Comments Add Comment

प्रचण्डजी कांग्रेसतिर नगएको भए म प्रधानमन्त्री बन्थें

'प्रचण्डलाई हामी चुँड्छौं, शेरबहादुरसँग सिद्धान्त छैन'

३१ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गएपछि वामदेव गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यहीबेला हामी समसामयिक राजनीतिबारे कुराकानी गर्न भैंसेपाटीस्थित गौतमनिवासमा पुग्यौं । जहाँ, कार्यवाहक अध्यक्ष गौतमले विगत, आगत र भविश्य तीनै कालको राजनीतिक समीक्षा गरे ।

विगतमा माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसतिर नलागेको भए प्रधानमन्त्री बन्ने पालो आफ्नो आउने गौतमले विश्लेषण सुनाए । तर, अब ०७४ साल माघ ७ पछि एमालेको नेतृत्वमा कम्युनिष्टहरुको सरकार गठन हुने उनले भविश्यवाणी गरे । त्यसबेलासम्म प्रचण्डलाई कांग्रेसबाट चुँडेर एमालेतिर ल्याइने गौतमले भविश्यवाणी गरे ।

कार्यवाहक अध्यक्ष गौतम अन्तरवार्ताका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भए । देउवासँग ओलीको उखान टुक्काको अर्थ बुझ्ने क्षमता नै नरहेको गौतमले बताए । देउवा नेपाली भाषामा कमजोर रहेको र उनीसँग नैतिकतासमेत नभएको गौतमले थप आरोप लगाए ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई एमालेले कुनै हालतमा नमान्ने भन्दै गौतम कठोर रुपमा प्रस्तुत भए । आगामी चुनावमा कांग्रेस, माओवादी मधेसवादी सबै मिलेर आए पनि एमालेले एक्लै प्रतिवाद गर्ने र जनताले उनीहरुलाई हराइदिने नेता गौतमले ठोकुवासमेत गरे ।

पछिल्लो समय कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेप्रति निकै आक्रामक बनेका छन् । के तपाईहरु देउवालाई प्रधानमन्त्री बन्न नदिनेतिर लाग्नुभएको हो र ?

हामी नेपाली कांग्रेसको सभापतिको नेतृत्वमा सरकारमा सामेल भएका हौं । तर, उहाँहरु हाम्रो नेताको नेतृत्वको सरकारमा आउनुभएन । उहाँहरुले बरु एउटा नक्कली सिद्धान्त खडा गरेर मुख्य प्रतिस्पर्धी पार्टी मिलेर सरकार चलाउनु हुन्न भन्नुभयो । सिद्धान्तविहीन मान्छेले जे मन लाग्यो त्यही बोल्छन् । शेरबहादुर देउवा सिद्धान्तविहीन मान्छे हुन्, जे पनि बोल्छन् । अहिले शेरवहादुरसँग कुनै बैचारिक मुद्दा नभएपछि अत्यन्त तल्लोस्तरमा उत्रिएका छन् ।

शेरबहादुरले उखान टुक्काले देश चल्ने भए कलाकार छन् भनेर केपी ओलीको बिरोध गरेको मैले सुनेँ । केपी ओलीको उखानटुक्का हो कि नेपाली भाषामा दख्खलको एउटा प्रमाण हो ? यति पनि नबुझेको र सडकमा मान्छेहरुले जे भन्छन्, त्यही विषयलाई उनले भाषणको विषय बनाए । त्यसपछि मैले बुझेँ शेरबहादुर देउवालाई नेपाली भाषामा दख्खल नै रहेनछ । नबुझेको मान्छेले टिप्पणी नै नगर्नु बेस हो । शेरबहादुर देउवासँग एक वर्षको दूरदृष्टि पनि छैन ।

एमाले देउवालाई प्रधानमन्त्री बन्न नदिने बाटोमा लागेको हो कि होइन ?

आफ्नो शक्तिमा प्रधानमन्त्री बन्नुस, राष्ट्रपति बन्नुस शुभकामना छ । हामी प्रतिपक्षमा बसेकाहरुले उहाँहरुको गठबन्धन तोड्ने, नयाँ गठनबन्धन बनाउने काम त हामीले गर्नैपर्छ । उहाँहरुले त्यसमा रीस राग गर्नुहुँदैन । उहाँहरुको गठबन्धन बलियो बनाए भैगो नि, हामीलाई किन आरोप लाउनु ? नेपाल राष्ट्रको विरुद्ध खडा भएको गठबन्धन तोड्ने प्रयास त हामी गरिरहन्छौं नि ।

तपाईहरुले प्रचण्डलाई काँध थाप्ने आश्वासन दिएको हो ?

हाम्रो मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस हो । अब हुने निर्वाचनमा पनि कांग्रेस नै प्रतिद्वन्द्वी हो । कांग्रेसले हाम्रो गठबन्धन तोड्नका निम्ति सबैभन्दा कमजोर विन्दु प्रधानमन्त्री पद र प्रचण्ड हो भन्ने बुझेर चुँडालेर लग्यो । हामीले पनि त्यस्तै किसिमले चुँडालेर अर्को गठबन्धन बनाउँछौं भने शेरबहादुर रिसिनु पर्ने जरुरी छैन । प्रचण्डलाई हामीले चुँड्नु सिद्धान्तसम्मत हुन्छ ।

खासमा माओवादी र हामी एउटा मोर्चाको हौं र कांग्रेस अलग मोर्चाको हो । हामी त मिल्नुपर्ने हो । हामीले यसै आधारमा माओवादीसँग मोर्चा खडा गरेका हौं । केपी ओली प्रधानमन्त्री भएको बेला एक वर्षअघि एकपटक देउवाले चुँड्ने प्रयास गरे । बीचमा ३ महिनासम्म फुट्न नदिएर प्रचण्डसँग कुरा गरेर मैले नै टिकाएको हो । भविश्यमा पनि हाम्रो मिल्ने सम्भावना छ । माओवादी र कांग्रेसको मोर्चा बनिरहने सम्भावना छैन । यसमा हामीले कुनै लप्पन-छप्पन गरेका छैनौं ।

भनेपछि यही जेठमै गठबन्धन भत्काउने कि ?

यो बीचमा चाहिँ हामी त्यस्तो गर्दैनौं । किनकि हामील्ााई निर्वाचन चाहिएको छ । अहिले सरकार फेर्न थाल्यौं भने चुनावमा असर पर्छ । अब माघ ७ पछि एमालेको नेतृत्वमा नेपालका सबै कम्युनिस्टहरुको सरकार बन्न सक्छ । त्यसअघि चाहिँ नहोला ।

मैले धेरैपटक प्रचण्डसँग कुरा गरेँ । हामीसँग हुन्छ हुन्छ भन्नुहुन्छ तर कांग्रेसलाई नै फाइदा हुने काम गरिरहनुभएको छ । उहाँलाई शेरबहादुरको डर देखिन्छ ।

प्रचण्डले आफू प्रधानमन्त्री बन्दै गर्दा एमालेका तीन जनालाई प्रधानमन्त्री बनाएँ, अब बामदेवजी बाँकी हुनुहुन्छ भन्दै तपाईलाई सघाउने संकेत गर्नुभएको थियो, यसबीचमा प्रचण्डबाट त्यस्तो सहयोगको सम्भावना देख्नुहुन्छ ?

मैले प्रचण्डजीलाई जे जति गुन लगाएको छु, त्यो गुनकै बदलामा उहाँले माधव नेपाललाई सरकारले मनोनित गर्ने सिटमा सांसद मनोनित गर्नुभयो । पछि प्रचण्डकै विरुद्धमा उहाँ प्रधानमन्त्री पनि बन्नुभयो । माधव नेपाललाई संसदमा ल्याउन मैले नै प्रचण्डलाई मनाएको थिएँ । झलनाथ र केपी ओलीलाई प्रधानमन्त्री बनाउन पनि मैले प्रचण्डसँग भूमिका खेलेको हो ।

तर, मैले प्रचण्डलाई यो भन्दा पनि धेरै गुन लगाएको छु । उहाँले गुन तिर्न सक्ने भन्दा बढी गरेको छु । त्यसैले उहाँ यस्तो कुरा भनिरहनु हुन्छ ।

तर, प्रधानमन्त्री बन्न तपाईलाई एमालेबाटै बाधा भएको हो ?

त्यस्तो होइन । एमालेबाट कुनै बाधा थिएन र छैन । प्रचण्डजी फुटेर कांग्रेससँग मिल्न नगएको भए प्रचण्डजीले एउटा कार्यकाल र त्यसपछि एमालेको अर्को कार्यकाल आउने अवस्थामा म प्रधानमन्त्री बन्ने अवस्था आउने थियो ।

अब प्रधानमन्त्री बन्ने पालो आउँदा केपी ओलीले तपाईलाई न्याय गर्नुपर्छ भन्ने हो ?

मलाई कसैले न्याय दिनुपर्दैन । म न्यायको बाटोमा हिँडिरहेको छु । मलाई पार्टी सदस्यहरुले न्याय दिने हो । कुनै नेताहरुले न्याय दिनुहुन्छ भन्ने आश पनि छैन ।

एकाएक आश मरेको किन नि ? केपी ओलीले के आश्वासन पूरा गर्नुभएन ?

उहाँ प्रधानमन्त्री भएपछि कार्यवाहक अध्यक्ष मैले सम्हाल्ने कुरा भएको थियो । संसदीय दलको नेता पार्टी अध्यक्ष जितेपछि मलाई दिने भन्ने पनि थियो । मैले पछि बिचार गरेँ, यो संसदीय व्यवस्थामा पार्टी अध्यक्ष संसदमा छ भने अध्यक्ष नै संसदीय दलको नेता हुनुपर्छ । झलनाथ खनाल अध्यक्ष हुँदाहुँदै उहाँलाई दलको नेता बन्नबाट रोक्यौं, त्यो गल्ती मैले महशुस गरेँ । अहिले केपी ओली अध्यक्ष हुनुहुन्छ । उहाँले भने पनि म संसदीय दलको नेता हुने थिइनँ ।

केपी ओलीसँग गुनासो छ कि छैन ?

अब अहिले केपी ओलीले जे गरिरहिनुभएको छ, मेरो कुनै गुनासो छैन । असहमति पनि छैन । तर, एमालेमा मेरो कुनै गुट छैन । महाधिवेशनमा केपी ओलीलाई साथ दिएँ, अध्यक्ष बनाएँ । केपीको गुटबाट जितेँ । तर, त्यसपछि मेरो गुट छैन ।

अब वर्तमान राजनीतिबारे कुराकानी गरौं, संविधान संशोधन विधेयक तपाईहरुको आग्रह बमोजिम फिर्ता भयो । र, चुनावका लागि नयाँ सहमति गरौं भनेर नयाँ विधेयक ल्याउँदा पनि तपाईहरुले बिरोध गर्नुपर्ने किन ?

यसअघि संविधान विरोधी प्रस्तावलाई हामीले संसदमा प्रस्तुत हुन दिएका थिएनौं । सर्वोच्च अदालतले हाम्रो अडान नै सही देखायो । हामीले यो प्रस्ताव फिर्ता हुनुपर्छ भनेका थियौं । सरकारले फिर्ता लियो यो ठिकै छ । तर, अहिलेको जुन नयाँ संशोधन आएको छ, यो पहिलेको भन्दा पनि झनै प्रतिगामी छ । यसलाई हामी स्वीकार गर्न वा समर्थन गर्न सक्दैनौं ।

तपाईहरुले सीमांकन हेरफेरको विरोध गर्नुभएको थियो, त्यो हटाएर संशोधन प्रस्ताव ल्याइएको छ, यो कसरी प्रतिगामी भयो ?

यसमा मुख्यतः दुई विषय आपत्तिजनक छन् । पहिलो कुरा त, स्थानीय तहका जनप्रतिनिधिलाई राष्ट्रियसभाको निर्वाचक मण्डलबाट हटाउने कुरा दीर्घकालिन रुपमा राष्ट्रघात हुने खालको छ ।

हामी संघीयतामा प्रवेश गर्दाखेरि स्थानीय तह बलियो भएको संघीयतामा गएका हौं । स्थानीय तहलाई भारतको जस्तो सरपञ्च खडा गर्ने होइन, स्क्यान्डेभियन मोडल अपनाएका हौं । तर, अहिले एकाएक किन स्थानीय तहका प्रमुख र उपप्रमुखलाई निर्वाचक मण्डलबाट हटाउन खोजिँदैछ ? यो त कुनै हालतमा स्वीकार गर्नै सकिन्न ।

जनताका अधिकार खोसेर सीमित व्यक्तिले राष्ट्रिय सभाका सांसद छान्ने व्यवस्था गर्न लागिएको छ । यो त स्थानीय तह समाप्ति गर्ने कुरा भयो । नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने चालभित्र यो आइरहेको छ । जति प्रदेश छन्, ती सबैलाई राष्ट्र बनाउने र संघ चाहिँ ती राष्ट्रहरुको संयोजनकारी अंग हुने अवधारणा अनुसार उहाँहरुले स्थानीय तहलाई भंग गर्न खोज्नुभएको छ ।

दोस्रो चाहिँ संविधानको धारा २७४ को संसोधन गर्ने कुरा अहिले आएको छ । यो त झनै प्रतिगामी र संविधानवादको विपरीत छ । त्यो संशोधनको आशय के हो भने, प्रदेश सभाको अधिकार कटौति गरेर केन्द्रमा त्यो अधिकार ल्याउने । सदा कालका निम्ति पनि होइन, अहिलेकै सरकारले आफ्नो पक्षमा दुई तिहाई खडा गरेर केन्द्रले निर्णय गरिदिने र ७ को ठाउँमा ८,९ प्रदेश बनाउने वा चार/पाँच प्रदेशमा झार्ने नियतबाट यो संसोधन ल्याइएको छ ।

प्रदेशलाई जुन धाराले अधिकार दिएको छ, त्यो धारालाई नै समाप्त पार्ने गरि आएको छ । नरहे बाँस, नबजे बाँसुरी जसरी जुन धाराले प्रदेशलाई अधिकार दिएको छ, त्यो धारा नै समाप्त पार्ने ढंगले आएको छ । यो संघीयता विरोधी र संविधानवादको बिरोधी छ । यसकारण हामीले यसको समर्थन गर्न सक्दैनौं ।

तर, यी दुई बाहेक अन्य ६ वटा विषयमा एमालेको सहमति हो ?

होइन । हुँदै होइन । भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्व जस्ता विषयमा हाम्रो बिरोध यथावत छ । जहाँसम्म सीमांकन आयोगको कुरा छ, त्यसमा हाम्रो विरोध छैन । त्यो आयोग भनेको ठूलो कुरा होइन । नेपाल सरकारले जुन बेला चाहियो, त्योबेला बनाउँछ । चाहेको बेला भंग गर्न सक्छ । यो आयोग बनाउने कुरा त केपी ओली प्रधानमन्त्री भएकै बेला ल्याएको हो ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर चुनावमा जाने वातावरण बनाउन यस्तो प्रस्ताव ल्याउनुभएको छ, तपाईहरु चुनावका लागि अलिकति लचिलो बन्न सक्नुहुन्न ?

प्रधानमन्त्री प्रचण्डजी मेरो घनिष्ठ मित्र हो । उहाँ र मेरोबीच मित्रता छ । तर, उहाँले अहिले जसरी एमालेको समेत सहमतिमा नयाँ प्रस्ताव ल्याएको भनेर जालझेलपूर्ण कुरा गरिरहनुभएको छ, त्यसले मलाई दुःखित बनाएको छ । उहाँले कुनै छलफल गर्नुभएको छैन र हाम्रो सहमति पनि छैन । अहिले जे जति संशोधन उहाँले ल्याउनुभएको छ, त्यसको औचित्य पुष्टि नगरी त कसरी सघाउन सकिन्छ र ? यो संशोधनले चुनावलाई अनिश्चित बनाउनेमात्र हो । यसमा उहाँलाई सघाउन सकिन्न ।

संविधान संशोधन विरुद्ध तपाईहरुसँग सरकारलाई दुई तिहाई पुग्न नदिने संख्या अब नरहेको हो ?

त्यस्तो शंका नगर्नुस । तर, उहाँहरुले चाहिँ त्यस्तो सपना देख्नुभएको छ । हामी त्यस्तो गर्न सक्छौं भन्नुभएको छ । कांग्रेसका सभापति शेरवहादुर देउवाजीले त हामी अनेकौं चलखेल गर्छौं भन्नुभएको छ । त्यसको अर्थ हामी पैसा खर्च गरेर भने पनि दुई तिहाई बहुमत पुर्‍याउछौं भन्नुभएको हो । उहाँ यस्तो खेलमा माहिर हुनुहुन्छ ।

तपाईहरु पनि त एकातिर चुनावको झ्याली पिट्ने,अर्कोतिर चुनावका लागि मधेसी मोर्चालाई मनाउने सरकारको प्रयासमा साथ पनि नदिने दोहोरो खेल देखियो नि ?

हामी संविधानलाई अपाङ्ग बनाएर, नेपालको सार्वभौसत्ता, अखण्डतामाथि खतरा निम्त्याएर मधेसी मोर्चा चुनावमा आउँछ भने यति त मान्दिनुस् भन्ने कुरा आउँछ भने हामी त्यसमा सहमत हुन सक्दैनौं ।

मधेसी मोर्चा चुनावमा आउँछ भन्ने नाममा अनुचित कुरामा सम्झौता हुन सक्दैन । मधेसी मोर्चा नआए पनि चुनाव हुन्छ । अरु पनि धेरै दल छन्, सबै चुनावमा नआउन सक्छन् । जसले हामीले भनेको नभए मधेस अलग देश हुन सक्छ भनेर धम्क्याउँछन्, उनीहरुसँग लतारिएर जान एमाले सक्दैन ।

तर, तपाईहरुको यही अडानकै कारण मधेसमा तपाईहरु विरुद्ध प्रचार भइरहेको छ, यतिसम्म कि एमालेले मधेसी र थारुको अपमान गरेको भनेर कांग्रेस सभापति शेरवहादुर देउवाले समेत आरोप लगाएको सुन्नुभएन ?

शेरबहादुर देउवा नेपाल बिरोधी हुन् । नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता बिरोधी हुन् । जो नेपालको विरुद्धमा खडा भएका छन्, उनीहरुले हामीलाई मधेसी बिरोधी, जनजाति बिरोधी भन्नु एकदम स्वाभाविक हो । किनकि जनता नभड्काई हाम्रो शक्ति कमजोर बनाउन सकिँदैन ।

हामीले जुन अडान लिइरहेका छौं, उनीहरुसँग त्यो छैन । उनीहरुसँग कुनै बिचार, सिद्धान्त र एजेण्डा छैन । शेरवहादुर देउवा जस्ता व्यक्तिले के आरोप लगाए भन्ने कुराको अर्थ छैन ।

भिडियो

मधेसी र थारुलाई अधिकार दिन खोज्दा एमाले बाधक बन्यो भन्ने देउवाको आरोप छ नि ?

शेरबहादुर जस्ताको प्रतिवाद गर्नुपर्छ र ? कैलाली र कञ्चनपुरमा त्यहाँका थारु अगुवाले हामीलाई ५ नम्बर प्रदेशमा मिसिन देऊ भन्दाखेरि कुरै सुन्न नचाहने शेरबहादुर देउवा हुन् । कैलाली कञ्चनपुरको एक इञ्च जमिन पनि थारुलाई दिइन्न भन्ने शेरबहादुर होइनन् ? के त्यो जमिन उनको बिर्ता हो ? सिद्धान्तविहीन र तर्कविहीन भनाइ हुन् उनका । के कारणले उहाँले कैलाली कञ्चनपुरलाई बाँके बर्दियासँग मिसिन दिनुहुन्न, के कारणले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई जसरी पनि छुट्याउनुपर्छ भनेर लाग्नुभएको छ ? प्रष्टै छ, उहाँ तत्कालको फाइदाका लागि जे पनि गर्ने व्यक्ति हो । कुनै सिद्धान्त, निष्ठा र नैतिक नभएको मान्छे हो । जसले थारुलाई एक इञ्च छाडिन्न भन्छ, उसले थारु र मधेसीलाई अधिकार दिन एमालेले मानेन भन्दा कसैले पत्याउदैन ।

तर, अहिले मधेसको माग एमालेले मात्रै नमानेर बिग्रिएको होइन र ?

मधेसी मोर्चा र मधेसी जनता फरक हुन् भन्ने नबुझेसम्म देशले निकास पाउँदैन । के मधेसी मोर्चा भनेको तराई मधेसको प्रतिनिधि संस्था हो ? उसले सबै मधेसीको प्रतिनिधित्व गर्छ ? मोर्चासँग केही हजार मान्छे छन्, एमालेसँग त लाखौं मधेसी जनताको मत छ ।

मधेसी जनताका नाममा विदेशीका एजेण्डा बोक्ने दलालहरुले भनेको एमालेले मानिदिनुपर्ने भन्ने उहाँहरुको भनाइ हो भने त्यो एमालेले मान्दैन । एमालेले मधेसी जनताको पक्षमा आउने जुनसुकै प्रस्तावको अगुवाइ गर्छ । तर मधेसी मोर्चाको अनुचित कुनै पनि माग पूरा गराउन साथ दिँदैन ।

त्यसो भए अहिले शेरबहादुर देउवाले तपाईहरुमाथि लगाएको आरोप चुनावी खपतका लागि मात्रै हो त ?

चुनावी खपतको लागिमात्र होइन, उनले विदेशीको अगाडि आत्मसमर्पण गरेका हुन् । राष्ट्र विखण्डन गछौर्ं भन्नेहरुका अगाडि लम्पसार परेका हुन् । शेरबहादुर देउवाको कुनै सिद्धान्त नै छैन । जे गर्दा तत्काल फाइदा हुन्छ त्यही गर्ने हो ।

तपाईहरुको यही अडानका कारण मधेसमा तपाईहरु विरुद्ध सबै पार्टी एकजुट भएको थाहा छ कि छैन ?

यिनीहरु सबै पार्टी मिलेर एमाले बनाएका हुन् र हामी डराउने ? सबै मिलेर एमालेसँग लड्न बाध्य भएका छन् । यसले पनि के सिद्ध गर्छ भने एमालेले लिएको अडान सही छ । उनीहरु कमजोर भएर एमालेविरुद्ध मधेसमा एकजुट भएका हुन् । एमालेलाई कमजोर बनाउने बिचारको पक्षमा कांग्रेस, माओवादी, मधेसी मोर्चा एक ठाउँमा भएका छन् ।

बहुदलीय व्यवस्थामा प्रतिपक्ष विरुद्ध सत्तापक्षहरुकाले मोर्चा बनाउने काम संसारमा कहीँ नभएको नेपालमा भइरहेको छ । हामी त यसबाट कत्ति पनि डराएका छैनौं ।

तर, यही मोर्चा चुनावसम्म गयो भने तपाईहरुलाई पराजित गर्न सजिलो होला नि ?

एमाले विरुद्ध उनीहरु एकजुट भएर गए भने नेपाली जनताले थाहा पाउँछन्, जनता अरु उर्लेर एमालेको पक्षमा आउँछन् र चुनावमा यिनीहरुको मोर्चालाई धरासायी बनाउँछन् । कांग्रेसलाई धरासायी बनाउँछन् ।

मधेसीलाई अधिकार दिने सवालमा एमाले किन यति धेरै अनुदार भएको ?

मधेसीलाई अधिकार दिने भनेको मोर्चाका केही नेताले जे भन्यो, त्यही मान्नुपर्ने हो भने त्यसमा एमाले अझै अनुदार हुन्छ ।

तराईमा के-के अधिकार जाँदाखेरि त्यहाँका जनता सशक्त हुन सक्छन् र जीवनस्तर माथि उठ्छ ? मधेसका जनताको सामाजिक न्यायको हक कसरी स्थापत गर्ने भन्नेमा कुनै कुरा छैन । उनीहरुको त्यसमा कुनै चासो छैन । उनीहरुको एउटै कुरा छ, झापादेखि कञ्चनपुरसम्मको समथर भूभाग हाम्रो हो, यहाँ एमाले आउन पाउँदैन, पहाडे छिर्न पाउँदैनन् । के यो तराईका जनताको माग हो ? यसो गर्दा मधेसीले अधिकार पाउने हुन् ?

मोर्चा भनेको कुनै विदेशी प्रभुको नेपाली प्रतिरुप हो । यिनलाई बेखुसी बनाउँदा उनीहरु बेखुसी हुन्छन्, त्यसैले यिनीहरुको पाउमा लम्पसार परेर आफ्ना प्रभु खुसी बनाउन शेरबहादुर जस्ताले आरोप लाउँदैमा एमाले मधेस बिरोधी हुँदैन । मधेसी जनताको सच्चा प्रतिनिधि एमाले हो ।

तर, मधेसमै एमालेका नेता कार्यकर्ता रक्षात्मक अवस्थामा पुगिसके नि ?

मधेसी मोर्चाको आवरणमा सत्तापक्षका अपराधिक व्यक्तिले हाम्रा मधेसी नेता कार्यकर्तामाथि हमला गर्दैछन् । यदि सरकारले जनताको रक्षा गर्दैन, एमालेका नेता कार्यकर्ताको सुरक्षा गर्दैन भने एमाले आफैंले सुरक्षा शक्ति निर्माण गरेर आफ्ना कार्यकर्ता संरक्षण गर्न सक्छ ।

हामीले आफैं लड्ने भिड्ने गर्नु हुदैन भनेर मात्र सहेको हेा । नत्र मधेसमा हाम्रा कार्यकर्तामाथि ज्यादती बढ्यो भने हामी आफ्नो सुरक्षाका लागि उपाय अपनाउन बाध्य हुनेछौं ।

कुनै पनि कुरा नमान्दा, मधेसमा हारिने डर छैन ?

मधेसी मोर्चाका नेताहरुले हामीले भनेको माग पूरा नगर्ने हो भने हामी देश टुक्राउछौं भनिरहेका छन् । उनीहरुको यस्तो भनाइबाट डराएर हामी हात जोड्दै जान्छौं भन्ने कसैले सोचेको छ भने त्यो नचिताए हुन्छ । शेरबहादुरजी उनीहरुको खुट्टामा तेल लाउन जानुहोस् । मधेसको नाममा जुन नयाँ-नयाँ मागहरु ल्याइएको छ, त्यो महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतको माग हो । मधेसी जनताको माग होइन ।

जहाँसम्म चुनाव हार्ने डरको कुरा छ, हामीलाई कत्ति पनि डर छैन । हामीले मधेसमा चुनावको तयारी गरेका छौं । हामी तराईमा अरुले भन्दा बढी स्थान जित्छौं । हामी विश्वस्त छौं ।

तपाईहरुको कारण स्थानीय चुनाव नहुने डर भो होइन ?

सत्ताधारी पार्टी र सरकारको चालामाला चाहिँ चुनाव गर्ने छैन । वैशाख ३१ ग्ाते आउन ३१ दिन बाँकी छ । संविधान संशोधन प्रस्ताव दर्ता भएको छ संसदमा । त्यसलाई कमसेकम २१ दिन पारित हुन लाग्छ । बाँकी हुन्छ, सात-आठ दिन । त्यो सात-आठ दिनमा निर्वाचन हुन्छ ? उहाँहरुले जे प्रक्रिया चलाउनुभएको छ, त्यसले त चुनाव गराउन चाहानुहुन्न भन्ने प्रष्टै छ ।

तर, शेरहवादुर देउवाको सत्तारोहणसँग गाँसिएकाले चुनाव हुन्छ कि भन्ने आशा बाँकी छ होइन ?

त्यो त उहाँहरुको कुरा हो । त्यसमा हामी गएर फस्ने सवालै छैन । उहाँहरुले चुनाव गराएर सत्ता हस्तान्तरण गर्नुहुन्छ कि अगाडि नै गर्नुहुन्छ कि उहाँहरुको कुरा हो । तर, चुनाव मुख्य कुरा हो ।

स्थानीय र प्रदेशको चुनाव गरे पनि वा नगरे पनि संवैधानिक संकट आउँदैन । तर, माघ ७ गतेभित्र केन्द्रको चुनाव गरिएन भने गम्भीर संवैधानिक संकट आउँछ । हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा तीन तहको चुनाव गर्ने योजना संसदमा पेश गरेर पारित भएको हो । तर, अहिलेको गतिविधि हेर्दा कुनै पनि चुनाव हुन नदिनेतर्फ उहाँहरु अघि बढ्नु भएको छ ।

यसको अर्थ, स्थानीय चुनाव एमालेको प्राथमिकता होइन ? केही दिनअघि वर्षमान पुनले पनि यस्तै कुरा गर्नभएको थियो नि ?

स्थानीय चुनाव त एमालेको मुख्य एजेण्डा हो । यसमा हामी सम्झौता गर्दैनौं । तर, आउने मंसिरमा केन्द्रको चुनाव गरिएन भने संवैधानिक संकट आउँछ भनेको हो ।

जहाँसम्म वर्षमान पुनको कुरा छ, प्रचण्डजीले पनि यस्ता किसिमका वाहियात कुरा गरिरहनु भएको छ । वर्षमानले पनि सपनामा कुनै एमालेका व्यक्तिसँग कुरा गरेको हो भने कुन्नि, नत्र एमालेले चुनाव सारेर कात्तिकमा लैजाउँ भन्ने कुरा सोचेको पनि छैन ।

मेची-महाकाली अभियान चलाउने पार्टी हार्छ रे, प्रधानमन्त्रीले यसपटक हार्ने पालो एमालेको हो भनिसक्नुभयो, तपाईहरु आत्तिएको हो ?

उहाँले एकपटकको भेटमा मसित पनि भन्नुभएको थियो । त्यो एउटा भावनात्मक कुरा हो । कांग्रेसले हार्‍यो, माओवादीले हार्‍यो, अब एमालेले हार्छ भन्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको यो कालमा हामीले हेर्दा पहिलो निर्वाचन माओवादीले जित्यो, अब ऊ कहिल्यै पनि नउठ्ने गरी पराजित भएको छ । यसपटक नेपाली कांग्रेस ठूलो पार्टी भएको छ । अब सबैभन्दा ठूलो पार्टी बहुमतको पार्टी हुने पालो नेकपा एमालेको हो । उहाँहरुले मेची महाकाली अभियान चलाएको भनेको कार्यकर्ता चलाएको हो । एमालेले चलाएको मेची महाकाली अभियान चुनाव जित्ने आधार हो ।

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment