Comments Add Comment

मधेसी मोर्चाले खोज्यो संशोधन विधेयकमा तीन परिमार्जन

बालुवाटार बैठक सकारात्मक

८ बैशाख, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन भए स्वीकार्य हुने बताएको छ । साथै चुनावप्रति सकारात्मक देखिएको छ ।

मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए ।

कांग्रेस शीर्ष नेताहरुसहितको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसामू संशोधन र स्थानीय चुनावबारे तपाईहरुको धारणा के हो भनेर प्रश्न गरेका थिए ।

राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधानका तीन बुँदामा संशोधन भए स्वीकार्य हुने बताएका छन् ।

मधेसी मोर्चाका नेता एवं जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘धारा ७, २७४ र आयोग गठनमा हामीलाई चित्त बुझेको छैन । यसलाई परिर्माजन गरी जनताले केही पाउँछन् भन्ने सुनिश्चित हुन्छ भने कुरा मिल्छ ।’

‘बैठक सकारात्मक’

बैठकपछि माओवादी नेता वर्षमान पुन अनन्तले बालुवाटार बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए ।

‘संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने, मोर्चा निर्वाचनमा आउने र त्यसका लागि सरकारले यी दुबै कामलाई सँगसँगै अघि बढाउने प्रस्ताव राखिएको छ । र, त्यसमा मोर्चा सकारात्मक देखिएको छ,’ बैठकपछि नेता पुनले भने ।

उनले आजै तीन बजे सत्तारुढ पार्टीहरुको बैठक बस्ने र पाँच बजे मधेसी मोर्चासँग बैठक बसेर सकेसम्म आजै यो विषयलाई टुंगो लगाउने सहमति भएको जानकारी दिए ।

उनले भने, ‘अहिलेको छलफल हेर्दा संविधान संशोधन प्रस्तावमा केही जरुरी परिमार्जन गर्नुपरे त्यसलाई पनि छलफल गरेर हाउसमा लिएर जाने र स्थानीय तहको निर्वाचन पनि सँगसँगै अगाडि लाने एकखालको सकारात्मक छलफल र सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment