Comments Add Comment

टिम चौराहा फाइनलमा, उपाधिका लागि बिराटनगरसँग भिड्ने

७ बैशाख, काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटानगर किङ्ग्ससँग खेल्नेछ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हरायो ।

रोचक के छ भने समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको आधार चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो ।

समूह चरणको अन्तिम खेलमा रुपन्देही र टिम चौराहा नै भिडेका थिए र प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पुरा गर्दै टिम चौराहा अघिल्लो चरण पुग्यो ।

बिहीबार पनि पारस चम्किए र रुपेन्देहीलाई पन्छाउँदै टिम चौराहा फाइनलमा पुगेको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टिम चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन मात्र बनाउन सक्यो ।

राम्रो सुरुवात गर्न नसकेको रुपन्देहीका ब्याट्सम्यानहरुले ठूलो साझेदारी नै गर्न सकेनन् । पहिलो विकेटका लागि हरिशंकर शाह र शंकर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्नपुग्यो ।

उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४-१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यो डीपीएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो । डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्ग्सविरुद्ध १७३ रन बनाएको थियो, जुन खेल उसले ८६ रनले जित्यो ।

टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का हाने । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे ।

रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र शहब आलमले एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment