Comments Add Comment

अष्ट्रेलियामा ४५७ भिसा कार्यक्रम खारेजले नेपाली समुदायलाई के असर हुन्छ ?

संजीव पाण्डे

अष्ट्रेलियाले दक्ष बिदेशी कामदारका लागि दिँदै आएको अस्थायी प्रकृतिको भिसा ४५७ लाई बन्द गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाका प्रधनमन्त्री माल्कम टर्नबुलले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि ‘विवादास्पद ४५७ भिसा कार्यक्रम’ रद्ध गर्ने घोषणा गरेका हुन् ।

यो घोषणासँगै नेपाली समुदायमा अब ४५७ भिसा सधैका लागि बन्द भएको हो कि भन्ने परेको छ । यसले नेपाली समुदायलाई कस्तो असर पर्छ ? यो घोषणाबाट किन आत्तिनुपर्ने अबस्था छैन ?

विकल्पमा ल्याउन लागिएको भिसा सबक्लासका लागि कसरी तयारी गर्ने ? सिड्नीमा रहेर माइग्रेसन एजेन्टको रुपमा कार्यरत संजीव पाण्डेले ४५७ भिसा रद्द गर्ने निर्णयका बारेमा यस्तो विचार राखेका छन ।

१) यो राजनीतिक ‘स्टन्ट’ हो । संसारको जुनसुकै कुनाको सरकारले पनि जनताको ध्यान ‘डाइभर्ट’ गर्न वा तत्कालको राजनीतिक फाइदाका लागि यस्ता पपुलिस्ट घोषणाहरू गर्दछन ।

२) यो वा त्यो रूपमा ४५७ भिसा कायमै रहने निश्चित भएको छ । सरकारले रक्सी होइन रक्सी राख्ने बोतल फेर्न खोजेको छ । अहिले चार वर्षसम्मका लागि दिइने ४५७ भिसालाई अब दुई वटा फरक सबक्लासका रूपमा दुई वा चार वर्षे भिसा दिने घोषणा गरेको छ ।

३) दुई वर्षको लागि दिइने भिसाको हकमा एकपटक नविकरण गर्ने मिल्ने बताइएको छ । यस वर्गका भिसाबाहक पीआरका लागि योग्य हुँदैनन ।

४) ४५७ दिइने पेशाको संख्या घटाइएको छ । तर अधिकांश नेपालीले छनौट गर्ने पेशा कुकरी, अकाउण्टिङ, नर्सिङ, आइटी अझै पनि लिस्टमै छन् ।

५) उच्च स्तरका सीप भएकाहरू ४ वर्षे भिसाका लागि योग्य हुनेछन् । तीन वर्षपछि उनीहरू पीआरका लागि योग्य हुन्छन् । पहिलेको नियम अनुसार दुई वर्षपछि नै उनीहरू योग्य हुन्थे ।

६) चार वर्षे भिसाको लागि योग्य हुन उच्च स्तरको अंग्रेजी चाहिने भएको छ । तर कति चाहिने हो भन्ने कुरो अझै जानकारी प्राप्त भएको छैन ।

७) आवेदकको चारित्रिक ब्याकग्राउण्ड जाँचिने भएको छ ।

८) न्यूनतम दुई वर्षको अनुभव नभएकाहरूले अब यी भिषाहरू पाउने छैनन् ।

९) सकेसम्म अष्ट्रेलियन नागरिक वा पीआरलाई नै काममा प्राथमिकता दिनुपर्ने र त्यसको लागि रोजगारदाताले ‘लेबर मार्केट टेस्टिङु गर्नुपर्ने छ । यो नियम नयाँ भने होइन । ४५७ भिसामा पनि यो नियम विद्यमान थियो ।

१०) समग्रमा ट्रम्पको उदय र युरोप र अमेरिकामा देखिएको उग्र राष्ट्रवादी लहरबाट टर्नबुल पनि प्रभावित भएको देखिन्छ ।

११) विद्यार्थी भिसाबाट सीधै ४५७ मा जान खोज्नेहरूका लागि भने यसले असर पार्ने देखिन्छ किनभने उनीहरू अधिकांशसँग दुई वर्षे अनुभव हुँदैन ।

१२) विद्यार्थीको संख्या बढाउने तर पीआर हुने बाटाहरू बन्द गर्दै जाने सरकारी नीति दीगो हुने सम्भावना कम छ । अष्ट्रेलियामा विद्यार्थी आउनाको प्रमुख कारण पीआरको आकर्षण नै हो ।

१३) ४५७ भिसाको नाममा हुने गरेका ठगीका घटना अब कम हुन्छन वा अझै झन मौलाउँछन्, त्यो भने अहिल्यै भन्न सकिन्न ।

१४) अष्ट्रेलियामा पीआर पाउने तरिकाहरूमध्ये ४५७ एक हो । यसमा भएका परिवर्तनकै कारण अब बर्बादै भयो भनेर आत्तिनु पर्दैन ।

फूलाई मन परेको र अष्ट्रेलियालाई आवश्यक पनि परेको विषय अध्ययन गर्ने, आफ्नो पेशामा रोजगार पाउनको लागि आफूलाई तयार गर्ने र अंग्रेजी भाषा सुधार्न मेहनत गर्ने हो भने पीआर पाउन अझै पनि सम्भव छ। दिनप्रतिदिन प्रतिष्पर्धा बढ्दै गएको र नियमहरूमा परिवर्तन आइरहेको परिप्रेक्षयमा पीआरको आकांक्षा राख्ने हरेक विद्यार्थीले अब अझ धेरै मेहनत गर्नु पर्ने कुरामा भने दुई मत छैन ।

( पाण्डे अष्ट्रेलियाका रजिष्टर्ड माइग्रेसन एजेन्ट हुन । यो उनको निजी बिचार हो ।)

यो पनि पढ्नुहोस्
विदेशी कामदारलाई दिइने ‘४५७ भिसा’ बन्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment