Comments Add Comment

१९ बर्षीय नेपाली युवकको युरोप सपना, यस्तो छ कारुणिक कथा

११ देश पार गर्दै १७ लाख खर्चेर यूरोप पुगे


१० अप्रील, बार्सिलोना । चितवन घर भएका १९ बर्षीय मनिष (नाम परिवर्तन) को पढाईमा खासै मन गएन ।

मध्यमस्तरको पढाई भएका मनिषको मनमा विदेश जाने भूत चढ्यो । पढाईप्रति उनको मन टाढा भयो ।

एसएलसी पछि कक्षा १२ समेत उत्तीर्ण गरेका उनले सुरुमा ईजरायल जाने प्रयास गरे । ६/७ महिना त्यतिकै बित्यो । भिसा लागेन ।

उनमा एकाएक ईजरायल पछि युरोप छिर्ने इच्छा जाग्यो । यसैक्रममा लमजुङ् घर बताउँने दुई जना विचौलियाहरु राजेन्द्र अधिकारी र थकित अधिकारीसँग सम्पर्क भयो।

राजेन्द्र भारतको दिल्लीमा थिए भने थकित नेपालमा नै बसेर युरोप पठाउन मान्छे बटुल्ने काम गर्थे।

मनिषसंगको काम गर्ने भिसामा सुरुमा इस्टोनिया जाने गरी कुरा भयो । तर एउटा विचौलिया हुँदै अर्को विचौलियासँग सम्पर्क हुँदै अष्ट्रिया पुर्‍याउने पक्का भएछ।

अन्ततस् मनिष अष्ट्रिया नै जाने भए । मनिष लगायत उनका साथीहरु युरोप जान तयार भए । मनिषसँगै चितवन घर भएका भरतले ९नाम परिबर्तन० पनि युरोप छिरेर पैसा कमाउने सपना बुने ।

विचौलियामार्फत सुरुमा उनीहरुको रसियाको भिसा लाग्यो । होटल बुकिङ् र स्पोन्सर पछि दुवैले टुरिष्ट भिसा प्राप्त गरे।

भिसा लाग्नु अगाडि नै प्रक्रियाका लागि भन्दै ३/३ लाख रुपैयाँ बुझाई सकेका थिए। युरोप जाने भएपछि सपिंगदेखि साथीभाइसंग भेटघाट, आवाजजावतमा थप २ लाख खर्च भयो।

त्यतिबेलासम्म युरोप जाने सपना पुरा गर्नका लागि ५ लाख खर्च भईसकेको थियो।

दुवै जनालाई उडाउनको लागि विचौलियाले भारत पुर्‍याए । भारतीय ईमिग्रेसनमा राम्रै च्यानल भएकाले उड्नका लागि दिल्ली पुर्‍याइएको जानकारी उनीहरुले पाए ।

दिल्ली पुगे पछि अरु दुई जना पनि थपिए। टुरिष्ट भिसामा जाने भएपछि ईमिग्रेसनमा पैसा ‘सो’ गर्नका लागि विचौलियाले ८ / ८ सय डलर पनि थमायो।

मस्कोमा भारतीयले लुटे 

मस्को पुगेपछि एक जना भारतीय लिन पुगे । ईमिग्रेसनमा ‘सो’ गर्न दिएको पैसा लिनु भनिएको रहेछ । भेट्ने बित्तिकै भारतीयले सोध्यो।
तुम्हारे पास कितने पैसे हैं ?

मेरे पास है, ‘भरतले पैसासहित पर्स नै देखायो । भारतीयले सबै थुतिहाल्यो। मनिष अलि चनाखो बने । ६ सय डलर लुकाएछन् बाँकी बुझाए।

तर साथिसँग पैसा नै भएँन । भरतलाई फेरि २ सय दिए । आँफूलाई २ सय राखे र बाँकी पैसा ८ दिन मस्को रहँदा सक्कियो।

विचौलिया पनि मस्को आए पछि अब भिसा लगाएर हैन स्थलगत लुकिछिपी जाने भन्ने थाहा भयो।

अब पुग्ने नै भनेर सबैले आँट गरे । दुई जना रसियन ट्याक्सी लिएर आए । एक जना ईन्डियनसहित तीन जना युरोप सपना देखेर ट्याक्सी चढे।

जब सबैका मोवाइल अफ गरियो

ट्याक्सीमा चढ्नु अघि सबैको मोबाईल बन्द गरेर ड्राईभरले लियो। ट्याक्सीवीच जंगलमा रोकियो । सबैका मोबाईल पुराना हुनाले फिर्ता पाए तर मनिषले पाएनन्। किनकी उनको नयाँ आईफोन फाईभ थियो।

आईफोन मात्र हैन, ड्राईभरले केही बचेको रुबेलसहित खानेकुरा लिएर टाप कस्यो। अबको यात्रा मात्रै कठिन भएन उनीहरु जीवनमरणको दोसाधमा पुगे । खाने र पिउने केही छैन। अनकन्टार जंगलमा ।

त्यतिकैमा जाड धोकेर आएजस्तो लाग्ने एक रसियन नजिकै आयो। त्यो गाईड रहेछ । अब उसकै साथमा जंगल हिड्नु पर्ने भयो । भाषा केही पनि नबुझिने । उनीहरुलाई प्यासले सताएको थियो । यात्रा निकै कठिन थियो ।

छिस्रिक्क आवाज आउदा झाडिमा लुक्नु पर्‍यो

सानो छिस्रिक्क आबाज आउने बित्तिकै गाईडले लुक भन्ने संकेत गर्दथ्यो । त्यस पछि झाडीमा लम्पसार पर्नु पर्ने । साउनको महिना जंगलको झाडी र लुक्दा त झन् लामखुट्टेले पुरै शरीर नै ढाकेको हुन्थ्यो।

मनिषसँग भर्खर किनेको लगेज पनि बोकेका थिए । ५० हजार रुपैयाँ खर्च गरेर नयाँनयाँ कपडाले लगेज भरेका थिए।

अब उनका लागि यो नै भारी बन्यो । पाईला नै चलेन । अन्ततस्भिर्ने झोलामा केही कपडा कोचेर युरोपको सपना बुनेको लगेज रसियाको जंगलमा मिल्काए।

प्यासले सबै आत्तिएको बेला,मनिषले एउटा रेडबुल निकाले। के पर्छ भनेर लुकाएर राखेका रहेछन्। सबैले थोरै थोरै बाडेर खाए।त्यसले झन् प्यास बढायो । घाटी नै पोलेर आयो ।

जब गाइड नै हरायो

कताकता ट्याक्टरको जस्तो आबाज सुनियो । गाईडले फेरि लुक भन्यो ।

सबै जना फेरि लम्पसार नै परे। केही समय पछि हेर्दा त गाईड नै गायव । जंगलमा उसले पनि छाडेर गयो । अब ज्यान नै खतरा भएको महसुस गरे।

कसैको साहारा बिना पनि चारै जना जंगलमा हिड्न सुरु गरे । एउटा डेन्जर लेखेको ठाउँमा पुगे।

हिड्दै जाँदा सुरुमा अलि अलि चिसो जस्तो भयो। तर बाटो हिलैहिलो रहेछ । भरतको झण्डै आधा शरीर हिलोमा डुब्यो । सबैले मिलेर बाहिर निकाले।

प्यास मेटाउन हिलो खाए

राति १० बजेदेखि हिड्न सुरु गरेका उनीहरुको गन्तव्य विहान हुन लाग्दा पनि पत्तो लागेन । पानि प्यास बढेर सबै आत्तिए। खेप्न नै नसके पछि जमिनको हिलो पानि भए पनि पिउने निधो गरे।

भुईमा लम्पसार पर्दै । पुसअप गरे झैँ गरी जमिनमा रहेको हिलो पानीलाई मुखले सुरुप्प पारे। पछि त झन् सबैको घाटी ख्याक ख्याक भयो। आखिर प्यास कहाँ नै मेटिन्थ्यो ?

डेन्जर लेखिएको करिव १० किलोमिटर जतिको त्यो हिले बाटो पार गरे । सास रहेसम्म आश हुन्छ भन्दै यात्रा बढिरह्यो।

एउटा ढिस्को जस्तो आयो । ढिस्कोमा चढेर माथि उक्लिए।त्यहाँ त स्याउ नै स्याउ रहेछन् । आत्तिएर आँखा चिम्लेर नै स्याउ खाए। खादा सर्को पनि पर्यो। त्यसपछि त जता हिडे पनि स्याउ नै स्याउ।

सबैजना चिहानमा सुते

उनीहरुले रसियाको बोर्डर कष्टपूर्वक काटे। हिड्दै जाँदा एउटा गाउँ भेटियो । घरघरमा कुकुर, बिस्तारै बिस्तारै पाईला चाले। हिड्दा -हिड्दा बल्ल पिच सुरु भयो।हिड्न नै नसक्ने स्थिति बन्यो ।

बिहानी पख एउटा ठाउँमा यसो अड्डिएर निदाएछन् । पछि हेर्दा त्यो ठाउँ त शव गाड्ने ठाउँ पो रहेछ। लाट्भियाको एउटा शहर आउँन तीन किलोमिटर मात्र बाँकी थियो।झाप्प अगाडि पुलिस आएर समाती हाल्यो।

पुलिससँग कोकाकोला रहेछ । मनिषले घुटुघुटु पिए । प्यास थोरै मेटिए पछि बल्ल पो डराए १ अब के हुने हो ?

ईमिग्रेसनको पुलिसलाई जिम्मा लगाईयो। त्यहाँ पनि सुरुमा ५ लिटर पानी आयो । सबैले राम्रोसँग प्यास मेटाए।

त्यसको २४ घण्टा सम्म केहि पनि पाएनन्। ट्रासलेटर आएर उल्था गर्दा नामथर,घर सबै झुटो बोले।

प्रहरीले दिउँसो ४ बजे गाडीमा हालेर क्लोज क्याम्प तिर पुर्‍यो । कपडा खोलेर नाङ्गै बनाएर चेक गर्यो।

त्यहाँ त नेपाली र ईन्डियनहरु टन्नै यसरी नै समातिएका रहेछन्। लाग्यो, युरोपको भुतले धेरैलाई नै छोएको रहेछ।

रसिया छदा एजेन्टले भन्थ्यो लाटभिया पुर्‍याएर ४० किलोमिटर उता नै लगेर छोडिदिन्छ।अनि होटलमा लगेर राख्छ।

फिनल्याण्ड पुर्‍याउन मान्छे लिन आउँछ भन्दै थियो। तर ४० किलोमिटर यतै रसियाको जंगलमा नै छोडिदियो।

मनिष त्यतिबेलाको अबस्था सम्झदै भन्छन्, ‘त्यति बेला मन नै कस्तो कस्तो बन्यो,अब घर कसरी फर्कौ जस्तो पो लाग्यो।’

घरबाट विचौलियाले पैसा असुलिरहे

दलालले घर तिर सम्पर्क गरिसकेका रहेछन्। छोरा जेलमा छ । छुटाउनको लागि भनेर ४ लाख बुझिसकेका रहेछन्।

यता केस चलिरहेको थियो । नाम ठेगाना झुटो बोल्दा झनै अप्ठारो पर्‍यो । रसियामा नै पासपोर्ट च्यातेर हिडेको अब छुट्नलाई नागरिकता नभई नहुने।

फेरि निबेदन दिएर नाम ठेगाना सच्चाए। यो वीचमा मनिषको त डिपोर्ट लेटर आयो । झनै तनाव दियो।१०/१५ दिनसम्म त निदाउन सकेनन्।

फेरि अपिल गर्न पाईने हुँदा आँफूलाई सम्हाले । नागरिकता मगाउँने क्रममा दलालले घर सम्पर्क गरेर अर्को ४ लाख पनि बुझे।

नागरिकता आयो । कोर्टले छोड्ने फैसला दियो। दलाल भने सम्पर्कमा नै थियो। ५८ दिन क्लोज क्याप्पमा बिताउँदा घरमा पनि सम्पर्क भएको थियो।

पैसा माग्ने चक्करमा दलालले सबै अबस्था बताईसकेको हुँदा थप नयाँ कुरा केही थिएन। कति जना नेपालीहरु भने यही ठाउँबाट नै डिपोर्ट भएको पनि सुनियो।

अन्ततस् एकै चोटी समातिएका ४ जना एकै दिन छुटे। युरोपको सपनाको फेरि अर्को चरण सुरु भयो।

पुनस् विचौलिया राजेन्द्रसँग सम्पर्क भयो । लाट्भियाबाट इस्टोनिया ट्याक्सीमा पुग्ने कुरा भयो। ८/९ घण्टाको यात्रा पछि ईस्टोनिया पनि पुगे।

विचौलिया राजेन्द्रले फेरि रसिया फोन गरे । रसियाबाट फिनल्याण्ड सम्पर्क भए पछि एउटा बंगाली लिन आउने पक्का भयो।

अब यात्रा अष्ट्रिया होईन जर्मनी तिर मोडियो। जर्मनी पुगेर केहि गर्न सकिन्छ,कमाईन्छ कि भन्ने आशा पलायो।

लाट्भियादेखि जर्मनी पुर्‍याउने भन्दै दलाललाई घर सम्पर्क गरेर पुनस् १ लाख ५० हजार रुपैयाँ बुझाए।

बंगालीको डकुमेन्टको सहायताले यात्रा

फिनल्याण्डबाट लिन आउने बंगालीको डकुमेन्टमा सबै जना पालैपालो यात्रा गर्नु पर्ने भयो।किनकी उसको नामको डकुमेन्ट प्रयोग गरेर एक-एक जना पानी जहाजबाट (सीप) फिनल्याण्ड पुग्नु पर्ने थियो ।

एक्ला-एक्लै यात्रा गर्नु पर्ने भएकाले सीप हल भित्र कसरी जाने भनेर सिकाउन लाग्यो।

एक जना मात्र आउ भनेको रहेछ । सबैलाई बोलाएको जस्तो लागेर सबै एकै चोटी गए । बंगाली पनि डरायाे । सबै डराए ।

एक्लै जानु पर्ने हुँदा कसरी छिर्ने भनेर सिक्नु पनि पर्ने रहेछ । त्यसैले सबैलाई हतार भयो एकै चोटी छिरीयो। डकुमेन्ट एक जनाको । ४ जना नै भित्र पसे । फेरि टिकट क्यान्सिल गरेर सबैलाई बाहिर निकालियो ।

त्यति बेला राम्रो चेकिङ् भएको भए फेरि हामी इस्टोनियाको जेलमा हुनथ्यौ।हतारहतार बाहिर निकालेर ट्याक्सीबाट एउटा बस स्टेशन नजिकै लगेर छाड्यो।पछि रिसाउँदै गालि पनि गर्यो । सम्झायो पनि।

बंगालीले एक जनालाई फिनल्याण्ड पठायो । बाँकी तीन जनालाई यही बस स्टेशनमा बस्न भन्दै आँफू होटल तिर लाग्यो। अब रातभर बस स्टेशन र नजिकै रेष्टुरामा यता त उता गर्दै बिताउनु पर्ने भो। बिहान ७ बजे मात्र उ आउँदै छ।

केही खानाको लागि २० युरो पनि दिएको थियो।मध्यरातमा रेष्टुरामा बसेर केही खाईरहेका थिए ।

पुलिस देख्दा थुरथुर

एक्कासी पुलिस देखियो । सबै डरले थरथर भए । केही किनेर पुलिस गयो । केही घण्टा पछि फेरि अर्को पुलिस देखियो । फेर डरले थुरथुर । आखिर त्यहाँ ड्युटी परिबर्तन हुँदै गर्दा आउँने जाने चल्ने नै रहेछ।

बिहान ७ बजेको समय दिएको बंगाली ११ बजेसम्म पनि आएन । ठुलै तनाव भयो।रात भरको अनिदो त्यस माथि बिहान ११ बजेसम्म पनि नआउँदा आशा मरिसकेको थियो।

कतै छोडेर गयो कि भन्ने चिन्ता बढ्यो।एकदमै चिसो । बाहिर हिउँ परिरहेदा स्टेशनमा रात बिताउदा पनि निकै मुस्किल थियो । तर रसियाको जंगललाई सम्झँदा भने स्वर्ग कै महसुस भएको थियो ।

बंगाली आएपछि निन्द्रा लाग्यो

करिव १२ बजे तिर अन्तत् ऊ आईपुग्यो।तीन दिन नसुतेकोले मजैले सुते । पानी जहाजमा ९सीप० मा जाने फेरि अर्कोको पालो आयो।

एउटै पानी जहाज भित्र सयौ गाडी छिरेको देख्दा र पहिलो पटक समुन्द्रलाई देख्दा दुखेको मन पनि कता कता खुशी भयो।

पछि थाहा भयो । इस्टोनियामा यही बंगाली पछिल्लो ग्रुपलाई ल्याउँदा समातियो रे। केही नेपालीहरु जेल पनि परेछन् । पछि डिपोर्ट पनि गरेको रहेछ। तर मनिषहरु पार हुन सफल भए ।

फिनल्याण्ड पुर्‍याइदिने बंगालीलाई विचौलिया राजेन्द्रले पैसा पठाएन। त्यसैले फिनल्याण्ड पुगे पछि एक दिन नाटक गर्नु पर्यो।

फोन गरेर सबैले भने,’लौ न हामीलाई घरबाट निकालिदियो,पैसा दिनु नत्र बर्बाद भयौ।’ यति भने पछि बल्ल पैसा हालिदियो।

हामीलाई नाटक गर्न लगाएर बंगालीले पैसा उठाई छाड्यो। जर्मनीसम्म पुर्याउने जिम्मा लिएकोले उसले फिनल्याण्डबाट नक्सा देखाउँदै हामीलाई बिदाई गर्यो।

जर्मनी यात्रा
उनीहरु बस,ट्याक्सी,रेल हुँदै फिनल्याण्डबाट स्विडेन,डेनमार्कवाट हुदै जर्मनी पुगे । यो सबै गरी ४८ घण्टाको सफर थियो।

कफी खाएर भोक मेटाए । साथमा मनग्य पैसा नभएकाले खानु अघि दुई पटक सोच्नै पर्ने थियो।तर पनि बाँच्नका लागि खानै पर्ने । जर्मनी उत्रने बित्तिकै केएफसी देखियो । पैसालाई भोकले जित्यो,केही मगाएर खाए ।

जर्मनीको हाम्बर्ग पुग्न त पुगे उनीहरु तर बस्ने कहाँ कुनै ठेगान थिएन। चिने जानेको कोही पनि थिएन।

नेपाली जस्तो लागेर एक जनासँग कुरा भयो । तर उनी पाकिस्तानी रहेछन्।बस्ने बास मिलाई दिन अनुरोध गरे पछि उनले कोठामा लिएर गए।

धेरै दिन पछि नुहाउने अवसर पनि पाए । उनले धेरै ठुलो गुन लगाए। युरोपमा भन्ने बित्तिकै कसले बास दिन्थ्यो र ?

पाकिस्तानिले एक छाक खाना दिए नेपालीले जवाफ लगाए

सेन्टर स्टेशन अगाडी एउटा नेपाली रेष्टुरेन्ट पनि थियो । उनीहरु एक जना नेपाली देखेर धेरै नै खुशी भए ।

सबै बास्तबिकता बताएर उनलाई सोधे-‘दाई यहाँ बस्न पाईन्छ ?’ उनले भने, ‘मज्जाले खाना र बस्न पनि पाइन्छ।’ फेरि उनीहरुले सोधे, ‘ दाई कहाँ पाईन्छ ?’

निकै रुखो बोलि बोल्दै तीन नेपालीले जवाफ दिए ‘पाईन्छ,उ त्यहाँ गएर,फिङ्गर देउ,त्यस पछि बस्न नि पाईन्छ,मज्जाले खाना पनि पाईन्छ।’

‘आखिर मन नै ठुलो कुरा रहेछ, एउटा पाकिस्तानीले बास दियो, मनिषले भने-‘ एक छाक खुवायो तर एउटा नेपालीले बचन मात्र लगाए,  भतभत् पोल्यो अहिले पनि पोलिरहेको छ।’

फेरि उनीहरुले त्यहि एजेन्टलाई नै सम्पर्क गरे । उपाए केही भएन । शरणार्थी केस गरे । भत्ता पनि पाइन्छ भन्ने धेरैले सल्लाह दिएपछि उनीहरुले यो गरेका थिए ।

उनीहरु फेरि जर्मनीको एउटा क्याम्पमा पुगे । १७ दिनसम्म एउटा कोठा भित्र नै बस्नु पर्यो। त्यो बेला मनिषको अनुहार भरी ठेउला आइसकेका थिए ।

दुई हप्तासम्म बिरामी परे । न त मोबाईल न ईन्टरनेट । ती पलहरु जीवनका साह्रै उराठ लाग्दा पलहरु बने।

‘जीवनमा जब मन बहकिने कुनै बाटो नै हुदैन नि त्यति बेला सार्है उराठ लाग्ने रहेछ’ मनिषले भने ।

मनिषले घर परिबार साथीभाई आफन्तको महत्व त्यतिबेला बुझेको बताए । उनले आफूले सानै उमेरमा सबै जिन्दगी बुझेको बताए ।
४ महिना पछि जर्मन बसाई सकियो

अन्ततस् ४ महिनाको जर्मनी बसाई पनि टुंगिने भो । लाट्भियामा दिएको फिङ्गर जर्मनीमा पनि देखियो ।

केस उड्ने निश्चित भए पछि फेरि उपाय सोचे उनीहरुले । जर्मनीको एक जना नेपालीको सम्पर्कबाट स्पेनका लागि कुराकानी भयो ।

अबैधानिक आप्रबासीलाई स्पेनले डिपोर्ट नगर्ने खबर पाए पछि पाईलाहरु स्पेन तिर मोडिए। घरबाट फेरि पैसा मगाएर नयाँ जीवनको खोजिमा हिड्यौ।

यो बिचमा एक जना साथी पोर्चुगल तिर लागे। ट्याक्सीमा जर्मनीबाट १७ घण्टाको यात्रा भयो।

बेल्जियम,फ्रान्स हुँदै स्पेनको बोर्डर सान सेबास्तियन पुग्यौ। फेरि त्यहाँबाट ६ घण्टाको यात्रा हुँदै उनीहरु बार्सिलोना पुगे ।

मनिष ११ देशमा टेकेर स्पेन पुगे

१९ बर्षको उमेरमा मनिषले ११ बटा देशको बोर्डर टेक्दै स्पेनसम्म आईपुगे । यसक्रममा उनले करिव १७ लाख रुपैयाँ खर्चेको बताए ।
उनीहरुसँगैको र पछिल्लो ग्रुपमा यसरी नै आएका ४/५ जना युवाहरु बार्सिलोना भित्रिएका छन्।

रसियादेखि नै स्थल मार्ग हुँदै उनीहरु स्पेन छिरेका हुन्। उमेरमा मनिष १९ बर्षका भए पनि अन्य युवाहरु २१/२२ बर्षको हाराहारीका छन्।
प्रमाणपत्र तहको अध्ययन पुरा गरेपछि युरोपको सपना बोक्दै यति ठुलो खर्चमा यहाँसम्म आईपुगेका हुन्।

अबको भविष्य के होला त ?

हुन न यसरी नै जिन्दगीलाई दाउमा राखेर एक दशक अगाडि पनि थुप्रै नेपालीहरु युरोप छिरेका छन् ।

द्वन्दकालको समय भएकोले धेरै देशहरुमा,बस्ने र काम गर्ने अधिकार प्राप्त गर्न सजिलो भयो। अझ युरोपमा चलन चल्तीको भाषामा धेरैको कार्ड बन्यो वा पेपर पास भयो।

आर्थिक अबस्था पनि राम्रो बनाए।अहिले अबस्था परिबर्तन भएको छ । तर पनि कमाईन्छ कि भन्ने आशामा युवाहरुले दिन प्रतिदिन युरोपको मोह घटाएका छैनन्।

अबैधानिक रुपमा रहेका आप्रबासीका लागि स्पेन र पोर्चुगलमा केही खुकुलो नीति भए पनि अन्य देशमा बसेर बैधानिक बन्ने सम्भाबना लगभग शून्य छ।

अन्य देशमा लुकिछिपी काम गरेर केही कमाउँन सक्लान् तर भविष्य सुनिश्चित देखिदैन।अन्य मुलुकहरुमा अबैधानिक रुपमा काम गर्दा गर्दै समातिए सिधै डिपोर्ट हुने खतराले स्पेन र पोर्चुगललाई कार्डको लोभमा गन्तब्य बनाएको पाईन्छ।

तर यी दुवै मुलुकमा पनि पहिलेको जस्तो अबस्था रहेंन। लाखौ ऋण गरेर,यता आएर कमाउछु र ऋण तिर्छु भन्नु त दिवा सपना नै हो।

अझ यही रहन र कार्ड बनाउँन उल्टो खर्च गर्नु पर्ने बाध्यता छ। काम नपाएको खण्डमा घरबाट पैसा मगाएर जीवन जिउनु पर्ने बाध्यता छ।
पोर्चुगलमा पछिल्ला दिनहरुमा कार्ड बन्न असहज बन्दै गएको छ भने स्पेनमा लामो समयसम्म कुर्नु पर्ने र निकै खर्चिलो छ।

यहाँको नगरपालिकामा दर्ता,भाषा कक्षा लगायत अन्य कागाजी प्रक्रिया पुरा गर्न जरुरी छ,यसको लागि तीन बर्ष बिताउनु पर्छ।

यो अबधिमा बैधानिक रुपमा काम गर्ने अधिकार सरकारले दिएको हुँदैन। लुकिछिपी काम गर्नु पर्ने बाध्यता छ,यसले ज्यादै न्यून कमाई देखि खाना बस्नमा नै धौ धौ परेको देखिन्छ।यस्तो अबस्थामा भर्खर लाखौ खर्च गरेर आएकाहरुले कसरी ऋण तिर्ने भन्ने प्रश्न छ ?

यति मात्र हैन तीन बर्ष पछि बैधानिक बन्नका लागि करिव १० लाख रुपैयाँ बराबरको खर्च गर्नु पर्ने हुन्छ।

त्यो रकम पनि घरबाट नै मगाउनु पर्ने अबस्था आयो भने,कसरी चल्ने ? कार्डको चक्करमा,कतिसम्मको ऋणको भारी बोक्ने ? यो त यहीबाट नै सजिलै अनुमान लगाउँन सकिन्छ।

युरोपको बास्तबिकता नै यही हो। ऋण गरेर लाखौ खर्च गरेर जीवनलाई दाउमा राखेर अबैधानिक रुपमा युरोप छिर्दा भविष्य नै अन्धकार छ।

१५/१७ लाख ऋण बोकेर युरोप आउँदा घरमा ब्याज तिर्ने पैसा समेत पठाउँन नसक्नु अर्को ब्रजपात हुनेछ।

लाखौ रुपैयाँ बिचौलियालाई बुझाएर जीवन जोखिममा राख्दै युरोपको सुन्दर सपना देख्नु ठुलो भ्रम नै हो।

आँफूलाई मात्र हैन परिवारलाईसमेत मानसिक तनावबाट जोगाउने हो भने आजैबाट सचेत हुन जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment