Comments Add Comment

मेची महाकाली अभियान चलाउने एमाले हार्छ

सरकारको नेतृत्वको हैसियतमा हाम्रो पार्टी अहिले नभएको भए स्थानीय तह हुँदैनथ्यो । सरकारको नेतृत्वमा हाम्रो पार्टी नभएको स्थानीय तहको निर्वाचन पनि हुँदैनथ्यो । र, यी परिवर्तन संस्थागत गर्ने सम्भावना थिएन ।

अहिले पार्टीहरुको बीचमा जे चलिराखेको छ, तपाईंहरुले देखिराख्नुभएको छ । अहिले पछिल्लोचोटि सरकारसँग र पार्टीको लिडरसिपसँग नेपाली कांग्रेस र एमालेको जस्तो छलफल भइराखेको छ, म अहिले विस्तृतरुपमा त भन्न सम्भव छैन । मैले बुझेसम्म यो निर्वाचनप्रति त्यति ठूलो रुची ठूला भनिएका पार्टीलाई छैन ।

तपाईंहरुले बाहिर सुन्दा त उनीहरु निकै नै उत्साहित छन् भन्याजस्तो पनि देख्नु/सुन्नुभयो होला तर, यथार्थ त्यस्तो छैन । यसलाई कुनै तरिकाले रोक्नेतिर या दुबैले हामीसँग तालमेल गर्नेतिर असाध्यै दौडधुप भइराखेको छ । किनकि देशभरि माओवादी आन्दोलनको पुनर्जागरणको सक्रियता देखेर । मुद्दाको दृष्टिकोणले अरु पार्टीहरुसँग मुद्दा छैन । फेरि एकचोटि जनतामा यी सबै मुद्दाहरु पुगेका छन् ।

मैले भनेको छु, तपाईंहरुले सायद अरु मिडियाबाट पनि सुन्नुभयो होला मुद्दैमुद्दा भएको पार्टी माओवादी हो र मुद्दै नभएका पार्टी कांग्रेस र एमाले हुन् । उनीहरुसँग अहिले चुनावमा जाने केही पनि मुद्दा छैन । किनकि गणतन्त्रको मुद्दा उनीहरुको होइन, संघीयता उनीहरुको होइन, धर्मनिरपेक्षता उनीहरुको होइन, समानुपातिक समावेशी उनीहरुको होइन । निर्वाचनको घोषणा पनि उनीहरुको होइन । यो स्थानीय तह बनाउने कुरामा पनि उनीहरुको नेतृत्व होइन ।

मेचीकाली अभियान चलाउने एमाले हार्छ

खासगरी दोस्रो संविधानसभा चुनावका बेलाको घटना सम्झेर मैले भन्ने गरेको छु- मानिसहरुका ठूलठूला सभा गर्‍यौं, हामीले अभियान चलायौं, मेची-महाकाली अभियान भन्यो भने हुने के रहेछ भने चुनाव हार्दो रहेछ ।

अस्ति बालुवाटारमा नेपाली कांग्रेसका नेता, एमालेका नेता सबै बसेको बेलामा चर्चा भयो । पहिला गिरिजाबाबुले एकचोटि मेची-महाकाली अभियान गर्नुभएछ र नराम्रोसँग हार्नुभएछ, एमालेले जितेछ । दोस्रोपटक हामीले मेची-महाकाली अभियान गरियो र हामी नराम्रोसँग हारियो ।

अहिले एमालेले मेची-महाकाली अभियान गरेको छ, हेर्नुहोला सबभन्दा बढी हार्नेमा एमाले नै पर्छ ।’

माओवादीसँग मुद्दै मुद्दा छन्

माओवादीसँग मुद्दैमुद्दा छन् । अरुसँग मुद्दै छैन । तर, यी मुद्दा हामीले एकतावद्ध भएर जनतालाई बुझाउने, जनतालाई त्यो विश्वास दिलाउने आवश्यकता छ ।

हामीलाई सुरुमा भनिएको थियो, सबै चिज विदेशीलाई बुझाउँछौं होला । तपाईंहरुले के भनिदिनुपर्‍यो जनतालाई भने, यो सरकार गठन भइसकेपछि वर्षौंदेखि रोकिएको हुलाकी राजमार्गको काम अहिले युद्धस्तरमा अगाडि बढ्यो । अनि अलगाववादको कुरा गर्ने, देशलाई टुक्राउने कुरा गर्ने ठूलो गिरोहलाई मधेसमा गिरफ्तार गरिएको छ र उनीहरुलाई कडा कारवाही अगाडि बढाइएको छ । तपाईंहरुले यो कुरा बुझ्नुपर्‍यो ।

फास्ट ट्र्याक रोडका बारेमा धेरै गाली गरियो हामीलाई । अहिले नेपालीले बनाउने मात्र होइन, सेनालाई जिम्मा दिने तयारीमा सरकार अगाडि बढिसक्यो ।

लुम्बिनी बेचिसके भनेर आरोप लगाइयो । अहिले लुम्बिनीको एयरपोर्ट बनाउनका लागि मैले आफैंले हस्तक्षेप गरेर यसलाई पूर्णता दिँदैछु र लुम्बिनीको विकासका निम्ति एउटा वृहत्तर योजना अगाडि बढाइँदैछ ।

अहिले उत्तरबाट र दक्षिण दुबैतिरबाट रेलवे लाइनबाट काठमाडौंलाई जोड्ने प्रक्रिया तीव्र ढंगले अगाडि बढिसकेको छ । भर्खरै चीन भ्रमणमा म गएँ । मानिसहरुले धेरै होहल्ला गरे । भारतको राजकीय भ्रमणपछि पनि चीनको भ्रमण ढीलो भयो भनेर थुप्रै-थुप्रै चर्चा परिचर्चाहरु गरिए । तर, अहिले चीन भ्रमणमा चिनियाँ पार्टी, त्यहाँको सरकारका नेताहरुसँग जुन गम्भीरता र विश्वासको साथ जुन स्पीरिटको साथ कुरा भएको छ, त्यो ऐतिहासिक छ भन्ने कुरा हाम्रा विरोधीहरुले पनि मान्नैपर्ने बाध्यता भएको छ ।

हामीले सन्तुलित सम्बन्धमात्रै होइन । एकथरि मानिसले तथाकथित राष्ट्रवादको नाममा मधेसी जनता र समुदायलाई अझ बढी अपमानित गर्ने, विभेद गर्ने र राष्ट्रको एकतालाई कमजोर पार्ने चिज भयो । तर, हिजोको क्याबिनेटको बैठकसम्म आउँदा म के भन्न सक्छु भने हामीले मधेस-पहाड हिमाल मिलाएर नै चुनावलाई एउटा ऐतिहासिक उत्सवको रुपमा सम्पन्न गर्ने वातावरण बन्दै गएको छ । सम्पूर्ण देशभक्त नेपालीहरुको निम्ति यो जस्तो ठूलो खुसीको कुरा हुनै सक्दैन ।

अहिले हामीले धेरै हल्ला गरेनौं । कांग्रेस र एमाले, अझ मुख्यतः एमालेले हो भने सानोमात्रै सिन्को भाँच्यो भने त्यसलाई यतिधेरै प्रचार गर्न सिपालु छन् । तर, हामी त्यसमा त्यति सिपालु छैनौं । हामी सिपालु नभए पनि मलाई के विश्वास छ भने हामीले जनतालाई ठीक ढंगले भन्यौं भने जनताले कुरा बुझ्छन् ।

आर्थिक वृद्धिदेखि लोडसेडिङ अन्त्यसम्म

पहिलोचोटि २४-२५ वर्षपछि नेपालमा ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुँदैछ । आफैंमा यो ऐतिहासिक हो, जनतालाई बुझाउनुपर्‍यो । गत साल ०.८ प्रतिशत भएको आर्थिक वृद्धिदर अहिले ६ प्रतिशत कट्नु भनेको आफैंमा यसबीचमा हाम्रो पार्टीको र सरकारको गौरवका आयोजना र विकासका आयोजना अनि जनतालाई प्रत्यक्ष राहत दिने काममा हामीले लिएको नीति र हामीले लिएको मेहनतको परिणाम हो, यो कुरा हामीले जनतालाई बुझाउनुपर्‍यो ।

लोडसेडिङको कुरा त यतिधेरै स्थापित भइसक्यो कि कसैले रोक्नै सक्ने कुरा भएन । मैले हिजोमात्रै उद्योग वाणिज्य महासंघको साधारण सभाका बेलामा कुलमानको नाम लिने बित्तिकै तालीका ताली थियो । साँच्चै एउटा चमत्कार हुन सक्छ । सही मान्छेलाई सही ठाउँमा राख्दियो र सही व्यवस्थापन गरियो भने आश्चर्यजनक ढंगले विकास हुनसक्छ भन्ने कुरा स्थापित भयो । यो आफैंमा धेरै ठूलो कुरा हो ।
यसर्थमा राजनीतिक पहलकदमीको दृष्टिकोणले, आर्थिक विकासको दृष्टिकोणले पनि हामीले एउटा नयाँ वातावरण बनाउने प्रयास गरेका छौं । तर, यो पर्याप्त छैन । हामीले गर्नुपर्ने अझै धेरै छ ।

अहिले पनि युद्धमै छौं, हामीले जित्नैपर्छ

मैले त के देख्छु भने यो पटक हामीले स्थानीय तहको निर्वाचन देशव्यापीरुपमा हामीले जित्नुपर्छ । हामीले जित्नैपर्छ । हामीले जितेर मात्रै परिवर्तन संस्थागत हुन सक्छ । प्रदेशको निर्वाचन र केन्द्रको निर्वाचन पनि हामीले जित्छौं । र, देशको एक नम्बर पार्टी फेरि पनि माओवादी पार्टी, माओवादी केन्द्रै हुनुपर्दछ ।

यसका निम्ति तपाईं ललितपुरमा बस्ने साथीहरुले आजको दिनदेखि निर्वाचन सम्पन्न नहुँदासम्म, तिनै तहको निर्वाचन सम्पन्न नहुँदासम्म हिजो युद्धमा जसरी समर्पित भएर काम गर्थ्यौं, यो पनि भिन्न रुपको युद्ध नै हो । अहिले पनि हामी युद्धमै छौं । हाम्रा सहिदहरुले बगाएका रगतअनुसार परिवर्तन संस्थागत हुने कि नहुने, जनताले परिवर्तनको जो परिणाम खोजेका छन् त्यो हामीले दिनेकी नदिने भन्ने लडाईं छ ।

माओत्सेतुङले भन्नुभएको थियो, युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो, राजनीति भनेको रक्तपातविहीन युद्ध नै हो । त्यसकारण हामी अहिले पनि जनतालाई बाँडेका सपना पूरा गर्ने सन्दर्भमा युद्धमा नै छौं भन्ने स्पिरिटमा तपाईं सम्पूर्ण साथीहरु, तीनवटै तहको निर्वाचन सम्पन्न नहुँदासम्म फूल क्रान्तिकारी स्पिरिटका साथ खट्नका लागि म अपील गर्न चाहान्छु ।

हामीले योपटक के बुझ्न जरुरी छ भने स्थानीय तहको निर्वाचनको तयारी गर्दैगर्दा थुप्रै अप्ठ्याराहरुको बीचबाट यसको घोषणा भएको छ । दृढताका साथ यसलाई सम्पन्न गरी छाड्ने प्रतिज्ञा गर्दैगर्दा हामीले यो बुझ्नैपर्छ कि यो अरुबेलाको जस्तो स्थानीय निर्वाचन होइन । यो गाउँ पञ्चायतको जस्तो या गाउँविकास समितिको जस्तो होइन ।

पहिलोपटक सिंहदरबारको अधिकार जसरी भनिएको छ, यो विल्कुलै सही भनिएको छ, गाउँघर टोलटोलमा शहर बजारका टोलटोलमा त्यो अधिकार आउँदैछ ।

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाका अधिकार जनताले आफैंले चुनेका प्रतिनिधिमार्फत् कार्यान्वयन गर्ने एउटा ऐतिहासिक अवसर आउँदैछ । यो अवसर सायद जनयुद्ध र जनआन्दोलनहरु विभिन्न उत्पीडित समुदायका आन्दोलनबाट प्राप्त सबैभन्दा महत्वपूर्ण उपलब्धी हो । यसको रक्षा गर्नका लागि हामीले नै सबैभन्दा बढी मेहनत गर्नुपर्ने हुन्छ । हामीले नै सबैभन्दा गम्भीरताको साथ जनतालाई यो कुरा बुझाउनुपर्ने पनि हुन्छ ।

दोस्रो, यो ऐतिहासिक उपलब्धीलाई संस्थागत गर्नका लागि गणतन्त्र भनेको राम्रो चिज हो भनेर जनताई बुझाउने यो एउटा राम्रो अवसर हो । नत्र अहिलेसम्म १० वर्षमा जनताले गणतन्त्र र हिजोको बहुदलतन्त्र र हिजोको राजतन्त्रमा फरक देख्न पाएका छैनन् । अहिले हामीलाई त्यो फरक देखाउने राम्रो अवसर प्राप्त छ ।

त्यसकारण यसलाई त्यहीरुपमा जनतालाई बुझाउने र जनतालाई परिचालन गर्न आवश्यक छ । यो कुरा स्थानीय तहको निर्वाचनको ऐतिहासिक महत्वबारे पनि सबैलाई गम्भीरतापूर्वक चिन्तन मनन गर्न र यो कुरा बुझ्न आग्रह गर्छु ।

(प्रधानमन्त्री प्रचण्डले मंगलबार ललितपुरमा आयोजित माओवादी केन्द्रको कार्यक्रममा गरेको सम्वोधनको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment