Comments Add Comment

मोरङका पत्रकार स्थानीय चुनावका उम्मेदवार !

पत्रकार महासंघका नेता नगर र गाउँपालिकामा भिड्दै

३ बैशाख, बिराटनगर । स्थानीय तहको निर्वाचनमा मोरङका पत्रकारसमेत चुनावी मौदानमा होमिएका छन् । जिल्लाका ७ जना पत्रकारहरु नगरपालिका र गाउँपालिकामा उम्मेद्वार बनेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्षसमेत भइसकेका महेन्द्र विष्ट मोरङको पथरी–शनिश्चरे नगरपालिका वडा नम्बर ५ का उम्मेदवार बनेका छन् । विष्टलाई वडाअध्यक्षको उमेदवारमा नेकपा एमालेले सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

विष्ट नेपाल पत्रकार महासंघ केन्द्रीय पार्षद पनि हुन् । उनी एमाले निकट प्रेस चौतारीका पूर्वजिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य हुन् ।

पत्रकार महासंघ मोरङका निवर्तमान कार्यसमिति सदस्य किशोर बस्नेतलाई नेकपा एमालेले विराटनगर–१ बाट वडाअध्यक्षको उमेदवारका रुपमा सिफारिसमा गरेको छ ।

त्यस्तै पत्रकार महासंघका निर्वतमान कार्यसमिति सचिव नवराज कट्टेल इलामको रोङ गाउँपालिकामा अध्यक्षको उमेदवार बन्ने पक्का भएपछि बिराटनगरबाट इलाम फर्किएका छन् ।

गत फागुन ७ गते भएको महासंघको निर्वाचनमा उपाध्यक्ष पदमा झिनो मतले हारेका कट्टेल शान्ति प्रक्रिया सुरु भएपछि विराटनगरमा पत्रकारितामा क्रियाशील थिए । उनी माओवादी निकट प्रेस सेन्टरका केन्द्रीय सदस्य हुन् ।

माओवादी निकट प्रेस सेन्टरका जिल्ला अध्यक्ष तथा पार्षद गोकुल पराजुली बिराटनगर–४ बाट उम्मेदवार बन्दैछन् । पराजुलीले आफ्नो उम्मेदवारी केही दिनमै टुंगो लाग्ने बताए ।

त्यस्तै पत्रकार महासंघकी साधारण सदस्य अप्सरा निरौला माओवादी केन्द्रको तर्फबाट बिराटनगर–३ मा महिला सदस्यमा उम्मेदवार बन्दैछिन् । उनी प्रेस सेन्टरकी केन्द्रीय सदस्य हुन ।

मोरङकै केराबारी गाउँपालिका वडा नं १० मा पत्रकार किसन शाही वडाध्यक्षको उम्मेद्वार बनेका छन् । उनी धरानबाट प्रकाशित हुने औजार दैनिकका पत्रकार हुन् । उनलाई माओवादीले वडाध्यक्षको उम्मेद्वार बनाएको हो ।

त्यसैगरी मोरङमा कार्यक्षेत्र बनाएका पत्रकार भक्तशेर लिम्बु पनि केराबारी गाउँपालिकामा चुनाव लड्ने चर्चा छ । तर, उनको टिकटको टुंगो लागिसकेको छैन । लिम्बु धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स दैनिकका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment