Comments Add Comment

स्थानीय निर्वाचनमा उठ्ने हिम्मत छ ?

बाग्लुङको बिहुँकोटमा यस्तो ड्याङ छ, जहाँ उम्रने मुलाहरु दुरुस्तै नभए पनि उस्तै-उस्तै हुन्छ्न् । उनीहरुले यति दुर्गन्ध छर्छन्, जसका कारण म भन्न विवश बन्छु, मलाई बिहुँ बाहेकको बाँकी नेपाल जति मन पर्छउति सारो बिहुँ मन पर्दैन ।

यद्यपि संसारमा सबभन्दा बढी एक टुक्रा जमिन चाहिँ मन पर्छ, जसले मैले चिन्नुअघि मलाई चिनेको हो । जसले म यो लोकमा अवतरण गर्न खोज्दै गर्दा मलाई सर्वप्रथम काँध थापेर सेफ ल्याण्डिङ गराएको हो ।

जसले ममा प्राण भर्न म सामु शीतल हावा पठाइदिएको हो । जसले मलाई पहिलो पाइला उचाल्न र चाल्न सिकाएको हो । त्यो टुक्रा मेरो जन्मथलो बाग्लुङको तत्कालीन बिहुकोट-४ हो । जुन अहिले काठेखोला गाउँपालिका- ६ मा पर्छ ।

आफूलाई जन्माएको माटोप्रति मलाई गर्व छ । तर, त्यही माटो वरिपरि शयर गर्ने मान्छेहरुको प्रवृत्त्तिप्रति खरो गुनासो र आपत्ति छ । म चाहन्छु, त्यो प्रवृत्ति जरैदेखि उखेलियोस् ।

मान्छे भएपछि मान्छेले अपनत्व खोज्दो रहेछ । आफूले माया गर्छ भने सट्टामा माया नै खोज्दो रहेछ । म पनि आफ्नो अपनत्व खोजेर हिँडिरहेको मान्छे हुँ । गाउँ-समाजमा छुवाछुत र उँचनीचबाट सधैं अपहेलित दलित भनिएकाहरु कसरी सहेर बसेका थिए होलान् ? म सोचेर पागल हुन्छु । म ब्राह्मण भएर पनि आफूलाई हेपिएको महसुस गर्छु, त्यो पनि कथित धनी ब्राह्मणहरुबाट ।

हुन त म अलिअलि बुझ्ने भएदेखि नै अनुभूति गर्थें, आफ्नै गाउँभित्र सीमान्तकृत, अल्पसंख्यक जस्तो हुनुपरेको अनुभूति केही वर्षदेखि झन घनीभूत हुँदै आएको छ । त्यसैले बेला-बेला भन्न मन लाग्छ, मलाई मेरो गाउँ मन पर्दैन । मलाई मेरो समाज मन पर्दैन ।

गगन ढुङ्गाना

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । यतिबेला म योग्य प्रतिनिधिहरुको पर्खाइमा छु । त्यही समाजभित्र हुर्केको, समाजभन्दा बाहिर एक टुक्रा पनि जमिन नभएको, बसाइँसराइँ नगरेको, समाजमै रहेर केही गर्नुपर्छ भन्ने इच्छा बोकेको, पीडानुभूति गराउने समाज हुँदाहुँदै पनि बदलिन्छ कि भनेर आशा राख्ने म र म जस्ताहरुको सच्चा प्रतिनिधि कोही छ कि ? म सोचिरहेछु ।

हाम्राभन्दा राम्रालाई प्राथमिकता दिने, पैसा र पहुँचको बलमा भन्दा बुद्धि र विवेकको बलमा मेरो गाउँपालिकाको, मेरो वडाको नेतृत्व गर्न सक्ने कोही छ कि ? म सोचिरहेछु ।

म यस्तो नेतृत्व खोजिरहेछु, जसले सकेसम्म विदेश नै जान नचाहने वा विदेश जान खुट्टा उचालेका (पैसा खुवाएर वा ज्याक लगाएर उमेर बढाउन नचाहने, नसक्ने वा घुस लिने र दिने दुवै भ्रष्टाचारी हुन् भन्ने मान्यतालाई शिरोपर गर्ने) उमेर नपुगेका १५/१६ देखि २५/२६ वर्षसम्मका युवाहरुलाई गाउँमै रोक्न सक्ने नयाँ कुरा ल्याओस् ।

जसले पढ्नुपर्छ, समाज र देशको लागि केही गर्नुपर्छ भन्ने भावना बोकेका कलिला किशोरकिशोरी र युवाहरुलाई फ्रस्टेसनबाट जोगाउन हरदम प्रयत्न गर्न सकोस् ।

कुनै बेला म मेरै गाउँपालिका क्षेत्रमा रहेका कुनै ३/४ वटा विद्यालय घुमेको थिएँ र कक्षा ७ देखि १० सम्म पढ्ने विद्यार्थीको जीवनको लक्ष्यका बारेमा बुझ्ने प्रयास गरेको थिएँ । ९९ प्रतिशतलाई जीवनमा के गर्ने/बन्ने भन्ने थाहा नै थिएन । एसएलसीपछि वा प्लस टु पछि के गर्ने नि भनेर सोध्दा केही केटी बाहेक लगभग शतप्रतिशतले नै एसएलसीपछि जापान लगायत देशमा अभिभावक भएकाले उतै जाने वा प्लस टु पछि विदेश जाने भनेका थिए ।

देशमै उच्च शिक्षा लिनेदेश र समाजको लागि राम्रो काम गर्ने भन्ने कोही निस्किएनन् । यसबाट थाहा हुन्छ, हाम्रो भावी पुस्ता कता जाँदै छ । हामी र हाम्रो अग्रज पुस्ता विदेश जान त बाध्य छँदै थियो । वर्तमान पुस्तालाई यहीँ रोक्न, भावी पुस्तालाई यही माटोमा फुल्न र फल्न सक्ने वातावरण बनाउन सक्छु,यसका लागि प्रयत्न गर्छु भन्ने हिम्मत भएको कोही छ हाम्रो काठेखोलामा ?

एउटा उमेर खाइसकेकाहरुको सोच बदल्न समय लाग्छ वा सकिन्न । बालबालिका भनेका सादा क्यानभास भइहाले । युवाहरु वा कलिला बालबालिकाहरुलाई सुसंस्कृत वातावरण दिएर मात्र भोलिको समाज राम्रो बनाउन सकिन्छ । देशका लागि सुयोग्य नागरिक र लायक नेता जन्माउन सकिन्छ । हाम्रो क्षेत्रबाट राष्ट्रिय स्तरमै राम्रो परिचय भएको व्यक्तित्व खै ? राम्रो नेता खै ?

आफ्नो क्षेत्रभन्दा बाहिरको सुगम ठाउँमा स्थायी रुपमा बस्ने, चुनावको बेला पैसा र पहुँचको भरमा हिरो बन्न गाउँ पस्ने, आफ्नो भजनमण्डलीलाई बुई चढाउने, आफ्नै टुकुडीलाई मात्र मतलब गर्ने राजनीतिका ठेकेदारहरुलाई स्थानीय निकायको चुनावमा १८ देखि ३० वर्षका युवाले पूर्णतया बेवास्ता गरौं । विदेशिन खुट्टा उचाल्न बाध्य युवाको समस्या बुझेर हल गर्ने र साँच्चिकै युवाको प्रतिनिधित्व गर्न सक्ने कोही उम्मेदवार भए भोट हालौं, नत्र बरु भोटै नहालौं ।

समाज रुपान्तरण भएन भन्ने, भ्रष्टहरुले बिगारे भन्ने अनि तिनै भ्रष्ट र पुरातनवादी राजनीतिक ठेकेदारहरुलाई चुनावमा जिताउने हो भने परिवर्तन सम्भ छैन । यो देश सतिले सरापेको त थियो नै, अझै भइरहनेछ । हामी समृद्ध जीवनको खोजीमा विदेशी गल्लीहरुमा भौतारिरहनुपर्नेछ । विदेशीका जुठा भाँडाहरु चम्काइरहनुपर्नेछ । अपमानजनक जिन्दगीलाई रुन नदिई थुमथुम्याइरहनुपर्नेछ ।

उम्मेदवार हुन खुट्टा उचालेकाहरु हो ! विकासका ठूल्ठूला सपना अहिले नै नबाँडौं, तत्काल यो गर्छौं भनौं । जस्तै: गाउँमै रहेका काठेखोला गाउँपालिकाका ९५ प्रतिशत जनता वर्षमा मुश्किलले तीन महिना व्यस्त हुन्छन् । विदेशमा रहेका आफन्तहरुले पैसा पठाइदिएकै हुन्छन् । पठाउनेले कुन मुश्किलले कमाएर पठायो भन्ने थाहा हुन्न,  गाउँमा खुरुखुरु पैसा पाउने आफन्तजनको चुरीफुरी भने अर्कै हुन्छ ।

तीन महिना मुश्किलले व्यस्त हुनेहरु बाँकी ९ महिना अरुको कुरा काटेरै जीवन बिताइरहेका हुन्छन् । समयको महत्व बुझ्न सकेका छैनन् ।

हाम्रोमा ५० लाग्दा नलाग्दै वृद्ध भयो, अब केही गर्नु हुन्न गर्न सकिन्न भन्ने चलन छ । यो सोचाइलेराजनीतिलाई भने छोएको छैन । विदेशतिर काल आएर टपक्क टिप्नु अगाडिसम्म वृद्धवृद्धाहरु पनि काममा लीन हुन्छन् । हामीकहाँ भने सकुन्जेल काम गर्नुपर्छ, खाली बस्नुहुन्न भन्ने चेतना छैन । यो अवस्थामा अघि सर्ने प्रतिनिधिले चेतना अभिवृद्धि गर्छु भनौं । सार्थक कामका लागि स्थानीय स्तरमै कसरी व्यस्त हुन सकिन्छ भनेर जनतालाई सिकाऔं र अवसरहरु सिर्जना गरौं

घरेलु तथा साना उद्योगहरु स्थापना गरौं । विभिन्न नगदे बाली, फूलको खेती, फलफूलको खेती, छोटो समयमा फाइदा लिन सकिने पाउलोनिया, उत्तिस जस्ता रुखहरुको खेती गर्न प्रोत्साहन गरौं । तालिम दिने व्यवस्था गरौं । बजारको प्रबन्ध गर्न सहयोग गरौं । गर्छु भनेर प्रतिबद्धता जनाउँदै पहल गरौं । स्थानीय सहकारी मार्फत लगानी गर्ने वातावरण बनाऔं

विकासको नाममा जथाभावी जमिन चिरेर प्राकृतिक पर्यावरण नबिगारौं । पर्यटनको सम्भावना बोकेका स्थानीय यो-यो क्षेत्रमा कम्तीमा यो-यो गर्छु । पर्यटन प्रवर्द्धन गर्छु भनौं । स्थानीय युवाहरुलाई गाउँमै इलेक्ट्रिक टेक्निसियन, प्लम्बर, कार्पेन्टर जस्ता सीपमूलक तालिम दिने व्यवस्था मिलाउँछु भनौं ।

गाउँमै बसेर गाउँको विकास र सम्भावनाका लागि नौलो तरिकाले क्रियाशील भइरहेका र हुन खोजेका जुनसुकै क्षेत्रका मानिसलाई हौसला, प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्छु भनौं । सकारात्मक सोच राख्नेहरुलाई गोलबद्ध गरौं प्रत्येक महिना बहस गरौं । उद्यमशील बन्न हौसला र प्रेरणा दिने कार्यशाला चलाउँछु भनौं । समाज परिवर्तनमा उदाहरणीय बनेकालाई बोलाएर आफ्नो अनुभव साट्ने मेलो मिलाइदिन्छु भनौं । दु:खीहरुको दुखमा सधैं सँगसँगै हुने प्रण गरौं ।

स्थानीय निकायको चुनावमा उठ्छु भनेर खुट्टो उचालेर बस्नुभएका महोदय ! तपाईं समृद्धिविकाको त कुरा गर्नुहुन्छ, समृद्धि र विकासको जननी के हो थाहा छ तपाईंलाई ? शिक्षा चेतना हो । तपाईंसँग उचित शिक्षा छ त ? मैले यहाँ शिक्षा भनेर कुनै युनिभर्सिटी वा कलेजको प्रमाणपत्र नै चाहिन्छ भन्न खोजेको होइन । तपाईं अनौपचारिक माध्यमबाट भए पनि कत्तिको शिक्षित र शिक्षाप्रति जागरुक हुनुहुन्छ भन्ने हो ।

सम्पूर्ण अन्धकार हटाउने एउटै माध्यम शिक्षा हो । तपाईं समाजमा व्याप्त अन्धकार हटाउन निर्वाचनमा उठ्न लाग्नुभएको छ भने सोच्नुस्, समाजलाई प्रकाश दिने हिम्मत तपाईंभित्र छ त ? गाउँमा पढ्ने बानीको विकास छैन । पढ्ने भनेको विद्यालयको पाठ्यसामग्री मात्र हो । पढ्ने भनेको विद्यालय पढ्ने उमेरसमूहकाले मात्र गर्ने काम हो भन्ने मान्यता चिर्न जरुरी छ । निरक्षरलाई साक्षर बनाउन जरुरी छ ।

जुनसुकै उमेरसमूहका साक्षरहरुलाई निरन्तर पढ्ने बानीको विकास गराउन जरुरी छ । कम्तीमा एक महिनामा एउटा नयाँ पुस्तक पढ्ने बानी बसाल्न जरुरी छ । जसका लागि एउटा स्तरीय सार्वजनिक पुस्तकालय खोल्छु भनौं । स्कूल नै नगई तपाईंले दुई सय जति पुस्तक पढ्नुभएको छ भने तपाईंले डिग्री गरे बराबर हो ।

हजारौं माइलको यात्रा एउटा पाइलाबाट सुरु हुन्छ । समाजलाई समृद्धिको चुलीमा पुर्‍याउन एकैचोटि ठूलो गर्छु भनेर कदापि सम्भव हुन्न । स-साना कुरा गर्दै जाँदा ठूला सपना पूरा गर्न सकिन्छ भन्ने ज्ञात होस् ।

जन्मँदा नाङ्गै जन्मिएको मान्छे अन्तत: नाङ्गै बिदा हुने हो । त्यसैले बढीभन्दा बढी समूह र समुदायको लागि केही राम्रो गर्ने प्रयत्न गर्नुहोस् । तपाईंको उम्मेदवारी जित वर्तमान र भावी पुस्ताको लागि गतिलो काम गरेर प्रेरणाको स्रोत अमर बन्ने अवसर हुन सक्छ । त्यसैले आफ्ना टुकडीहरुबाट बाहिर निस्किनेहिम्मत गर्नुहोस् ।

समाजमा धनसम्पतिका साथै जातजाति, संस्कृति र धर्मको आधारमा गरिने भेदभाव कायमै छ । यो अवस्थालाई चिर्दै सबैलाई गोलबद्ध गर्न सक्छु सबैको प्रतिनिधि बन्ने हिम्मत राख्छु भन्ने विश्वास छ भने अगाडि बढ्नुहोस् । म जस्तै थुप्रै युवा सहयोग गर्न तयार छौं । होइन भने खुट्टा उचालेकै राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment