Comments Add Comment

‘एमालेले फूर्ति नलाए हुन्छ, मधेसमा धक्का खाँदैछ’

'पहाडमा ३१ गते नै चुनाव होस्, मधेसमा संविधान संशोधनपछि'


८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्र संविधान संशोधन नगरी मधेसमा चुनाव गर्न नसकिने आवाज उठिरहेको छ । विशेष गरी तराई मधेसका कांग्रेस नेताहरु संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्ने मत राख्छन् । र, यो समूहका एकजना अगुवा नेता हुन्-फरमूल्लाह मन्सुर ।

हालैमात्र कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएका नेता मन्सुरको कुरा सुन्दा मधेसी मोर्चाका कुनै नेतासँग कुरा गरेजस्तै लाग्छ । उनले मधेसमा संविधान संशोधनपछि मात्रै चुनाव हुनुपर्ने तर, पहाड र हिमालमा बैशाख ३१ गते चुनाव गर्नुपर्ने ‘फर्मूला’ अघि सारेका छन् ।

सरकारले अहिले ल्याएको संविधान संशोधन विधेयकमा केही भाषा परिवर्तन गरेर मोर्चालाई सहमतिमा ल्याउन सकिने उपाय पनि उनले सुझाए ।

प्रस्तुत छ मन्सुरसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः

तपाईले हालै २ नम्बर प्रदेशको भेलामा पनि मधेसमा बैशाख ३१ गते चुनाव हुन सक्दैन भन्नुभयो, संविधान संशोधन नभई चुनाव हुन्न भनेको कि मधेसी मोर्चा सहभागी नभई हुन्न भनेको ?

दुवै कुरा एउटै हो । संविधान संशोधन र चुनावलाई छुट्याउन मिल्दैन । यो संविधानमा त्रुटी छ भन्ने कुरा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, त्यसपछिका प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको रोष्टममै उभिएर स्वीकार गरेका हुन् ।

केपी ओलीकै पालामा समावेशी समानुपातिक हक र निर्वाचन क्षेत्र जनसंख्याको आधारमा हुने गरी संविधान संशोधन गरिएको हो । संविधानमा त्रुटी छन् भन्ने कुरा त स्वीकार गर्ने तर, अहिले आएर चुनाव गराउने अनि संविधान संशोधन नगराउने भन्ने कुरा बेइमानी हो ।

संविधान संशोधन विधेयक मोर्चाले नै मानने । चुनावमा भाग नलिने भनिसक्यो त ?

यसमा सरकार चुक्यो, हामी सत्तारुढ दल पनि चुक्यौं । समग्रमा राज्य चुक्यो । हिजो संविधान नै मान्दैनौं भनेको मोर्चा संविधान सशसोधन मानेर यो सरकार गठनमा सघाउन आएको हो । यो सरकार बन्दा नै मुख्य दुई कामका लागि बनेको हो, एउटा संविधान संशोधन गरी स्वीकार्यता बढाउने र दोस्रो २०७४ माघ ७ सम्म तीनओटै तहको चुनाव गराएर संविधान कार्यन्वयन गर्ने ।

तर, अहिले आएर निर्वाचनको तयारी त गरियो तर, संविधान संशोधन गर्नेतिर काम भएन ।

निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने वातावरण बनाउने राज्यको कर्तव्य हो । झन यो सरकार त मधेसी मोर्चाको पनि समर्थनमा बनेको हो । मोर्चालाई बाहिर राखेर शान्तिपूर्ण निर्वाचन हुँदैन र व्यापक जनताको सहभागिता पनि हुँदैन । त्यसैले पहिला संशोधन अनिमात्र मधेसमा निर्वाचन ।

तर, मधेसी मोर्चाले संशोधन विधेयक मानिँदैन भनेर चुनाव बहिस्कारको कार्यक्रम थालेको तपाईलाई जानकारी छैन ?

संविधान पुनर्लेखन हुनुपर्छ भनेको मधेसी मोर्चा अहिले यो सरकार बन्ने क्रममा संशोधनका लागि तयार भएको हो । ३०९ वटा धारा भएको संविधानमा जम्मा चारवटा धाराका चार उपधारा संशोधन गर्ने हो भने हामी मान्छौं भनेर आएको मधेसी मोर्चालाई सहमतिमा ल्याएर संविधान संशोधन गर्न हामी चुकेकै हौं, सरकार चुकेकै हो ।

अब के हुन्छ त ?

अब पनि समय छ, नेतृत्वले सुझबुझपूर्ण ढंगले छलफल गरेर मोर्चालाई पनि चुनावमा ल्याउने वातावरण बनाउनुपर्छ । मधेसको मुद्दालाई सम्बोधन नगरी चुनावमा जान सकिन्न ।

मधेसको मुद्दा कि मधेसी मोर्चाको मुद्दा ?

मधेसको मुद्दा हो नि । मधेसी जनताको अधिकारसँग सम्बन्धित मुद्दा हो । मधेसको मुद्दालाई लिएर मोर्चा पनि अघि बढेको छ । म कांग्रेसको सांसद हुँ, मैले शुरुदेखि नै यो संविधानमा त्रुटी छन् भनेर भनिरहेको छु । यो मुद्दा मधेसी जनताको मुद्दा हो । मधेसी जनताको मुद्दालाई मोर्चाले लिएर हिँड्यो भन्दैमा मोर्चाको मात्र मुद्दा हो भन्न मिल्दैन ।

तपाई मधेसको अधिकारको कुरा गर्नुहुन्छ, राष्ट्रिय सभाको चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुखले भोट हाल्दा मधेसको अधिकार कहाँनेर कुण्ठित हुन्छ ? मधेसका जनप्रतिनिधिले भोट हाल्न नपाउँदा कसरी अधिकार सुनिश्चित हुन्छ ?

हामीले स्थानीय तहको अधिकार संविधानले जुन दिएको छ, त्यसलाई बुझ्दा यो त ठूलो उपलव्धी हो । त्यस अनुसार स्थानीय पुनर्संरचना समिति बनाएर केपी ओली सरकारले जुन टीओआर दियो, त्यस अनुसार समितिले ठीक काम गरेन ।

कसरी ?

हिमालमा १५ हजारमा नगरपालिका, मधेसमा ८० हजारमा नगरपालिका बनाएर बिभेद गरेको छ । त्यसमा हाम्रो आपत्ति हो । स्थानीय तहका प्रमुख उपप्रमुखले राष्ट्रिय सभाको चुनाव र राष्ट्रपति चुनावमा भाग लिँदा प्रतिनिधिको सवालमा त मधेसमाथि बेइमानी भयो ।

जनसंख्याका आधारमा स्थानीय तह नभएपछि मधेसी प्रतिनिधिको संख्या कम हुने भयो, यसले त राष्ट्रपति चुनावसम्म प्रभाव पार्ने भएकाले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभामा मतदान गर्ने अधिकार संविधान संशोधनबाट हटाउनुपर्छ भनेको हो ।

जनसंख्याकै कुरा गर्ने हो भने त, ३ नम्बर प्रदेशको जनसंख्या सबैभन्दा बढी छ, तर स्थानीय तहको संख्या त २ नम्बरमा बढी भयो नि ?

३ नम्बरमा बढाउनुहुँदैन भनेर हामीले त भनेको छैन नि । एउटा विशेष मौका दिउँ भनेरै जनसंख्या तथा भूगोलका आधारमा स्थानीय तह निर्धारण गर्ने भनेको हो । तर, यहाँ त बालानन्द पौडेलको आयोगले बेइमानी गरेको हो ।

यो सरकारले २ नम्बर प्रदेशमा २५/३० वटा स्थानीय तह थपेको भनेको त बेइमानी भयो भनेर स्वीकार गरेको हो नि । उतिबेलै स्थानीय तह मधेसमा जनसंख्याका आधारमा आधा दिएको भए त समस्या नै हुने थिएन ।

ठीकै छ, त्यो पनि मानियो, तर मोर्चाले जे गरे पनि अब स्थानीय चुनावमा हामी आउँदैनौं भने जस्तो गरिरहेको छ । तपाईहरु चाहिँ मोर्चा नभई चुनाव हुँदैन भन्दै हुनुहुन्छ, यसको मतलब त चुनावमा जादैनौं भन्ने होइन र ?

मुख्य कुरा यहाँ सम्वादको कमी छ । हिजो उनीहरुले पूरै संविधान मानेका थिएनन्, अहिले प्रचण्ड सरकार बन्ने क्रममा केही बुँदामा संशोधन भएपछि मान्ने भनेर आएकै हुन् । घनिभूत छलफल गर्नुपर्ने दायित्व त नेतृत्वको हो । पहिलो संविधानसभा चुनावमा हामीले उम्मेदवारी मनोनयन गरिसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेसी मोर्चालाई चुनावमा ल्याएको इतिहास बिर्सिन मिल्दैन ।

नेतृत्वले सबैलाई मिलाएर चुनावमा लैजान चाहने हो भने सम्भव छ । मधेसी मोर्चालाई, मधेसी जनतालाई निर्वाचनबाट अलग गराएर जानु घातक हुन सक्छ । अहिले उसै पनि संविधान संशोधनको विषयवस्तुमा होइन, शब्दमा गडबड भएको छ ।

भाषा मिलाएर यही संशोधन प्रस्ताव पारित गरेपछि मोर्चा चुनावमा आउँछ त ?

मैले मधेसी मोर्चाका नेताहरुसँग पनि कुरा गरें, कांग्रेसका सभापतिसँग पनि कुरा गरेँ । सीमांकन आयोगको सवालमा एउटा असहमति के छ भने समानुपातिक समावेशी आयोग बनाउने हुनुपर्छ भनेको छ । सरकार पक्षको भनाइ समानुपातिक सवमोशी गर्दा ३३ प्रतिशत महिला लगाययत संविधानको प्राबधान अनसार जानुपर्छ भन्ने आयो । त्यसको बीच बाटो समावेशीमात्रै भनेर जान सकिन्छ ।

नागरिकताको विषयमा एउटा शब्दले मात्र गडबडी गरेको छ । पञ्चायती संविधानमा भएको व्यवस्था र अन्तरिम संविधानमा भएको व्यवस्था ठीक थियो । नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेपछि बैबाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था थियो ।

तर, नयाँ संविधान बनाउँदा संघीय कानुनअनुसार भनेर लेखिएको छ । अहिले संशोधन प्रस्तावमा त्यही कुरा आएको छ, भोलि संघीय कानुन बनाएर अप्ठेरो पार्छन् भन्ने आशंका छ । त्यसमा विश्वासको वातावरण बनाउन सकिन्छ । भाषाको सन्दर्भमा पनि केही तलमाथि भएको छ, त्यो मिलाउँदा हुन्छ । दुवै पक्ष बसेर गरेको भए यो विवाद आउने नै थिएन ।

उसोभए भाषा मिलाउँदा पक्कै समाधान हुन्छ त ?

एकदम हुन्छ । पहिलो संशोधन प्रस्ताव नै पारित गराउनुपथ्र्यो । त्यो बेला गल्ती भएकै हो । जसले त्यो विधेयकको विपक्षमा मतदान गर्छ, उसले मधेसमा पाइला टेक्ने ठाउँ पाउँदैन भनेर मैले त्यो बेलै भनेको हो । यति सानो संशोधन गरेर देशले निकास पाउँछ भने भाग्न पाइन्छ ? यति गरेपछिपछि पनि कोही चुनावबाट भाग्न खोजेमा त्यसले निहुँ खोज्यो भनेर जनता उसको पक्षमा जाँदैन ।

त्योभन्दा अघि चुनाव हुँदैन त ?

त्यो भन्दा पहिले चुनाव गर्नु भनेको मधेसका लागि घातक हुन्छ । त्यसैले मधेसका जिल्लाहरुमा दोस्रो चरणमा चुनाव गराएर बीचको समयमा समझदारी गरेर जान सकिन्छ । प्रमुख प्रतिपक्षलाई पनि मनाउनुपर्‍यो ।

तर, एमालेले मान्ला त ?

एमालेले पनि यो कुरा राम्रोसँग बुझ्नुपर्छ, मधेसी जनतालाई अधिकार दिने मामिलामा सबै पक्ष लचिलो हुने कि नहुने ? यसमा गम्भीर हुनुपर्छ ।

तर, मधेसी मोर्चा जे गरे पनि ऊ चुनावमा नआउने जस्तो देखियो भन्छन् । त्यसमा बल पुग्ने गरी उसले त अब स्थानीय होइन, केन्द्रीय संसदको चुनाव हुनुपर्छ भन्दै छ नि ?

मधेससी मोर्चाको त्यो लाइन थियो भने संविधान संसोधनको बाटोमा आउने नै थिएन । दिल टुटेका बेलामा कसैले केही भन्यो भन्दैमा त्यो मोर्चाकै अडान भनेर मान्नु हुदैन । मोर्चा चुनावमा आउँछ, ल्याउन सकिन्छ ।

तर, एमाले नेताहरुले त नेपाली कांग्रेस चुनाव हार्ने डरले वा मोर्चाप्रतिको मोहका कारण चुनावबाट भाग्न खोज्दैछ भन्छन् नि ?

कांग्रेसको पहलमा यो सरकार बनेको हो । कांग्रेसका नेता दिलवहादुर घर्तीजी राज्य व्यवस्था समितिको सभापति हुनुहुन्छ, जसले निर्वाचनका लागि चाहिने सबै कानुन बनाएको छ । कांग्रेसले त सबै राजनीतिक पार्टीको सहभागिताको चुनाव हुनुपर्छ भनेर सबैलाई समेट्न खोजेको हो । संविधान संसोधन र निर्वाचन कांग्रेसको एजेण्डा हो । संविधान संशोधन छाडेर कांग्रेस निर्वाचनमा जाँदैन । तर, यसको अर्थ कांग्रेसको भागेको होइन । कसैले भागेको भन्छ भने भन्दै गरोस् । एमालेलाई त खुब चुनाव लागेको छ, उसले भन्नु स्वभाविक हो ।

तर, चुनाव सारौं भन्ने वा मोर्चा नभई चुनावमै जादैनौं भन्ने कुरालाई कसरी लिने त ?

अहिले कांग्रेस मधेसमा पहिलो पार्टी हो । एमाले दोस्रो पार्टी हो । मधेसी मोर्चा कमजोर होला । तर, यो मधेसको मुद्दा त मधेसी जनताको मुद्दा हो, मोर्चाको मुद्दा होइन । अहिले मोर्चाले अघि सारेको मुद्दा त हाम्रो पनि मुद्दा हो । मोर्चाको मुद्दा भनेर मधेसी जनताको अधिकारलाई कृण्ठित गर्नु त भएन नि । कांग्रेस गोरखातिर हुने लिगलिगे दौड जस्तो निर्वाचनमा दौडिएर पहिलो हुन चाहँदैन । संविधान संशोधन गरेर संविधानको स्वीकार्यता फराकिलो नपारी चुनावमा जानुको अर्थ छैन । अब समय छैन भन्ने बहाना बनाएर संविधान संशोधन थाती राख्नु भनेको घाउलाई राखेर निको भइसक्यो भने जस्तै हो । घाउ बढ्यो भने क्यान्सर हुन्छ यार ।

तपाईहरुले यसोभन्दा एमालेले मधेसमा मधेसी मोर्चा र कांग्रेस चिन्न गाह्रो भयो भनिरहेको छ । मोर्चाको आवरणमा कांग्रेसले मधेसमा निषेधको राजनीति गरेको आरोप नै लगायो नि ?

मोर्चाको माग र हाम्रो माग एउटै भएकाले त्यस्तो लाग्नु स्वभाविक हो । मधेसको मुद्दा भनेको मोर्चाको मात्र होइन, हाम्रो पनि हो । मधेसको कुरा गर्दा सबैलाई मोर्चा देख्ने प्रवृतिनै घातक हो । जहाँसम्म एमालेको आरोप छ, अरुलाई आरोप लाउनुभन्दा पहिले आफूलाई हेर्नुपर्छ ।

केपी ओलीजीले गरेको ५ नम्बर प्रदेशको डिजाइन अहिले संविधान संशोधनमा ल्याउँदा यो राष्ट्रिय हित विपरीत भन्दै हुनुहुन्छ । मधेसीलाई राष्ट्रघाती भन्ने, मधेसी जनताको अधिकारका लागि आएको संविधान संसोधनको प्रस्तावलाई कुनै पनि हालतमा छलफल हुन दिन्न, पारित हुन दिन्न भनेर संसदमा ४ महिना रोक्ने उहाँ नै हो ।

मधेसको हितका लागि आएको विधेयकमा तपाई संसदमा छलफल गर्न नदिने, अनि तपाईलाई मधेसमा एमालेलाई नाच्न दिन्छ ? मधेसी जनता आक्रोशित छन् एमालेसँग । एमालेका मधेसीका नेताहरु त दास छन् । उनीहरु भित्रभित्रै भन्छन् हामीसँग,केपी ओलीको बिचारमा सहमत हुनेलाई मात्र बोल्न दिइन्छ । एमालेले मधेसमा धक्का खाँदैछ ।

तर, जनकपुरमा तपाईहरुले पनि आमसभा गर्न सक्नुभएन नि ?

हामीले मुठभेडको राजनीति गर्न नचाहेको हो । केपी ओलीजीले यहाँ काठमाडौंमा मधेसीलाई गाली गरे । तामझाम गरेर भाषण गर्न जाँदा सप्तरीमा झडप भयो, मान्छे त मरे नि । दुईवटै गु्रप भिडेका भए, त्यहाँ सयौं मान्छे मर्न सक्थे, प्रहरीले रोकेको हो । एमालेले मधेसको संवेदनशीलता बुझेन, हामीले बुझेका छौं । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, आमसभा गर्न सक्छ । तर कसैलाई लखेटेर, कुटेर आमसभा गर्न चाहेनौं ।

त्यसोभए मधेसको भूमिमा तपाईहरुले मोर्चालाई वाकओभर दिएको हो ?

जनताको अधिकारको सवालमा मुठभेड गर्ने ? निर्वाचनको प्रतिस्पर्धामा जाउँ न कांग्रेस तयार छ मधेसको मैदानमा । कतिपय पार्टीलाई मधेसमा उम्मेदवार पाउन गाह्रो छ, कांग्रेसलाई उम्मेदवार मिलाउन गाह्रो छ । धेरै मधेसका पार्टीले कांग्रेसबाट टिकट नपाएकालाई टिकट दिन भनेर झोलामा कागज बोकेर हिँडेका छन् । तर हामी अहिले भिडन्त गर्न चाहदैनौं, एमालेले जबर्जस्ती गर्दैछ । फरक त्यति हो ।

त्यसो भए तपाइको नामै फर्मूल्लाह, अहिलेको बैशाख ३१ को चुनाव गराउने तपाईको फर्मूला चाहिँ के हो ?

बैशामख ३१ गते  पहाडमा गर्नुस् । जहाँ असन्तुष्टि छ, त्यहाँ संविधान संशोधन गरेर दोस्रो चरण गर्नुस् । यहाँ त बिभिन्न राष्ट्रवादी छन्, एकैचरणमा चुनाव नगर्दा मधेस र पहाड भिन्न देखिन्छन् भन्छन् । ए बाबा, दुई भिन्न नै हुन् । मधेसमा समस्या छ र मधेस पहाडभन्दा भिन्न पनि छ । मधेसको समस्या समाधान गरौं, अनि चुनाव गरौं । पहाडमा ३१ गते  नै गरे हुन्छ ।

तपाईहरुले हुँदैन भन्दाभन्दै वैशाख ३१ गते  एकै चरणमा चुनाव भयो भने ?

वैशाख ३१ मा हुँदैन भनेर  त मैले भनेको छैन तर, मधेसमा चाहिँ हुँदैन । निकास नभई कसरी चुनाव हुन्छ ? मधेसमा दोस्रो चरणमा चुनाव गराए हुन्छ त हामीले भनिरहेकै छौं । मलाई विश्वास छ, नेपालमा राति १२ बजे सहमति हुने गर्छ, यसपटक पनि केही न केही निकास आउँछ ।

मधेसमा अर्को चरण भनेर कति दिन धकेल्ने ?

त्यो त काम गर्दा कति दिन लाग्ने हो हेरौं न । एक दुई दिनमै पनि हुन सक्छ । दुई चार दिन पनि लाग्न सक्छ । तर, संविधान संशोधन गरेर मधेसको माग पूरा नगरी मधेसमा चुनावमा जान सकिन्न ।

बाहिर जे भए पनि भित्रभित्रै सहमतिको प्रयास भइरहेको छ । हाम्रो सभापति दिनरात नभनी लाग्नु भएको छ । प्रधानमन्त्री पनि लाग्नुभएको छ । मधेसी मोर्चासँग पनि कुरा हुँदैछ । म शतप्रतिशत विश्वस्त छु, सहमतिबाटै मधेसमा चुनाव हुन्छ ।

त्यति गर्दा मधेसमा चुनावी परिणाम चाहिँ कस्तो होला ?

मधेसमा  हाम्रो प्रतिस्पर्धा मधेसी मोर्चासँग हुने हो । तर, जोसँग प्रतिस्पर्धा छ, उसैलाई सहभागी गराउन हामी खोजिरहेका छौं । यसो गर्दा कांग्रेस चुनावबाट भाग्यो भनेर हल्ला गर्दैछन्, यसबाट हामी विचलित हुदैनौं । एमालेले काठमाडौंमा जति धाकधम्की दिए पनि मधेसमा एमालेको भूक्षय भएको छ । उनका नेताहरु लुकेर बसेका छन्, हीनताबोध छ । प्रतिस्पर्धा त मधेसमा पनि कतिपय ठाउँमा एमालेसँगै होला । तर, एमालेले धेरै पूर्ति चाहिँ नलाए हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment