Comments Add Comment

अचम्मका मानसिक रोगीः बुहारीको ‘किस’देखि प्याजको डल्लोसम्म !

मनोविद बासु आचार्यले हेरेका अनौठा ८ केस


६ बैशाख, काठमाडौं । उनी डाक्टर होइनन्, तर दिनभरि क्लिनिकमा बसेर बिरामी हेर्छन् । बिरामी त हेर्छन् तर कसैलाई कुनै औषधि लेख्दैनन् ।

यी हुन् जल्दाबल्दा ‘साइकोलोजिस्ट’ बासु आचार्य । उनी साइकोथेरापीमार्फत मनका रोगीहरुको उपचार गर्छन् । तीनकुनेमा उनको क्लिनिक छ, जहाँ उनी दिनभरि बिरामीका अगाडि बसेर भट्याइरहेका भेटिन्छन् ।

‘अधिकांश मनोरोगको कारण सोच्ने तरिकाको गडबडी हो,’ आचार्यको भनाइ छ, ‘म उनीहरुलाई सही तरिकाले सोच्न सिकाउँछु ।’

आफूकहाँ आउने ९० प्रतिशत बिरामीलाई १०० प्रतिशत ठीक बनाउने उनको दावी छ ।

‘१० प्रतिशतले चाहिँ लत्तो छोडिसकेका हुन्छन्, उनीहरुलाई काउन्सिलिङले मात्रै ठिक पार्न सकिदैन,’ आचार्यले भने ।

भारतको मुम्बईमा पढेर आएका आचार्यले नेपालमा आएर अभ्यास गर्न थालेको ६ वर्ष मात्र भयो । तर, यति छोटो अवधिभित्र उनले आफूलाई बलियोसँग स्थापित गराइसकेका छन् । उनी काठमाडौंमा मात्रै सिमित छैनन् । नियमित रुपमा देशका विभिन्न भागमा पुगेर शिविर चलाउँछन् । विदेशमा बस्नेहरुलाई फोन, भाइबर र स्काइपबाट उपचार गर्छन् । मनोरोगसम्वन्धि उनका सचेतनामुलक भिडियोहरु यूट्यूवमा छ्याप्छ्याप्ती भेट्न सकिन्छ । पछिल्लो समय उनी ‘ह्याप्पी क्लव’को अवधारणामा देश तथा विदेशमा मनोरोगका विषयमा सचेतना बढाउने अभियानमा छन् ।

आचार्यकहाँ उपचारका लागि थरी-थरीको समस्या लिएर मनोरोगीहरु आउँछन् । केहीका समस्या त सुन्दै विचित्र लाग्छ । अहिले उनी आफूले भोगेका विचित्र र अविष्मरणीय ८ वटा केसहरु सम्झिँदैछन्  ।

१. प्याजको डल्लोले निदहराम

दुई वर्षअगाडि एक सरकारी जागिरे एउटा प्याजको डल्लो बोकेर मेरो क्लिनिकमा आए । उनले ठाडो प्रश्न गरे, ‘म यो प्याज कहाँ राखौं ?’

उनले एउटा प्याज आफ्नो भान्सा कोठामा खसिरहेको भेटेछन् । त्यसलाई कहाँ राख्ने भनेर उनलाई अलमल भएछ । यता राख्दा पनि चित्त बुझ्दैन, उता राख्दा पनि मन मान्दैन । कतै राख्न नसकेपछि प्याजलाई खल्तिमै बोकेर हिँड्न थालेछन् । अफिस जाँदादेखि ससुराली जाँदासम्म प्याज खल्तिमै ।

त्यो प्याजले बिस्तारै उनको मत भत्भति पोल्न थालेछ । दिमागमा खाली ‘प्याज कहाँ राख्ने ?’ भन्ने प्रश्न मात्रै आइरहन्थ्यो । उनले यो कुरा परिवारका सदस्यलाई सुनाए । तर सबैले उनलाई हावामा उडाइदिए । उनी भने झन्-झन् तडि्पइरहे । अन्ततः समस्याका समाधान खोज्न मकहाँ आएका रहेछन् ।

उनी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर -ओसिडी) को शिकार भएका थिए । यस्तो मनोरोग भएका व्यक्तिहरु सानो-सानो कुरामा अल्झिरहेका  हुन्छन् र एउटै कुरा बारम्बार सोचिरहन्छन् । मैले ‘एक्सपोजर एन्ड रेस्पोन्स पि्रभेन्सन थेरापी’ मार्फत उनको उपचार गरेँ । त्यो प्याज कुनै ठूलो वस्तु होइन र जहाँ राखे पनि फरक पर्दैन भनेर कन्भिन्स हुन उनलाई महिनौं लाग्यो । भ्रममुक्त भएपछि प्याजको डल्लो मलाई जिम्मा लाएर उनी हिँडे । अहिले भेट्दा हाँस्छन् ।

२. आफू मरिसकेको भ्रम

– करिब ६-७ महिनाअगाडि एकजना पौडेल भाइलाई उनकी आमाले डोर्‍याउँदै ल्याइन् । करिब २०-२२ वर्षका ती भाई बच्चा जसरी रोइरहेका थिए ।

मैले किन रोएको भनेर सोध्दा उनले भने, ‘डाक्टरसा’ब, मलाई आफ्नै साथीले छुरा हानेर मारे ।’

वाणिज्य बैंकमा काम गर्ने ती भाईलाई आफू मरिसकेको भ्रम परेको रहेछ । अहिले मृत्यूपछिको अवस्थामा छु भन्ने सोच्दा रहेछन् । उनी बहुलाएका भने होइनन्,स्किजोफ्रेनिया र डिप्रेसनबाट पिडित थिए ।

एकपटक शिवरात्रीमा साथीहरुले गाँजा खुवाइदिएपछि उनको मस्तिष्कमा समस्या उत्पन्न भएको रहेछ । त्यसपछि उनले आत्महत्याको असफल प्रयाससमेत गरेका रहेछन् । परिवारले बचाएर उनलाई अस्पताल पुर्‍याएछन् । अस्पतालमा ७० दिन बिताएर उनी निस्के तर दिमाग झनै सड्कियो । जतिखेर पनि रुने र मलाई मारे मात्र भन्ने । जति औषधि गर्दा पनि नभएपछि आमाले उनलाई मकहाँ ल्याएकी रहिछन् ।

उनी मेरो थेरापीबाट अहिले ८० प्रतिशत स्वस्थ भएका छन् । अफिस पनि नियमित जान थालेका छन् । आफू जिउँदै छु भन्ने विश्वास जागेको छ । अनुहार उज्यालो भएको छ । उनी अहिले पनि मेरो क्लिनिकमा नियमित आइरहेका छन् ।

३. आफ्नै छोरालाई काट्न मन लाग्ने

-गत वर्ष एकजना पुरुष आए । उनी एउटा रेस्टुरेन्टमा कुकको काम गर्छन् । उनको समस्या डरलाग्दो थियो । हेर्दा भलाद्मी देखिने उनलाई जतिबेला पनि आफ्नो दुई वर्षको छोरालाई चक्कुले काट्न मन लाग्दोरहेछ ।

‘जतिबेला पनि छोरालाई चपिङ बोर्डमा राखेर छक छक छक छक पार्दै काट्न मन लाग्छ सर’ उनले उनले सुनाए, ‘म बहुलाएको पो हुँ कि ?’

उनले यो कुरा एक दिन आफ्नी श्रीमतीलाई पनि सुनाएछन् । श्रीमानको को कुरा सुनेर आत्तिएकी श्रीमती भोलिपल्टै छोरा च्यापेर माइती गइछन् । उनलाई ससुराली आउन पनि रोक लगाइएछ ।

उनले आफ्नो छोरालाई माया नगर्ने भने होइन । तर, ओसिडीका कारण उनको मनमा यस्तो कुविचार पलाएको थियो । एक महिनाको काउन्सिलिङपछि नै उनी निको भए । त्यसपछि मैले उनकी श्रीमतीलाई क्लिनिकमा बोलाएँ । श्रीमानको विकृत मनोभावना हटेको र अब कुनै जोखिम नरहेको बताएपछि उनी ढुक्क भएर घर गइन् ।

४. बुहारीले किस खाएको देखेपछि

करिब ६५ वर्षका एक वृद्ध मकहाँ आए । उनले आफ्नी बुहारीले डेरामा बस्ने युवकलाई किस खाएको देखेका रहेछन् । सो घटनाले उनी ठूलो तनावमा परेछन् । त्यही कारणले डिप्रेसनमा गए । परिवारमा यो कुरा भन्दा बुढा पागल हुन लागे भनेर उडाउँदा रहेछन् ।

‘मेरो कुरा कसैले पत्याउँदैनन् सर’ उनले मसित भने, ‘तर, मैले आफ्नै आँखाले देखेको हुँ ।’

त्यसपछि मैले उनकी बुहारीलाई बोलाएँ । उनलाई एक्लै विनम्रतापूर्वक सोधेँ, ‘के कुनै चक्कर छ ?’

सुरुमा उनले अस्वीकार गरिन् । तर, मैले यो कुरा कसैलाई नभन्ने बचन दिएपछि डेरामा बस्नेलाई आफूले किस खाएको स्वीकारिन् । उनीहरुबीच साँच्चिकै चक्कर रहेछ । सायद शारीरिक सम्वन्ध पनि भएको थियो । मैले उनलाई यो गल्ती अब नगर्नु भनेर खुब राम्ररी सम्झाएँ ।

त्यसपछि प्रवुद्ध व्यक्तिलाई बोलाएर भनेँ, ‘तपाईंले भनेको कुरा ठीक रहेछ । तर, यो कुरामा अब तनाव नलिनुस । ढुक्क हुनुस, अब उनले यस्तो काम दोहोर्‍याउँदिनन् । तपाईं पनि यो कुरा कसैलाई नभन्नु, नत्र समाजमा व्यइज्जत हुन्छ ।’

उनको कुरामा मैले विश्वास गरेको थाहा पाएर उनले सन्तोष माने । विस्तारै उनको तनाव घट्दै गयो । केही समयपछि आएर उनले मसँग बुहारीको चालचलन सुधि्रएको भन्दै प्रशन्नता व्यक्त गरे ।


५. श्रीमती अरुसँग सुतेको शंका

३-४ महिनाअघि एक युवक आए । उनलाई आफ्नी श्रीमतीले विगतमा कुनै पुरुषसँग शारीरिक सम्पर्क राखेकी थिई कि भन्ने शंका लाग्दोरहेछ । यही कारणले डिप्रेसनमा परेका रहेछन् ।

उनको बिहे तीन वर्षअघि भएको थियो । श्रीमान-श्रीमतीबीच सम्वन्ध राम्रै चलिरहेको थियो । बिस्तारै उनलाई श्रीमतीप्रति शंका बढ्न थालेछ ।
यस्तैमा एक दिन उनले श्रीमतीलाई फकाइ-फकाइ सोधेछन्, ‘के बिहेअघि तिम्रो कसैसँग इलु-इलु थियो ?’

श्रीमतीले ठाडै इन्कार गरिछिन् । तर, उनी आश्वस्त भएनन् । अनि पटक-पटक त्यही कुरा कोट्याउँदा रहेछन् । एक दिन श्रीमतीले भनिछन्, ‘कलेज पढ्दा एक जनाले मलाई मन पराउँथ्यो ।’

‘तिमीले नि ?’ युवकले चिन्तित बन्दै सोधेछन् ।

‘म पनि अलिअलि मन पराउँथेँ,’ भन्ने जवाफ दिइछन् ।

अब युवकलाई तनाव सुरु भयो । उनको मनमा एउटै प्रश्नले डेरा जमाउन थाल्यो, ‘श्रीमतीको त्यो केटासँग शारीरिक सम्पर्क त भएन ?’
एक दिन उनले श्रीमतीलाई यो प्रश्न पनि सोधेछन्, ‘के त्यो केटासँग तिमी सुतेकी थ्यौ ?’

श्रीमतीले इन्कार गरिछन् । तर युवकले विश्वास गरेनन् । सोधेको सोध्यै गरेपछि एक दिन भनिछन्, ‘एकचोटि मलाई ओछ्यानमा लडाएको थियो । तर मैले दिइनँ ।’

यति सुनेपछि युवकलाई काण्ड पुग्यो । उनी छट्पटाहटमा परें । पक्कै उनीहरुबीच सेक्स भयो होला भन्ने उनलाई लाग्यो । यही कुराले उनको निदहराम भयो । त्यसपछि उनी मकहाँ आएका रहेछन् ।

मैले उनकी श्रीमतीलाई बोलाएँ र लामो कुरा गरेँ । खासमा के भएको थियो भनेर सोधेँ । उनले आखिरमा घटना विवरण यसरी बताइन्:

‘उ मेरो कलेजको साथी थियो । मलाई मन पराउँथ्यो । म पनि अलि अलि मन पराउथेँ । एक दिन साथीको बर्थ डे पार्टीमा हामी दुवै पुगेका थियौं । सबै साथीहरु एउटा कोठामा बसेर गफ गरिरहेका थियौं । उसले भने निरन्तर मलाई हेरिरहेको थियो । गफगाफ सकिएपछि सबै जना जर्‍याकजुरुक उठे । म पनि उठेँ । तर अरु सबै निस्केपछि उसले ढोका थुनेर चुकुल लगाइदियो । भित्र उ र म मात्र भयौं । त्यसपछि उसले मलाई च्याप्प पाखुरामा समायो र ओछ्यानमा लडायो । अनि धमाधम किस खान थाल्यो । त्यतिसम्म त ठिकै थियो, उसले त मेरो सुरुवालको इँजार नै खुस्काइदियो । अनि मलाई झोक चल्यो । उसलाई एक झापड लगाइदिएँ । ऊ रन्थनिँदै उठ्यो । उसको पाइन्टको फस्नर खुल्लै थियो । त्यसपछि उ भित्तापट्टी फर्केर हस्तमैथुन गर्न थाल्यो । मैले के गरेको भनेर सोधेँ । एकछिनमा उ पाइन्ट लगाएर बाहिर निस्कियो । म पनि सुरुवालको ईंजार लगाएर निस्किएँ ।’

उनको यो कुरा मलाई विश्वसनीय नै लाग्यो । तर, यो घटना मैले ती युवकलाई सुनाइसकेको छैन । उनी विश्वस्त हुने गरी कसरी सुनाउँ भनेर सोच्दैछु । उनले अनलाइनखबर पढे भने यसैबाट थाहा पाउनेछन् ।

६. दिशा अड्किएको भान

एक महिलाले डुम्रेबाट फोन गरिन् । उनको समस्या अचम्मको थियो । उनलाई जतिबेला पनि मलद्वारमा दिशा अड्किइरहेको भान हुँदोरहेछ । अनि, पटक-पटक शौचालय धाइरहनु पर्ने । यही कुराले उनी मानसिक तनावमा परेकी रहिछन् । तर, भएको केही होइन । दिशा अड्केको उनको भ्रम मात्र थियो । तर उनले यसैलाई ठूलो विषय बनाइन् र डिप्रेसनमा परिन् । मैले फोनबाटै काउन्सिलिङ गरेर उनको समस्या समाधान गरेँ ।

७. फेसबुकको कमाल

-दक्षिण कोरियामा काम गर्न गएका एक भाइ थिए । उनको मुटु बेला-बेला बेस्सरी ढुकढुक गर्दो रहेछ । उनी साह्रै अत्तालिएछन् । अब पक्कै मर्छु भन्ने लाग्न थालेछ । मृत्यू सिवाय अरु कुनै उपाय छैन भन्ने निस्कर्षमा पुगेका उनले आत्महत्या गर्ने सोच बनाएछन् । एक दिन सबै साथीहरु ड्यूटीमा गएका बेला आत्महत्याको तयारी गरेछन् । डोरीको व्यवस्था समेत गरेछन् । तर, झुण्डिने ठाउँ भेटेनछन् । झुण्डिने ठाउँ नभेटेकैले उनको त्यो दिनको आत्महत्या योजना यत्तिकै स्थगित भएछ ।

त्यही राति उनले फेसबुकमा मेरो स्टाटस हेरेछन् । त्यसमा मैले डिप्रेसन र एन्जाइटीको बारेमा लेखेको थिएँ । मुटु ढुकढुक हुनु, आत्महत्याको सोच आउनु मनोरोगको लक्षण हो भनेर लेखेको थिएँ । त्यो पढेपछि उनको सोचाई बदलिएछ । आफ्नो रोग ठीक हुन्छ भन्ने विश्वास पलाएछ । आत्महत्या गर्ने सोच त्यागिदिएछन् । एक दिन भाइबरमा फोन गरेर उनले मलाई आफ्नो जीवन बचाइदिएको भन्दै धन्यवाद दिए ।

८. यूट्यूवबाटै विषेक

एक जना ४०-४५ वर्षका पुरुष आए । उनले सर मेरो नाम फलानो, फलानो ठाउँबाट आएको भने अनि गोजीबाट दुई हजार रुपैयाँ निकालेर मलाई लिन आग्रह गरे ।

‘किन मलाई यो पैसा ?’ मैले सोधेँ ।

‘तपाईंको फी’ उनले जवाफ दिए ।

‘तर मैले त तपाईंलाई कहिल्यै हेरेकै छैन ।’

त्यसपछि उनले भने, ‘म डिप्रेसनबाट ग्रस्त थिएँ । औषधिले पनि काम गरिरहेको थिएन । एक दिन मैले यूट्यूवमा तपाईंको भिडियो हेरेँ । भिडियोमा तपाईंले दिनुभएको डिप्रेसनसम्वन्धी सन्देशले मलाई प्रभावित बनायो । त्यसपछि मैले तपाईंको सबै भिडियो खोजी खोजी हेरेँ । यसले मेरो जीवन नै बदलिदियो । मैले जिन्दगी नै नबुझेर लट्पटिएको रहेछु भन्ने मैले बुझेँ । मेरो डिप्रेसन यत्तिकै समाधान भयो । अहिले औषधि पनि छोडेँ । तपाईंको भिडियोले गर्दा नै मेरो रोग ठीक भएकाले यो फी तिर्न आएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment