Comments Add Comment

काठमाडौंमा सकिँदैछ ‘माइक्रो’ युग ! यसरी लाग्दैछ ठूला बसको लहर

८ बैशाख, काठमाडौं । न उभिन मिल्ने, न बस्ने सिट ! तै पनि गन्तव्यसम्म नगई भएको छैन । त्यसैले झुण्डिएर हुन्छ कि गुन्द्रक कोचेझै कोचिएर किन नहोस् बस्नै पर्‍यो । झन् कार्यालय समय र साँझपखको त कुरै नगरौं । काठमाडौंमा माइक्रोबसको यात्राबारे धेरैको यस्तै संस्मरण छ ।

तर, अब यो नियती विस्तार हट्दैछ अर्थात काठमाडौंमा माइक्रो बस युगको अन्त्य सुरु भइसकेको छ । किनकी दिनदिनै काठमाडौंका सडकमा नयाँ र लामा सिटी बसहरु थपिन थालेका छन् ।

साझा यातायातमार्फत सुरु भएको ठूला बस भित्राउने क्रम ३ वर्षपछि ट्रेण्डकै रुपमा विकास हुन थालेको छ-शहरी यातायातका लागि नकिन्नु किनेपछि, ठूला सिटी बस नै किन्ने । यसले राजधानीमा विदेशमा जस्तै सहज यात्राका मेट्रो बस चलोस् भन्ने सपना देख्नेहरुलाई हौस्याएको छ ।

साना सवारीमा सास पनि फेर्न नसक्ने गरी कोचिएर यात्रा गर्ने यात्रुलाई अब सहज यात्राको विकल्पहरु तयार हुँदैछन् ।

यात्रुहरुको आकर्षण ठूला बसतिर बढेपछि यातायात ब्यवसायीहरु पनि साना बस, टेम्पो र माइक्रो किन्नुअघि दश पटक सोच्न बाध्य भएका छन् । अब साना सार्वजनिक सवारीलाई ठूला बसले टिक्न नदिने अवस्था आउन धेरै समय नलाग्ने आँकलन ब्यवसायीले पनि गरेका छन् ।

अब काठमाडौंका सडकमा आउने नयाँ बस प्रायः साना आकारका नहुने नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका केन्द्रीय सल्लहाकार हेमेन्द्र शेरचन बताउँछन् । उनी अब काठमाडौंमा साना सवारीको युग सकिएको भन्दै ब्यवसायी पनि ठूला बस किन्न नै केन्दि्रत भएको बताउँछन् ।

सरकारले पनि कम्पनी दर्ता गरेर आए ठूला बसमा भन्सार सहुलियत दिएकाले ब्यवसायी पनि आकर्षित भएका छन् । सरकारले ठूला सवारी साधन आयातमा ८० प्रतिशतसम्म राजश्व छुट दिने गरेको छ

कोचिएर यात्रा गर्नुपर्ने, उभिनसमेत नमिल्ने तथा अनियन्त्रित गतिमा चल्ने कारण साना सवारीमा यात्रुको विकर्षण छदैछ । त्यसैले ठूला बस चल्ने रुटमा यात्रुहरु बरु केही समय कुरेरै भएपनि लामा बस नै चढ्न थालेका छन् । यसैका कारण पनि अब ठूला बस किन्न ब्यवसायी नै सक्रिय छन् ।

साझाको शान

अहिले साझा यातायातले काठमाडौंका विभिन्न रुटमा ४० वटा बस गुडाइरहेको छ । एउटा रुटमा स्मार्ट ट्राभल कार्ड सेवा सुरुवात गरेको उसले अब भक्तपुरमा पनि सेवा थाल्न रुट इजाजत मागेको छ ।


साझाले थप १० वटा बस किन्ने निर्णय गरिसकेको साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । काठमाडौं महानगरपालिकाले दिने ५ करोड रुपैयाँबाट थप बस किन्न पनि साझाले तयारी गरिरहेको छ । ४० सिट क्षमताका पछिल्ला ३० बस अपांगमैत्री पनि छन् ।

भक्तपुरमा साझा बस चलाउने विषय उठ्दा ब्यवसायीहरु त्यसको तीब्र बिरोधमा उत्रिनुले नै ठूला बसको महत्व प्रष्टिन्छ । साझाका नयाँ बसमा दुईवटा ढोका छन् र दुबै फराकिला छन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् । त्यसका लागि म्यानुअल लिफ्टको सुविधा उपलब्ध छ । बसमा दुईवटा ह्वील चेयर अटाउने ठाउँ छ । र, बसभित्र आपांगता भएकाहरु ह्वीलचियर अड्याएर सिटबेल्ट बाँधेर बस्न सक्छन् ।

साझा बस झण्डै ११ मिटर लामा छन् । यो बसमा गर्मी समयलाई लक्षित गर्दै ४ वटा भेन्टिलेटर दिइएको छ । एलइडी टेलिभिजनसँगै सीसी क्यामेरा जोडिएको छ । यसले बसभित्र बस्दा यात्रुलाई अप्ठेरो महसुस हुनेछैन । गाडीका विभिन्न भागमा मोबाइल चार्जको सुविधा पनि छ ।

साझाका सिटहरु अन्य बसहरुको तुलनामा ठूला छन् । बीचभागमा पर्याप्त स्पेशका साथै ३० वटा ह्यांगर छन्, जसका कारण उभिएर यात्रा गर्दा पनि कोचिएर बस्नु पर्दैन । यही कारण साझा लोकपि्रय बनेको छ ।

साझालाई पछ्याउँदै महानगर


साझालाई पछ्याउँदै भित्रिएको छ, महानगर यातायात । यसका ४० बस अहिले उपत्यकाभित्र चलिरहेका छन् । सुरुमा रिंगरोडमा केन्दि्रत महानगर यातायात अहिले रिंगरोडभित्र पनि गुड्छ ।

४० सिट क्षमताको महानगर यातायात ठूला र सुविधायुक्त छ । बसमा जीपीएस ट्रयाकिङ सिस्टमसहित मोबाइल एप सुविधा पनि दिएको छ, जसको मदतले बस कहाँ छ भनेर मोबाइलमै हेर्न सकिन्छ ।

सिटी मेट्रो यात्रा

नेपाल यातायातको एकाधिकार रहेको रुटमै सिटी मेट्रो यातायातको प्रवेशले यात्रुहरुलाई निकै राहत दिएको छ । सिटी मेट्रो कम्पनीले पनि १५ वटा ठूला बस चलाउँदैछ र सबै बस अपांगमैत्री छन् ।

४० सीट क्षमताका बसहरु बनस्थलीबाट छुट्छन् । बसहरु अपांगमैत्री भएकाले ह्वील चियरसहित यात्रा गर्न सकिन्छ । सिटीका बसमा सीसी क्यामेरा पनि छ । कम्पनीले अब थप २० नयाँ बस ल्याउने बताएको छ । ५ वर्षभित्र एक सय वटा बस थप्ने योजनामा कम्पनी छ ।

दुप्चेश्वरको ओरेन्ज बस

लामा बस किन्ने अर्को कम्पनी हो, दुप्चेश्वर यातायात प्रालि । ओरेन्ज बसले पनि काठमाडौंमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतालाई थोरै भएपनि राहत दिएको छ । ठूला बस चलाउने ट्रेण्ड सुरु भएपछि ब्यवसायीले स्मार्ट मोडेलका १० बसहरु आयात गरी सञ्चालनमा ल्याएका हुन् ।

सुन्तला रंगका बसहरु रिंगरोडमा गुड्छन् । ४० सिट क्षमताका बसहरुमा सुरक्षाका लागि सीसीटिभी क्यामरा जडान गरिएको छ । यात्रुका लागि एलइडी टिभीको सुविधा पनि छ । ठूला बसमा यात्रुको आकर्षणलाई ध्यानमा राखेर थप बस किन्ने तयारी गरिरहेको दुप्चेश्वर यातायात प्रालि जनाएको छ ।

गोकर्णेश्वरका २० वस

ठूला बस अब काठमाडौंका मुख्य रुटमा मात्रै हैन, भित्री रुटहरुमा पनि केन्द्रित हुन थालेका छन् । साना सवारीको बोलवाला रहेको माकलबारी क्षेत्रमा जय बाबा गोकर्णेश्वरले ठूलो बस चलाउन थालेको छ ।

३५ सिट क्षमताका २० वटा ठूला बस चलेपछि स्थानीयले राहत महसुस गरेका छन् । १० बस माकलबारीबाट छुटेर नारायणटार-गौरीघाट-मित्रपार्क-गौशाला हुँदै कोटेश्वर पुगेर चक्रपथ घुम्छ र चाबहिलबाट मित्रपार्क हुँद फर्कन्छ । अरु बस पनि माकलबारीबाट छुट्छन्, जुन नारायणटार-जोरपाटी-बौद्ध-चाबहिल-धुम्बाराही हुँदै चक्रपथ घुम्दै पुनः चावहिल पुगेर त्यही रुटबाट माकलबारी फर्कन्छन् ।

अरु बस पनि थप्ने कम्पनीको योजना छ । निलो माइक्रोको एकाधिकार रहेको माकलबारीमा ठूला बस चल्न थालेपछि स्थानीय उत्साहित छन् ।

आउँदैछ सरकारी नगर यातायात

ठूला बसमा निजी क्षेत्रलाई प्रोत्साहित गर्न अब सरकार पनि अग्रसर भएको छ । त्यसैकारण ‘नगर यातायात’ बस कम्पनी स्थापना गर्न उपत्यकाका २२ नगरपालिकाबीच समझादारीपत्रमा हस्ताक्षर भइसकेको छ । यो कम्पनीले सुरुमा काठमाडौंमा ५० वटा ठूला मेट्रो बस चलाउनेछ ।

अर्थ मन्त्रालयले कम्पनी खडा भएपछि तत्काल ५० वटा बस किन्न सकिने गरी स्वीकृति प्रदान गरेको छ । कम्पनीका लागि अर्थ मन्त्रालयसँग १ सय वटा ठूला बस किन्न स्वीकृति मागिएको थियो ।

अर्थ मन्त्रालयले सुरुमा ५० वटा बसका लागि लागत र कर छुट, कम्पनी सञ्चालनको मोडालिटी र सेयर स्वामित्व, कर्मचारी व्यवस्थापन, भाडादर र आय व्यवस्थापनसहितको विभिन्न विवरण पेश गर्न भनेको छ । कम्पनी दर्ता भएपछि यसले नै आफ्नै विनियमावली बनाएर काम गर्ने तयारी छ ।

मन्त्रिपरिषदले नगर यातायात कम्पनी स्थापनाको निर्णय लिएपछि उपत्यका ५० ठूला बस गुड्न सुरु हुनेछ ।

नेपाल यातायात पनि तयार

यात्राका लागि सबैभन्दा सास्ती हुने बस मध्ये एक हो नेपाल यातायात । तर, अब नेपाल यातायात पनि सुविधायुक्त ठूला बस किन्न तयार भएको छ । चाबहिल-कोटेश्वर रुटमा दशवटा ठूला बस ल्याउने उसको तयारी छ । अहिले साना बस गुडाइरहेको नेपाल यातायातले अब ३५ सिट क्षमताको बस ल्याउने छ । साथै पुराना गाडी हटाउँदा ठूला बस नै ल्याउने नीति लिन लागेको छ ।

सामाखुसी यातायातमा १७ बस

सरकारले काठमाडौं उपत्यकामा ‘मास ट्रान्जिट’ यातायात व्यवस्था लागू गर्न पहिलो चरणमा सामाखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गरिसकेको छ । नयाँ बसपार्कबाट गोगंबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस सञ्चालन हुनेछन् ।
नयाँबसपार्क, गोंगबु, ठमेल, लैनचौर, केशरमहल, रत्नपार्क, प्रदर्शनी मार्ग, कालिकास्थान, मैतीदेवी, पुरानोबानेश्वर, केएमसी सिनामंगल, एयरपोर्टसम्म बस सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

यो रुटमा चल्ने ३५ वटा टेम्पो र २६ वटा माइक्रो हट्नेछन् । यो रुटमा चल्ने बसका लागि एसियाली विकास बैंकले ऋण दिनेछ र यही ऋण सरकारको जमानीमा टेम्पो तथा माइक्रो व्यवसायी संघले लिनेछन् ।

विभागका अनुसार नयाँ सवारी किन्न लाग्ने रकमको आधा एडीबीले ऋणका रुपमा उपलब्ध गराउनेछ । यो परियोजनाका लागि एडीबीले २० लाख डलर छुट्याएको छ । अब यो रुटमा अपांगमैत्री बस सञ्चालन हुनेछन् ।

नयाँ बसहरु ठूला क्षमताका हुनेछन् भने उभिएर यात्रा गर्न ह्यांगर पनि जोडिएका हुनेछन् । दुईवटा ढोका हुने बसले एकैपटक ठूलो संख्यामा यात्रु बोक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment