Comments Add Comment

समस्यामा परेका दुई महिलालाई युएईबाट सहयोग

१९ अप्रील, युएई । युएईमा नवस्थापित ताप्लेजुङ सेवा समाजले समस्यामा परेका दुई जना महिलालाई आर्थिक सहयोग गरेकाे छ ।

समाजको गत १४ अप्रीलमा बसेको दोस्रो मासिक बैठकले ताप्लेजुङमा गिट्टी कुटेर जीवन निर्वाह गरिरहेकी लाक्पा खाङ्डु शेर्पा र युएईमै उपचाररत खोटाङकी देवीमाया लामा श्रेष्ठलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको समाजकी उपाध्यक्ष सोनी भण्डारीले जानकारी दिइन ।

‘दृष्टिविहीन महिला गिटी कुटेर गुजारा गर्दै’ शीर्षकको समाचार सार्वजनिक भएपछि समाजका संरक्षक निमा शेर्पाले सान्थाक्रा निवासी लाक्पा खाङ्डु शेर्पालाई सहयोग स्वरुप ४ सय ८० दिराम्स -करिब १३ हजार रुपैयाँ) समाजको तर्फबाट प्रदान गरिने भएको छ ।

आर्थिक सहयोग समाजका सचिव दावा शेर्पा मार्फत उपलध गराउने निर्णय समाजको बैठकले गरेको छ । कोषाध्यक्ष बुद्ध लिङ्देनले उक्त रकम निकासा भइसकेको अनलाइनखबरलाई जानकारी दिए ।

त्यसरी नै ‘उपचारको बील तिर्न नसक्दा युएईको अस्पतालमा बास’ शीर्षकमा समाचार प्रकाशित भएपछि विगत ३ महिनादेखि बरदुबईको
एस्टर मेडिकल सेन्टरमा उपचाररत देवी लामा श्रेष्ठलाई पनि आर्थिक सहयोग गरिएको छ । समाजकी उपाध्यक्ष भण्डारीले उक्त रकम बिरामीलाई प्रदान गरिएको बताइन् ।

रोजगारीका लागि युएई आएकी खोटाङको बाम्राङकी देवीमाया लामा श्रेष्ठ अस्पताल भर्ना भएको झन्डै चार महिना भइसकेको छ । देवीको उपचारको बिल चाल लाख दिराम्स -करिब १ करोड १२ लाख रुपैयाँ) नाघिसकेको अस्पतालले जनाएको छ ।

यसअघि पनि समाजकी उपाध्यक्ष भण्डारी र सदस्य जगत लाबुङ सुब्बाको पहलमा देवीमाया सहयोग अभियानमा २ हजार ३ सय ४७ आर्थिक सहयोग हस्तान्तरण गरिसकेका छन् ।

देवीका श्रीमाल लोकेन श्रेष्ठले आफ्नो क्षमताभन्दा धेरै रकम अस्पताललाई तिर्न समस्या भएको जनाउँदै युएईका नेपाली संघसंस्था र मनकारी दाताहरुसँग सहयोगको याचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment