Comments Add Comment

पहिलो कमाइले जिन्स प्यान्ट र जुत्ता किनेँः हिमाल सागर


दुई सयभन्दा बढी गीतमा स्वर दिएका हिमाल सागरका केही गीत चर्चित छन् । आफ्नो गीतको भिडियोमा आफैंले मोडलिङ गरे पनि उनलाई हिरो बन्ने रहर कहिल्यै भएन । सांगीतिक यात्राका क्रममा हिमालले प्रशंसक र शुभेच्छुकहरुबाट तीन सयभन्दा बढी प्रेमपत्र पाए, तर एउटै पनि जवाफ दिएनन् ।
उनै गायकसँग अनलाइनखबरले गरेको टी–टक:

बिहान कति बजे उठ्नुहुन्छ ?
– बिहान साढे ६ बजेदेखि ७ बजेसम्म उठिसकेको हुन्छु ।

उठेपछि ?
– फ्रेस भएपछि पानी पिउँछु अनि रियाजमा बस्छु । तर, काठमाडौं बाहिर कार्यक्रममा गएको बेला रियाज गर्न सम्भव हुन्न ।

स्कूल पढ्दाका साथीहरु कत्तिको सम्पर्कमा छन् ?
– सम्पर्कमा धेरै जना भए पनि कोहीसँग पनि भेटघाट हुँदैन । धेरैजसो साथी विदेशमा छन् ।

खल्तीमा कति पैसा बोक्नुहुन्छ ?
– म धेरै पैसा बोक्दिनँ । सामान्यतया दुई हजारदेखि २५ सयसम्म हुन्छ ।

एटीएम कार्ड कतिवटा बोक्ने गर्नुहुन्छ ?
– मसँग दुइटा एटीएम कार्ड छन् ।

मोबाइलको रिचार्ज कार्डमा दिनमा कति खर्च गर्नुहुन्छ ?
– फोन कल गर्नुका साथै नेट पनि चलाउनुपर्ने हुन्छ । दिनमा त्यस्तै चार सय रुपैयाँ खर्च हुन्छ ।

सबैभन्दा धेरै खर्च केमा हुन्छ ?
– धेरै खर्च त ड्रेसअपमै हुन्छ । जस्तै, कन्सर्टमा पाँच रुपैयाँ कमाएँ भने तीन रुपैयाँको त लुगा नै किन्छु । दुई रुपैयाँ मात्रै बचाउँछु ।

जिन्दगीको पहिलो कमाइ याद छ ?
– किन नहुनु ! ०६० सालमा पेप्सीकोलामा एउटा कन्सर्ट भएको थियो । गीत गाइसकेपछि आयोजकले मलाई १५ सय दिनुभयो । त्यसबेला निकै धेरै पैसा पाए जस्तो लाग्यो ।

त्यो पैसाले के गर्नुभयो ?
– भृकुटीमण्डपमा गएर एउटा जिन्स पाइन्ट र छालाको जुत्ता किनेँ ।

के गर्दा रमाइलो लाग्छ ?
– मासमा गीत गाउँदा रमाइलो लाग्छ । असाध्यै धेरै दर्शक भएको ठाउँमा गाउँदा मज्जा आउँछ ।

आफ्नो म्युजिक भिडियोमा मोडल बन्नुभएको छ, फिल्ममा हिरो बन्ने रहर चाहिँ लागेन ?
– धेरै गायकहरु हिरो बन्न खोज्दा यता त उता भएको पाएको छु । त्यसकारण मलाई हिरो बन्ने रहर लागेन ।

तपाईंलाई मन पर्ने हिरोइन ?
– पुरानोमा गौरी मल्ल मन पर्छ । अहिले प्रियंका कार्की मन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment