Comments Add Comment

दिपेन्दसिंह ऐरीः नेपाली क्रिकेटका नयाँ स्टार !

तर, नेपाली क्रिकेट कति पानीमा ?

१७ चैत, काठमाडौं । इमर्जिङ नेसन्स कप अन्तरगत हङकङविरुद्धको म्याचमा ४४औं ओभरमा छक्का प्रहार गर्दै दिपेन्द्रसिंह ऐरीले नेपाललाई जिताए । आफूले खेलेका  ५ अन्तर्राष्ट्रिय म्याचमा उनले तेस्रो अर्धशतक प्रहार गरेका छन् ।

केवल चारवटा म्याचबाट एउटा ब्याट्सम्यानको पुरा मूल्यांकन हुन नसक्ला तर, दिपेन्द्रले निःशन्देह ठूलो सम्भावना देखाएका छन् । उनको सुझबुझपुर्ण ब्याटिङ शैलीलाई हेर्दा उनी केवल १७ वर्षका हुन् भनेर पत्याउन गाह्रो पर्छ ।

बैतडीका किशोर एसीसी अन्डर-१९ एसिया कप अन्तरगत श्रीलंका विरुद्धको खेलमा चम्किएपछि राष्ट्रिय टोलीमा परेका थिए ।

बिहीबार दिपेन्द्रले सिनियर ब्याट्सम्यान शरद भेषावकरसँग १०५ रनको साझेदारी गरे । दिपेन्द्रले ८२ बलको सामना गर्दै ६० रन बनाए, जसमा १ छक्का र ५ चौका सामेल छ ।

यसअघि मंगलबार भएको म्याचमा उनले बलियो बंगलादेशविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्याविरुद्ध घरेलु मैदानमा डेब्यू गरेका उनले दोस्रो म्याचमा हानेको अर्धशतक ताजै छ ।

दिपेन्द्रलाई नेपालले चौंथो नम्बरमा ब्याटिङ गराइरहेको छ, जुन स्थानमा कप्तान पारस खड्काले नियमित ब्याटिङ गर्ने गर्थे । उनले सो स्थानमा पारसको अनुपस्थिति खट्किन दिएका छैनन् ।

‘अलराउन्डर’ ज्ञानेन्द्र

कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङका लागि मात्र चिनिन्थे । पारस खड्काको अनुपस्थितिमा उनीमाथि कप्तानको जिम्मेवारी पनि थपिएको थियो ।

तर, इमर्जिङ नेसन्स कपमा उनले आफैंलाई तेस्रो जिम्मेवारी दिए, बलिङको । ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय म्याचमा बलिङ गरेको यो सम्भवतः पहिलो पटक हो । पाकिस्तानविरुद्धको म्याचमा उनले आफूलाई बलिङमा उतार्दा अनौठो मानिएको थियो । तर, अप्रत्याशीत रुपमा उनले दुई महत्वपूर्ण विकेट झारिदिए । सो म्याचमा उनले पुरै १० ओभर बलिङ गरेका थिए, जुन किफायति पनि थियो । दोस्रो म्याचमा बंगलादेशविरुद्ध पनि ज्ञानेन्द्रले पुरै १० ओभर बल फ्याँके र १ विकेट लिए ।

यद्यपि दुबै खेलमा उनी प्रमुख जिम्मेवारी ओपनिङ ब्याट्सम्यानको भूमिकामा खरोसँग उत्रन सकेनन् ।

हङकङविरुद्धको तेस्रो म्याचमा भने ज्ञानेन्द्रको बलिङ-ब्याटिङ दुबै चम्कियो । ठूलो साझेदारी गरेका दुई प्रारम्भिक ब्याट्सम्यानलाई उनले आफ्नो स्पिनको शिकार बनाए, जसबाट हङकङ ब्याकफुटमा आयो ।

बलबाट मात्र होइन, ब्याटबाट पनि ज्ञानेन्द्रले फेरि एक पटक ‘लिडिङ फ्रम द फ्रन्ट’को उदाहरण प्रस्तुत गरे । केन्याविरुद्ध नेपाललाई जित दिलाउने क्रममा पनि उनले ठूलो पारी खेलेका थिए ।

बिहीबार ७० रनको इनिङ खेल्दै नेपालको जितको लागि बलियो आधार खडा गरे । बलिङ र ब्याटिङमा पुर्‍याएको योगदानका लागि उनी ५०० डलर पुरस्कारसहित म्यान अफ दि म्याचको हकदार बने ।

आक्रामक शरद

मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर प्रायः आफ्नो आक्रमकतालाई लुकाउँछन् । साह्रै आपत् पर्दा मात्रै उनी ठूला सट झिक्छन् । हङकङविरुद्ध भने उनी सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भए ।

भेषावकर क्रिजमा आउँदा १ सय १५ रनको ३ विकेटको स्थितिमा थियो । क्रिजमा थिए युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी । त्यसपछिको ब्याटिङ भेषावकरले आफूमा केन्दि्रत गरे । थामिएर ब्याटिङ गर्ने अनुमान विपरित उनी बलरलाई डोमिनेट गर्दै खेले र हङकङलाई खेलमा फर्किने मौका दिएनन् ।

भेषावकरको इनिङमा तीन चौका र ३ छक्का सामेल थिए । उनले ५१ बलको सामना गर्दै ५५ रन बनाएर नटआउट रहे ।

अनुभवले खारिएका भेषावकर ब्याटिङ नेपालका लागि सँधै महत्वपूर्ण रहँदै आएको छ । नेपाली टिमका फिनिसरको रुपमा चिनिने भेषावकरले प्रायः आफ्नो भूमिकामा न्याय गर्दै आएका छन् ।

नेपाल टिम कुन लेभलमा ?

इमर्जिङ नेसन्स कप नेपाली क्रिकेटको स्तर जाँच्ने एउटा अवसर पनि थियो । टेष्ट मान्यताप्राप्त दुई राष्ट्र पाकिस्तान र बंगलादेशका अन्डर- २३ टोली नेपालले खेल्यो ।

भलै ती टोलीमा केही सिनियर र राष्ट्रिय टोलीका अनुभव बटुलेका खेलाडीहरु पनि थिए, तैपनि नेपालभन्दा उधुम शक्तिशाली टोली होइनन् । तर, टेष्ट राष्ट्र भन्नेवित्तिकै नेपाली खेलाडीहरुको धड्कन बढेको देखियो ।

पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपाल टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भयो । नेपाली टोली त्यसै पनि पहिलो ब्याटिङमा पोख्त छैन । स्वभाविकरुपमा पाकिस्तानले सुरुदेखि नेपाललाई दबावमा राख्यो तर, नेपालले जेनतेन १८१ रन बटुल्यो ।

परम्परागत बलिङका आधारमा हेर्दा सो स्कोरलाई नेपालले रक्षा गर्नै नसक्ने अवस्था थिएन । नेपाली बलरहरुले कसिलो बलिङ पनि गरे, तर दबाव कायम राख्न सकेनन् । फलतः नेपालले म्याच गुमायो ।

बंगलादेशविरुद्ध नेपालले टस मात्र जितेन, बलिङमा उत्कृष्ट सुरुवात गरेको थियो । तर, ३३ रनमा ४ विकेट गुमाउँदा पनि बंगलादेश आत्तिएन । नेपालको बलिङ बिस्तारै सेलाउँदै गयो र बंगलादेशले २ सय ५० को आँकडा पार गर्न सफल भयो ।

अहिलेको नेपालको ब्याटिङ स्तर हेर्दा यो लक्ष्य पछ्याउन असम्भव थिएन । तर, नेपाली ब्याट्सम्यानहरुले यसलाई असम्भव देखाइदिए । यसपाली पनि टेष्ट राष्ट्रको भूतले नेपाली टोलीलाई लखेटेको देखिन्छ ।

हङकङ विरुद्धको म्याचमा भने नेपालको बलिङ र ब्याटिङ दुबै लयमा फर्कियो । अविनाश कर्ण र स्पिनरहरुले हङकङलाई २ सय १४ रनमा रोके, जसलाई ब्याट्सम्यानहरुले सजिलै पार गरे ।

परम्परागतरुपमा कमजोर नेपालको ब्याटिङ पछिल्लो समय सुधारिएकोमा शंका छैन, तर बलिया टोलीहरुविरुद्ध आत्मविश्वासको कमि अझै देखिन्छ । यद्यपि नेपालले आफ्ना प्रमुख बलरहरुलाई रेस्ट गराएर पनि टेष्ट राष्ट्रहरुलाई स्तब्ध पार्ने मौका गुमाएको पनि मान्न सकिन्छ ।

पछिल्ला अन्तर्राष्ट्रिय म्याचहरुको आधारमा नेपाली क्रिकेटको स्तर माथि उठे पनि केही रणनीतिगत समस्याहरु विद्यमान देखिएका छन् ।

सबैभन्दा ठूलो समस्या ओपनिङमा देखिएको छ । नियमित ओपनरहरु नहुँदा ज्ञानेन्द्र मल्ल ओपनिङ गर्न थालेका छन्, तर उनलाई साथ दिने बलियो साझेदार अझै भेटिएको छैन । पछिल्लो पटक प्रयोग गरिएका सुनील धमला र आसिफ सेफ दुवैले आफूलाई प्रमाणित गर्न सकेनन् । भलै दुबैले सिनियर टोलीमा भर्खर पाइला राखेका कारण दुबैले शंकाको लाभ पाउने अवस्था कायमै छ ।

ज्ञानेन्द्र ओपनिङमा उक्लेपछि ३ नम्बर स्थान पनि रिक्त भएको छ र त्यहाँ नियमित खेलाउन अर्को भरपर्दो ब्याट्सम्यान चाहिएको छ । अहिले सागर पुन खेल्छन्, उनीको अनुपस्थितिमा दिलिपनाथले पनि मौका पाए ।

साथै नियमित कप्तान पारस खड्का मैदान फर्किएपछि दिपेन्द्रलाई यो स्थानमा ल्याउने विकल्प पनि छ ।

तर, इमर्जिङ नेसन्स कपबाट नेपालले आफ्नो बेन्च स्ट्रेन्थ बलियो बनाउने अपेक्षा गरेको थियो । तर, यो अपेक्षा खासै पुरा भएन । यो पटक युवा क्रिकेटरहरु आसिफ सेख, सुसन भारी, भुवन कार्की, अविनाश कर्ण लगायतलाई मौका दिइएको थियो । अरुको तुलनामा अविनाशले केही सम्भावना देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment