Comments Add Comment

राजेन्द्र विमलको प्रश्नः संस्कृतिको कुरा गर्दा ढाकाटोपी खोल्नुपर्ने ?

पहाड-मधेसका बौद्धिक सेतु

प्याज काट्दा आँसुले गह भरिन्छ । तर, डा. राजेन्द्र विमलले प्याज काटेर त्यसरी आँसु खसाल्ने ‘सौभाग्य’ नै पाएनन् ।

बाल्यकालमा उनलाई प्याज टोक्न मन लाग्थ्यो । तर, गरिबीले यसरी गाँजेको थियो, उनको परिवारको लागि प्याज भनेको निकै दुर्लभ परिकार जस्तै थियो । प्याज टोक्न नपाई उनको गालामा आँसुको लेग्रा बस्यो ।

भोकले रनथनिएर उनलाई रिँगटा लाग्थ्यो । घरमा अन्न शून्य । आमा छिमेकमा कतै भातको माड माग्न जान्थिन् र रित्तै फर्किन्थिन् ।

चार दशकसम्म प्राध्यापनमा रहेर विद्यार्थीलाई जीवन र जगत् चिनाएका डा. विमल पछिल्लो समय आफ्नै विगत जीवन केलाउन तल्लीन छन् ।

धनुषाको डेवडिहा गाउँको गरिब मधेसी परिवारमा जन्मिएयताको ६९ वर्षमा के भयो, के भएन, लेखाजोखा गरिरहेका छन् । अर्थात् उनी आत्मकथा लेखनमा जुटेका छन् । यस क्रममा उनलाई आफ्नै जीवन कुनै फिल्मभन्दा कम लागिरहेको छैन ।

‘सोच्दै जाँदा यो बुढेसकालमा विगतका कुरा सिनेमाको रिल जस्तै आउँदा रहेछन्’, आफ्नै जीवनमा कैयौं फिल्म बाँचिसके पनि जिज्ञासु दर्शक झैं कुतकुतिए, ‘बाल्यकालदेखि कसले गाली गर्‍यो, खान पाइनँ कि ! सकारात्मक-नकारात्मक दुवै खालका कुरा आउँछन् । कहिले हाँसो उठ्छ, कहिले रुन मन लाग्छ ।’

जनकपुरदेखि डेढ माइलको दूरीमा रहेको डेवडिहामा उनको बाल्यकाल बितेको हो । जहाँ पुरानो जमानाको श्यामश्वेत चलचित्रमा देखिने सादा बस्ती र रुग्ण झुपडी जस्तै अवस्था थियो ।

एकदिन हुरी चलेर घरको फुसको छाना उडायो । आमाको आङमा नाम मात्रको कपडा थियो । माहिला भाइ उपेन्द्र काखे बालक थिए । असिनाले चुट्यो । एक जना दयालुले तौलिया दिएपछि त्यसैको आडमा आमाले रात काटिन् ।

तिब्बतमा लाउने दोचा र मुस्ताङमा लाइने दोचा यदि एकै रहेछ, जनकपुरमा लगाइने धोती र मधुवनी (भारत) मा लगाइने धोती एउटै रहेछ भने हाम्रो भेषभुषामा निश्चित पहिचान त छुट्याउनुपर्‍यो नि । यो कुरामा राष्ट्रिय पोशाकको कुरा गर्दा त्यसप्रति घृणा फैलाइन्छ भने त्यो बहुत गलत कुरा हो

केही समयको अन्तरालमा घरमा आगो लाग्यो । थातथलो छोडेर अर्को ठाउँ जान खोज्दा ऋण दिने साहुहरुले उम्किनै दिएनन् ।

मोतीयाविन्दुको शल्यक्रिया गरेका विमलको आँखामा विगतका यस्ता घटना झिल्कासरि टल्किन्छन् । यादहरु कुनै अमिट छन्, कतिपय धमिला भइसके । उनलाई कतिपयले अहिलेको स्थितिमा आर्थिक रुपमा धेरै पछाडि पर्नुभो भनेर सान्त्वना दिन्छन् । तर, उनी त्यो कुरा सुनेर उडाइदिन्छन् ।

‘मान्छेहरु अरुहरु कहाँ पुगिसके भन्छन् । तर, त्यस्तो चरम गरिबीको अवस्थाबाट यहाँसम्म आउनु ठूलो उपलब्धि हो । यात्राको दूरी नाप्दा सन्तोष लिन सक्ने बाटो छ’, उनी पुलकित हुँदै भन्छन् ।

जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा चार दशक प्राध्यापन गरेका विमल साहित्यका विविध विधामा सिर्जना गर्नुका साथै संस्कृति र इतिहासको विषयमा पनि लेख्छन् । नेपाली र मैथिली भाषाका कुशल शिल्पी हुन् भने हिन्दी र अंग्रेजीमा पनि कलम चलाउँछन् ।

उनले स्कूल र क्याम्पस पढ्दा तत्कालीन शिक्षा प्रणाली अनुसार हिन्दी माध्यमबाटै पढे । आईए, बीए पढ्दासम्म करिब ५० वटा नेपाली पुस्तक प्रकाशित थिए । कोर्समा बोधविक्रम अधिकारीको दन्त्यकथा माला मात्र पढाइ हुने उनी सम्भिmन्छन् । ‘हमारे देशका प्रधानमन्त्रीका नाम क्या है ?’ भनेर परीक्षामा सोधिँदा ‘जवाहरलाल नेहरु’ लेख्नुपर्ने समयका विद्यार्थी हुन् उनी ।

उनीभित्र राष्ट्रियताको भावना सानै उमेरदेखि टनाटन थियो । १० कक्षामा पुगेपछि उनले डराउँदै भए पनि नेपालमा हिन्दी माध्यमबाट हुने पढाइको विरोध गरे ।

पाँच कक्षामै पढ्दा उनले देशप्रेमको उदाहरण दिइसकेका थिए । उनी पढ्ने स्कूलमा भर्खर स्वतन्त्र भएको भारतबाट एक जना विद्यार्थी आएको थियो । उसले आफ्नो देशमा गान्धी, भगतसिंह जस्ता एकसेएक नेता भएको र तिनले आफ्नै हातमा चिरेर जय हिन्द लेख्न सक्छन् भनेर फूर्ति लगायो ।

११ वर्षे विमललाई त्यो कुरा सह्य भएन । नेपालीहरु कुनै कुरामा कम छैनन् भन्ने भावना उनको नसा-नसामा थियो ।

उनले नजिकै एउटा ब्लेड देखे । खिया लागेको त्यही ब्लेड नाडीमा जोत्दै ‘जय नेपाल’ लेखे ।

‘दुखेको भए पनि सहँदै त्यतिखेर त बडो सानले लेखेँ । तर, घर गएपछि आमा रुन थाल्नुभयो’, उनले सम्झिए ।

त्यो आवेशमा देखाएको देशभक्ति उनको लागि महँगो पर्‍यो । बेवकुफीको हर्कत भन्दै बुवाले राम धुलाइ गरे ।

त्यो उमेरमा आफूमा त्यस्तो भावना कसरी आयो भनेर उनी छक्क पर्छन् ।

पछि राणा शासन ढलेर प्रजातन्त्र आयो । केही वर्ष राजनीतिक दलहरु मिलेर शासन चलाउने प्रयास गरे । राजा महेन्द्रको उदय भएपछि उनले राष्ट्रियताको आफ्नै खाले लहर ल्याए । पूरै परनिर्भरतामा ढल्किएको देशले मौलिक सोच राख्ने ठाउँ पायो । धमाधम नेपाली किताब लेखिन थाल्यो । मयलपोस, सुरुवाल र टोपी राष्ट्रिय पोशाक मानियो ।

महेन्द्रीय राष्ट्रवादको उपज भनेर पछिल्लो समय भेष र भाषाको समेत खिल्ली उडाउने काम भइरहँदा विमल त्यसमा प्रतिवाद गर्छन् । पहिचान भनेर देशभित्र जातीय सीमा कोर्दै राष्ट्रिय पोशाककै मानमर्द्धन गरिँदा उनी कुँढिन्छन् ।

उनलाई पनि राज्यले थोपरेको कतिपय नापनक्सा चित्त बुझेको छैन । नेपाली भाषालाई मात्र जोड दिँदा अरु मातृभाषा पिल्सिएको सन्दर्भमा एक भाषा एक भेषलाई बिलकुल गलत मान्छन् । तर, देशले आफ्नो एउटा पहिचान लिनुपर्ने कुरालाई उनले हरेक सरसंगत र मञ्चमा उठाउँदै आएका छन् ।

नेपाली राष्ट्रिय पोशाक बाहुन-क्षत्रीको हो भनेर मधेसी, जनजाति सबले गाली गरिरहँदा उनी ढाकाटोपी लगाएर गर्वसाथ हिँडिरहेका हुन्छन्, औपचारिक कार्यक्रममै सहभागी हुन्छन् । उनको यस्तो शैलीका कारण मधेसी वृत्तमै उनी आलोचना र आक्रोशको तारो बन्ने गर्छन् ।

अरु देशको भिडमा मौलिकता र पहिचान छुट्याउनुपर्ने उनको राय छ ।

उनी भन्छन्, ‘तिब्बतमा लाउने दोचा र मुस्ताङमा लाइने दोचा यदि एकै रहेछ, जनकपुरमा लगाइने धोती र मधुवनी (भारत) मा लगाइने धोती एउटै रहेछ भने हाम्रो भेषभुषामा निश्चित पहिचान त छुट्याउनुपर्‍यो नि । यो कुरामा राष्ट्रिय पोशाकको कुरा गर्दा त्यसप्रति घृणा फैलाइन्छ भने त्यो बहुत गलत कुरा हो ।’

ढाकाटोपी लगाउँदा निरन्तर निशाना

नेपालीको पहिचान झल्काउने टोपी लगाउँदा उनले पटक-पटक समस्या खेप्नुपरेको छ । सार्वजनिक कार्यक्रममै अवहेलना र दुर्व्यवहार सहनुपरेको छ । त्यस्ता घटनाको उनीसँग फेहरिस्त नै छन् ।

राजनीतिक आवरणमा गरिएको कार्यक्रमको विषय हाम्रो राष्ट्रिय संस्कृतिको जगेर्ना भन्नेबारे थियो । मञ्चमा बसिरहेका उनलाई छेउबाट एउटा मान्छेले चिट पठायो, ‘सबभन्दा पहिले टोपी खोल्, अनि मात्र संस्कृतिको कुरा गर् ।’

एउटा घटना, वकिलहरुले मानव अधिकारको विषयमा जनकपुरमा कार्यक्रम राखेका थिए । माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक राजनीतिमा आउनु अगाडिकै कुरा हो ।

मञ्चमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, माओवादी नेता मातृका यादव, एमालेका केन्द्रीय सदस्यहरु र अन्य नेताहरु थिए । विमल आफूलाई बोल्न नलगाउनू भनेर सहभागीका रुपमा मात्र पुगेका थिए । गएर बस्ने बित्तिकै औंला उनीतिर ठड्याउँदै भनिहाले, ‘सबै जना हेर्नुस्, यसले पहाडे टोपी लगाएको छ । किन आएको छ भने राजा खुसी होला र मन्त्री बनाइदेला भनेर ।’

कार्यक्रममा पाँच सयभन्दा बढी मान्छे थिए । नबोल्ने भने पनि आफूमाथि त्यत्रो आक्षेप आएपछि उनले बोल्नैपर्ने भयो । आयोजकले पनि बोल्न भने ।

उनको मन्तव्य पोशाककै बारेमा केन्द्रित भयो, ‘रामराजाले सात समुद्रपारिको लुगा लगाउन हुने, मातृकाजीले ह्याट र सर्ट लगाउँदा केही नहुने । मैले संविधानमा हाम्रो राष्ट्रिय भेषका रुपमा मानिएको पहिरन लगाउँदा कसरी अपराध भयो ? जवाहरलाल नेहरुले र पूरै भारतले लाउने टोपी गुजरातको भए पनि सम्पूर्ण भारतवासीले लाउँछन् कि लाउँदैनन् ? ढाकाटोपी लगाउँदैमा राजा खुसी हुने भए सुँगुरलाई लगाइदिनुस्, देशको प्रधानमन्त्री त्यो हुन्छ । राष्ट्रिय पहिरन लगाउनु कसैलाई खुसी पार्ने कुरा हैन, यो मेरो भावनासँग जोडिएको कुरा हो । म के लगाउँछु, के लगाउँदिनँ भन्ने बारेमा तपाईँले दखल गर्नु मानव अधिकारको हनन हो ।’

उनले त्यति भनेपछि त्यहाँ खैलाबैला मच्चियो । बन्दुक भिरेका केही मान्छेले विमललाई चारैतिरबाट घेरेर तर्साए । डरले मुटु ढक्क फुले पनि उनले त्यतिबेला भने, ‘हेर्नुस्, मैले सत्य बोलेको हुँ । तपाईंहरुलाई जे इच्छा छ, गर्नुस् ।’

अर्को घटनामा त उनले झन्डै कुटाइ नै खाए । विराटनगरमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्ने कार्यक्रममा पुगेका थिए । महन्थ ठाकुर र उनी वक्ता तथा उपेन्द्र यादव उद्घोषक थिए । राजनीतिक आवरणमा गरिएको कार्यक्रमको विषय हाम्रो राष्ट्रिय संस्कृतिको जगेर्ना भन्नेबारे थियो ।

मञ्चमा बसिरहेका उनलाई छेउबाट एउटा मान्छेले चिट पठायो, ‘सबभन्दा पहिले टोपी खोल्, अनि मात्र संस्कृतिको कुरा गर् ।’

उनी वास्ता नगरी बसिरहे । फेरि त्यही आशयको अर्को चिट आयो । त्यसपछि पनि टोपी नखोलेपछि ६/७ जना मान्छे आक्रमण नै गरौंला जसरी उनीमाथि खनिए । केही राष्ट्रिय स्तरका पत्रिकाका पत्रकारले के भयो भनेर बुझ्न खोजे, विमलले कुरा चर्काउन चाहेनन् ।

उनले महन्थ ठाकुरसँग प्रश्न गरे, ‘मलाई कार्यक्रममा किन बोलाएको ? मान्छेले बोल्ने, लगाउने र खाने विषयमा आफ्नो हिसाबले गर्न पाउँदैन भने देशमा तपाईंहरु कस्तो डेमोक्रेसीको कुरा गर्दै हुनुहुन्छ ?’

उत्तेजित युवकहरुलाई मान्छेहरुले थामथुम पारे । सम्भावित आक्रमण टर्‍यो । उनले आफ्नो मूल स्वर राष्ट्रिय एकताकै पक्षमा प्रष्टसँग मन्तव्य पनि दिए ।

यस्तो विघ्न-बाधा र चुनौती आए पनि उनी आफ्नो कुरामा अडिग रहँदै आएका छन् । मनमा देश र आँखामा मानवता सजाएर हिँड्ने गरेका छन् । कतै समाज विभाजित हुन लाग्यो भने उनलाई छटपटी हुन्छ ।

जब-जब तराई-पहाडका फरक समुदायका मानिसबीच शंका, आरोप र अविश्वासको स्वर चर्को हुन्छ, उनी आत्मीयता, भ्रातृत्वको कुरा गर्न थाल्छन् । मधेस आन्दोलन हुँदा पनि उनले संयम र समझदारी कायम गर्न जोड दिँदै साहित्यिक रचनाहरु लेखे । ‘समयका आँखा’ कथासंग्रहमा त्यही भ्रातृत्व र समभावको आग्रह भरिएका कथाहरु समेटिएका छन् । त्यसपछि पनि उनले दुई दर्जन कथाहरु लेखिसकेका छन् ।

आफ्नो मूल स्वरबारे उनी सहज रुपमा भन्छन्, ‘मेरो दर्शन त प्रेम बाहेक केही होइन । एउटा नेपालीले अर्को नेपालीलाई प्रेम गरौं भन्ने मात्र कुरा हो ।’

सुधार्नुपर्ने कुरा

पठपाठनको हिसाबले जगैदेखि हिन्दी भाषामा रत्तिँदै आए पनि विमल ‘साम्राज्यवादी र विस्तारवादी शक्ति’ को नियतमा कहिले पनि ढुक्क छैनन् ।

नेताहरुको सत्ता लिप्साले गर्दा भारतको अगाडि झुक्नुपर्ने बाध्यता भए पनि नेपालीहरुले आफ्नो भाषा, संस्कृति र साहित्यलाई अग्रगति दिन छाड्न नहुने उनको धारणा छ । शक्तिशाली देशकै भाषा, संस्कृति र साहित्यको मात्र जयजयकार गर्दा क्षति निश्चित हुने भन्दै उनी सिक्किमको उदाहरण दिन्छन् ।

आफ्नो भाषा, संस्कृति र साहित्यको जगेर्ना गर्ने कुरा कसैले गर्छ भने त्यो गलत नहुने तर त्यसबाट स्थानीय अरु भाषा दबाउने, पन्छाउने भयो भने मात्रै समस्या हुने उनको मत छ ।
बहुसंख्यक नेपालीले बोल्ने भाषाका रुपमा नेपालीलाई राष्ट्रभाषा बनाइँदा त्यसले देशलाई नै छुट्टै व्यक्तित्व दिएको उनी देख्छन् । तर, राज्यले सबै भाषा-भाषिकाको विकास हुने भाषा नीति नबनाउँदा मातृभाषाप्रति आत्मगौरव नभएको र राष्ट्रभाषाप्रति पनि पूर्वाग्रह बढेको उनको ठहर छ ।

आफ्नो मातृभाषा मैथिली रहेकाले उनी यसैको चर्चा गर्छन् । पञ्चायत कालमा जनकपुरमा मैथिली नाटक गर्दा प्रहरी आएर समातेर लैजाने अवस्था थियो । मल्ल कालमा काठमाडौं खाल्डोभित्रै राज भाषाको रुपमा सम्मानित र समृद्ध रहेको मैथिली भाषा शाहकालको उदय हुनासाथ खुम्चियो । मैथिलीसँगै, नेवारी, तामाङ लगायत भाषाको अन्धकार काल सुरु भयो ।
विमलका अनुसार, लामो समय दमित भएर ओझेलमा परेको मैथिली भाषाको ०१६ सालपछि पुनर्जागरण काल सुरु भएको हो ।

बीचमा आफ्नो मातृभाषा बोल्न छोड्ने र बिर्सने अवस्था आए पनि पछिल्ला वर्षहरुमा आएर आ-आफ्ना भाषाप्रति सबैमा सम्मानको भावना देख्दा उनी उत्साहित छन् ।

उनी भन्छन्, ‘सबै भाषाभाषी जागृत भएको यो अवस्थामा अब हाम्रा तमाम भाषाहरु त्यति सजिलै मर्ने अवस्था छैन । जब मान्छे जागेको हुन्छ, त्यस्तो बेलामा उसलाई मार्न गाह्रो हुन्छ ।’

तर, भाषाको संरक्षण र विकासमा राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनी देख्छन् ।

कुनै पनि भाषा समृद्ध बनायन विद्यालयको तल्लो तहदेखि नै मातृभाषाको पठनपाठन हुनुपर्ने र सरकारी कामकाजको भाषा बनाउनु जरुरी रहेको उनको अनुभव छ । कुनै पनि क्षेत्रमा बहुसंख्यक मान्छेले बोल्ने भाषा कामकाजको भाषा भयो भने जनतालाई सजिलो हुने उनी बताउँछन् ।
‘नभए धेरै सर्वसाधारणले आफ्नो कुरा राख्न बोल्नै सक्दैनन्’, उनले भने, ‘त्यसले गर्दा उनीहरुले न्याय पाउन सक्दैनन् ।’

मातृभाषाहरु विद्यालय तहदेखि नपढाई एकैचोटि क्याम्पस तहमा पढाउँदा भाषाले टाउकोको भरमा यात्रा गर्नुपर्ने रहेको उनी औंल्याउँछन् ।

भाषाको कमजोर अवस्था आउनुको गुह्य खोतल्दै उनले भने, ‘प्राथमिक पाठशालादेखि नै पढाए पो भाषाको खुट्टा बलियो हुन्छ र त्यो हिँड्छ । जग नै नभएपछि टाउकोले हिँड्न बाध्य भइरहेको छ । टाउकोको बलमा रेशमा किन अगाडि आउँदैनस् भनेर भनिन्छ । कसरी रेशमा आउँछ त्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment