Comments Add Comment

साउदीमा गैरकानूनी बसेका नेपालीलाई फर्काउन सरकारले शिविर चलाउने


१७ चैत, काठमाडौं । गैरकानूनी रुपमा साउदी अरवमा बसिरहेका नेपालीलाई घर फर्काउन सरकारले साउदीस्थित नेपाली बाहुल्य क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

साउदी सरकारले मार्च २९ अर्थात नेपाली बुधबारदेखि ९० दिनभित्र आफ्नो मुलुकमा गैरकानूनी रहेका बिदेशीलाई बिना कारबाही आफ्नो देश फर्कन अवसर दिएको छ । यसबाट त्यहाँ बस्न कानूनी प्रक्रिया नपुगेका र फौजदारी अभियोग नलागेका विदेशीले लाभ लिन सक्नेछन् ।

दुई साताभित्र साउदीस्थित नेपाली बाहुल्य अधिकांश क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषिराम अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीले भने, ‘यस शिविरले गैरकानूनी रुपमा साउदीमा रहेका र दूतावासको पहुँचबाट टाढा रहेका नेपालीले लाभ लिन सक्नेछन् ।’

घुम्ती शिविरका लागि नेपाल र नेपालीको क्षेत्रमा काम गर्ने साउदीका ३० भन्दा बढी संघ संस्थाहरुले स्वयम्सेवकको रुपमा सहयोग गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

हेल्लो सरकारमा पनि गुनासो गर्न सकिने

गैरकानूनी रुपमा साउदीमा काम गरिरहेका र नेपाल र्फकन चाहनेले हेल्लो सरकारमा सिधै टेलिफोन गरेर गुनासो टिपाउन सक्ने व्यवस्था सरकारले गरेको छ । यसका लागि हेल्लो सरकारमा छुट्टै व्यवस्था छ र त्यसले गुनासो सुनेपछि प्रधानमन्त्रीको कार्यालयमा जानकारी गराउनेछ ।

त्यस्तै सम्बन्धित सरकारी निकायहरु श्रम बिभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन बिभागमा इमेल पनि गर्न सकिनेछ भने साउदीस्थित नेपाली दूतावासमा सिधै सम्पर्क गर्दा पनि उनीहरुको तत्काल उद्धार हुने सरकारले जनाएको छ ।

शिविरका लागि राहदानी विभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन बिभाग, प्रधानमन्त्री कार्यालय लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरु साउदी जानेछन् ।

साउदीमा गैरकानूनी रुपमा काम गरिरहेका नेपाली कामदारको संख्या ४० देखि ५० हजारको हाराहारीमा रहेको अनुमान सरकारले गरेको छ । सरकारी तथ्यांक अनुसार श्रम स्वीकृति लिएर साउदीमा रहेका नेपालीको जनसंख्या ४० लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment