Comments Add Comment

अध्यक्ष भवानी राणाः गुटमा विश्वास गर्दिनँ, महिलामा उद्यमशीलता बढाउँछु

‘चुनावै लड्ने रहर थियो, तर ठीकै छ’


३० चैत, काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले पहिलोपटक महिला नेतृत्व पाएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहँदै आएकी भवानी राणा बुधबारबाट स्वतः अध्यक्षमा बढुवा भएकी छिन् ।

विधान संसोधन गरी वरिष्ठ उपाध्यक्षलाई नै स्वतः अध्यक्ष बनाउने प्रावधान ल्याइएकाले ५१ औं वार्षिक साधारणसभाबाट राणा स्वतः अध्यक्ष बनेकी हुन् । उनीसँग अध्यक्ष पदको कुर्सी मात्रै होइन, महासंघभित्रको गुट–उपगुटलाई मिलाएर लैजानुपर्ने जिम्मेवारी पनि छ ।
अध्यक्ष बनेसँगै हामीले राणासँग उनका भावी कार्ययोजनाका बारेमा जान्ने प्रयास गरेका छौ ।

देशको निजी क्षेत्रको नेतृत्व तपाईंको हातमा आएको छ । अब के–कस्ता कामलाई प्राथमिकतामा राख्नुहुन्छ ?

देशबाट दैनिक ठूलो युवा जनशक्ति कामको खोजीमा बाहिर पलायन भइरहेको छ । मैले यस्तो जनशक्तिलाई नेपालमै रोजगार उपलब्ध गराउनुपर्छ भन्ने सोच बनाएकी छु । जसका लागि सातवटै प्रदेशमा इन्स्टिच्युसन खडा गर्ने मेरो अवधारणा छ । यसको लाग विभिन्न राजदुतावासहरुसँग समेत सहकार्य गर्नेछौ ।

त्यस्तै सातै प्रदेशमा स्मार्ट सीटी बनाउने सरकारको योजनामा साथ दिनेछु । साथै निजी क्षेत्रको लागि आवश्यक नीति निर्माणमा लबिङ गर्ने पनि मेरो योजना छ ।

अहिले उद्योग वाणिज्य महासंघमा होस् या त मन्त्रालय जहाँ गए पनि उद्योगधन्दाको तथ्यांक व्यवस्थापन राम्रोसँग गरिएको छैन । उद्योग के–कति र कहाँ–कसरी सञ्चालन भएका छन् र तीनको हालको अवस्था के छ भन्ने तथ्यांक सहजै पाइँदैन । तर, मैले अब यो तथ्यांक महासंघमै उपलब्ध हुने व्यवस्था गर्ने तयारीमा छु ।

महिला अध्यक्ष भएको नाताले देशका उद्यमी महिलाहरुको निम्ति पनि खास योजना बनाउनुभएको छ कि ?

हो, म अध्यक्ष भएसँगै सबै नेपाली महिलाहरुको मसँग अपेक्षा छ । लोकतन्त्रपछि महिलाको भुमिका बढ्दै गएको छ । अब नेपाली महिलालाई नेतृत्वदायी भुमिकामा पुर्याउने  र उनीहरुमा उद्यमशीलताको पनि विकास गर्ने मेरो जिम्मेवारी छ । महिलाहरुमा अझै आत्मबल बढाउन जरुरी छ । यसको उपाय भनेकै उनीहरुमा उद्यमशीलताको विकास गर्ने हो । त्यसैले उद्यमशिलता सम्बन्धी तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छु ।
महिलाहरुलाई उद्यमका लागि पुँजीको आवश्यकता पर्दछ, त्यसका लाग के–कस्तो प्रयास गर्नुहुन्छ ?

हाम्रो समाज अहिले पनि पितृसत्तात्मक छ । महिलाहरुले कुनै पनि निर्णयका लागि पुरुषकै सल्लाह लिने गरेका छन् । यसमा म आत्मविश्वासको कमी देख्छु । आत्मविश्वास बढेपछि महिला आफैले निर्णय लिएर उद्यम सञ्चालन गर्न सक्छन् । त्यसैले यस्तो आत्मविश्वास बढाउनका लागि उद्यमशीलताका तालिमहरु नै लाभकारी देखिन्छन् । त्यसपछि जोखिम बहन गर्न महिलाहरुले पनि आँट गर्न सक्छन् । तर यो तत्कालै भइहाल्ने होइन, बिस्तारै हुँदै जाने हो ।

विधान संसोधन गरेर अध्यक्ष बन्नुभयो, चुनावै लडेर अध्यक्ष बन्ने रहर थियो कि ?

महासंघमा अहिलेसम्म त म चुनाव नै लडेर पदमा पुगेकी हुँ । त्यसैले अध्यक्षमा पनि चुनावै लड्ने चाहना थियो । पशुपति मुरारकाजी अध्यक्ष बन्दा पनि म चुनाव लड्न तयार भएकी थिएँ । तर महासंघ बढि चुनावी राजनीतिमा केन्द्रित भयो भन्ने आलोचनाहरु आउन थाले । अनि महासंघका पदाधिकारीले सहमतिमै पदाधिकारी टुंगो लगाउनुपर्छ भन्नुभयो । र, म त्यसमा पनि सहमत भएँ ।

वरिष्ठ उपाध्यक्षले तीन वर्षसम्म काम गरेर विभिन्न अनुभव बटुल्छ र ऊ पाको हुन्छ । त्यसपछि अध्यक्ष बनेर महासंघ हाँक्न सक्छ भन्ने निश्कर्ष निकालेरै हामीले विधान संसोधन गरेका हौं ।

उद्योग वाणिज्य महासंघसँगै उद्योगीहरुका अन्य पनि संघ छन् तर अब उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघ नै हो भनेर उद्योगीमाझ विश्वास जगाउन तपाईले के कस्ता प्रयास गर्नुहुन्छ ?

अहिले पनि हामीले सिएनआई र चेम्बर अफ कमर्ससँग मिलेर काम गरिरहेका छौं । बजेट निर्माणदेखि श्रम ऐन निर्माणमा हामी तीनै सस्थाको सहभागिता छ । यस्तो सहकार्य आगामी दिनमा अझै बढाउने छौं । सहकार्यको लागि महासंघले नै नेतृत्व गर्नेछ । यसपछि नै सबै उद्योगी–व्यवसायीमा महासंघ सबै उद्योगीको छाता संगठन हो भन्ने विश्वास सिर्जना हुनेछ ।

अब महासंघभित्रका गुट–उपगुटलाई कसरी मिलाएर लैजानुहुन्छ ?

म अब महासंघमा गुट र उपगुट छन् भनेर नै विश्वास गर्दिनँ । किशोरजीले पनि मलाई पटक–पटक भन्नु भएको छ, म हजुरलाई सहयोग गर्न तयार छु भनेर । अब भन्नुस् कसरी महासंघमा अब गुट छ भनेर ?

अहिले देशका उद्योगीहरु व्यापारी बन्दै गएका छन् । यसको कारण के हो ? व्यापारी हुँदै गएका उद्योगीलाई अब उत्पानदनमुलक उद्योगमा फर्काउन तपाईको के–कस्तो पहल हुन्छ ?

कुल गार्हस्थ उत्पादनमा उद्योगको योगदान घट्दै गएको छ, किनकि पछिल्लो समय उत्पादनमुलक उद्योगहरुको सख्या बढ्न सकेको छैन । उत्पादनको योगदान बढाउनको लागि उद्योगहरु बढाउनुपर्ने देखिन्छ । स्वदेश तथा विदेशबाट यस क्षेत्रमा लगानी बढ्नुपर्ने हुन्छ । अहिले उत्पादन नभएका कारण नै धेरैले आयात गरेर सामान बेच्ने गरेका हुन् । त्यसैले कुल गार्हस्थ उत्पादनमा उद्योगको योगदान १४ प्रतिशतबाट घटेर अहिले ५ प्रतिशतमा खुम्चिएको छ ।

मैले देशमा उत्पादनमुलक उद्योगहरु बढाउनु पर्दछ भन्ने कुरालाई प्राथमिकतामा राखेकी छु । उत्पादनमुलक उद्योग आएसँगै देशबाट निर्यात गर्ने सम्भावना बढेर जाने हो । उत्पादनै नभए त हामी आयात गर्ने मात्रै त हो ।

उद्योग स्थापना गर्नका लागि सरकारले नै प्रमुख पहल गर्नुपर्ने देखिन्छ । केहि स्थानमा औद्योगिक क्षेत्र स्थापना भएका छन् । यसलाई अझै बढाउनु पर्छ । अहिले जग्गा किनेर उद्योग खोल्न आँटै गर्न सक्ने स्थिति छैन, किनकि जग्गा एकदमै महंगो हुँदै गएको छ । यसका लागि सरकारले आवश्यक नीति निर्माण गर्नुपर्दछ । यसरी सुहाउँदो मूल्यमा जग्गा खरिद गर्न पाएसँगै देश तथा बिदेशका लगानीकर्ताले लगानी गर्न थाल्नेछन् । अनि मात्रै उद्योगीहरुको विकास हुनेछ ।

विदेशी लगानी प्रस्ताव त धेरै आउँछ तर वास्तविक लगानी निकै कम हुन्छ । विदेशी लगानीमा नेपालमा उद्योग स्थापना गर्न के–कस्ता चुनौति पाउनु भएको छ ?

राजनीतिक अवस्थाका कारण नै विदेशी लगानी नेपालमा भित्र्याउन कठिन भएको हो । सरकार परिवर्तन भए पनि आर्थिक एजेन्डा एउटै हुने भए समस्या हुने थिएन । अब चाहिँ सरकारले सबै राजनैतिक दलहरुसँग मिलेर सरकार परिवर्तन भए पनि आर्थिक एजेन्डा फेरबदल नहुने प्रतिबद्धता गराउन सक्नु पर्दछ ।

लगानी बाहिरबाट आउन नसक्नुमा हामो नीति पनि वाधक बनेको छ । नीति निर्माण समयमै हुनु जरुरी छ । अहिले श्रम ऐन आउन सकेको छैन । यसलाई छिटो ल्याउन जरुरी छ । लगानीमैैत्रि नीति निर्माण हुनुपर्छ । मैले अब विदेशी तथा स्वदेशी लगानीलाई उद्योग क्षेत्रमा आकर्षित गर्न लगानीमैत्री नीति निर्माणका लागि लविङ गर्ने योजना बनाएकी छु ।

संघियतामा गएपछि दोहोरो करको मारमा परिन्छ कि भन्ने उद्योगीहरुलाई के–कति चिन्ता छ ?

संविधान निर्माणको क्रममा सुरुमा हामीलाई केहि भय उत्पन्न भएकै थियो । किनकी संविधानको मस्यौदामा केहि कुराहरु लगानीलाई प्रभावित पार्ने खालकै थिए । त्यसमा व्यवसयीलाई हानी गर्ने कुराहरु थिए । तर हामी त्यसलाई परिवर्तन गर्न सफल भयौ ।

संघियतामा जानेबित्तिकै दोहोरो करको कुरा आउँछ । दोहोरो कर र प्राकृतिक स्रोतको बाँडफाँडका विषयमा केहि अझै तयारी गर्नुपर्ने देखिन्छ । देश संघियतामा गइसकेको छ । देश विकासका लागि नै संघियतामा गएको हो भन्ने मेरो बुझाई छ । अब प्रादेशिक सरकारमा निजी क्षेत्रको भुमिका के कसरी बलियो बनाउने भन्ने सोच्ने र तयारी पनि गर्ने बेला आएको छ ।

कर घटाउनमा उद्योग वाणिज्य महासंघको धेरै नै प्रयत्न र चिन्तासमेत हुन्छ, तर उद्योगको उत्पादन कसरी बढाउने भन्नेमा खासै वास्ता गरेको देखिँदैन, किन होला ?

उत्पादनको लागि पनि उद्योगीहरुको चिन्ता छ । उद्योगीहरुको ध्यान भनेकै उत्पादन बढाउनेमै छ । भारतमा उत्पादनमुलक उद्योगहरुको स्थापनाको क्रम बढेको छ । त्यसैले त्यहाँको अर्थतन्त्र मजबुत बन्दै गएको छ । अब हामीले उत्पादन गर्ने मात्रै होइन, त्यो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धि बनाउनु छ । अहिले मेरो पनि प्राथमिकता उत्पादनमुलक क्षेत्रमा छ । तर जग्गाको भाउ निकै भएकाले नयाँ उद्योग सञ्चालन गर्नका लागि सहज छैन । म आफु पनि अहिले सिमेन्ट उद्योग स्थापना र कृषि क्षेत्रमा लगानी गर्ने तयारीमा छु ।

उत्पादनमुलक उद्योग स्थापना गर्नको लागि सहज वातावरण तयार गर्न तपाईंले के–कस्तो पहल गर्ने तयारी गर्दै हुनुहुन्छ ?

उद्योग स्थापनाका लागि सहज तरिकाले जग्गा अधिग्रहण गर्ने व्यवस्था गर्न जरुरी छ । कच्चा पदार्थमा लाग्ने कर यति महंगो भएको छ कि यहाँ कच्चा पदार्थ आयात गरेर उत्पादन गर्नभन्दा बाहिरबाटै सामान ल्याउन सस्तो पर्ने देखिन्छ । यस्तो कच्चा पदार्थमा लाग्ने उच्च करको बारेमा हामीले सोच्नुपर्ने बेला आएको छ । देशमा उत्पादनमूलक उद्योग स्थापना गर्नका लागि कच्चा पदार्थमा लाग्दै आएको कर घटाउनुपर्ने देखिन्छ ।

वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोजगार दिन के–कस्ता योजना बनाउनुभएको छ ?

हाम्रो देशमा सबैभन्दा ठूलो ‘प्लस प्वाइन्ट’ भनेकै जनशक्ति हो । अरु मुलुकहरुले हाम्रै जनशक्ति उपयोग गरेर फाइदा कमाइरहेका छन् । यसकै लागि सरकारसँग मिलेर युवालाई उद्यमशीलताको तालिम दिने योजना बनाएको छु । यसका लागि नै हामीले सातवटै प्रदेशमा इन्स्टिच्युसन खडा गर्ने तयारी गरेको हुँ ।

प्रस्तुतीः सुदिल पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment