Comments Add Comment

‘प्रदेश नम्बर १ र २ मा बैशाख ३१ पछि चुनाव गरौं’

चुनाव एकै चरणमा गर्नुहुँदैन, यसपालि बदर मत बढ्छ

२३ चैत, काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय तहको चुनाव कम्तिमा दुई वा तीन चरणमा हुनुपर्ने बताएका छन् । उनले कमसेकम १ नम्बर र २ नम्बर प्रदेशको चुनाव बैशाख ३१ पछि गर्दा राम्रो हुने बताए ।
उपेतीसँग विगतमा संविधानसभा सम्पन्न गरेको अनुभव छ । त्यसैले निर्वाचन विज्ञका रुपमा हामीले उप्रेतीसँग सोध्यौं-

तपाईसँग रहेको निर्वाचन गराएको लामो अनुभवका आधारमा भन्नुपर्दा बैशाख ३१ को निर्वाचन सम्भव छ ? चुनावको तयारीका लागि निर्वाचन आयोगले गरिरहेको कामलाई कसरी हेरिरहनुभएको छ ?

सरकारले बैशाख ३१ गते निर्वाचन गर्ने मिति तोकेर छोटो समयमा एकैचोटि चुनाव गर्न बाध्य बनायो । सरकारले आयोगलाई जर्बजस्त निर्णय लाद्यो भनेर मैले बुझेको छु ।
अहिले स्थानीय तहमा ७४४ वटा सरकार निर्माणका लागि निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा धेरै स्रोत साधन परिचालन गर्नुपर्ने हुन्छ । नयाँ स्थितिमा स्थानीय तहको चुनाव गर्नुपर्ने भएकाले सरकारले आयोगलाई चरणवद्ध चुनाव गर्ने अनुमति दिनुपर्थ्यो ।

एकपटक सरकारले मिति तोक्ने र त्यसपछि दोस्रो र तेस्रो चरणको निर्वाचन मिति तोक्ने अधिकार आयोगलाई दिनुपथ्र्यो । तर, त्यसो गर्न नदिएर सरकारले निर्णय लाद्यो भनेको हुँ ।

अहिलेसम्म निर्वाचनका लागि राजनीतिक वातावरण बनिसकेको छैन, यो सरकारले गर्नुपर्ने काम हो । र, यो आयोगलाई ठूलो चुनौती हो । अर्को, एक महिनामात्रै बाँकी रहँदा पनि मतदातासमक्ष अझै निर्वाचन शिक्षा पुगेको छैन ।

यही अवस्थामा निर्वाचन हुन्छ त ?

अहिले मुख्य राजनीतिक समस्या दुई नम्बर प्रदेशमा देखिएको हो । त्यहाँका जनता र दल दुवैले निर्वाचन चाहेका छन् । उनीहरुले केही राजनीतिक माग राखिरहेका छन् । त्यसलाई सरकारले मिलाउनुपर्छ । यदि त्यहाँको निर्वाचन तयारीमा असर पर्दा देशभरिको निर्वाचनलाई असर पर्न लाग्यो भने अझै पनि बिगि्रसकेको छैन, दुई चरणको निर्वाचन गर्नुपर्छ ।

प्रदेश नम्बर १ र प्रदेश नम्बर २ मा दोस्रो चरणको निर्वाचन गर्ने गरी बाँकी ५ वटा प्रदेशमा पहिलो चरणमै निर्वाचन गराउन सकिन्छ । त्यसो गर्दा निर्वाचन व्यवस्थापनमा पनि सहज हुन्छ ।

अझै कुरा बिग्रिसकेको छैन । पहिलो चरणको बैशाख ३१ गते नै सम्पन्न गर्नुपर्छ । त्यसपछि आयोगले आफ्नो अनुकुलमा जेठ १६ गते वा २१ गतेसम्म दोस्रो चरणको निर्वाचन गराउन सक्छ । आयोगले आफ्नो क्षमता अनुसार चुनाव गराउनुपथ्र्यो, सरकारले लाद्न हुँदैनथ्यो ।

एक महिनामात्रै बाँकी रहँदा मतपत्र कस्तो हुन्छ, कसरी मतदान गर्ने भन्ने मतदाताहरु अन्योल छ, यसरी हेर्दा मत बदर हुने खतरा बढी छ कि छैन ?

मतदातालाई मात्र होइन, उम्मेदवारलाई नै अहिलेसम्म सु-सुचित गर्न सकेका छैनौँ । अहिलेसम्म उम्मेदवारहरुमा उम्मेदवार भएपछि कुन तहको कुन पदका लागि निर्वाचित हुँदैछु र त्यहाँ निर्वाचित भएपछि मेरो भूमिका के हुन्छ ? भन्ने कुरा नै थाहा भइसकेको छैन ।

यस्तै उसले मतदातासँग पनि भोट माग्ने समय दिनुपर्ने थियो । निर्वाचनमा समावेशिताको कुराहरु पनि समेट्नु पर्नेछ । दलित, जनजाति, पिछडिएका जनतालाई पनि सु-सुचित गरेर उम्मेदवार बन्न उप्रेरित गर्नुपर्थ्यो । आयोगले पनि त्यस्तो वातावरण बनाउनु पथ्र्यो । राजनीतिक पार्टीले जनचेतना फैलाउने आफ्नो ठाउँमा छ, तर नागरिक पनि सचेत हुनुपर्ने हो ।

अहिलेसम्म मतदातालाई मैले उम्मेदवार किन छान्ने र उम्मेदवारले पनि मैले जितेर केके गर्छु भन्ने थाहा नै छैन । ती विषयमा जानकारी नै नभै निर्वाचन हुने खतरा रहेको छ । हामीले त्यो गल्ती गरिरहेका छौँ । युवाहरुलाई उम्मेदवारी दिन प्रोत्साहित गर्ने काम पनि आयोगको जिम्मेवारी थियो, तर त्यस्तो हुन सकिरहेको छैन । स्थानीय तहको यो निर्वाचन नयाँ नेतृत्व विकास गर्ने अवसर र चुनौती हो । तर, स्थानीय निर्वाचनलाई त्यति महत्वपूर्ण रुपमा हेरिएको छैन ।

मतदाता शिक्षा निकै कमजोर छ, त्यसैले बदर मत बढ्छ भन्न खोज्नुभएको हो ?

सामान्य तरिकाको मतदान गर्न नेपालीहरु जानकार छन् । तर अहिलेको मतदाता मध्ये करिब ९० लाख मतदाता पहिलो पटक स्थानीय निर्वाचनमा भाग लिँदै छन् । यस्तै एउटा मतदाताले सात ठाउँमा चिनो लगाउनुपर्छ । सात वटा उम्मेदवार रोज्नुपर्छ । एउटै मतपत्रमा दुई ठाउँमा तलमाथि चिन्ह लगायो भने मतपत्र बदर हुन्छ ।

मतदातामा अझै पनि के-के गर्दा मत सदर हुन्छ, कसरी हाल्दा बदर हुृन्छ भन्ने जानकारी छैन । यसरी मतदान शिक्षाविना नै मतदाता मत हाल्न जाने हो भने पढ्दै नपढेको विद्यार्थी प्रश्नपत्र पाउने बेलामा जसरी छट्पटाउँछन् । सबै शिक्षित छैनन् । त्यसैले मतदाता शिक्षा व्यापक गर्नुपर्छ ।

आयोगले एकजना मतदाताको मत पनि खेर नजाओस् भन्ने मान्यता राख्नुपर्छ । लोकतन्त्रमा मत खेर जानु भनेको ठूलो घाटा हो । मतदाता शिक्षालाई ध्यान नदिने हो भने यो निर्वाचनमा बदरमत प्रतिशत हृवात्तै बढ्न सक्ने खतरा छ ।

बदर मत बढ्ने कारण के कस्ता हुन सक्छन् ?

यसपटक एउटा मतपत्रमा ७ प्रकारको बदर हुनेछ । किनकि एउटै मतपत्रबाट मतदाताले सात जनालाई निर्वाचित गर्नुपर्छ अर्थात मत दिनुपर्छ । एउटा उम्मेदवारलाई मत दिँदा गल्ती गरियो भने एउटा बदर हुन्छ ।

मोर्चाका नेताहरुले दुई नम्बर प्रदेशबाट मतदाता नामावली अपडेट गर्नुपर्छ भनिरहेका छन्, कुनै उपाय छ ?

यो अब सम्भव नै नहुने कुरा हो । यो धेरै पहिला गरिसक्नु पर्ने विषय हो । अब मतदाता नामावली थप्ने कुरा निर्वाचन आयोग र नेपाल सरकारले गर्न सक्ने विषय होइन । सम्भव हुने कुरै होइन ।

दुई चरणमा गर्दा चाहिँ समेट्न सकिन्छ कि ?

सकिँदैन । अब फेरि मतदाता नामावली संकलन गर्ने, नागरिकता दिने कुरा गर्नु भनेको चुनाव नगराउने कुरा हो । अहिले हामीसँग जति मतदाता छन्, त्यतिमात्र हाम्रा मतदाता हुन् । उनीहरुले मात्रै मत दिन पाउँछन् । अब यो सम्भव नहुने कुरामा अल्मलिन थालियो भने चुनाव हुँदैन ।

निर्वाचन आयोगका लागि चुनौतीहरु केके हुन् ?

समयमा मतपत्र र मतपेटिका पुर्‍याउने । यस्तै निर्वाचन गराउन खटिएका कर्मचारीले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर निष्पक्ष भूमिका निर्वाह गर्ने । समयमा मतगणना गर्ने र त्यसको परिणाम निकाल्ने ।

यस्तै मतदाता र उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति गराउनु पनि उत्तिकै चुनौतीपूर्ण छ । हरेक मतदाता निर्धक्क भएर मत खसाल्न जान सक्ने स्थिति बनाउन सक्नुपर्छ । उम्मेदवारहरुको पनि सुरक्षाको प्रत्याभूति हुनुपर्छ । मलाई कसैले पनि केही गर्दैन, म सुरक्षित छु भन्ने मशसुस हरेक मतदाता र उम्मेदवारले गर्ने वातावरण हुनुपर्छ । व्यवहारमा पनि देखिनु पर्छ ।

यस्तै निर्वाचन आचार संहिता कार्यान्वयनमा निर्वाचन आयोगले ध्यान पुर्याउनु पर्छ । कसैलाई पनि पक्षपात नगरि कारबाही गर्ने र निर्वाचनलाई निष्पक्ष बनाउने प्रयत्न गर्नुपर्छ । यी कुनैहरु मुख्य चुनौती हो ।

आचार संहिता उल्लंघनका समाचारहरु आइरहेका छन्, निर्वाचन आचार संहिता कडाइ गर्ने लगायतका काम भइरहेको देख्नुभएको छ ?

म अहिले चितवनमा छु । मैले सरसर्ती हेर्दा निर्वाचन आचार संहिता कार्यान्वयन भएको मैले अनुभव गरिरहेको छैन । निर्वाचनका लागि निर्वाचन आचार संहिता निकै महत्वपूर्ण कुरा हो । आयोगले निकै महत्वका लागि आचार संहिता कार्यान्वयन गराउनुपर्छ ।

एउटा मतदाताको हैसियतमा हेर्दा आगामी निर्वाचन निष्पक्ष, धाँधली रहित र शान्तिपूर्ण हुन्छ भन्नेमा कत्तिको निर्धक्क हुनुहुन्छ ?

यो हाम्रो संस्कार र संस्कृतिको कुरा हो । हामी निर्वाचनलाई आफ्नो पक्षमा ल्याउनलाई सबै खालका कामहरु गर्छौ । मतदाताको मन जित्ने भन्दा धन हालेर जित्ने परम्परागत विकृत मान्यता छ ।

अनेक प्रकारका द्रव्य शक्ति वा अन्यखालका शक्ति प्रयोग गरेर निर्वाचनलाई आफ्नो अनुकुल बनाउने प्रयासहरु हुने गरेका छन् । त्यो हुँदैन भनेर ढुक्क बन्ने स्थिति देखिएको छैन ।

मतदाताले थाहा पाउनुपर्ने कुराहरु के के हुन् ?

म किन भोट हाल्दैछु ? मैले भोट नहाले के हुन्छ, हाले के हुन्छ ? यस्ता कुरा थाहा पाउनुपर्छ । आयोगले केको निर्वाचन हुन लागेको हो, किन निर्वाचन हुन लागेको हो, मेरो गाउँपालिकामा कतिजना निर्वाचित हुन्छन्, उनीहरुले भोलि मेरा लागि के काम गर्ने हो, यस्तो कुरा मतदाताले ध्यान दिनुपर्छ । यस्तै मैले चाहेको मान्छेलाई जिताउन मैले कुन निर्वाचन चिन्ह रोज्नुपर्छ भन्नेकुरा समेत मतदातामा हुनुपर्छ । यो सबै जानकारी दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment