Comments Add Comment

कविता: एकान्तको घोडा

यो शून्यको हलुको चाप भएर
म टाढा-टाढासम्म पुग्छु…
छुटेका हरेक मोडहरु,
प्रिय आत्माहरु,
उज्याला आँखाहरु सम्झँदै पुग्छु ।

म सङ्गीत भएर छुटेको हुँ
एकदिन फेरि कसै न कसैको ओठबाट
सिलसिलाबद्ध भएर गुञ्जनेछु ।

यो बाटो भएर छुटेको हुँ
आफ्ना प्रिय दुश्मनहरुसँग,
जसलाई नजिक बसाएर म टाढा भएको छु
शून्यको आगोमा फाल्सा-फाल्सा चुहिरहेको छु ।

छुन आऊ, ओ गुञ्जायस !
ओ मेरो प्रिय साथी !
ओ मेरा आत्मीय गुरु !!
ओ मेरो हृदयको बालक !!
आऊ सोहोरेर लैजाऊ मेरा हात-पाखुराहरु
सम्पूर्ण रुपमा नङ्ग्याऊ र निर्बाध छाडिदेऊ ।

म हराएको दृश्य हुँ,
बाटोनिर उभिएको कविता हुँ
मलाई बगाएर लैजाऊ यो अँध्यारोबाट
जहाँ पुर्‍याऊ – जस्तो पुर्‍याऊ
तर
एक पटक मेरो हृदयको बच्चालाई खेलाएर मात्रै छाडिदेऊ
म ती हजार यात्राहरुमा सप्पै-सप्पैका हृदय बोकेर हिँड्नेछु
र एकदिन उडिजानेछु यो सपनाबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment