Comments Add Comment

गुल्मीमा एमाले-माओवादी केन्द्रको चुनावी तालमेल, यस्तो छ भागवण्डा

८ बैशाख, गुल्मी । स्थानीय तहको निर्वाचनमा सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी नेकपा एमालेबीच तालमेल हुने भएको छ ।

गुल्मीमा १२ वटा स्थानीय तहमध्ये २ नगरपालिका र १० गाउँपालिका छन् । सबै स्थानीय तहमा चुनावी तालमेल गर्न माओवादी केन्द्र र एमाले सहमत भएका छन् ।

कसले कति पद पाए ?

दुई पार्टीवीचको जिल्ला नेतृत्वले १२ स्थानीय तहमध्ये माओवादी केन्द्रलाई तीन गाउँपालिकाको प्रमुख दिने सहमति गरेको छ । एमालेले २ नगरपालिका र ७ गाउँपालिकाको प्रमुख लिनेछ ।

यस्तै गुल्मी जिल्लाभरी ९३ वटा वडा रहेका छन् । त्यसमध्ये माओवादीले २४ वटा वडाको वडा अध्यक्ष पाउने भएको छ । बाँकीमा एमालेले वडा अध्यक्ष लिने समझदारी भएको छ ।

सहमतिअनुसार माओवादी केन्द्रले एक नगरपालिका सहित अन्य ५ गाउँपालिकामा उपप्रमुख पाउनेछन् । वडा अध्यक्ष पाएको पार्टीले उक्त वडामा एक जना मात्र सदस्य पाउनेछन् ।

हेर्नुहोस एमाले र माओवादी केन्द्रबीच भएको सम्झौता 

कुनै गाउँपालिकाको एक नम्बर वडा अध्यक्ष एमालेको भागमा पर्यो भने एमालेले त्यो वडामा एक जना सदस्य पनि पाउनेछ । बाँकी तीन वडा सदस्य माओवादी केन्द्रको भागमा पर्नेछ । यसरी माओवादी केन्द्र र एमालेवीच पदको भागबण्डा भएको माओवादी केन्द्रका गुल्मी संयोजक बीरबहादुर कार्कीले बताएका छन् । उनले भने, भाग बण्डा मिलिसक्यो । एकताबद्ध भएर चुनाव लड्ने सम्झौता भएको हो ।’

माओवादीको भागमा मालिका, दुर्कोट र चन्द्रकोट गाउँपालिका परेको छ । त्यसमध्ये मालिका गाउँपालिकामा एमाले पहिलो र माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ । यस्तै दुर्कोट गाउँपालिकामा भने एमाले पछि कांग्रेस बलियो छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ । चन्द्रकोट गाउँपालिकामा भने माओवादी पहिलो र कांग्रेस दोस्रो स्थानमा छ ।

जिल्लामा रहेको दुई नगरपालिका एमालेले लिएको छ । रेसुंगा नगरपालिकाको उपप्रमुख भने माओवादी केन्द्रलाई दिने सहमति भएको छ । रेसुंगा नगरपालिका त्यस्तो ठाउँ हो, माओवादी केन्द्र र एमालेले मिलेर लड्दा पनि कांग्रेस हावी हुनसक्छ ।

एमालेलाई फाइदा

गुल्मीमा तेस्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्र जुनसँग तालमेलमा गयो, त्यही मोर्चाले जित्ने देखिन्छ ।

एमालेले माओवादी केन्द्रको साथमा ९ वटा स्थानीय तहको प्रमुख पाएको छ । त्यसमध्ये दरबार गाउँपालिका भने एमाले र माओवादी केन्द्र दुवै मिल्दा पनि कांग्रेसलाई हराउन मुस्किल पर्छ । त्यो भने एमालेले गुमाउन सक्ने एमाले गुल्मीका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बताए मुसीकोट नगरपालिकामा भने एमालेको बलियो उपस्थिति छ । अब माओवादी केन्द्रको साथमा उसलाई जित हातपार्न सहज हुनेछ ।

माओवादी-एमालेको गठबन्धनको कारण ?

गुल्मी नेपाली कांग्रेसको बलियो जनमत भएको जिल्ला हो र केन्द्रमा दुई पार्टीबिच सत्तासाझेदार भएपनि स्थानीय नेताले तालमेल अस्वीकार गरेको माओवादी केन्द्रको आरोप छ ।

माओवादी जिल्ला पार्टी अध्यक्ष कार्कीले भने, कांग्रेसले जिल्ला बैठकबाटै चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।’ एक्लाएक्लै चुनाव लड्दा कुनै पनि पार्टी सुरक्षित हुने स्थिति नभएको कार्कीको बिश्लेषण छ ।
गुल्मीमा को कति वलियो ?

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेले एक सिट र कांग्रेसले दुई सिट जितेको थियो ।

कुल मतमा भने थोरै मतले एमाले अगाडी देखिएको थियो । पछिल्लो समय कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पक्षमा जनमत बढाएको स्थानीय नेताहरुको बुझाइ छ ।

२०६४ सालको निर्वाचनमा परिणाम ठ्याक्कै उल्टो थियो । माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा रहेको थियो । उक्त निर्वाचनमा माओवादीले २ सिटमा विजय पाएको थियो भने एक सिटमा एमाले विजयी भएको थियो । मत संख्याको आधारमा भने माओवादी पछि कांग्रेस देखिएको थियो ।

कसरी हुन्छ चुनाव प्रचार ?

दुइ पार्टीवीच भएको सम्झौता अनुसार आफ्नो भागमा परेको पदमा बाहेक उम्मेदवारी घोषणा गर्न पाइने छैन । उक्त सम्झौता अनुसार माओवादीले तीन गाउँपालिकामा तीन जना प्रमुखको उम्मेदवार बनाउने छ । यस्तै ६ वटा गाउँपालिकामा उपप्रमुखको उम्मेदवार बनाउनेछ ।

त्यस स्थानीय तहमा एमालेले तीन प्रमुख र ६ उपप्रमुखको उम्मेदवार बनाउन पाउँदैन । यस्तै एमालेको भागमा परेको स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवार बनाउन पाउँदैन ।

दुवै पार्टीले संयुक्त सभागर्ने र संयुक्त चुनाव परिचालन समिति गठन गरेर चुनाव प्रचार गर्ने पनि सहमति गरेका छन् । स्थानीय कार्यकर्तावीचको सम्वन्ध सुधार गर्दै तालमेलबाट चुनावी परिणाम आफ्नो हातमा ल्याउने दुवै पार्टीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment