Comments Add Comment

यी हुन् बर्षका उत्कृष्ट ५ फिल्म, कसले जित्यो दर्शकको मन ?

नेपाली चलचित्रको ब्यापारलाई हेर्ने हो भने बर्ष २०७३ को बारेमा निर्माताहरुले गुनासो गर्ने ठाउँ खासै देखिएको छैन । दर्शकको मन छुने खालका चलचित्र बनाउन सकेको खण्डमा व्यापार कमजोर बन्दैन भन्ने उदाहरण केहि चलचित्रले दिए ।

यो बर्ष १ करोड माथिको ग्रस कलेक्शन गर्ने चलचित्रको संख्या पनि कमजोर छैन । बर्षमा बनेका ७ दर्जन बढी चलचित्रमध्ये मिडिया हाइप पाएका, दर्शकले रुचाएका चलचित्रले निराश हुनु परेन । वर्षभरि प्रदर्शनमा आएका मध्ये हामीले यहाँ उत्कृष्ट ५ चलचित्रलाई प्रस्तुत गरेका छौ । यो सूची तयार गर्दा मुख्यतया चलचित्रको व्यापारलाइ पहिलो प्राथमिकता दिइएको छ । साथमा, समिक्षकको समिक्षा, दर्शकको प्रतिक्रियालाई पनि आधार बनाइएको छ । अनलाइनखबरले बर्षभरि प्रदर्शनमा आएका चलचित्रमध्ये उत्कृष्ट ५ चलचित्रलाई यहाँ प्रस्तुत गरेको छः

५. बीर बिक्रम

मिलन चाम्स निर्देशित चलचित्र ‘वीर बिक्रम’ वर्ष २०७३ मा नेपाली दर्शकलाई मन परेको चलचित्र हो । यो चलचित्रमा दयाहाङ राई, अनुप बिक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दिया पुनःले मुख्य भुमिका निर्वाह गरेका छन् ।

चलचित्रले नेपाली बक्स अफिसमा राम्रो कमाई मात्र गरेन, निर्माताको लगानी पनि सुरक्षित गरिदियो । गाउँले परिवेशको कथालाई निकै मार्मिक ढंगले उठाएको यो चलचित्रलाई दर्शकले रुचाए । युटुबमा पनि चलचित्रले राम्रो दर्शक पाइरहेको छ । कलाकार अर्पण थापाले निर्वाहा गरेको भूमिका यो चलचित्रमा सबैभन्दा प्रशंसित बन्यो । यसैले, ‘विर विक्रम’ उत्कृष्ट चलचित्रको पाँचौ स्थान ओगट्न सफल भएको छ ।

४. लुट २

चलचित्र ‘लुट’ बनाएर चर्चामा आएका निश्चल बस्नेतले लुटकै सिक्वेल ‘लुट-२’ बनाए । यो चलचित्रमा समावेश ‘ठमेल बजार’ बोलको आईटम गीत चलचित्र रिलिज नहुँदै चर्चाको शिखरमा पुग्यो । ‘ठमेल बजार’ बोलको गीतमा स्वर दिएकी मिना निरौला पनि लोकप्रिय गायिकाको श्रेणीमा स्थापित भईन् ।

‘लुट’ हेरेर मनोरञ्जन लिने दर्शकले ‘लुट-२’ बाट बढी नै अपेक्षा गरेका थिए । दर्शकले अपेक्षा गरे अनुसारको कथावस्तु ‘लुट २’मा नपाउँदा यसलाई औषत भने । तर, चलचित्रले इनिसियल व्यापार भने राम्रो गर्‍यो ।

सौगात मल्ल, दयाहाङ राई, सिर्जना सुब्बा, विपिन कार्की, ऋचा शर्मा लगायतका कलाकारको यो चलचित्रमा अभिनय छ । चलचित्रको समिक्षा मिश्रति आएपनि यसले बर्षकै दोश्रो धेरै व्यापार गर्ने चलचित्रको सुचीमा आफूलाई सुरक्षित बनायो । यसैले, बर्षकै उत्कृष्ट चलचित्रको चौथो स्थान ओगट्न ‘लुट २’ सफल भएको छ ।

३. कालो पोथी

मिनबहादुर भाम निर्देशित नेपाली चलचित्र ‘कालोपोथी’ले अन्तर्राष्ट्रिय जगतमा नेपाली चलचित्रलाई स्थापित गर्ने काम गर्‍यो । चलचित्र निर्माण अघि स्विजरल्याण्ड , बर्लिन र फ्रान्सको कला संस्कृति मन्त्रालयबाट नेपाली २ करोड बढीको पुरस्कार पाएको थियो, यो चलचित्रले ।

विभिन्न २५ चलचित्र महोत्सवमा भाग लिएको यो चलचित्रले प्रतिष्ठित ‘भेनिस फिल्म फेष्टिभलमा क्रिटिक्स च्वाइसमा बेष्ट फिल्मको अवार्ड’ पायो । शुक्रराज रोकाय र खड्गराज नेपाली नाम गरेका दुई बालकलाकारको मुख्य भुमिका रहेको यो चलचित्रले मुगुमा बोलिने खस भाषालाई संवादको रुपमा प्रस्तुत गरेको थियो । तत्कालिन माओवादीले सुरु गरेको जनयुद्ध र त्यसले पारेको प्रभाववारे चलचित्रले प्रष्ट पारेको थियो ।

चलचित्रले नेपाली बक्स अफिसमा पनि करोड बढीको ग्रस कलेक्शन गर्‍यो । मल्टिप्लेक्सका दर्शकले यो चलचित्रलाई निकै रुचाए । जसकाकारण, यो चलचित्र व्यापार, समिक्षा र दर्शकको नजरमा सफल साबित भयो । यहि, कारणले बर्षकै उत्कृष्ट चलचित्रको तेश्रो नम्बर ओगट्न ‘कालो पोथी’ सफल भएको छ ।

२. जात्रा

  प्रदिप भट्टराइको डेब्यु चलचित्र ‘जात्रा’ दर्शकलाई खुसी बनाउने अर्को चलचित्र बन्यो । रविन्द्र सिंह बानियाँ , विपिन कार्की, वर्षा राउत, रबिन्द्र झा लगायतको अभिनय रहेको ‘जात्रा’ आम चलचित्रको तुलनामा पृथक थियो ।

मौलिक विषयबस्तु र कलाकारको जीबन्त अभिनयकै कारण चलचित्र हेर्न दर्शकहरु हलमा आकषिर्त भए । चलचित्रले काठमाण्डौको कुमारी हलमा ५१ दिन मनायो । विदेशमा पनि यो चलचित्रको खुबै माग भयो । पैसाको कथालाई निकै रोचक तरिकाले देखाइएकाले गर्दा यो चलचित्रलाई दर्शकले निकै रुचाए ।

एउटै शैलिका विषयबस्तुमा बनेका चलचित्र हेरिरहेका दर्शकका लागि ‘जात्रा’ आम दर्शकले सोचे भन्दा फरक विषयमा बनेको थियो । सामान्य विषयमा राम्रो चलचित्र बन्न सक्छ भन्ने सन्देश समेत दिन सफल भयो ‘जात्रा’ समुह । व्यापार, समिक्षा र दर्शकको नजरमा समेत सफल भएको यो चलचित्र बर्षकै उत्कृष्ट चलचित्रको दोश्रो स्थान ओगट्न सफल भएको छ ।

१. छक्का पञ्जा

हाँस्य कलाकार दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा’ले नेपाली फिल्म क्षेत्रमामा नयाँ इतिहास रच्न सफल भयो । १५ करोड बढी ब्यापार गर्न सफल उक्त चलचित्रमा समसामयिक विषयले महत्व पाएको थियो ।

दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, वर्षा राउत, नम्रता सापकोटा, शिबहरि पौडेल, बुद्धि तामाङ, केदार घिमिरे लगायतका कलाकारको मुख्य भुमिका रहेको यो चलचित्रले बैदेशिक रोजगारीमा जानेको पीडालाई सम्बोधन गरेको थियो । हाँस्य परिवेशमा निर्मित चलचित्रले महिला पात्रलाई उपेक्षा गरेको भन्दै केहि महिलावादीहरुले निर्देशक निरौलाको आलोचना पनि गरे । पात्राहरुको विषयमा विभिन्न दृष्टिकोणले आलोचना गरिएपनि दर्शक सन्तुष्ट भए । हलमा मात्रै हैन युट्युवमा समेत यो समाचार तयार पार्दासम्म ८८ लाख पटक यो चलचित्र हेरिएको छ ।

भदौ २४ गतेबाट रिलिज भएको चलचित्र तिहारसम्म हलमा चल्यो । ‘छक्का पञ्जा’को ब्यापारबाट उत्साहित निर्माण संस्थाले निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा फेरि’ निर्माण गर्ने घोषणा गरिसकेको छ । यसैले, सर्वाधिक व्यापार गरेको, दर्शकको तारिफ पाएको, समसामयिक बिषयलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको चलचित्र ‘छक्का पन्जा’ अनलाइनखबरको बर्षकै उत्कृष्ट चलचित्रको पहिलो नम्बर ओगट्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment