Comments Add Comment

पुनरकर्जाको माग १४ अर्ब, राष्ट्र बैंकसँग उपलब्ध ७० करोड


१७ चैत, काठमाडौं । राष्ट्र बैंकसँग पुनरकर्जा दिन जम्मा ७० करोड बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाबाट भने १४ अर्बको माग परेको छ ।
‘हालसम्म राष्ट्र बैंकबाट बैंकहरुले पाउने सहुलियतपूर्ण पुनरकर्जा २२ वटा संस्थाले लगेका छन्, साढे १० अर्ब रुपैयाँको यस्तो कोष रहेकोमा ९ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी भइसकेको छ, थप १५ बैंकबाट माग आएको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले काठमाडौंमा आयोजित सहुलियतपूर्ण कर्जा विषयक अन्तरक्रिया कार्यक्रममा भने ।

अघिल्ला वर्षहरुमा यस्तो कर्जा जान नसकेपनि यसबर्ष बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा योग्य लगानी अभाव लगायतले माग बढेको देखिएको छ । कार्यक्रममा बैंकहरु तथा व्यवसायीहरुले यस्तो कर्जाको लागि छ्टयाइने पुँजी कोषको सीमा बढाउनु पर्ने बताए ।

पुनरकर्जाको सीमा बढाउन सकिएपनि खुला गर्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । पुनरकर्जाको सीमा नतोक्ने हो भने राष्ट्र बैंकले नोट छापेर पनि बाड्न पर्ने अवस्था आउने प्रवक्ता पौडेलले बताए । तर सीमा बढाउने विषयमा छलफल हुन सक्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले ५ शीर्षकमा बैंक तथा वित्तीय संस्थालाई पुनरकर्जा प्रदान गर्दै आएको छ । राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार राष्ट्र बैंकले साधारण पुनरकर्जामा बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत व्याज दरमा कर्जा दिने गर्छ भने बैंकहरुले ग्राहकसँग अधिकत्तम ९ प्रतिशत मात्र व्याज लिन पाउँछन् ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विशेष पुनर कर्जा, साना तथा मझौला कर्जा, निर्यात कर्जा, भूकम्पपीडीतलाई आवास कर्जा शीर्षकमा क्रमशः १ प्रतिशत, ५ प्रतिशत , १ प्रतिशत र शून्य प्रतिशतमा सहुलियत पूर्ण कर्जा उपलब्ध गराउछ । बैंकहरुले भने ऋणीसँग यी कर्जामा क्रमशः ४.५ प्रतिशत, १० प्रतिशत, ४.५ प्रतिशत, २ प्रतिशतसम्म मात्र व्याज लिन पाउछन् ।

सहकारीलाई दिन सकिन्न

सहकारीहरुले पनि पुनर कर्जाको सुविधा पाउनु पर्ने माग कार्यक्रममा राखेका छन् । ‘हामी ६७ लाखभन्दा बढि सदस्य भएका संस्था हौं, हामी २४ घण्टामा नै कुनै कुरा देशभर फैलाउन सक्छौं, राष्ट्र बैंकले चाहेमा हामी ग्राहकसँग कमभन्दा कम व्याज लिएर पनि कार्यक्रम सञ्चालन गर्न सक्छौ ,’ पुनरकर्जा सुविधा सहकारीले पनि पाउनु पर्ने माग राख्दै नेपाल बचत तथा ऋण सहकारी संघका महासचिव चन्द्रप्रसाद ढकालले भने ।

तर, राष्ट्र बैंकले भने नियामक निकाय नहुँदासम्म यस्तो सुविधा दिन नसकिने स्पष्ट पारेको छ ।

बैंकर भन्छन् : पुनरकर्जाको दुरुपयोग गर्न दबाब आउने गर्छ

बैंकरहरुले कतिपय व्यवसायीबाट पुनरकर्जाको दुरुपयोग गर्न दबाब आउने गरेको जानकारी कार्यक्रममा दिएका छन् ।

‘निजी क्षेत्रले पुनरकर्जाको रुपमा पाउने सुविधा अन्य शीर्षकका कर्जामा पनि माग्ने गरेका छन्, यो पनि समस्याको रुपमा देखिएको छ, यद्यपी अहिले भएकाभन्दा अन्य शीर्षकमा पनि यो सुविधा दिनुपर्ने नपर्ने भन्ने विषयमा राष्ट्र बैंक र हामी बसेर छलफल गरौं,’ बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले भने ।

कार्यक्रममा पुनकर्जाको व्याज दरको कारण अन्य शीर्षकका कर्जाको व्याज दरमा पर्ने दबाब, राष्ट्र बैंकले नै यस्तो सुविधा दिने वा अन्य छुट्टै संस्था ताक्ने, पुनरकर्जाको आकार कस्तो हुनुपर्ने र हाल दिइआएका सबै शीर्षकमा दिनु हुने नहुने बिषयलाई केन्द्र बिन्दुमा राखेर छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment