Comments Add Comment

अष्ट्रेलियाको नागरिकतामा कडाई, चार वर्ष बसेकै हुनुपर्ने

७ बैशाख, क्यानबरा । अष्ट्रेलियाले आफ्नो आप्रवासन प्रक्रियामा व्यापक उलटफेर गर्दै नागरिकता लिन झन् कठिन बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार नागरिकता लिन चाहने आप्रवासीले कम्तिमा चार वर्ष अष्ट्रेलियामा स्थाई बसोबास गरेकै हुनुपर्छ ।

अष्ट्रेलियाले दक्ष विदेशी कामदारलाई दिने भिसामा कडाई गर्ने घोषणा गरेको दुई दिनपछि नागरिकतामा पनि कडाई गर्ने जनाएको हो । नयाँ परिवर्तनबाट आप्रवासीहरुलाई स्थानीय समुदायसँग अझै राम्ररी घुलमिल हुने अवस्था बन्ने प्रधानमन्त्री टर्नबुलको दावी छ ।

‘उनीहरु अष्ट्रेलियाको मूल्य-मान्यताप्रति प्रतिवद्ध भएको देखाउनु महत्वपूर्ण छ,’ उनले भने ।

के-के छन् परिवर्तन ?

अष्ट्रेलियाको मूल्य-मान्यताका विषयमा वर्णन गर्दै टर्नबुलले आप्रवासीहरुले धार्मिक स्वतन्त्रता र लैंगिक समानतालाई समर्थन गर्नैपर्ने बताए ।

‘महिला र बालबालिकाको सम्मान अष्ट्रेलियाको मुख्य मूल्य-मान्यता हो,’ उनले भने । घरेलु हिंसा कुनै पनि हालतमा सैह्य नहुने पनि उनले बताए ।

नागरिकता प्रक्रियामा गरिएका अन्य परिवर्तन यस प्रकार छन्:

  • अंग्रेजी भाषा पढ्ने, लेख्ने, सुन्ने र बोल्ने कडा परीक्षा दिनुपर्ने
  • स्थानीय समुदायमा घुलमिल भएको प्रमाण उपलब्ध गराउनुपर्ने, जसमा रोजगारीको इतिहास, स्कुल भर्ना वा सामुदायिक संगठनहरुको सदस्यता आदि पर्दछन्
  • कम्तिमा चार वर्षदेखि अष्ट्रेलियाको स्थायी बासिन्दा हुनुपर्ने
  • आवेदकहरुले तीन पटक मात्रै आवेदन दिन पाउने, परीक्षामा चिटिङ गर्ने व्यक्ति स्वतः फेल हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment