Comments Add Comment

भारतमा अन्तरजातीय प्रेमी जोडीलाई नाङ्गै घुमाइयो, परिवारकै संलग्नता भयो यस्तो हर्कत


नयाँदिल्ली । भारतको राजस्थानस्थित आदिवासी जिल्ला बाँसवाडाको एउटा गाउँमा एक जोडी प्रेमीलाई निर्वस्त्र बनाएर घुमाइएको छ । यस घटनामा १८ व्यक्ति पक्राउ परेका छन् ।

प्रेमी-प्रेमिकाका परिवार र आफन्तले नै उनीहरुमाथि यस्तो हर्कत गरेका हुन् । पक्राउ पर्नेमा उनीहरुका बुवा, काका र अन्य नातेदार छन् ।
कचरु र मोनिका नामका युवक-युवती दुई वर्षअघि गुजरातमा मजदुरी गर्ने क्रममा प्रेममा परेका थिए । दुवै बाँसवाडाको सम्भपुरा गाउँका हुन्, तर फरक-फरक जातिका ।

कचरुले बीबीसीलाई फोनमा भने, ‘हामीले आफ्ना बुबा आमासँग बिहेको कुरा गर्ने हिम्मत नै गरेनौं किनकी उहाँहरु यो कुरा सुन्न पनि सक्नुहुन्नथ्यो ।’

उनीहरुले नभने पनि घर-परिवारले कतैबाट सुइको पाइहाले । मोनिकाको परिवारले अर्कै केटासँग उनको बिहे गर्ने तयारी गरे । यो थाहा पाएपछि कचरुले मोनिकालाई लिएर टाप ठोके । तर, परिवारका व्यक्तिहरुले उनीहरुलाई फेला पारिछाडे र फर्काएर ल्याए ।

अर्कै जातिसँग प्रेम गरेर गाउँको बदनामी गरेकाले पाठ सिकाउन भन्दै परिवार र गाउँबासीले उनीहरुलाई नाङ्गै पारेर घुमाए । केही व्यक्तिहरुले यसको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए, जुन केही बरेमै भाइरल बन्यो । प्रहरीसम्म यसको खबर पुग्यो ।

यो घटनापछि मोनिकाको अर्को पुरुषसँग ‘नातरा’ गरियो । नातरा एक आदिवासी संस्कार हो, जसमा पैसाको लेनदेनपछि केटा र केटी पति-पत्नीको रुपमा बस्न सक्छन् । यसमा पाँच हजार रुपैयाँ केटीका परिवारले लिए र जम्मा ८० हजार रुपैयाँको करार गरियो ।

मोनिकाले भनिन्, ‘मलाई सपोर्ट गर्ने कोही भएनन् । मेरो बिहे कसले गराइदिन्छ ? म कचरुसँग नै जीवन बिताउन चाहन्छु । उसलाई छोड्न सक्दिनँ ।’

यस आदिवासी गाउँमा २ सय घर छन् । अधिकांश मानिसहरु निरक्षर छन् । गाउँका धेरै युवाहरु छिमेकी राज्य गुजरातमा गएर मजदुरी गर्छन् ।
कचरु र मोनिकालाई शुक्रबार मजिस्ट्रेटसामु पेश गरिनेछ, जहाँ धारा १६४ मुताबिक मोनिकाको बयान लिइनेछ । युवकको पक्षबाट सन्तोषजनक बयान आएको खण्डमा युवतीलाई उनीसँग जाने अनुमति मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment