Comments Add Comment

‘अल्छी आँखा’ को उपचारका लागि भिजन थेरापी सुरु

अब चस्मा लाउनु नपर्ने, विदेश जानु पनि नपर्ने


२८ चैत, काठमाडौं । नेपालमै पहिलोपटक ‘अल्छी आँखा’को उपचार हुने भएको छ । दृष्टि आई केयर सेन्टरले कलंकीमा अत्याधुनिक सुविधा सम्पन्न प्रविधिसहित अल्छी आँखाको उपचार सेवा शुरु गर्न लागेको हो ।

दृष्टि आँखा अस्पतालका प्रमुख भाइराजा श्रेष्ठका अनुसार भिजन थेरापी भन्ने सफ्टवेयरको माध्यमबाट अल्छी आँखाको उपचार हुनेछ । यस्तो अल्छी आँखा विशेषतः बाल्यकालमै हुने भएकाले ५ वर्ष मुनिका बालवालिकाको निःशुल्क आँखा जाँचको सुबिधा समेत दृष्टिले दिने भएको छ ।
यसअघि विर्तामोडमा दृष्टिले आँखाको नानी प्रत्यारोपण सेवा नेपालमै पहिलो पटक शुरु गरिसकेको छ । श्रेष्ठले पत्रकारहरुसँग भने–हामी नेपालमै पहिलो पटक सफ्टवेयर प्रबिधिबाट अल्छी आँखाको उपचार बिधी शुरु गर्दैछौं,जसलाई भिजन थेरापी भनिन्छ ।

अल्छी आँखा कसरी पत्ता लगाउने ? उनले भने–हेर्दा आँखा दुवै राम्रो देखिन्छन् तर एउटा आँखाले पूरै काम गरिरहेको हुदैन । आजसम्म यस्तो अल्छी आँखाको उपचार नेपालमा थिएन । अब हामीले शुरु गर्दैछौं र यसबाट हजारौं मान्छे लाभान्वित हुनसक्छन् ।

१५ वर्षभन्दा पहिलेनै भिजन थेरापी मार्फत अल्छी आँखाको उपचार गरिसक्नुपर्ने सुझाव समेत दृष्टि आइकेयर सेन्टरले दिएको छ । करीव १६ करोड लागतमा निर्माण भएको अत्याधुनिक आँखा अस्पतालमा आँखाको रेटिनाको शल्यक्रिया र नानी प्रत्यारोपण समेत गर्ने प्रबिधि भित्र्याएको श्रेष्ठले बताए ।

अस्पतालले आँखाको अपरेसनको भिडयो समेत खिच्ने व्यवस्था मिलाएको छ । विरामीले आफ्नो अपरेशनको भिडियो लिन चाहेमा उपलव्ध गराउन सकिने श्रेष्ठले बताए । २ वर्षभित्रै चस्मा नलगाई चश्माको काम गर्ने क्लासिक सेवा शुरु गरिने र लागत ३१ करोड पुग्ने उनले जानकारी दिए ।

मध्यम र निम्न वर्गका मानिसहरुले उपचार सेवा पाउने गरी अस्पतालमा आँखाका सबै उपचार शुरु गरिएको र अब आँखा उपचारका लागि विदेश जानु नपर्ने अस्पतालले जनाएको छ । आँखा जाँचका लागि सरकारी अस्पतालसरह शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment