Comments Add Comment

रेखा थापा काठमाडौं उपमेयरको उम्मेदवार !

४ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं अध्यक्ष नवराज सिंखडाले अनलाइनखबरसँग भने, ‘रेखालाई उम्मेदवार बनाउने हाम्रो तयारी हो ।’

उनका अनुसार उम्मेदवार बन्न प्रस्ताव गर्दा रेखाले छलफल गरौंला भनेकी छन् ।

राजाराम श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए । र, उनले यो पटक उम्मेदवार नबन्ने योजना रहेको बताए । तर, पार्टीले उम्मेदवार बनाए पछि नहट्ने बताए ।

नायिका थापा भने हालै मात्र राप्रपामा प्रवेश गरेकी र केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । ललितपुर महानगरपालिकाको मेयरमा केन्द्रीय सदस्य निरन्जन थापा र नरेश श्रेष्ठको नाम चर्चामा छ ।

उपमहानगर र महानगरका उम्मेदवार जिल्लाको सिफारिसमा केन्द्रले तोक्ने व्यवस्था रहेको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

दोस्रो संविधानसभामा रेखा थापालाई माओवादीले समानुपातिकतर्फ सभासदको टिकट दिने निर्णय गरेको थियो । तर, थापाको मतदाता नामावलीमा नामै नभएकाले उनी सभासद बन्न पाइनन् ।

मोरङमा जन्मेकी रेखा हाल काठमाडौंको मित्रपार्कमा बस्छिन् । मतदाता नामावली उनको नाम काठमाडौं- ७ अन्तरगत पशुपति क्याम्पस मतदान केन्द्रमा दर्ता छ । उनको मतदाता नामावलीको क्रमसंख्या १२६० हो भने मतदाता नम्बर २०९४०४९९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment