Comments Add Comment

इमर्जिङ कपमा नेपालको सान्त्वना जित, हङकङ ७ विकेटले पराजित

१७ चैत, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताबाट बाहिरिइसकेका नेपालले अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको छ ।

हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै ५ ओभर ४ बल अगावै खेल जिताए ।

दुवैले अर्धशतक पूरा गरे । शरदले ५५ रन बनाए । उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्रले पनि ८२ बलमा ६० रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यसअघि ज्ञानेन्द्र मल्लले नेपालको सुरुवात उत्कृष्ट गरेका थिए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले आसिफ हेखसँग मिलेर ३७ रनको साझेदारी गरे । ११औं ओभरमा आसिफ ८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि आएका दिलिपनाथले कप्तानसँग मिलेर अर्को ४४ रनको साझेदारी गरे ।

दिलिप २०औं ओभरमा व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले ८१ रन जोडेको थियो । २६औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल पनि ७० रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ८२ बल खेल्दै ११ चौका प्रहार गरे ।

यसअघि शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा दुवै विकेट गुमाउँदै २१४ रन जोडेको थियो । उसका लागि ओपनरहरु अन्सुमन राथले ५१ तथा क्यामरुन मकल्सेनले ४३ रन जोडेपनि अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।

बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, भुवन कार्की र शुशान भारीले २/२ तथा सन्दिप लामिछानेले १ विकेट लिए ।

नेपाल यसअघि पाकिस्तान र बंगलादेशका यु-२३ टिमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । यो नेपालका लागि सान्त्वना जितमात्र होइन आइसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसीपको छैटौं चरणमा हङकङसँग खेल्न लागेको नेपालले आफ्नो मनोबल उच्च बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment