पनि अहिलेसम्म हामीले अवलम्बन र आत्मसात गरेको राष्ट्रियता एकल प्रकृतिकै हो । जसमा एउटा खास समुदायले अवलम्बन गर्ने भाषा, धर्म, भेषभुषा, संस्कार र संस्कृतिलाई नै राज्यको मान्यता दिइयो ।

तर, अब हामी समावेशी, समानुपातिक अनि सहभागितामूलक लोकतन्त्रको कुरा गरिरहेका छौं भने यो देशको जातीय, धार्मिक, भाषिक, सांस्कृतिक अनि भौगोलिक विविधतालाई आत्मसात गरेर सामेली प्रकारको इन्द्रेणी राष्ट्रवादको प्रवर्द्धन गर्नैपर्छ । नयाँ शक्तिले अभियानका क्रममा जुन सन्देश दिन खोज्यो, त्यसमा यो प्रवर्द्धित भएको महशुस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment