Comments Add Comment

तीन वर्षपछि पोखरामा गुञ्जियो नेपथ्य

२७ चैत, पोखरा । नेपालको सर्बाधिक चर्चित ब्याण्ड ‘नेपथ्य’ शनिबार पोखरामा गुञ्जिएको छ । नेपथ्यले तीन बर्षपछि पहिलो पटक पोखरामा कन्सर्ट गरेको हो ।

किरण गुरुङ र उनकी श्रीमती सोनाम गुरुङको आयोजना तथा व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा ‘नेपथ्य’ करीब ३ वर्षपछि शनिबार पोखरा रंगशालामा गुञ्जिएको हो ।

‘फेरी उठ्ने छ नेपाल’ भन्ने मूल नारासहित भएको कार्यक्रममा ‘नेपथ्य’ले साँझ ६ः५५ बजेदेखि राती ८ः५५ बजेसम्म दुईघण्टा पोखरेलीलाई नयाँ तथा पुराना गरी २० वटा गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्‍यो ।

‘कुरुप अनुहार हो, बिरुप अनुहार हो, यहाँ कुनै साथी छैन’ बोलको गीतबाट नेपथ्यले प्रस्तुती सुरु गरेको थियो । गायक अमृत गुरुङले हालैमात्र बजारमा आएको शिर फुल र पछिल्लो पटक बजारमा आएका हामी नेपाली, कोसीको पानी र हो राम रामहित पुराना चर्चित गीतहरु भेडाको उन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, तालको पानी माछाले खानी, रेशम…, जोगले हुन्छ भेट.. लगायतका गित गाउँदा दर्शकहरुले स्वरमा स्वर मिलाउँदै झुमे ।

 

गीत प्रस्तुत गर्ने क्रममा अमृतले राष्ट्रियतादेखि पर्यटन प्रबर्द्धनसमेत गर्न भ्याए । नेपाल जत्तिको सुन्दर देश विश्वमा अन्य कहिं नभएको भन्दै उनले यसको सौन्दर्यपान गर्न सुझाव दिए । पहिले आफ्नो ठाउँ आफैले घुमेर बाहिरकालाई बोलाउनुपर्ने उनको भनाई थियो ।

गाउँगाउँबाट उठ गीत प्रस्तुत गर्नुअघी भूमिका बाँध्दै उनले निकट भविष्यमा आइरहेको चुनावमा असल नेता चुन्न आग्रह गरे । पार्टी भन्दा माथी उठेर आफ्नो ठाउँ र देशका लागि केही गर्नसक्ने नेतृत्व चुन्न उनको सुझाव थियो । उनले नेपाल सबै जातजाती र भाषाभाषीको साझा फुलबारी हो भन्दै मिलेर बस्न आग्रह गरे ।

गायक गुरुङले पोखरा सुन्दर मात्र नभएर यहाँ देशकै गौरव गर्न लायक श्रष्टाहरु रहेको समेत स्मरण गरे । उनले अग्रज साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठदेखि लेकाली व्याण्डसम्मको नाम लिदै यसले पोखराको नाम उँचो बनाएको भन्दै नमन गरे ।

शनिबार भएको कार्यक्रम ‘नेपथ्य’को रजत वर्षको पहिलो कार्यक्रम हो । २५ वर्षअघि अप्रिलमै पहिलो एल्वम निकालेको ‘नेपथ्य’ले अहिले रजत वर्ष मनाइरहेको छ ।

कास्कीका दुई वटा सामुदायिक विद्यालयको सहयोगार्थ भएको कार्यक्रममा सहयोग गर्नेहरु प्रति गायक अमृत गुरुङले धन्यवाद दिदै शिक्षाको उज्जालो ज्योति छर्ने अभियानमा सरिक हुन पटक/पटक अपिल गरे ।

कास्कीका ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र सल्यान बासखर्कमा रहेको भूमेश्वर आधारभुत बिद्यालयको सहयोगार्थ उक्त कार्यक्रमबाट बचत भएको केहि रकम प्रदान गरिने भएको आयोजक गुरुङले बताए । कास्कीको गौरी शंकर मनिलाल मावि र भुमेश्वर आधारभुत विद्यालयलाई करिब १५ देखि २० लाख रुपैया आर्थिक सहयोग गर्ने बताइएको छ ।

करीब दश हजार दर्शक भित्राउने आयोजकले लक्ष्य लिएपनि एक तिहाई दर्शक पनि रंगशाला पुगेनन् । अपेक्षाकृत दर्शक नदखेपछि ६ः४५ मै शुरु हुने भनिएको कार्यक्रम दश मिनेट पछि मात्रै शुरु भएको थियो ।

तस्वीरः उमेश पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment