Comments Add Comment

बेलायतमा मध्यावधि चुनाव गर्ने प्रधानमन्त्री मेको घोषणा

५ बैशाख, लण्डन । बेलायतकी प्रधानमन्त्री टेरेसा मेले समय अगावै आम चुनावका लागि सिफारिस गर्ने घोषणा गरेकी छिन् । देशलाई स्थायित्वमा लैजानका लागि मध्यावधि चुनाव आवश्यक रहेको उनको भनाइ छ ।

बीबीसीका अनुसार मेले ८ जूनमा मध्यावधि चुनाव गर्ने घोषणा गर्न सक्नेछिन् । यसअघि उनको कार्यालयले सन् २०२० भन्दा अघि चुनावको सम्भावनालाई बारम्बार नकार्दै आएको थियो ।

बेलायतमा कन्जरभेटिभ सरकारको अवधि २०२० सम्म छ । मन्त्रिपरिषद वैठकपछि प्रधानमन्त्री मेले भनिन्, ‘सरकारले आमचुनाव चाँडै घोषणा गर्नेछ । बेलायतलाई स्थायित्व चाहिन्छ । बेलायत यूरोपेली संघबाट बाहिर आइरहेको छ र त्यो निर्णयलाई बदल्न सकिँदैन ।’

मेले हालै यूरोपेली संघबाट अलग्गिने औपचारिक प्रक्रिया सुरु गर्ने एक अध्यादेशमा हस्ताक्षर गरेकी थिइन् ।

बेलायतको ‘फिक्स्ड टर्म पार्लियामेन्ट्स एक्ट’ अनुसार हरेक पाँच वर्षपछि मे महिनामा आम चुनाव गराइन्छ । यदि हाउस अफ कमन्समा दुई तिहाई सांसदले सहमति जनाएको खण्डमा त्यो समयअगावै चुनाव गर्न सकिन्छ । लेबर पार्टीले यो कदमको समर्थन गर्ने जनाइसकेको छ ।

आफ्नो पार्टीले चुनाव जित्नेमा ढुक्क भएर प्रधानमन्त्री मेले मध्यावधि चुनावको कुरा गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment