Comments Add Comment

मोर्चाका नेताले ‘तास खेल्दा’ एमालेलाई घाटा, कांग्रेसलाई नाफा

केपी ओलीले किन गरे मोर्चालाई चुनावमा आउन आग्रह ?

१ बैशाख, काठमाडौं । वैशाख ३१ को स्थानीय निर्वाचन मधेसी मोर्चाले बहिस्कार गर्‍यो भने कुन पार्टीलाई फाइदा होला ? संघीय समाजवादी फोरम बाहेकका दलको चुनावी तयारी सुस्त देखिएपछि मधेसमै यो प्रश्न उठ्न थालेको छ । यद्यपि मोर्चाआवद्ध सबै दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।

मधेसी मोर्चाका नेता अनिल झाले चुनावका दिन मोर्चाका नेताहरु तास खेलेर बस्ने सार्वजनिक प्रतिक्रिया दिएका छन् । उनले भनेजस्तै चुनावमा मोर्चाले भाग लिएन र तास फिटेर बस्यो भने यसको असर कांग्रेस र एमालेलाई पनि पर्नेछ ।

उपेन्द्रमाथिको आशंका

सरकारले मोर्चालाई चुनावमा ल्याउने भन्दै संविधान संसोधनको नयाँ प्रस्ताव संसदमा दर्ता गरेको भोलिपल्टै मोर्चाले त्यसमा असहमति जनाएर चुनाव बहिस्कारका घोषणा गरेको छ । तर यसबीचमै उपेन्द्र यादवको दलले भने चुनावमा उम्मेदवारको मनोनयन पत्रमा गर्ने हस्ताक्षरको नमूना समेत निर्वाचन आयोगलाई बुझाएका अन्य घटक झस्किएका छन् ।

त्यसो त उपेन्द्रको तयारी चुनाव केन्दि्रत नै देखिन्छन् । उनले यसबीचमा पर्सा, सप्तरी, रौतहट लगायतका जिल्लामा भावी उम्मेदवारहरुलाई पार्टी प्रवेशसमेत गराइसकेका छन् । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि सम्भवतः उनको पार्टी तेस्रो शक्ति बन्ने ढंगले अघि बढ्नेछ ।

उपेन्द्रको यो तयारी देखेरै अन्य सबै मोर्चा आबद्ध घटकहरु एकीकरणको तयारीमा छन् । पहाडमा संगठन बिस्तार गर्ने र मधेसमा अरु घटकलाई खुम्च्याउने उपेन्द्रको रणनीति प्रष्टै छ । उपेन्द्रको पार्टीको तयारी कुनै पनि बेला चुनावमा भाग लिने र त्यसका लागि जित्ने सामाजिक अनुहार पार्टीमा भित्र्याउने नै हो ।

तर उपेन्द्र समेत चुनावमा गएनन् भने मधेसको जनमत कसले लिन सक्ला ? मोर्चा नआए पनि चुनाव नरोकिने सरकार र निर्वाचन आयोगको भनाई तथा तयारीसँगै यो प्रश्न बलियो बनेको छ ।

मोर्चाको पछिल्लो बैठकमा एक नेताले चुनावको दिन तास खेलेर बस्ने व्यंग्यात्मक टिप्पणी गरेको चर्चा बाहिर आइसकेको छ । मोर्चा नेताकै भाषामा यदि उनीहरु चुनावको दिन तास खेलेर बसे भने सोझो घाटा चाहिँ एमालेलाई हुनेछ ।

मोर्चाका अरु दललाई छाडेर उपेन्द्र एक्लै चुनावमा जाने सम्भावना कमै छ । त्यस्तो अवस्थामा मोर्चालाई जाने मत मुख्यतः कांग्रेस र त्यसपछि माओवादीले लैजाने सम्भावना हुन्छ । किनकी एमालेलाई मधेस बिरोधी भनेर जसरी मोर्चाले प्रमुख दुश्मनको व्यवहार गरेको छ,उसको प्रभावका मत एमालेमा जान सक्दैनन् ।

मुन्नीको एमाले प्रवेश र मधेसको मनोविज्ञान

मधेसमा मधेसी मोर्चाप्रति आस्था राख्ने मान्छेहरुको सबैभन्दा प्रमुख दुश्मन एमाले हो । किनकि संविधान जारी भएपछि मधेसमा कुनै दलको विरुद्ध मोर्चाले घृणा फैलाएको छ भने त्यो एमाले नै हो र नेतामा केपी ओलीनै हुन् । ओलीले केही सांसदले संविधानसभा बहिस्कार गर्दा एकाध आँप रुखबाट झरेको भन्ने बिम्बलाई मधेसी मर्दा आँप झरेको भनेर प्रचार गर्ने मोर्चाको मत एमालेतिर जान सक्दैन ।

मेची महाकाली अभियानका क्रममा सप्तरी घटनापछि त मोर्चाले एमाले नेता कार्यकर्तालाई मधेसमा सामाजिक बहिस्कारको घोषणा समेत गरेका छन् । एमालेलाई मधेसमा प्रवेश नै गर्न नदिने भन्दै मधेसका एमालेमाथि कालोमोसो दल्ने र परिवारका महिला सदस्यमाथि दुव्र्यवहारका घटना संसदमै पुगिसकेका छन् ।

मोर्चा र एमालेको यो तिक्तताको मत बरु कांग्रेसमा जान्छ,एमालेमा जाँदैन । हुन त यो स्थानीय चुनाव भएकाले कतिपय ठाउँमा उम्मेदवार को हुन्छ भन्ने कुराले पनि जनमत कता जान्छ भन्ने निर्धारण गर्छ । उदाहरणका लागि सिराहाको लाहानका पूर्व मेयर मुन्नी साह सुडी गत साता आफ्ना समर्थकहरु सहित एमाले प्रवेश गरे । उनी माओवादी केन्द्रका नेता थिए ।

गत संविधानसभा चुनावमा थोरै मतले कांग्रेसका पद्मनारायण चौधरीसँग पराजित भएका सुडी लाहानका लोकपि्रय व्यक्ति भएकै मेयर बन्ने र बनाउने स्वार्थ मिलेर उनी एमाले प्रवेश गरेका हुन् । यस्ता एकाध प्रभावशाली व्यक्तिको प्रवेशले कुनै अर्थ राख्ला, तर मधेसमा जात र व्यक्तिका आधारमा केही मत तलमाथि भए पनि समग्रमा मोर्चा प्रभावको जनमत एमालेतिर आउने छैन ।

बहिस्कारले कांग्रेसलाई कसरी फाइदा ?

तराई मधेसका २० जिल्लामा एमालेको जनाधार मुख्यतः महेन्द्र राजमार्ग उत्तरमा छ । हुलाकी राजमार्ग दक्षिणमा एमाले पहिलेदेखिनै कमजोर हो । त्यसमा पनि मधेस आन्दोलनका क्रममा मोर्चा कार्यकर्ता र मधेसी नागरिक समाजका अगुवाहरुले एमालेलाई मधेस बिरोधी भनेर तल्लो तहसम्म प्रचार गर्न सफल भएका छन् । जसको खण्डन गर्दा गर्दै एमाले कार्यकर्तालाई फुर्सद छैन ।

मधेसीहरुको सघन बसोबास रहेको दक्षिणी क्षेत्रमा एमालेले आफ्नो परम्परागत मत समेत जोगाउन हम्मे परिरहेका बेला मोर्चाले बहिस्कार गरेको खण्डमा मोर्चालाई जाने भोट आफूतिर तान्न लगभग असम्भव छ । त्यो अवस्थामा मोर्चाको प्रभाव क्षेत्रका मत धेरैजसो कांग्रेस र त्यसपछि माओवादीतिर जान सक्छ । केही मत बिजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकले लैजानेछ ।

एमालेका केन्द्रीय सदस्य रघुवीर महासेठ पनि मधेसी मोर्चा चुनावमा नआउँदा कांग्रेसलाई फाइदा हुन सक्ने स्वीकार गर्छन् ।

मोर्चाको आवरणमा कांग्रेसले नै तराई मधेसमा एमाले विरुद्ध अपराधिक गतिबिधि गरिरहेको आरोप लगाउने महासेठ,एमाले देखाएर मोर्चालाई चुनावमा आउन नदिने र त्यसको फाइदा लिने खेलमा कांग्रेस रहेको आशंका गर्छन् ।

हाइवेमा हाइहाइः दक्षिणमा दयनीय

विशेष गरी २ नम्बर प्रदेशका आठओटै जिल्लामा बिगत चुनावको मत हेर्दा पनि राजमार्ग क्षेत्रमा एमाले बलियो छ । दक्षिण मधेसमा कांग्रेस र मधेसी मोर्चाको प्रतिस्पर्धा देखिन्छ भने माओवादी सप्तरी, सिराहा, रौतहट लगायतका जिल्लामा मधेसी बाहुल्य क्षेत्रमा नै बलियो देखिन्छ । मोर्चा चुनावमा नआउँदा यी ठाउँमा माओवादीले पनि फाइदा लिन सक्छ ।

म्ाोर्चा चुनावमा आएन भने झापा, मोरङ, सुनसरीमा एमालेलाई खासै धेरै असर पर्दैन । तर, २ नम्बर प्रदेशमा मोर्चातिर जाने मत कांग्रेस र माओवादीतिर गएको खण्डमा पहिलो पार्टी बन्ने एमालेको उद्देश्यमा अवरोध पुग्नेछ । मधेसी मोर्चा चुनावमा नआउनासाथ कांग्रेस पहिलो पार्टी बन्न सक्छ । किनकि महेन्द्र राजमार्ग क्षेत्रमा एमालेको हाइहाइ भए पनि दक्षिणमा मोर्चा चुनावमा नआउना साथ कांग्रेसलाई वाकओभर हुनेछ र एमाले दयनीय बन्न सक्छ ।

अनलाइखबरसँगको कुराकानीमा सिराहाका माओवादी नेता समेत रहेका कानुनमन्त्री अजयशंकर नायकले माओवादीको आन्तरिक एकता नभएमा २ नम्बर प्रदेशमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र मोर्चा चौथो हुने आँकलन गरेका छन् । तर, मोर्चा चुनावमा नआउनासाथ त्यो मत कांग्रेसतिरै जानेछ र एमालेलाई पराजित गर्न निर्णायक मत हुनसक्छ ।

हुन त एमाले नेताहरुले मधेसमा पनि पहिलो पार्टी हुने दावी गरिरहेका छन् । मोर्चा चुनावमा आउँदा मधेसको मत बाँडिने र एमालेलाई फाइदा हुने आँकलन गर्न सकिन्छ । किनकि हुलाकी राजमार्ग दक्षिण मधेसी मोर्चाको आधार क्षेत्र भएकाले आफू जित्न उनीहरुले कांग्रेसलाई पराजित गर्नुपर्ने हुन्छ ।

२ नम्बर प्रदेशकै कुरा गर्दा ढल्केबर, बर्दिबास, हरिवन, लालबन्दी, चन्द्रपुर,निजगढ, सिमरा जस्ता महेन्द्र राजमार्ग क्षेत्रका नगरपालिकामा एमाले बलियो छ । दक्षिणमा मोर्चा चुनाव लड्दा घाटा हुने कांग्रेसलाई मात्रै हो ।

एक प्रसंगमा पत्रकार राजेश मिश्रले एमालेले मधेसी मोर्चालाई चुनावमा ल्याउने वातावरण बनाउन जति लचिलो बन्यो आउने स्थानीय चुनावमा पहिलो पार्टी बन्न उसलाई उतिनै सजिलो हुने विश्लेषण सुनाएका थिए । मधेसको वास्तविकता पनि यही हो ।

राजमार्ग क्षेत्रका स्थानीय तहमा एमाले केही बलियो छ । पछिल्लो समयमा त्यस क्षेत्रमा एमालेको प्रभाव अझ बढेको छ । पाँच नम्बर प्रदेशको हेरफेरविरुद्ध आन्दोलनको अगुवाइ गरेका कारण बुटवल, नवलपरासी, चन्द्रौटा लगायत बाँके बर्दियामा पनि एमालेको मत बढेको नेताहरु बताउँछन् । मोर्चा चुनावमा आउँदा कोर मधेसमा कांग्रेसलाई रोक्न सक्ने र त्यसको फाइदा एमालेले लिने प्रष्टै छ । तर, उनीहरुले गरेको बहिस्कारले एमालेको रणनीतिमा असर गर्न सक्छ ।

मोर्चालाई ओलीको आग्रह अर्थपूर्ण

राजनीतिक मुद्दाका हिसाबले एमाले र मधेसी मोर्चा आमने सामने भए पनि मोर्चा एमालेको चुनावी प्रतिस्पर्धी होइन । तराईका झापादेखि कैलालीसम्म जहाँ एमालेले जितेको छ, एकाध सिट बाहेक सबै ठाउँमा उसको प्रतिस्पर्धी कांग्रेस र कतै कतै माओवादी हो । भोलि स्थानीय चुनाव हुँदा पनि कांग्रेस हराउन कतिपय स्थानमा मोर्चा र माओवादी एक अर्काका सहयोगी हुने मैदानी अवस्था छ ।

उदाहरणका लागि सप्तरीमा एमालेले दक्षिण मधेसमा १ सिट जितेको छ । एमालेका ताराकान्त चौधरीले सप्तरी ४ मा जित्दा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका दिनेश यादव भएका छन् ।

त्यस्तै सिराहामा एमालेका रामचन्द्र यादवले जितेको ठाउँमा प्रतिद्वन्द्वी कांग्रेसकै सूर्यनारायण यादव छन् । महोत्तरीका रामदयाल मण्डल र दिपनारायण साह हुन् वा पर्साका राजकुमार गुप्ता र बिचारी यादव,सबैले कांग्रेस परास्त गरेका हुन्,मोर्चा प्रतिस्पर्धी होइन ।

यो संयोगमात्र पनि हो तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा जारी गरेको शुभकामना सन्देशमा मधेसी मोर्चालाई स्थानीय चुनावमा भाग लिन आग्रह गरेका छन् ।

तर, मोर्चाले चुनाव बहिस्कार गर्दा चुनाव चाहिँ होला, तर एमाले पहिलो दल बन्न मोर्चाको बहिस्कारले बाधा पार्न सक्छ । त्यसैले मोर्चालाई चुनावमा ल्याउनु नै एमालेको लागि फाइदाजनक हो ।

यो चुनावमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । प्रतिस्पर्धामा तराई मधेसमा जसले बढी स्थानीय तह जित्छ, त्यही दल ठूलो बन्ने सम्भावना छ । अहिले एमाले मधेसमा रक्षात्मक अवस्थामा रहेको बेला कांग्रेसले एमालेलाई मधेस बिरोधी भन्दै जनमत लिन खोज्नु र मोर्चाले चुनावै बहिस्कार गर्नुले एमालेलाई पहिलो दल बन्नु फलामको च्यूरा चपाए सरह हुनेछ ।

मोर्चालाई चुनावसम्म ल्याउन एमालेले कुनै भूमिका खेल्न सक्छ ? यो प्रश्नको उत्तरले उसको भावी स्थान तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment