Comments Add Comment

उल्लासविहीन नव वर्ष

दुनियाँ आज ०७३ साललाई विदाइ गर्दैछ । अनि ०७४ साललाई अधिक हर्ष र उल्लासका साथ नववर्षको रुपमा स्वागत गर्दैछ । बितेका ३६५ दिन उदासीन बनेकाहरुको अनुहारमा समेत उमङ्गको नवीन चमक बढ्दैछ, नववर्षको आगमनले ।

भित्रे पात्रोले पनि प्रत्येक सालझैँ जीवन फेर्दैछन् । रंगिँदैछन् फेसबुक र ट्वीटरका भित्ताहरु, पत्र-पत्रिकाका पानाहरु, शुभकामना र शुभेच्छाले । तर, मेरा आशाका मञ्जरीहरुमा उल्लास छैन । अपूर्ण सपनाहरुमा उत्सव छैन ।

मेरा लागि ०७४ साल त के, यो युग नै पुरानो, मधुरो र खोटो छ । केबल केही पाउने इच्छाहरुको गतिमात्र तीब्र छ, मनमा । सिक्ने चाहानाहरु सबै मन्द छन् ।

खै किन हो ? मेरा लागि घृणित बन्दैछ यो सालको नयाँ वर्ष पनि । विगतका वर्ष झैँ आक्रोस मात्र पोख्न मन छ, बढी सम्भाषण, घटी काम गर्ने नेतृत्व र अधिकार खोज्ने तर जिम्मेवारीदेखि त्रसित बन्ने उपभोक्तासँग ।

नववर्ष, आज मलाई काँडा बनी बिझिरहेको छ । सदाझैँ लठ्याउन त खोज्दैछ नववर्षको आगमनले । तर, यो नववर्ष पनि त्यति तागत बोकेर आएको छैन, जसले मजस्ता ‘म’ हरुलाई लठ्याउन सकोस् । २२ वर्षसम्म नयाँ वर्ष मनाउने जाँगर चढेकै छैन, ममा । नववर्षको उल्लास र हर्षप्रति पनि म सन्तुष्ट छैन ।

तनाव र कष्टपूर्ण ३ सय ६५ दिन खपिएको वर्ष, या अझै ३६५ दुःखका दिन थपिएको समय, के सम्झेर म यो नयाँ वर्षलाई खुशीको रुपमा स्वीकार ?

मीमराज पाण्डेय

यो समयलाई अहिलै म उत्सवको रुपमा स्वीकार्न सक्दिनँ । किनकि मेरो देशमा त्यस्तो कुनै परिवर्तन भएको छैन । जसले सर्वसाधारणको आँखामा स्थायी खुशी भर्न सकोस् ।

दुई वर्ष त हेर्दैर्मा बिते तर भूकम्पबाट पीडित हामीहरु हाँसेका छैनौँ । राजनीतिले हामीलाई रगत बगाउन मात्रै उचालेको छ । सहयोग र सदभावनाको राजनीति कसैले देखाउन सकेनन् । सधैं बोतल भारतको, बिर्को चाइनाको र खोल्ने हात मात्रै नेपालीको बन्यो । त्यसैले त ढोका बाहिरको गोली बेकसुर घरभित्र पस्दासम्म पनि हामी बोल्न सक्दैनौँ । बरु टाउको थापेरै बसौँला, र सहौँला पनि पुस्तौँसम्म ।

सरकारले चाहिँ नीतिमात्र दियो- कार्यान्वयनमा जोड दिएन । हामीले इमान मात्रै दियौँ- आफैँ अन्यायमा पर्दा समेत बोलिदिएनौँ । सरकारले सुन र पेट्रोलको भाउ घटाउ भनेको मात्रै सुन्यो, सहरमा घरभाडा र गाउँका लागि माल-सामान ढुवानी भाडा घटाउ भनेको कहिल्यै सुनिदिएन ।

आफ्नै देशमा उत्पादित बस्तुको मुल्य नियन्त्रण गर्न नसक्ने सरकारले सस्तोमा धातु र पेट्रोलीयम पर्दाथ दिन सक्ला भनेर कसरी आशा गरौँ हामी ?

देश बन्छ या बगि्रन्छ भन्ने कुरा राजनीतिमै निर्भर हुन्छ । र, राजनीतिलाई कुन बाटो लैजाने त्यो नेतृत्वस्तरबाटै निर्धारण हुन्छ । राजनीति सही या गलत कुन बाटो हिँडिरहेको छ ? मैले बझ्न सकेको छैन ।

म हरपल सन्तुष्ट हुँदै, देशको पीडा निवारणमा जुट्न चाहान्छु । देश रहेसम्म वुबा, आमा, नातागोता खासमा केही पनि चाहिँदैन मलाई । अमेरिकाको पेण्टागन या मुम्बईको ताजमहल केही पनि चाहिएको छैन । बरु मेरो सगरमाथाले शीर ननिहुराओस् ।

नव वर्ष या कुनै मिड समर इभ नै पर्खिनु परेको छैन रमाउन । केबल देश र जनता सुखको मार्गमा हिँड्न पाएको दिनको प्रतिक्षा भने म गरिरहेको छु । बसाउन खोजिरहेछु, देशको अस्तित्व र मर्दा छातीमा सूर्य-चन्द्रांंकित झण्डा टाँग्ने अधिकार ।

म तबसम्म यस्ता ३६५ दिनको समयलाई नयाँ वर्ष मनाउन सहमत हुने छैन । जबसम्म हरेक नेपालीलाई आफ्नो पौरखमा देशभित्रै रमाउने वातावरण बन्ने छैैन । सबैको व्यवहारमा नौलोपन र अधिकारमा समावेशी विभाजन नआउँदासम्म मलाई नव वर्षको उत्सवमा रम्नु छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment